सांग्रीला डेभलपमेन्ट बैंकको १० दिने अभिमुखिकरण तालिम सम्पन्न

काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंकले आफ्ना कर्मचारीहरुलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालिम दिएको छ । बैंकले नवनियुक्त कर्मचारीहरुलाई शाखामा पठाउनु भन्दा पहिले सामाजीकरण गराउने र बैंक सम्बन्धित कामहरु तथा नीति नियमको बारेमा जानकारी दिने र सिकाउने उद्देश्यले यो अभिमुखीकरण तालिमको आयोजना गरेको हो । तालिममा नवनियुक्त ५५ जना कर्मचारी सहभागी भएका थिए । उक्त तालिममा कम्युटर तालिम लगायत क्रेडीट, कस्टमर सिर्भीस, टेलर व्यावस्थापन, नक्कली नोट, सिग्नेचर भेरिफिकेसन् लगायतको बारेमा तालिम दिईएको नायव कार्यकारी अधिकृत दिनेश थकालीले बताए । बैंक प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले यस किसिमको तालिमले नवनियुक्त कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याउनु पर्ने बताए । बैंकले छिट्टै देशका विभिन्न स्थानमा २२ वटा नयाँ शाखाहरु खोल्दै छ । नयाँ शाखाहरु संचालन पछि सस्थाको शाखा संजाल देशभर गरि ५८ ओटा पुग्ने विभागिय प्रमुख निर्मलकुमार श्रेष्ठले बताएका छन् ।  

एसइई परीक्षाको तयारी पूरा, ५ लाख परीक्षार्थी सहभागी हुदै

भक्तपुर । आगामी चैत्र ८ गतेदेखि शुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधबार परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको जानकारी दिँदै परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका जिल्ला जिल्ला पठाउने काम सकिएको बताए । उनले भने, ‘परीक्षाको तयारी पूरा भएको छ । प्रश्नपत्र, उत्तर पुस्तिकासँगै अन्य सामग्री पनि जिल्ला पठाइएको छ ।’ यसवर्ष नियमिततर्फ चार लाख ५२ हजार र एक्जाम्टेड तथा प्राविधिक विषयमा ३३ हजार गरी कूल चार लाख ८५ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । परीक्षाका लागि देशभरमा एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिएका छन्। बिहान ८ देखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन चैत ८ गते अनिवार्य अँग्रेजी विषयको परीक्षा हुनेछ । प्राविधिकतर्फका परीक्षा चैत १४ गते शुरु भई २० गतेभित्र सम्पन्न हुनेछ। परीक्षामा एक हजार ९५६ केन्द्राध्यक्ष, तीन हजार ९१२ सहायक केन्द्राध्यक्ष र २३ हजार निरीक्षक खटिने बताइएको छ । रासस

कानून अध्ययनमा कोटा प्रणाली लागू, विद्यार्थीद्धारा विरोध

काठमाडौँ । अब कानून विषय पढ्न चाहनेले प्रवेश परीक्षा दिनुपर्ने भएको छ । कानूनको स्नातक तह पढ्न चाहने विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गरिसकेपछि मात्र भर्ना पाउने भएका हुन् । कानून संकाय डिनको कार्यालयले यो शैक्षिकसत्रदेखि कानून विषय पढाइ हुने क्याम्पसमा निश्चित कोटा तोकी भर्नाका लागि प्रवेश परीक्षा अनिवार्य दिनुपर्ने व्यवस्था गरेको छ । यसअघि २०६५ सालसम्म प्रवेश परीक्षा दिनुपर्ने भएता पनि कोटा प्रणाली लागू नगरिएकाले जति पनि विद्यार्थीले पढ्न पाउने व्यवस्था गरेको थियो । त्यतिबेला औपचारिक रुपमा मात्र प्रवेश परीक्षा लिने गरिन्थ्यो । अब नेपाल ल क्याम्पससहित नेपालभरिका चार वटा क्याम्पसमा प्रवेश परीक्षा उत्तीर्ण गरिसकेपछि मात्र स्नातक तहमा कानून विषय पढ्न पाइने व्यवस्था गरिएको छ । नेपाल ल क्याम्पसमा ५०० जना र उपत्यकाका बाहिर रहेका क्याम्पसमा १५० जनाको कोटा निर्धारिण गरिएको छ । क्याम्पसले यही फागुन १४ देखि चैत १५ सम्म एक महिना अवधिभित्र प्रवेश परीक्षाका लागि फारम भर्न भनेको छ र चैत २५ गते प्रवेश परीक्षाको मिति तोकेको छ । नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख डिएन पराजुलीले कानून विषयको शिक्षालाई गुणस्तरीय बनाउन कोटा प्रणाली लागू गरिएको बताए। उनका अनुसार विगतमा धेरै विद्यार्थी भर्ना गर्दा पढाइ राम्रोसँग सञ्चालन नभएको पाइएका कारण निश्चित विद्यार्थी भर्ना गरी पढाइको गुणस्तर सुधार्न प्रयास थालिएको हो । भौतिक पूर्वाधारको कमीले धेरै विद्यार्थीलाई पढाउने नसक्ने भएपछि कोटा प्रणाली लागू गरिएको बताइन्छ । “विगतमा स्नातक तहमा हजारौँ विद्यार्थी भर्ना हुन्थे,” उनले भने– “तर नियमित क्याम्पस आउने भने ३००/४०० मात्र हुन्थे । त्यसैले अहिले विद्यार्थीलाई नियमित कक्षामा उपस्थित हुने वातावरण बनाउन विद्यार्थी संख्या तोकी भर्ना लिन थालिएको हो ।” ल क्याम्पसमा गत वर्ष चार हजार २३८ विद्यार्थी भर्ना भएका थिए । उनका अनुसार कक्षा कोठा र प्राध्यापकको कमीको कारण क्याम्पसले ५०० भन्दा बढी विद्यार्थी पढाउने क्षमता राख्दैन । यता, विद्यार्थी संगठन भने कोटा प्रणालीको विरोधमा छन् । उनीहरुले विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकार हनन भएको भन्दै विरोध गरेका हुन् । क्याम्पसमा पूर्व स्ववियु सभापति गुणराज आचार्यले विद्यार्थीको पढ्न पाउने अधिकारलाई क्याम्पसले कटौती गर्न थालेकाले विरोध गरेको बताए । यसैबीच, अनेरास्ववियु एकाइ कमिटीले कोटा प्रणाली लागू गरिएको भन्दै डिन कार्यालय र ल क्याम्पसमा तालाबन्दी गरेको छ । कमिटीका अध्यक्ष हरि पंगेनीले कोटा प्रणालीको खारेजीको माग गदै डिनको कार्यालय र क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको जानकारी दिएका छन् । नेपाल ल क्याम्पसमा स्नातक तहमा तीन वर्षे एलएलबी र पाँच वर्षे बिएएलएलबी पढाइ हुने गरेको छ । एलएलबी पढ्न कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण हुनुपर्ने भने बिएएलएलबी पढ्न दश जोड दुई उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको छ । यसैगरी, यस क्याम्पसमा स्नातकोत्तर तह एलएलएममा बिहान ६ सेमेष्टर र दिउँसो ४ सेमेष्टर पढाइ हुने गरेको छ । रासस