काठमाडौंमा आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू हुने

काठमाडौं। काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि अनिवार्य रूपमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । कामपका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरभित्र रहेका सबै सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको जानकारी दिए। नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापन र काठमाडौँको पुरानो भाषा र संस्कृतिसम्बन्धी विषय समावेश गरिने भएको हो । स्थानीय विषयवस्तु, आवश्यकता र सामग्री उपयोग हुनेगरी स्थानीय पाठ्यक्रम पढाउनुपर्ने भए पनि यसअघि विद्यालयले लागू नगरेकाले कामपाले यस किसिमको व्यवस्था लागू गर्न लागेको प्रमुख कोइरालाले जानकारी दिए। । विद्यालय व्यस्थापनको जिम्मा स्थानीय तहले पाएसँगै कामपाले यस किसिमको व्यवस्था गर्न लागेको हो । स्थानीयवासीको सबै आवश्यकता केन्द्रीय पाठ्ययक्रमले पूरा गर्न नसक्ने भएकाले पनि स्थानीय पाठ्यक्रम आवश्यक रहेको प्रमुख कोइरला बताउँछन्। कामपाले छनोट गरेको पाँच विषयवस्तुमध्ये इच्छानुरूप विद्यालयले एक विषय छनोट गर्न सक्नेछ । एक विषयको पूर्णाङ्क १०० हुनेछ । हाल कामपामा ९१ सार्वजनिक र करीब ६४३ संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् । ती विद्यालयमा एक लाख ६५ हजार बालबालिकाले अध्ययन गर्दै आएका छन् । गोर्खा भूकम्पका कारण विद्यालयको भौतिक संरचनामा क्षति पुगेपछि कतिपय विद्यालय एउटै भवनमा बिहान र दिउँसो गरी दुई समयमा सञ्चालन हुँदै आएको छ । निजी विद्यालयले जुन समयमा पनि विद्यार्थी भर्ना लिने गरेको र सार्वजनिक विद्यालयका हकमा हरेक वर्ष चैत १५ गतेअगावै विद्यालयको विज्ञापन गर्न नपाइने र वैशाख पहिलो साता अर्थात् नतिजा प्रकाशन भइसकेपछि मात्र भर्ना लिन पाउने नीतिका कारणले पछिल्लो समय सार्वजनिक विद्यालयमा विद्यार्थीको सङ्ख्यामा कमी आएको छ । गतवर्ष २०७४ असोजदेखि विद्यालय गाभ्ने र नयाँका लागि अनुमति दिने विषयलाई लिएर विद्यालय निरीक्षक र स्रोतव्यक्तिले अनुगमन गरिरहेका छन् । प्रचलित शिक्षा ऐन, नियमावली र निर्देशिकामा रहेर कामपाले नयाँ विद्यालय खोल्न आवश्यक छ कि छैन, भौतिक संरचना, आवश्यक कागजातसहित स्थलगत अनुगमनका आधारमा विद्यालय थप र नयाँ खोल्नेबारेमा स्पष्ट हुन सकिने पनि जनाएको छ । विसं २०११ देखि नक्साङ्कनका आधारमा विद्यालय खोल्न दिनुपर्छ भन्ने अवधारणाका साथ विद्यालय सञ्चालन हुँदै आए पनि विसं २०२८ मा आएको शिक्षा ऐनको आधारमा विद्यालय सञ्चालन गर्ने अनुमति दिने गरिँदै आएको छ । रासस

कान्तिपुर सिटीमा आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर तहको भर्ना खुल्यो

काठमाडौं । कान्तिपुर सिटी कलेजमा आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तरमा भर्ना खुलेको छ । काठमाडौंको पुतलीसडक स्थित उक्त कलेजमा १९ औँ ब्याचका लागि भर्ना खुल्ला गरिएको हो । जुनसुकै सङ्कायबाट स्नातक गरेका विद्यार्थीहरूले भर्नाका लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ । ट्युशन फिका लागि श्रमजीवि पत्रकारलाई १०० प्रतिशत छुटको व्यवस्था रहेको कलेज व्यवस्थापन समितिले जनाएको छ ।

जनता बैंक र टिच फर नेपालबीच शैक्षिक गुणस्तर सम्बन्धि सम्झौता

काठमाडौं । जनता बैंक र टिच फर नेपालबीच शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रममा सहकार्य सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले हस्ताक्षर गरेका थिए । टिच फर नेपालले ग्रामिण क्षेत्रमा रहेका सरकारी विद्यालयमा फेलो शिक्षकहरु खटाई शैक्षिक असमानता घटाउने कार्यमा सहयोग गर्दै आएको छ । हाल टिच फर नेपालले सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्साको ग्रामिण क्षेत्रका ५१ विद्यालयमा ११०जना फेलो (प्रद्यार्थी) शिक्षकहरु मार्फत करिव १० हजार विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धिमा कार्य गरिरहेको छ । सम्झौतापत्रमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट टिच फर नेपाललाई बार्षिक रु. ५ लाख प्रदान गर्नेछ । उक्त कोषबाट टिच फर नेपालले विद्यालयहरुमा महत्वपूर्ण विषयका दक्ष जनशक्तिलाई  शिक्षकको रुपमा खटाउने , यसरी खटाइएका फेलो शिक्षकहरु शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा सरिक रहेकाे छ ।