प्रत्येक प्रदेशबाट १/१ वटा विद्यालय छनोट गरी सूचना प्रविधिमैत्री बनाईने
काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभागले प्रत्येक प्रदेशबाट १/१ वटा विद्यालय छनोट गरी सामूदायिक माध्यमिक विद्यालयलाई सूचना प्रविधिमैत्री विद्यालय बनाउने भएको छ । त्यसको लागि आयोगले सूचना जारी गरी मापदण्ड पूरा भएका इच्छुक विद्यालयलाई आवेदन दिन आग्रह गरेको छ । विभागले सूचना प्रकाशित भएको १५ दिन भित्र प्रस्ताव पेश गर्न विद्यालयहरुलाई आह्वान गरेको हो । विधालय छनोटको लागि विधालय सामुदायिक वा माध्यमिक तहको हुनुपर्ने , विधालयमा सुरक्षित पक्की भवन,फर्निचर लगायत भौतिक पुर्वाधार राम्रो ब्यवस्था हुनुपर्ने र नियमित रुपमा विधुत आपुर्ती भएको हुनुपर्ने, ईन्टरनेट जडान गरिएको हुनुपर्ने वा जडान हुन मिल्ने हुनुपर्ने र सुचना प्रविधी सम्बन्धी दक्ष जनशक्तीको ब्यवस्था हुनुपर्नेछ वा गराउने प्रतिवद्दता प्राप्त हुनुपर्ने छ। विद्यालयले प्रस्ताव पेश गर्ने नमूना फाराम विभागले आफ्नो वेवसाइटमा राखेको छ ।
मंसिर २१ गते हिमालय कलेज अफ इन्जिनियरिङमा रोजगार मेला
काठमाडौं। ललितपुरको च्यासलमा रहेको हिमालय कलेज अफ इन्जिनियरिङले मंसिर २१ गते आफ्नै प्राङ्गणमा बृहत् रोजगार मेलाको आयोजना गर्ने भएको छ । बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हरिभक्त शर्माले गर्नेछन्। हिमालय कलेज अफ इन्जिनियरिङ, काठमाडौं मोडेल कलेज र अपोलो इन्टरनेसनल कलेजका विद्यार्थीहरुलाई केन्द्रित गरेर आयोजना गरिएको उक्त मेलामा २० वटा रोजगारदाता कम्पनीहरु सहभागी हुने र आफूलाई आवश्यक जनशक्तिको छनोट अन्तर्वार्ताबाट गरीने बताइएको छ । मेलामा झण्डै १०० जना विद्यार्थीहरुले सहभागिता जनाउने कलेजले जनाएको छ ।
अबदेखि त्रिविले प्राईभेट परिक्षा संचालन नगर्ने, जागिरे विधार्थीलाई समस्या
काठमाडौं। नियमित क्याम्पस जान नपाउने विधार्थीहरुको लागि त्रिभुवन विश्वविद्यालयले घरमै बसेर पढ्ने र परीक्षामा सहभागी हुन पाउने प्राइभेट परीक्षा कार्यक्रम यो वर्षदेखि बन्द गरेको छ। यसबाट धेरै विधार्थीहरु प्रभावित हुने देखिन्छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार गत वर्ष मात्र यो कार्यक्रममा ५ हजारभन्दा बढी विद्यार्थी सहभागी थिए। यसरी परिक्षा दिनेमा अधिकांश सेना, प्रहरी, निजामती सेवा, गैरसरकारी र निजी क्षेत्रमा कार्यरत कर्मचारीहरु रहेका थिए। यस कार्यक्रममा राजनीतिशास्त्र र मास्टर्स इन पब्लिक एड्मिनिस्टेसन (एमपीए) पढ्न पाइन्छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार गत वर्ष स्नातकोत्तर तहको प्राइभेट परीक्षा दिनेमा राजनीतिशास्त्रतर्फ ३ हजार २ सय १५ र एमपीएमा २ हजार ९ सय ३१ विद्यार्थी थिए। त्रिविले यसै वर्षदेखि स्नातकोत्तर तहमा उपत्यकाका सबै क्याम्पसमा सेमेस्टर प्रणालीमा पढाइ सुरु गरेको छ। उपत्यकाबाहिर भने यसलाई अनिवार्य बनाइएको छैन। यसअन्तर्गत भर्ना विद्यार्थी कक्षामा नियमित उपस्थित हुनुपर्छ। शिक्षकले दिएको ‘असाइनमेन्ट’ पनि पूरा गर्नुपर्छ। कक्षाको गतिविधिलाई आधार मानेर प्रयोगात्मक परीक्षामा अंक दिइने हुँदा सेमेस्टर प्रणालीमा कक्षामा विद्यार्थी नियमित उपस्थित हुनुपर्छ।