गुणस्तरीय शिक्षाका लागि ६८ प्रज्ञार्थी छनोट

काठमाडौँ । टिच फर नेपालले शैक्षिक समानता र सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि ६८ प्रज्ञार्थी छनोट गरेको छ । यो वर्ष एक हजार ६ सय भन्दा बढी आवेदनबाट ६८ प्रज्ञार्थी छनोट गरिएको टिच फर नेपालले जनाएको छ । आउँदो शैक्षिकसत्रबाट यी ६८ प्रज्ञार्थीले सात जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने प्रयासस्वरुप निःशुल्क अध्यापन गराउनेछन् । गत शैक्षिक सत्रसम्म छ जिल्ला ललितपुर, सिन्धुपाल्चोक, धनुषा, दाङ, पर्सा र लमजुङमा कार्यरत टिच फर नेपालले यो वर्ष तनहुँमा पनि सो अभियान आरम्भ गर्ने भएको छ । योसँगै टिच फर नेपालले सात जिल्लाका ६७ विद्यालयका १५ हजार भन्दा बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नेछ । विद्यालयमा पठाइनुअघि ती प्रज्ञार्थीलाई ४५ दिने तालीममा दिइनेछ । तालीममा उनीहरुलाई कक्षाकोठा भित्रका सिकाइ जस्तै कक्षा व्यवस्थापन, सिकाइ विधिलगायतका विषयमा जानकारी दिइने टिच फर नेपालका सह संस्थापक तथा तालीम निर्देशक स्वस्तिका श्रेष्ठले बताए । आगामी शैक्षिक सत्रदेखि टिच फर नेपालका १३८ प्रज्ञार्थीले सात जिल्लाका ६७ सामुदायिक विद्यालयमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने छन् । टिच फर नेपाल सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न क्रियाशील एक शैक्षिक अभियान हो । यसले आफ्नो अभियानलाई शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सम्बन्धित जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा विसं २०७० देखि ललितपुर, २०७१ देखि सिन्धुपाल्चोक, २०७२ देखि धनुषा, २०७५ देखि दाङ, लमजुङ, पर्सा गरी छ जिल्लामा र २०७६ बाट तनहुँमा सञ्चालन गर्दैछ । अभियानका लागि यस संस्थाले विद्यालयसँगको साझेदारीमा विभिन्न विश्वविद्यालयबाट स्नातक उत्तीर्ण युवा छनोट तथा तालिम पश्चात अंग्रेजी, गणित र विज्ञान शिक्षकका रूपमा उपलब्ध गराउँदै आएको छ । हाल ललितपुर, सिन्धुपाल्चोक, धनुषा, दाङ, लमजुङ , पर्सा र तनहुँका जम्मा ६७ सामुदायिक विद्यालयमा सो अभियान सञ्चालित छ । रासस

ढोका थुनेर मोलमोलाई, विद्यार्थी धम्क्याएर असुली

काठमाडौं । ललितपुरको किस्ट मेडिकल कलेजले विद्यार्थीलाई धम्क्याएर गैरकानुनी शुल्क लिने गरेको पाइएको छ । विद्यार्थीका अनुसार सञ्चालकहरु कलेज हाता वा वरपर बोलाएर अतिरिक्त शुल्क नबुझाए भर्ना हुन नदिने भनी धम्क्याउने गर्छन । किस्टका केही विद्यार्थी एवं नेपाल मडिकल काउन्सिल स्रोतका अनुसार सञ्चालकमध्येका आशिष थापा, कानुनी सल्लाहकार केशवराज आर्चाय, शैक्षिक कार्यक्रम संयोजक किशोरमानसिंह बस्नेतले अतिरिक्त रकमका लागि विद्यार्थीसँग मोलमोलाइई गर्छन् । उनीहरुले कलेजले लिन पाउने शुल्क खातामै जम्मा गर्न लगाउँछन् भने अतिरिक्त शुल्क निजी खातामा राख्न निर्देशन दिन्छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

अख्तियारमा बयान दिँदादिँदै नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने फरार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान दायरामा रहेका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने फरार भएका छन् । उनी स्थलमार्गबाट पोखरा भैरहवा हुँदै भारत गएको बताइएको छ । उनले दुई पटक बयान दिइसकेका थिए भने अर्को पटक डाक्ने अख्तियारको तयारी थियो । सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ भएको तथा स्थलमार्गबाट भारत गएको पाइएको अख्तियार स्रोतले जनाएको छ। स्रोतका अनुसार उनी घरमा नभएपछि उनका सहयोगी जुजुभाइ महर्जन र रोहति घिमिरेलाई प्रहरीले अख्तियारमा झिकाएर सोधपुछ गरेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।