त्रिविको थेसिस किनबेचमा प्राध्यापकको संलग्नता, ठगी मुद्दा लगाउने चेतावनी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस शंकरदेवमा थेसिस र प्रोजेक्ट रिपोर्टका नाममा प्राध्यापकले आफूहरूसँग रकम बार्गेनिङ गरेको आरोप विद्यार्थीले लगाएका छन् । क्याम्पसका उपप्राध्यापक जोगिन्दर गोइतले आफैँले थेसिस तयार गरिदिने भन्दै विद्यार्थीसँग रकम मागेपछि अभिभावकले क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यसँग गुनासो गरेका छन् । गोइत अकाउन्ट विषयका शिक्षक हुन् । प्राध्यापकहरूले थेसिस र प्रोजेक्ट रिपोर्ट आफैँले तयार गरी प्रतिविद्यार्थी १५ देखि २५ हजारसम्म रकम असुल्ने गरेको विद्यार्थीको भनाइ छ । शिक्षकले बार्गेनिङ गरेको गुनासो अभिभावकले क्याम्पस प्रमुखसँग गरेपछि यस्तो तथ्य बाहिरिएको हो । क्याम्पसका केही स्थायी, करार र आंशिक शिक्षकले समेत विद्यार्थीसँग बार्गेनिङ गरेको पाइएको छ । क्याम्पसवरिपरिका फोटोकपी सेन्टरले समेत शिक्षकसँगको मिलेमतोमा विद्यार्थीलाई थेसिस बेच्ने गरेको आरोप लाग्दै आएको छ । यता,  बिबिएस चौथो वर्षमा ५० पूर्णांकको प्रोजेक्ट वर्क र एमबिएस तहमा सय पूर्णांकको थेसिस तयार गर्नुपर्छ । शिक्षकले आफैँले त्यस्तो सामग्री तयार गरेर विद्यार्थीसँग रकम असुल्न थालेपछि क्याम्पसले उनीहरूमाथि ठगी मुद्दा चलाउने चेतावनी दिएको छ । क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले सूचना जारी गरी बिचौलियालाई कारबाही गर्ने चेतावनी दिएका छन् । ‘यस्ता काम दोहोरिन गएमा थेसिस/प्रोजेक्ट रिपोर्टमा चलखेल गर्ने शिक्षकलाई क्याम्पसबाट हटाउने, बढुवा रोक्ने वा त्रिवि सेवाबाट हटाउन सिफारिस गर्ने र ठगीसम्बन्धी मुद्दा चलाउने तथा किन्ने विद्यार्थीलाई क्याम्पसबाट निष्कासन गरिनेछ,’ सूचनामा भनिएको छ । क्याम्पसमा प्रत्येक वर्ष बिबिएसमा करिब सात सय र एमबिएसमा हजार विद्यार्थीले थेसिस तथा प्रोजेक्ट रिपोर्ट बुझाउँछन् । विद्यार्थीको चाप र डिन कार्यालयको बाध्यात्मक नीतिको मौका छोपी केही शिक्षकले नाजायज काम गरेको क्याम्पस प्रमुख आचार्यको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यसरी बाहिरियो एसइई प्रश्नपत्र : प्रहरीले झिके, शिक्षकले चुहाए

काठमाडौँ । प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र सिरहास्थित इलाका प्रहरी कार्यालय कल्याणपुरबाट बाहिरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ । १४ र १५ चैतमा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि एसइई स्थगित गरिएको थियो । सिआइबी प्रमुख प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा प्रश्नपत्र चोरीमा प्रहरी नै संलग्न भएको पुष्टि गरे । पत्रकार सम्मेलनमा घटनामा संलग्न ६ जनालाई सार्वजनिक गरिएको छ । डिआइजी शाहीका अनुसार १४ र १५ गते दुवै विषयको प्रश्नपत्र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ब्रह्मदेव सुनरैत यादवले साथी दीपेन्द्रकुमार मण्डललाई सहयोग गर्न निकालेका थिए । यादवले चाबी चोरेर दराज खोलेको र ब्लेडले थैलो चिरेर प्रश्नपत्र निकालेको सिआइबीले जनाएको छ । प्रश्नपत्रको फोटो खिचेपछि त्यसलाई पूर्ववत् राखिदिएका थिए । २२ वर्षीय ब्रह्मदेव सप्तरी राजविराज नगरपालिका–१० का हुन् भने २५ वर्षीय दीपेन्द्र राजविराज नगरपालिका–६ का बासिन्दा हुन् । दुवै एकै प्रहरी कार्यालयमा कार्यरत छन् । ‘यसमा इप्रका कल्याणपुर इन्चार्ज तुलसी भट्टराईसहित अन्य कसैको पनि संलग्नता हालसम्म देखिएको छैन,’ शाहीले भने । साथीका लागि चोरेको प्रश्नपत्र ब्रह्मदेवकै कारण सप्तरीमा फैलिएको पाइएको छ । उनले आफ्नै दाजु २८ वर्षीय विष्णुदेव यादवलाई इमोमार्फत प्रश्नपत्र पठाएका थिए । त्यसपछि सप्तरीमा अधिकांश विद्यार्थीको हातहातमा प्रश्नपत्र पुगेको थियो भने सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

एसईईपछिका फुर्सदिला विद्यार्थीका लागि ब्रिजकोर्स, आवश्यकता कि फेशन ?

फाइल तस्बिर काठमाडौं । प्रदेश २ बाहेकका अन्य सबै प्रदेशमा एसईईको परीक्षा भर्खरै सकिएको छ । परीक्षा सकिएसँगै ४ लाख भन्दा बढी विद्यार्थी ३ महिनाको लागि फुर्सदिला भएका छन् । परीक्षा सकिएको र परीक्षाको नतिजा आउने समयसम्म फुर्सदिला भएका विद्यार्थीहरुले ब्रिजकोर्स गर्ने योजना बनाइरहेका छन् । कोही साथीको लहैलहैमा त कोही केही सिक्ने आशयको साथ ब्रिजकोर्स कक्षा लिने तयारी गर्दैछन् । परीक्षा र नतिजाबीचको तीन महिना समयको सदुपयोग कसरी गर्ने भन्ने कुरामा अझै पनि धेरै जना अन्योल मै देखिन्छन् । ब्रिजकोर्स नगर्दा आगामी पढाई पो बिग्रिने हो कि भन्ने डर धेरै विद्यार्थीहरुमा छ, यसकारण ईच्छा नभए पनि उनिहरु ब्रिजकोर्स कक्षाहरु लिने गर्छन् । ब्रिज कोर्सलाई आवश्यकता भन्ने कि फेशन, यसबारेमा विभिन्न व्यक्तित्वहरुको मत फरक फरक रहेको छ । के भन्छन् ब्रिजकोर्स संचालकहरु ? ब्रिजकोर्स गर्नु महत्वपूर्ण छ कि छैन, यो विद्यार्थीले छनोट गर्ने बिषयको आधारमा निर्धारण हुन्छ । विभिन्न बिषयमा ब्रिजकोर्स कक्षाहरु संचालन हुने गर्दछन्, जस्तै विज्ञान संकाय, मानविक संकाय र प्राविधिक संकाय । सिटिइभिटी जस्तो प्राविधिक शिक्षा लिनेका लागि भने ब्रिजकोर्स पढ्नु एकदमै आवश्यक रहेको व्हाईट हाउसका प्रमुख कार्यकारी अध्यक्ष रोशन ओझा बताउँछन् । सिटिइभिटीका कलेजहरुमा ४० जनाको लागि मात्र सिट हुने भएकोले पनि ब्रिजकोर्सको आवश्यक रहेको उनी बताउँछन् । त्यस्तै स्टाफ नर्स अध्ययन गर्ने विद्यार्थीहरुले पनि ब्रिजकोर्स अध्ययन गर्न जरुरी छ। कक्षा १० र कक्षा ११ को पाठ्यक्रम हेर्ने हो भने कक्षा ११ मा ५० प्रतिशत नयाँ कोर्स रहेका छन् । कक्षा ११ का कक्षाहरु ६–७ महिनामात्र संचालन हुने र यो समयमा धेरै विद्यार्थीलाई कसरी पास हुने भन्ने कुराले पिरोल्ने भएर पनि अध्ययनलाई सजिलो बनाउन ब्रिजकोर्सको आवश्यक रहेको ओझाको भनाइ छ । फाइल तस्बिर परीक्षा र नतिजाबीचको तीन महिनाको समय हरेक विद्यार्थीको लागि सुनौलो अवसर भएको उनी बताउँछन् । एसईईपछिको खाली समयलाई विद्यार्थीहरुले खेलेरै कटाइरहेका हुन्छन् तर त्यही समयलाई विद्यार्थीहरुले सदुपयोग गर्न सके उनीहरुको भविष्यमा धेरै ठूलो परिवर्तन आउन सक्छ। यसको लागि ब्रिजकोर्स नै गर्नु पर्छ भन्ने नभएको र यस समयमा विद्यार्थीहरुले आफ्नो रुचीको बिषयहरुमा तालिम पनि लिन सक्ने ओझाले बताए। अभिभावक र विधार्थीहरु यसो भन्छन् ? बानेश्वरमा बस्दै आएकी मिना डंगोल भर्खरै एसईई दिएर बसेको छोरालाई केही सिपको कुरा सिकाउने बताउँछिन् । उनलाई लाग्छ यो समय पाठ्यक्रम अध्ययनको भन्दा पनि आफ्नो भित्री लुकेर बसेको क्षमतालाई अध्ययन गर्ने समय हो । त्यस्तै, धोविघाटमा बस्दै आएकी पुष्पा थापाले आफ्नो छोरालाई एसईई पछी कुनै पार्ट टाइम काममा लगाउने बिचार गरेकी छिन् । उनी आफ्नो छोराले काम, पैसा र समयको महत्व बुझोस् भन्ने चाहन्छिन् । समयसँगै धेरै अभिभावकहरु ब्रिज कोर्स जानै पर्छ भन्ने मान्यता राख्दैनन् । काठमाडौंमै जन्मिएर हुर्किएका, भर्खर एसईई परीक्षा सकाएका चिराग लिम्बुले भने यो खाली समयमा आफ्नो पुर्ख्यौली घर तेह्रथुम जाने विचार गरेका छन् । आफुले यस ३ महिनाको बिदामा आफ्नो ठाउँ, संस्कृतिको बारेमा बुझ्ने उनको योजना छ। त्यस्तै, कक्षा ११ मा अध्ययनरत समीक्षा गिरी भने ब्रिजकोर्स कक्षाले आफुलाई धेरै सहयोग गरेको बताउँछिन् । युनाईटेड कलेजमा विज्ञान बिषय पढिरहेकी उनी कक्षा ११ मा आउँदा ब्रिजकोर्स कक्षाले गर्दा अरुले भनेको जस्तो धेरै बोझ महसुस नगरेको बताउँछिन् । के ब्रिजकोर्स जरुरी हो ? जीवन एउटा निरन्तर सिकाईको प्रकृया हो । पढ्ने र सिक्ने कुरा कहिले पनि सकिदैन । त्यसैले पनि ३ महिनामा ब्रिजकोर्स कक्षा गएर त्यही पाठ्यक्रमको बिषयलाई निरन्तर अध्ययन गर्नुभन्दा पनि विद्यार्थीले आफ्नो रुचीको क्षेत्रमा संलग्न हुँदा यो समय अझ बढी अर्थपूर्ण हुन्छ । यसको मतलब पढेको कुरा पनि बिर्सिने गरी अन्य कुरामा ध्यान दिनु पर्छ भन्ने होइन । यो अवधिमा पढाईमा खासै समस्या नभएका विद्यार्थीले दिनको १-२ घण्टा पढाईमा खर्चन सक्छन् । त्यस्तै पढाईमा कमजोर बिधार्थीले बिहान २ घण्टा र साँझ २ घण्टा आफुलाई बिषयगत अध्ययनमा संलग्न गराए पढाई पछि गएर बोझ बन्ने सम्भावना घटेर जान्छ । किशोर अवस्थामा विद्यार्थीहरु आफुलाई नआएको कुराहरु कक्षामा सोध्न अफ्ठयारो मान्छन् र आफुलाई अरुले के भन्ला भन्ने कुराले पनि उनीहरु पछाडि पर्ने गर्छन् । उनीहरुलाई नजानेको कुरा सोध्न कहिले पनि लाज मानु हुँदैन भन्ने कुरा कसैले सिकाएको हुँदैन । समाजले जहिले पनि अरुलाई जित्नुपर्छ मात्र भन्छ, तर आफुले आफुलाई जित्नुपर्छ भन्ने कुरा कहिले पनि सिकाउँदैन। परीक्षामा राम्रो नम्बर/श्रेणी ल्याउनुपर्छ भन्ने छाप हरेक विद्यार्थीको दिमागमा परेको हुन्छ। जिन्दगी सर्टिफिकेटको मार्क्सको भरमा चल्छ भन्ने गलत धारणाबाट हरेक मानिस माथि उठ्न जरुरी छ। त्यसैले एसईई दिएर बसेका भाई बहिनीहरुले अति आवश्यक छ भने मात्र ब्रिजकोर्स कक्षा लिनुहोस् नभए अन्य नयाँ गतिविधीमा संलग्न भई आफुलाई व्यावहारिक रुपले निखार्ने प्रयास गर्नुहोस्।