यो वर्षदेखि प्राथमिक तहका सबै पुस्तक रंगिन हुने, सिकाइमा सुधार हुने अपेक्षा
काठमाडौं । सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइमा सुधार ल्याउन सरकारले यस वर्षदेखि प्राथमिक तहसम्मका विद्यार्थीलाई रंगिन पाठ्यपुस्तक वितरण गरेको छ । शैक्षिक सत्र ०७५ देखि सरकारी स्कुलमा कक्षा १ देखि ५ कक्षासम्मका सबै विद्यार्थीले चार रंगका पुस्तक अध्ययन गर्न पाउने भएका छन् । कालो र सेतो रंगमा मात्र छापिएको पुस्तक वितरण हुदै आएकोमा विद्यार्थीको सिकाइमा अझ बढी प्रभावकारी बढाउन सबै पुस्तक रंगिन बनाइएको हो । सादा पुस्तक प्रतिपेज ३३ पैसामा छपाइ गरेकोमा रंगिन प्रतिपेज छपाई गर्दा ५० पैसा सरकारले तोकेको छ । रंगिन पुस्तक छपाइ गर्दा प्रतिपेज १७ पैसा मंहगो भएको छ । २०५७ सालदेखि २०७३ सम्म प्रतिपेज २६ पैसामा सरकारले निधारण गरेको थियो । २०७४ सालबाट बृद्धि भएर ३३ पैसा प्रतिपेज भएको छ । यस अघि कक्षा १–५ सम्म नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिका विषयहरु गरी पाँचवटै पुस्तक कालो र सेतो रंगमा मात्र छपाइ भएकाले विद्यार्थीहरू वास्तविकता भन्दा निकै टाढा हेर बुझिरहेका थिए ।जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवक्ता चित्र आर्चायलले विगत झै यो वर्ष पनि कक्षा १–५ सम्मका पाठ्यपुस्तक निजी र कक्षा ६–१०सम्म जनक शिक्षाले छाप्ने सरकारी निर्णय भएकोे बताए । उनले कक्षा १–५ सम्म ३४ लाख ५० हजार २३ विद्यार्थीकोलागि गत वर्ष १ करोड ७२ लाख ५० हजार ११५ थान किताब निजी प्रकाशकले छापेको थियो । “गतसाल हामीले ६० करोड रुपैयाँको किताब छापेकोमा १ करोड ४ लाख रुपिया बराबरको किताब थन्कियो” आर्चायलले भने “अब रंगिन किताब झनै महँगो हुन्छ र घाटमा जान्छ ।” ९९ प्रतिशत किताब छपाइको काम सकिएको र पहाडी र हिमाली जिल्लाहरुमा ९० प्रतिशत र तराईका जिल्लाहरुमा ५० प्रतिशतमात्र पुस्तकहरु पुगिसकेको छ । बिक्रेतालाई पुस्तक लिन आउन सुचना दिइरहेको उनले बताए । सातै वटा प्रदेशका कार्यलयमा पनि पुस्तकहरु पुगेको उनले दावी गरे । अब विद्यार्थीहरूलाई रंगित किताबले अकर्षित गर्ने र शिक्षकलाई पनि रंगिन किताब पाठ्य सामग्रीमा बुझाउन सजिलो हुने समेत उनको भनाई छ ।
लालबाबु पण्डितले २५ जना विद्यार्थी भर्ना गराए, २ सय जनालाई शैक्षिक सामग्री वितरण
काठमाडौं । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले २५ जना विद्यार्थीलाई विद्यालय भर्ना गराएका छन् । मन्त्रि पण्डितले मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ६ को वि.पी आधारभूत विद्यालयमा २५ जना विद्यार्थी भर्ना गराएका हुन् । उनले थप २ सय जना विद्यार्थीहरुलाई विद्यालय पोषाक, ब्याग, जुक्ता, कापी, कलम लगायतका सामग्रही हस्तान्तरण गरेका हुन् । मन्त्री पण्डितले सबै नेपालीलाई साक्षर बनाउने अभियान अन्तर्गत आफुले २५ जना विद्यार्थीलाई भर्ना गराएको बताएका थिए । बालबालिकाहरु भविष्यका कर्णधार भएकाले पनि उनीहरुका लागि उचित शिक्षा दिक्षाको प्रबन्ध मिलाउनुपर्नेमा उनले जोड दिएका थिए ।
देशभर विद्यार्थी भर्ना अभियान शुरु, सरकारले निःशुल्क पाठ्यपुस्तक दिने
भक्तपुर । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नाराका साथ सरकारले देशभर एकैसाथ विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान शुरु गरेको छ । विद्यालयभन्दा बाहिर रहेका सबै बालवालिकालाई विद्यालयमा ल्याउन यसवर्ष हातहातमा पाठ्यपुस्तकसहित आजदेखि भर्ना अभियान शुरु भएको हो । शैक्षिकसत्र २०७५ मा भर्ना हुने विद्यार्थीलाई हातहातमा निःशुल्क पाठ्यपुस्तक वितरण गर्न सरकारले २ अर्ब २२ करोड २२ लाख बजेट विनियोजन गरिएको छ । शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले वैशाखको दोस्रो सातासम्म देशका विशिष्ट व्यक्तिबाट पाठ्यपुस्तकसहित विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने जानकारी दिँदै अभियानमा छुटेका विद्यार्थीलाई वैशाखको तेस्रो हप्तामा घरदैलो अभियानमा भर्ना गराइने बताए । शिक्षा विभाग अनिवार्य शिक्षा शाखाका उपनिर्देशक नरहरि अर्यालले शैक्षिक सत्र २०७४ मा ९७।२ प्रतिशत विद्यार्थी भर्ना दर पु¥याएकोमा यसवर्ष यसलाई वृद्धि गर्न प्रभावकारी रुपमा अभियान शुरु भएको बताए । विभागका अनुसार ५ वर्षदेखि ९ वर्ष उमेर समूहका ८८ हजार २०७ बालबालिका अझै विद्यालय बाहिर रहेको र आधारभूत तह उमेर समूहका तीन लाख १३ हजार २८९ बालबालिका विद्यालय बाहिर रहेका छन् । प्राथमिक उमेर समूहको खुद भर्ना दर ९७।२ प्रतिशत र कक्षा १ देखि ९ सम्मको आधारभूत तहको खुद भर्ना दर ९२।३ प्रतिशत छ । सरकारले यसवर्ष खुद भर्ना दर शतप्रतिशत पु¥याउने लक्ष्य लिएको उपनिर्देशक अर्यालले जानकारी दिए। यसअघिका वर्षमा शिक्षा मन्त्रालय, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय र शिक्षामा कार्यरत गैरसरकारी संस्था भर्ना अभियानमा सहभागी हुँदै आएकामा यसवर्ष भने सरकारले केन्द्र, प्रदेश र स्थानीय सरकार भर्ना अभियानमा सहभागी हुन निर्देशन जारी गरेको छ । यसवर्ष प्रधानमन्त्री केपी शर्मा ओली आफैँ विद्यार्थी भर्ना अभियानमा सक्रिय हुने भएका छन् । त्यस्तै मन्त्रीहरु, सचिव, सहसचिव, अधिकृत, उच्च राजनीतिक नेतृत्व, जनप्रतिनिधि, कलाकार, कर्मचारी र स्थानीय तहलाई भर्ना अभियानमा सक्रिय बनाइने भएको छ । उपनिर्देशक अर्यालका अनुसार आधारभूत तहमा सबैभन्दा बढी सर्लाही, धनुषा, रौतहट, पर्सा, बारा, कपिलवस्तु, मोरङ, सुनसरी, रूपन्देही, सप्तरी, सिरहा, महोत्तरी र बाँकेमा बालबालिका विद्यालयभन्दा बाहिर रहेकाले ती क्षेत्रमा विशेष रुपमा नै अभियान संचालन गरिनेछ । रासस