मेडिकल काउन्सिलले लिएको विशेष परीक्षामा ३६८ जनामध्ये १४६ जना फेल
काठमाडौं। नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको विशेष परीक्षामा १४६ जना चिकित्सक अनुत्तीर्ण भएका छन्। परिक्षामा सहभागी ३६८ जना चिकित्सक मध्ये १४६ जना अनुत्तीर्ण भएका हुन्। काउन्सिलको यस वर्षको तेस्रो तथा अन्तिम परीक्षामा २२२ जना अर्थात् ६०.३३ प्रतिशत उत्तीर्ण रहेको छ। गत वर्ष भने ६६ प्रतिशत पास भएका थिए। अनुत्तीर्ण हुनेमा चीन र बंगलादेशमा अध्ययन गरेका चिकित्सकको संख्या बढी रहेको काउन्सिलका रजिष्टार डा. दिलीप शर्माले जानकारी दिए। परीक्षा शनिबार स्वयम्भुस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको थियो।
स्मार्टफोन र इन्टरनेटको प्रयोगसँगै चीनमा अनलाइन शिक्षा बढ्दो
बेइजिङ् । चीनमा अनलाइन शिक्षा तिब्र रुपमा बढ्दै गएको अध्ययनमा देखाएको छ। गत वर्ष मात्रै अनलाइन शिक्षामा जोडिनेको संख्या २९.७ प्रतिशतले बृद्धि भएर २० करोड १० लाख पुगेको छ । चीनमा समग्र अनलाइनमा पहुँच रहेकामध्ये यो २४.३ प्रतिशत हिस्सा हो । चीनका झण्डै १९ करोड ४० लाखले मोबाइलको प्रयोगमार्फत अनलाइन शिक्षा लिएको चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टरले जनाएको छ । सन् २०१७ को तुलनामा यो ६३.३ प्रतिशतले बढी हो । स्मार्टफोनको बढ्दो प्रयोग तथा मोवाइल इन्टरनेटको प्रयोग र पहुँचमा व्यापक सुधार भएकाले अनलाइन शिक्षाको लोकप्रियता बढेको अधिकारीहरुले बताएका छन् । अनलाइन शिक्षाका लागि प्राप्त विकल्पमध्ये स्मार्टफोन सबैभन्दा प्रभावशाली देखिएको छ । सूचना आदानप्रदानमा चीनको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल वीच्याटमा प्राप्त सुविधाका कारण पनि अनलाइन शिक्षाप्रति मानिसहरुको आकर्षण बढेको हो । रासस/सिन्ह्वा
नेविसंघको अध्यक्ष महरको चिट्ठीको नाममा पुल्चोक क्याम्पसमा चन्दा असुली
काठमाडौं। नेविसंघको अध्यक्ष नैनसिंह महरको चिट्ठीको नाममा पुल्चोक क्याम्पसमा चन्दा असुली भईरहेको क्याम्पसको विद्यार्थी संगठन आम विद्यार्थीले बताएको छ। आम विद्यार्थीले बताए अनुसार महरले राजिनामा दिएसँगै देशभर चिट्ठी बाँडेका थिए। महरले चिट्ठी बाँड्दा पुल्चोक ईन्जिनियरिङ क्याम्पसका दिपक सापकोटालाई पनि चिट्ठी परेको तर पार्टिको निर्णयसँगै उनको कार्यकाल एकै दिनमा सिमित भएको थियो। तर सापकोटाले अहिले आएर आफुलाई केन्द्रले नै अध्यक्ष बनाएको र आफुनै अधिकारिक नेविसंघको अध्यक्ष भएको भ्रमको खेती गर्दै ठाउँ ठाउँमा हप्ता असुलिमा सक्रीय रहेको आम विद्यार्थी संघको आरोप छ। सापकोटाले चन्दा असुली गर्न नक्कली लेटरहेडमा कहिले नदेखिएको झन्डा सहितको फर्जी छाप प्रयोग गरेको र चिट्ठी दीपक सापकोटा सहित क्याम्पसकै अर्का विद्यार्थी उद्धव घिमिरेको हस्ताक्षर रहेको छ। क्याम्पस परिसरमा उनिहरुले कुनै प्रकारको कार्यक्रम नगरेको हुँदा ब्यक्तिगत प्रायोजनका निमित्त सो रकम खर्च भएको प्रस्ट भएको क्याम्पसका एक विद्यार्थीले बताए। चन्दा असुली गरेको कुरा, नेबिसंघ पुल्चोक क्याम्पस इकाइ कमिटिको अधिकारिक पेजबाट नै बाहिरिएपछि आमा विद्यार्थीले उनिहरु माथि कारवाहिको माग गरेका छन्। चन्दा लिएको कुरा बाहिरिएपछि उनिहरुले हतार हतार विद्यार्थीले भाग नलिने समय राखेर बास्केटबल प्रतियोगिताको पोस्टर सार्वजनिक गरेको आमा विद्यार्थी संघका एक सदस्यले बताए।