काठमाडाैंका निजी र सरकारी विद्यालयमा एकै प्रकारको पोशाक लागू गरिने

काठमाडौं। काठमाडौं महानगरपालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थीका लागि एकै प्रकारको पोशाक लागू गरिने भएको छ । पोशाककै कारण समाजमा विभेद सृजना भएको निश्कर्ष सहित उक्त योजना प्रस्ताव गरिएको महानगरका शिक्षा शाखा प्रमुख सीताराम कोइरालाले बताए । महानगर भित्र २ लाख १६ हजार १ सय ९९ विद्यार्थी अध्ययनरत छन् । बालविकास देखि माध्यमिक तहसम्मका ९१ वटा सामुदायिक र ६ सय ४० वटा नीजि विद्यालय मध्ये सामुदायिकमा ४० हजार ५ सय ७९ जना र नीजिमा १ लाख ७५ हजार ६ सय २० विद्यार्थी अध्ययनरत छन् । ‘सामाजिक रुपमै विकास हुँदै गएको विभेद अन्त्यको उद्धेश्य सहित यो योजना अघि सारिएको हो’ उनले भने, ‘एउटै समाजका विद्यार्थी पनि फरक फरक पोशाकमा विद्यालय जाँदा उनीहरुको मनमै विभेदको विकास भएको छ, त्यसलाई अन्त्य गर्ने हाम्रो योजना हो ।’ हालै महानगरले आयोजना गरेको कार्यक्रमका सार्वजनिक ३० बुँदे सुधारको सोचमा दोश्रो प्राथमिकतामा पोशाकको विषय उल्लेख गरिएको छ । उक्त योजनालाई आगामी शैक्षिक सत्रबाट शुरु गर्ने र त्यस अघि शिक्षक, विद्यालय सञ्चालक र विद्यार्थीका संघ संगठन र अभिभावकसँग छलफल, अन्तक्रिया र सहकार्य गरिने उक्त सोचमा उल्लेख छ । उक्त सोचको पहिलो प्राथमिकतामा भने पाठ्यक्रम र पाठ्यपुस्तकलाई राखिएको छ । आउँदो शैक्षिक सत्रबाट सामुदायिक तथा संस्थागत सबै विद्यालयमा स्थानीय पाठ्यक्रम अनिवार्य रुपमा लागू गरिने महानगरको योजना छ । यसका लागि तत्काल स्थानीय पाठ्यक्रम तयार गर्ने कोइरालाले बताए । शैक्षिक सत्र २०७६ बैशाखबाट सबै शिक्षकका हातमा पाठ्यक्रम र सबै विद्यार्थीका हातमा समय मै पाठ्यपुस्तक पुग्ने उनले दावी गरेका छन् । महानगर भित्रका विद्यालयमा विदाको एकरुपता कायम गर्ने पनि महानगरको उोजना छ । विदेशी कुटनीतिक नियोगबाट सञ्चालन भएका विद्यालय बाहेकका सब्ै प्रकारका विद्यालयमा एकै दिन विद्यालय खुल्ने र एकै दिन विदा हुने गरी शैक्षिक क्यालेण्डर लागू गर्ने महानगरको योजना छ । विदेशी सम्बन्धन लिएको भनी अलग अलग विद्यालयमा अलग अलग विदा दिने प्रचलन बन्द गर्ने उक्त सोचमा उल्लेख छ । कुनै पनि विद्यालयको शिक्षकको निधन हुँदा जिल्लाभरका सबै विद्यालय बन्द हुने अवस्थाको अन्त्य गरी सम्बन्धित विद्यालयमा मात्र विदा दिने, विभिन्न परीक्षाको तयारीको बहानामा अनावश्यक विदा दिन नपाईने,स्थानीय विदाका लागि व्यवस्था भएको ५ दिनको प्रयोग गर्दा अनिवार्य रुपमा स्विकृती लिनुपर्ने ब्यवस्था पनि उक्त सोचमा समेटिएको छ । यस्तै संस्थागत विद्यालयको बोर्ड नेपाली भाषामा पनि राख्नु पर्ने, विद्यार्थीको परिचय पत्रमा समेत नेपाली नाम अनिवार्य गर्ने महानगरको योजना छ । कुनै पनि विद्यालयले संघीय मन्त्री वा विदेशी कुटनीतिक नियोगका कर्मचारी वा मन्त्री ल्याई कार्यक्रम गर्नु अघि महानगरको शिक्षा विभागलाई पूर्व जानकारी दिनु पर्ने व्यवस्थालाई कडाइका साथ लागू गराउने उक्त सोचमा प्रस्ताव गरिएको छ । राम्रा गर्ने विद्यालयलाई हौसला दिने उद्धेश्यले महानगरभित्रका ३ सामुदायिक, ३ संस्थागत माध्यमिक र १ आधारभूत विद्यालयलाई विद्यालय छनोट कार्यविधिका आधारमा पुरस्कार दिइने छ । ड्रप आउट शून्यमा झार्न, विद्यालय उमेर समूका सवै विद्यार्थीलाई विद्यालयमा ल्याउन, टिकाउन र सिकाउन, कक्षा दोहोर्याउने दर घटाउन, सिकाइ स्तर बढाउन, विद्यालयमा दिवा खाजा कार्यक्रम, यातायात खर्च वा व्यवस्था लगायतका कार्यक्रम शुरु गर्ने महानगरको सोच छ । महानगर भित्रका सबै खाले विद्यालयमा गाडीबाट विद्यार्थी आवतजावत गर्दा विद्यार्थीको सुरक्षाको प्रत्याभूति गर्नु पर्ने, गाडी चालक र सहचालकलाई लेन अनुशासन, विद्यार्थी सुरक्षा, शिष्ट बोलचाल गर्ने पद्धतिको विकासका लागि तालिमको व्यवस्था गर्न, सामुदायिक विद्यालयमा पनि विद्यार्थी विद्यालय भित्र आउँदा र घर फर्कँदा शिष्ट बोलीले स्वागत र विदा गर्ने परिपाटीको थालनी गर्ने महानगरको सोचमा उल्लेख छ । यसका लागि सम्बन्धित विद्यालयका प्रअले आफ्ना कक्षा शिक्षक र शिक्षकको जिम्मेवारी तोक्नु पर्ने छ ।

‘मेरो काठमाडौं महानगर’ शीर्षकमा निबन्ध प्रतियोगिता हुँदै, जित्नेलाई ४० हजार

काठमाडौं। काठमाडौं महानगरपालिकाले २४औँ महानगर दिवसको अवसर पारेर खुल्ला निबन्ध प्रतियोगिताको आयोजना गर्ने भएको छ । दिवसलाई मंसिर २९ गते भव्य रुपमा मनाउने कार्यक्रम अन्तर्गत खुल्ला निबन्ध प्रतियोगिताको आयोजना गरिएको महानगरपालिका अन्तरर्गतको शिक्षा विभागले जनाएको हो । साहित्यानुरागिहरुको जानकारीको लागि विभागले सूचना प्रकाशित गरेको छ । ‘मेरो काठमाडौं महानगर’ शीर्षकमा रहेर निबन्धको प्रतिशप्रधा हुनेछ । त्यसको लागि निबन्ध मंसिर २५ गते कार्यालय समयभित्र काठमाडौं महानगर, शिक्षा विभाग ताहाचल वा ईमेल [email protected] मा पठाइसक्नु पर्ने काठमाडौं महानगरपालिका, शिक्षा विभागले सूचनामा उल्लेख गरेको छ । निबन्ध प्रतियोगीतामा प्रथम हुनेलाई ४०,००० र प्रमाणपत्र पुरस्कार दिइने भएको छ । त्यस्तै, प्रतियोगीतामा द्धितीय हुनेलाई ३०,००० र प्रमाणपत्र तथा तृतीय हुनेलाई २०,००० र प्रमाणपत्र सहित पुरस्कारको व्यवस्था गरिएको छ । निबन्ध पठाउदा प्रथम पृष्ठमा लेखकको नाम, थर, ठेगाना तथा सम्पर्क नम्बरसहितको विवरण लेख्नुपर्ने छ । तर, निबन्ध लेखिएको भित्री पृष्ठहरुमा भने नाम थर उल्लेख गर्न नपाइने विभागले जनाएको छ । यसैबीच, २४औँ महानगर दिवसका उपलक्ष्यमा महानगर शिक्षा विभागले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरु शिक्षकहरुको कविता प्रतियोगीता, माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको निवन्ध प्रतियोगीता तथा आधारभूत तहका विद्यार्थीहरुको साँस्कृतिक कार्यक्रमहरुलाई भव्यरुपमा मनाउने सूचना सम्बन्धित भने स्रोत केन्द्र वा शिक्षा विभाग, ताहाचलमा सम्पर्क गर्न विभागले सूचित समेत गरेको छ ।    

शिक्षकसँग वार्ता गर्न मन्त्रालयले बनायो टोली

काठमाडौँ । विभिन्न २६ बुँदे माग राख्दै आन्दोलनमा रहेका शिक्षक महासंघसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा सचिव खगराज बरालको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेका छन् । मन्त्री पोखरेलले शिक्षक महासंघको माग सम्बन्धि तत्काल छलफल र सम्बोधन गर्न मन्त्रीस्तरीय निर्णय गर्दै वार्ता टोली गठन गरेका हुन् । वार्ता टोलीले शिक्षक महासंघसँग पहिलो चरणको प्रारम्भिक छलफल समेत गरेको छ । शिक्षा सचिव बरालको नेतृत्वमा रहेको वार्ता टोलीमा सहसचिवहरु बैकुण्ठ अर्याल, बाबुराम पौडेल, सुर्यप्रसाद गौतम र कृष्णप्रसाद काप्री सदस्य रहेका छन् ।