प्रश्नपत्र बाहिरिएको बारे छानबिन शुरु, चैत भित्रै परीक्षा गर्न आइतबार नयाँ तालिका सार्वजनिक हुँदै

लहान । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले प्रदेश २ मा एसईईको प्रश्नपत्र परीक्षाअगावै बाहिरिएको विषयमा छानबिन शुरु गरेको छ । प्रदेश २ अन्तर्गत सप्तरीबाट विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको आशङ्कामा सिआइबीको अनुसन्धान टोलीले आइटी विशेषज्ञको सहयोग लिएर सप्तरीलाई केन्द्रबिन्दु बनाई छानबिन शुरु गरेको हो । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा खटिएको चार सदस्यीय टोलीले सप्तरीबाट काम शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए । सिआइबीको अनुसन्धानबाट घटनाको सत्यतथ्य खुल्ने विश्वास गरिएको छ । विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा सबै विषयको परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । चैत भित्रै परीक्षा, आइतबार नयाँ तालिका यता, राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा स्थगित एसईई चैतभित्रै गर्न तयारी अघि बढाएको छ। बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले प्रदेश २ मा स्थगित र रद्द भएका परीक्षा चैत महिनाभित्रै गर्न समयतालिका निमार्णको गृहकार्य गरिरहेको जानकारी दिए । ‘आइतबार परीक्षा तालिका सार्वजनिक गछौँ, उनले भने, चैतभित्रै परीक्षा सकेर उत्तरपुस्तिका परीक्षण थाल्छौँ ।’ बोर्डले सातवटै प्रदेशको नतिजा एकैदिन प्रकाशित गर्ने पनि जनाएको छ । चैत १० गते शुरु भएको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) देशभर चैत २१ गते सकिने समयतालिका थियो । प्रदेश २ मा चैत १४ गतेको विज्ञान विषयको प्रश्नपत्र परीक्षाभन्दा पहिल्यै बाहिरिएपछि रद्द गरिएको हो ।

प्रदेश नं २ मा शुक्रबारको एसइई परीक्षा पनि स्थगित, विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरियो

काठमाडौँ । प्रदेश २ मा शुक्रबार हुने सामाजिक विषयको प्रश्नपत्र आउट भएसँगै सामाजिक विषयको परीक्षा स्थगित भएको छ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिनु एकदमै दुःखद रहेको बताउँदै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । यता, राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षाअन्तर्गत विहीबारको अनिवार्य विज्ञान विषयको परीक्षा प्रदेश नम्बर २ मा स्थगित भएको थियो । यस विषयको प्रश्नपत्र परीक्षा आगाडि नै बाहिरिएकाले भन्दै बोर्डको बिहीबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले सूचना जारी गर्दै बिहीबार स्थगित भएको परीक्षा आगामी २२ गते सोही केन्द्रमा नै सञ्चालन हुने जनाएको छ । प्रश्नपत्र सार्वजनिक भएको विषयमा छानविन हुने पनि बोर्डले जनाएको छ ।  देशभर यही चैत १० गतेदेखि शुरु भएको परीक्षा २१ गतेसम्म चल्नेछ । बोर्डले सातै प्रदेशमा अनिवार्य विषयको फरकफरक प्रश्नपत्र बनाएको थियो ।

ब्रिज कोर्समा करियर काउन्सिलिङलाई प्राथमिकतामा राखेका छौं-सौरभ श्रेष्ठ

सौरभ श्रेष्ठ-सिनियर अप्रेसन म्यानेजर, अल्फा बिटा काठमाडौं । हामीले अल्फा बिटा सन् १९९२ बाट सुरु गरेका हौं । विगतमा ब्रिज कोर्स त्यति प्रचलनमा थिएन । त्यतिबेला विद्यार्थीलाई खाली समयको उपयोग गर्न मात्र कोर्सहरु सञ्चालन गरिन्थे । नेपालमा पहिलो पटक ब्रिज कोर्स हामीले सञ्चालनमा ल्याएका हौं । नेपाली परम्परा अनुसार विज्ञान संकाय पढ्ने व्यक्तिले मात्र ब्रिज कोर्स अध्ययन गर्ने परिपाटी रहेको थियो । अहिले व्यवस्थापन, नर्सिङ विषयमा विद्यार्थीहरुले पनि कोर्स अध्ययन गर्न थालेका छन् । कतिपय विद्यार्थीहरु सही विषय छनोट गर्न नजान्दा केहि समय एक संकाय पढ्ने र यसपछि अर्को संकायमा अध्ययन गर्ने गर्दछन् । यसले विद्यार्थीहरुको समय खेर गइरहेको हुन्छ । विद्यार्थीको जीवनमा १० वर्षको अध्ययनपछि एउटा निश्चित आकार लिने बेला भनेको ११ कक्षाको अध्ययन गर्ने बेला हो । एसइईलाई त फलामे ढोका पनि भनिन्छ । यसबाट बाहिर निस्किएपछि कसरी आफ्नो करियरलाई अघि बढाउने भन्ने विषयमा राम्ररी सोच्नु पर्दछ । कक्षा १० सम्मको अध्ययनलाई हामीले सामान्य अध्ययन मानिन्छ भने यसपछिको अध्ययनलाई विशिष्ठीकृत अध्ययन मानिन्छ । १० कक्षासम्म अध्ययन गर्दा विद्यार्थीहरुले एउटा धार बनाइसकेका हुन्छन् । तर, यो धारलाई पहिचान गर्नु प्रमुख चुनौति हो । एउटा विद्यार्थीको शैक्षिक भविश्य सफल हुनको लागि उसको रुचि, क्षमता, परिवारको आर्थिक अवस्था, सामाजिक अवस्था सबै कुराले प्रभाव पारेको हुन्छ । हाम्रो २८ वर्षको अनुभवले के देखाएको छ भने विगतको दिनमा अभिवावकहरु मेरो छोरा छोरीले यो नै पढ्नपर्छ भनेर दवाव दिने गर्दथे, तर आजको दिनमा अभिभावकहरु सकारात्मक रहेका छन् । बालबालिकाको भविश्यप्रति उनीहरु निकै सजग रहेका छन् । यस विषयमा खुलेर कुरा गर्न चाहन्छन् । हिजोका दिनमा राम्रो भविश्यको लागि विज्ञान संकाय नै पढ्नु पर्छ भन्ने थियो, तर आजको दिनमा यो कुरा इतिहास भैसकेको छ । प्राविधिक शिक्षाका नयाँनयाँ विषयहरु थपिइरहेका छन् । हामीले साइन्स, म्यानेजमेन्ट, नर्सिङ, ए लेभल लगायतका विषयहरुको लागि कोर्स तयार गरेका छौं । पढाई मात्र नभई अतिरिक्त खेल, म्युजिक, अडियो, भिडियो, रोर्बटिक लगायतका माध्यमहरुबाट पनि सिकाई प्रक्रिया सञ्चालन गरिरहेका छौं । हामीले २ प्रकारको ब्रिज कोर्सको तयारी गरेको छौं । विषयगत र वस्तुगत । सेन्टजेभियर, बुढानिलकण्ठ लगायत उत्कृष्ट कजेजमा पढ्न चाहनेको लागि इन्ट्रान्स परीक्षामा पास हुने तरिकाले अध्ययपन गराउने छौं । विशेष संकाय पढ्न चाहाने विद्यार्थीलाई संकाय कै पाठ्यक्रमलाई ध्यान दिएका छौं । अहिलेको अवस्थामा साइन्स पढ्नेले मात्र ब्रिज कोर्स अध्ययन गर्ने होइन, जुनकुनै संकायको लागि यो कोर्स आवश्यक छ । ताकि कुन विषय अध्ययन गरेर कस्तो उपलब्धी हासिल गर्ने अग्रिम जानकारी लिन सकुन् । विद्यार्थीको क्षमता र रुचिलाई पहिचान गरी राम्रो सुझाव र शिक्षा दिनु आजको आवश्यकता हो । हामीले विगत केहि वर्षदेखि नै यस कुरालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । हामीले विद्यार्थीको सेल्फ डिस्कभरीलाई महत्व दिएका छौं । यसको लागी यहि चैत २४ गतेदेखि करिब २ हजार विद्यार्थीहरुलाई काउन्सिलिङ गर्ने तयारी गरेका छौं । हामी सबैभन्दा पहिले विद्यार्थीको आचरण परीक्षण गर्छौँ । त्यसपछि क्षमता र अन्य कुराहरुलाई ध्यान दिनेछौं । १० हप्ताको कोर्समा हामीले विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरेर अध्ययपन गराउने तयारी गरेका छौं । १० हप्ताको कोर्सको लागि १० हजार रुपैयाँ तोकेका छौं । यो हामीले दिने क्वालिटीको आधारमा निकै सस्तो हो । यस्तै जेहेन्दार विद्यार्थीलाई शत प्रतिशत छुट र किताब तथा नोटको व्यवस्था गरेका छौं । हामीसँग विद्यार्थीले सजिलै सिक्न सक्ने वातावरण र उच्च व्यवसायिक शिक्षकहरु रहेका छन् । जसले गर्दा विद्यार्थीलाई थप उर्जा मिल्ने छ । हरेक विद्यार्थीको एक उत्कृष्ट कलेजमा पढ्ने सपना रहेको हुन्छ । त्यसको लागि हामीले विशेष कोर्सको तयारी गरेका छौं । कुनै विद्यार्थीले कुन विषयमा कति प्रगति गर्न सक्छ भनेर हामी करियर काउन्सिल गर्छौ । करियर काउन्सिलिङ महत्वपूर्ण विषय हो । हामीले विशेषगरी विद्यार्थीहरुलाई सेल्फ डिस्कभरी गर्ने गरि मोटिभेट गरिरेका हुन्छौं । एउटा विद्यार्थीले लिएको ज्ञानको १० वर्षपछिको बजार भविश्य के हो । यो कुरामा हामीले ध्यान दिइरहेका छौं । ताकि विद्यार्थीले लिएको ज्ञान सिपले उच्च व्यवसायिक सफलता हात पार्न सकोस् । यो कुरा हामीले कोर्समा दिनेछौं ।