स्कूलहरुले दशैं र तिहारको बीचमा बिदा गर्नैपर्ने, वर्षैपिच्छे किताब फेर्न पनि रोक
काठमाडौं । विद्यालयहरुले अब दशैं र तिहारको बीचको अवधिमा विद्यार्थीहरुलाई अनिवार्य रुपमा बिदा दिनुपर्ने भएको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागअन्तर्गत शिक्षा समितिले दशैं र तिहारको बीचमा रहने १२ दिनको अवधिमा आफू मातहतका विद्यालयहरुलाई अनिवार्य रुपमा बिदा दिने व्यवस्था गर्न भनेको हो । सो अवधिको बिदासहित विद्यालयहरुले जम्मा ४५ दिनसम्म बिदा दिन पाउनेछन् । जसमा जाडो बिदा बढीमा २४ दिन र गर्मी बिदा तोकिएको भन्दा बढी दिन बिदा नहुने गरी जाडो बिदासँग मिलान गरी दिन सकिने विभागले जनाएको हो । जसअनुसार विद्यालयहरुले २४ दिन जाडो बिदा दिए बाँकी ८ दिन मात्र गर्मी बिदा दिन पाउँछन् । महानगरले आफू अन्तर्गतका विद्यालयहरुलाई वर्षको २२० दिन विद्यालय खोल्न र कम्तिमा १९६ दिन अविनार्य रुपमा कक्षा सञ्चालन गर्न पनि भनेको छ । किताब बेच्न र फेर्न रोक विभागले विद्यालयहरुलाई आफ्नो विद्यालय हाताभित्र किताब, स्कूल ड्रेस, स्टेशनरी सामान र सन्दर्भ सामाग्रहरु बेच्न वा आफूले चाहेको पसलबाट किताब किन्न समेत रोक लगाएको छ । विद्यालयहरुले आफूले पढाउन चाहेको पुस्तकको सूची र पश्लिकेसनको नाम समेत अभिभावकले देखिने गरी टाँस्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै विद्यालयहरुले एकपटक लागू गरेको पाठ्यपुस्तक कम्तीमा ३ बर्षसम्म फेर्न नपाउने व्यवस्था गरिएको छ । हालसम्म विद्यालयहरुले आफ्नो अनुकूलका प्रकाशनको किताब आफैं बेच्ने वा अभिभावकहरुलाई कुनै पुस्तक पसलको नाम दिएर त्यही पसलमा सबै किताब पाउने भन्दै किताब र पब्लिकेशनको नाम नदिने गर्दै आएका थिए । वर्षमा ४ ओटा परीक्षा अनिवार्य विभागले सबै विद्यालयहरुले अनिवार्य रुपमा वर्षमा ४ पटक परीक्षा लिनैपर्ने व्यवस्था गरेको छ जसअनुसार पहिलो परीक्षा असार १३ गतेदेखि २२ गतेसम्म, दोस्रो असोज १ गतेदेखि १० गतेसम्म, तेस्रो पुस ४ गतेदेखि १४ गतेसम्म र चौथो चैत १३ गतेदेखि २१ गतेसम्म परीक्षा लिनुपर्ने गरी तोकिएको छ । तर त्यसरी परीक्षा लिँदा परीक्षा शुल्क लिन पाउने कि नपाउने र पाउने भए कतिसम्म लिन पाउने भन्ने व्यवस्था भने विभागले गरेको छैन । स्कूलको नाम नेपालीमा, राष्ट्रिय गान अनिवार्य विद्यालयहरुलाई आफ्नो विद्यालयको होर्डिङ बोर्डमा अनिवार्य रुपमा नेपालीमा समेत नाम लेख्न, विद्यालय सञ्चालन हुनुअघि अनिवार्य रुपमा राष्ट्रिय गान बजाउन र कक्षा सुरु हुनुअघि अनिवार्य रुपमा कक्षागत गीत समेत बजाउन समेत निर्देशन दिएको छ ।
गण्डकी कलेजमाथी अनुगमन गरी कारवाही गर्न माग
काठमाडौँ। गण्डकी मेडिकल कलेजले त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै उक्त कलेजमाथि अनुगमन गरी कारवाही गर्न माग गरिएको छ । एमबिबिएसमा अध्ययनरत विद्यार्थीलाई आर्थिकरुपमा ठगी गर्नुका साथै आफूहरुलाई परीक्षाबाट बञ्चित गराएकाले ४० दिनदेखि विद्यार्थीले आन्दोलन गर्दै आएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो कलेजमा अध्ययनरत पीडित विद्यार्थीले कलेजले प्रतिविद्यार्थी रु आठ लाखदेखि रु १८ लाखसम्म चर्को शुल्क उठाएको र सोअनुसार अध्यापन तथा शैक्षिक सुविधा नदिएको तथा एमबिबिएसका ८६ विद्यार्थीलाई परीक्षा दिनबाट बञ्चित गरेको बताए। कलेजमा एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी अनिल सिन्हाले आफूहरुले कलेजको सञ्चालक समितिका अध्यक्षसहित ११ जनामाथि ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्दा दर्ता गरेको जानकारी दिए। उनले आफूहरुले ४० दिनदेखि आन्दोलन गर्दै आए पनि सरकार तथा कलेजले कुनै सनुवाइ नगरेको भन्दै ८६ विद्यार्थीले परीक्षा दिन नपाएको उल्लेख गरेका छन् । पाँच सय विद्यार्थीले अध्ययन गर्दै आएको सो कलेजमा ९० विद्यार्थी पीडित अवस्थामा रहेको उनले बताए। अर्का विद्यार्थी परिवर्तन शर्माले कलेजले आफूहरुबाट शुल्क तिर्न ढिलाइ भए १८ प्रतिशतसम्म ब्याज लिने गरेको, अतिरिक्त शुल्क, परीक्षा शुल्क, रजिष्टेसन शुल्क पनि चर्को उठाउने गरेको र त्योअनुसार कुनै पूर्वाधार नभएको बताए। त्यस्तै शिक्षकलाई पनि पारिश्रमिक नदिइ ठगी गरिरहेको उनको भनाइ थियो ।
निजी विद्यालयहरुको संगठन प्याब्सनको नेतृत्वमा सहमति, अध्यक्षमा टीकाराम पुरी
काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति भएको छ । नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको हो । पूर्वअध्यक्ष उमेश श्रेष्ठको प्रस्तावमा पुरीलाई अध्यक्ष र ढुङ्गानालाई सहअध्यक्ष हुने गरी समझदारी भएको छ । विधानमा नभएको सहअध्यक्ष र केही पद थपघट गरेर मिलाउने तयारी गरिएको छ । सहमति पारित भएमा वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ र महासचिवमा कुमार घिमिरे हुने छन् । कूल दुई हजार ४३८ प्रतिनिधि सहभागी सम्मेलनमा आज निर्वाचनको कार्यक्रम तय गरिएको थियो । महाधिवेशनको मङ्गलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका थिए ।