कंगारु एजुकेशनको ६ दिने शैक्षिक मेला शुरु, विदेशमा पढ्न जानेलाई प्रभावकारी हुने

काठमाडौं । कंगारु एजुकेशन फाउण्डेशनले बिहीबारदेखि कंगारु एजुकेशन फेयर: अल नेपाल रोड शो शुरु भएको छ । फाउण्डेशनले पुर्व झापाको मुख्य सहर विर्तामोडबाट उक्त शो शुरु गरेको हो । शैक्षिक मेलाको पहिलो दिन विर्तामोड क्षेत्रका ५ सय भन्दा धेरै विद्यार्थी र अभिभावक सहभागी भएका छन् । विर्तामोड स्थित फाउण्डेशनको कार्यालय परिषरमा भएको कंगारु एजुकेशन फेयर अल नेपाल रोड शो मा न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, अष्ट्रेलिया र यूरोपका विभन्नि २४ कलेज र विश्वविद्यालयका प्रतिनिधिहरुबाट विद्यार्थीले परामर्श लिएका छन् । मेलामा आएका विद्यार्थीले आफू जान चाहेको देश, त्यहाँ जाँदा गर्नु पर्ने भिसा लगायतको प्रकृया, त्यसका लागि आवश्यक खर्च, उता पुगेपछि हुने पढाई, काम गर्न पाउने अवधि, पाईने काम, हुने आम्दानी आदी जस्ता चासोका कुरा सम्बन्धित देशकै कलेज प्रतिनिधिहरुबाट बुझेका छन् । मेलामा सहभागी हुनेहरुलाई पछि प्रकृया गर्दा लाग्ने सेवा शुल्कमा संस्थागत रुपमा छुटको व्यवस्था गरिएको कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक एबं प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमल्सिनाले बताए । विदेशमा अध्ययन गर्न चाहेर पनि सही सूचना र जानकारी नपाएर विद्यार्थी अलमलमा पर्न नपरोस भनेर आयोजना गरिएको रोड शो को पहिलो कार्यक्रम आफ्नो उद्धेश्यमा सफल भएको उनले बताए । झापाबाट शुरु भएको उक्त मेला देशका मुख्य ५ सहरमा हुँदैछ । शुक्रबार र शनिबार हुने दोश्रो दिनको मेला काठमाडौंको पुतली सडक स्थित संस्थाकै परिसरमा हुनेछ । यस्तै, मंसिर २ गते चितवन, मंसिर ३ गते बुटवल र मंसिर ४ गते पोखरामा मेला गरेर उक्त शो समापन हुने छ । सबै स्थानका मेला संस्थाको आफ्नै कार्यालय परिषरमा हुने बताइएको छ ।

अमेरिका विद्यार्थी पठाउनेमा नेपाल १० औँ स्थानमा, ३ बर्षयता अमेरिका जाने नेपाली विद्यार्थी बढे

काठमाडौं। उच्च शिक्षा अध्ययनका लागि संयुक्त राज्य अमेरिका जाने नेपाली विद्यार्थीको सङ्ख्या यो वर्ष पनि बढेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदानसम्बन्धी ओपन डोर्स प्रतिवेदनले बितेका तीनवर्षयता अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको सङ्ख्यामा १५.३ प्रतिशतले वृद्धि भएको जनाएको हो । “लगातार तीन वर्षदेखि अमेरिका अध्ययनार्थ जाने नेपाली विद्यार्थी बढेका छन् जुन अहिले १३ हजार २७० पुगेको छ । अमेरिका विद्यार्थी पठाउने पच्चीस देशमा रहेको नेपाल अहिले १० औँ स्थानमा उक्लिएको छ”, प्रतिवेदनमा भनिएको छ । प्रतिवेदन अनुसार अमेरिकामा उच्च शिक्षा अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या १० लाख नाघेको छ । रासस

विद्यालय तहको नयाँ पाठ्यक्रम आउँदै, शैक्षिक सत्रदेखि लागू हुने

काठमाडौं। संघीय संरचना र समृद्ध नेपालको परिकल्पना अनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रमको प्रारुप आउँदो शैक्षिक सत्रदेखि नमूना परीक्षणका रूपमा लागू हुने भएको छ । समाजवाद उन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम नागरिक विकासको दूरदृष्टिसहित पाठ्यघण्टा (क्रेडिट आवर) सहितको नयाँ पाठ्यक्रमको प्रारूप कार्यान्वयन गर्न पाठ्यक्रम विकास केन्द्रले तयारी सुरू गरेको हो । व्यवसायिक शिक्षाको धारलाई प्राथमिकता दिइएको सो प्रारूप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट पारित भएको थियो । केन्द्रका महानिर्देशक डा लेखनाथ पौडेलले नयाँ प्रारूप अनुसार पाठ्यक्रम तयार गर्न विज्ञको सूची (रोष्टर) तयार गर्न आह्वान गरिएको र आउँदो शैक्षिकसत्रदेखि कक्षा १ बाट परीक्षण सुरू हुने जानकारी दिए । पाठ्यक्रमको परीक्षण गरिएपछि त्यसका आधारमा पाठ्यपुस्तक तयार गरी कार्यान्वयन गरिन्छ। उनका अनुसार अन्य कक्षाका पाठ्यक्रम क्रमशः आगामी शैक्षिकसत्रदेखि लागू हुनेछ। हरेक वैशाख पहिलो साता देशभर नयाँ शैक्षिकसत्र लागू हुनेछ । नेपालको संविधानबमोजिम विद्यालय शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहमा दिइए पनि पाठ्यक्रम र परीक्षा केन्द्र सरकारकै मातहतमा राखिएको छ । मन्त्रालयले विसं २०६३ मा लागू गरेको सो विद्यालय शिक्षाको प्रारुप यसअघि २०७१ मा परिवर्तन भएको थियो । नयाँ प्रारूपको व्यवस्थाले कक्षा ११ र १२ लाई एकल पथीय बनाउँदै कक्षा ९ र १० मा पाँच अनिवार्य र दुइटा पेशा व्यवसायिक ऐच्छिक विषय रहने प्रबन्ध गरेको छ । कक्षा ११ र १२ मा नेपाली, अङ्ग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा गरी चार विषय अनिवार्य गरिने बताए । सो तहमा कूल ९६० वार्षिक कार्य घण्टा हुनेछ । प्रारूपले एक क्रेडिट आवरमा ३२ घण्टा मानेको छ । गणित विषय पनि ऐच्छिकमा रहनेछ । नयाँ प्रारूपले संविधानको मौलिक हक, सङ्घीय, प्रदेश र स्थानीय तहको संरचना, आर्थिक सामाजिक रुपान्तरणका सवाल, विद्यालय क्षेत्र विकास कार्यक्रम, मुलुकको दीर्घकालीन विकासमा शिक्षाको योगदानका पक्षमा ध्यान दिएको मन्त्रालयले जनाएको छ । शिक्षामा विश्वव्यापीकरणको प्रभावलाई प्रारुपले आत्मसात् गरेको जनाउँदै नेपाली कला, संस्कृति र मौलिक पहिचानमूलक विषयवस्तुको पठनपाठन नेपाली र सबै राष्ट्रभाषामा मात्र हुनुपर्ने व्यवस्था पनि गरिएको छ । नयाँ प्रारूपअनुसार अब विद्यार्थीको मूल्याङ्कन (परीक्षा प्रणाली) मा समसामयिक परिमार्जन हुनेछ ।