बाराको विद्यालयलाई नेपाल बैंकले गर्यो ५० लाख आर्थिक सहयोग

काठमाडौँ । नेपाल बैंक लिमिटेडले बारा जिल्लाको चैनपुरमा सञ्चालित नेपाल राष्ट्रिय प्राविलाई रु ५० लाख आर्थिक सहयोग प्रदान गरेको छ । गत चैतमा आएको हावाहुरीबाट क्षतिग्रस्त उक्त विद्यालयको २ तलाको ६ कोठाको भवन निर्माणका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम उपलव्ध गराएको बैंकले जनाएको छ । उक्त रकमको चेक शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलको उपस्थितिमा विद्यालय परिसरमा आयोजित एक समारोहका वीच नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी हस्तान्तरण गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम ठाकुर र विद्यालयका प्रधानाध्यापक मदनप्रसाद कुर्मीलाई रहक हस्तान्तर गरिएको हो ।

विद्यार्थीलाई ५ लाखसम्म सहुलियतमा ऋण दिन सुरु: ६ प्रतिशत ब्याज, पढाई सकिएको ४ बर्षमा भुक्तानी

  काठमाडौं । भक्तपुर नगरपालिकाले प्रति विद्यार्थी ५ लाखसम्म सहुलियत ब्याजदरमा ऋण दिन शुरु गरेको छ । आर्थिक कारणले कुनैपनि जेहेन्दार विद्यार्थीहरुले पढ्नबाट बन्चित हुनु नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले यस्तो व्यवस्था शुरु गरेको नगरपालिकाका मेयर सुनिल प्रजापतिले बताए । नगरपालिकाले ऋण दिने सम्बन्धी ‘भक्तपुर नगरपालिका शैक्षिक ऋण निर्देशिका २०७५’ प्रकाशित गरेको छ। ६ प्रतिशत ब्याजमा भक्तपुर नगरपालिका भित्र स्थायी बस्ने गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक ऋण दिइने छ। विद्यार्थीले आफु जेहेन्दार र गरीब भएको वडाबाट सिफारिस लिएर आउनुपर्ने र त्यसपछि नगरपालिकाले आफ्नो वार्षिक बजेटको सिमामा रहेर पहिलो आउनेलाई प्राथमिकता दिने बताएको छ। यसका लागि नगरपालिकाले ५ करोड बजेट छुट्याएको नगरपालिकाका सचिवालय प्रमुख दामोदर श्रीवास्तवले जानकारी दिए । ऋण माग गर्ने विद्यार्थीले कुन तहमा कुन बिषय लिएर अध्ययन गर्ने हो भन्ने कुरा प्रस्ट रुपमा खुलाउनु पर्नेछ । ऋण एसईई भन्दा माथि पिएचडीसम्म अध्ययन गर्ने विद्यार्थीले मात्र पाउने व्यवस्था रहेको छ । ऋण प्राप्त गरिसकेपछी विद्यार्थीले पढाई सिद्दद्धएको ४ बर्ष भित्रमा सबै पैसा फिर्ता गरिसक्नु पर्ने जसअन्तर्गत विद्यार्थीले पढाई सकिएको पहिलो बर्षमा २५ प्रतिशत, दोस्रो बर्षमा ५० प्रतिशत ऋण, तेस्रो बर्षमा ७५ प्रतिशत र चौथो बर्षमा सबै ऋण चुक्ता गरिसक्नु पर्नेछ। एक परिवारको एकजना सदस्यले मात्र ऋण पाउने छन् र ऋण एकमुस्ट तथा किस्ताबन्दीमा लिन सकिने छ । पढाई सकिएको ४ बर्षमा नबुझाए उनको सम्पत्तिहरु रोक्का गरिनुको साथै ५ प्रतिशत जरिवाना तिर्नुपर्नेछ । शैक्षिक ऋण प्रत्येक वडाको १० जनालाई मात्र दिईने छ । यसअनुसार १०० जना विद्यार्थीले पाँच-पाँच लाख ऋण पाउनेछन् ।

दरबार हाइस्कूलको पुनःनिर्माणको मुख्य काम सकियो, ‘इँटाबाहेक सबै सामग्री चीनबाट’

काठमाडौँ । नेपालको सबभन्दा पुरानो ‘दरबार हाई स्कूल’को पुनःनिर्माणको मुख्य काम सकिएको छ । चिनियाँ सरकारको सहयोगमा बन्न थालेको स्कूलको पुनःनिर्माणको मुख्य काम सकिएको हो । आज स्कूल परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत हाउ यान्छीले नौ महिनामा नै स्कूलको पुनःनिर्माणको मुख्य काम सकिएको जानकारी गराइन् । चीनको साङ्घाइ कन्ट्रक्सन ग्रुपले चिनियाँ र नेपाली कामदारको सहयोगमा पुनःनिर्माण शुरु गरेको हो । राजदूत यान्छीले भूकम्पबाट भत्किएपछि विद्यार्थीले स्कूलमा पढ्न नपाएकाले चाँडै नै कक्षा कोठामा पढ्ने वातावरण बनाउनका लागि पुनःनिर्माणको काम दु्रतगतिमा गरिएको बताइन् । “स्कूलको पुनःनिर्माणको काम चाँडै नै सम्पन्न गरेर विद्यार्थीलाई सुरक्षितरुपमा पढ्न पाउने वातावरण तयार हुनेछ”, उनले भनिन्, “स्कूल पुनःनिर्माण गरेर नेपालको आधुनिक शिक्षामा सहयोग पुग्नेछ ।” उनले चीनको सहयोग नेपालको हरेक क्षेत्रमा हुने भन्दै आर्थिक र सामाजिक क्षेत्रमा चीनको निरन्तर सहयोग हुने बताइन् । कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राविधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले छोटो समयमा नै चिनियाँ कम्पनीले स्कूलको पुनःनिर्माण गरेको बताए । उनका अनुसार दरबार हाइस्कूलसँगै सिन्धुपाञ्चोकमा दुई, रसुवामा दुई र दोलखामा दुई स्कूलको पुनःनिर्माण चिनियाँ सरकारको सहयोगमा भइरहेका छन् । चीनले भूकम्पपछि २५ वटा परियोजनामध्ये छ वटाको काम सम्पन्न भइसकेका छन् भने १९ वटाको काम भइरहेको छ । कार्यक्रममा स्कूलका प्रधानाध्यापक हेमचन्द्र महतोले पुनःनिर्माणपछि विद्यालयलाई पठनपाठनमा सहयोग मिल्ने बताए । स्कूलको पुनःनिर्माण हुन थालेपछि विद्यार्थी अहिले प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पसमा अध्ययन गरिरहेका छन् । “भूकम्पपछि स्कूल भत्किएर पठनपाठनमा समस्या परिरहेको थियो”, उनले भने, “अब चाँडै नै पुनःनिर्माणको काम सकेर विद्यार्थी पुनःआफ्नै स्कूलमा पढ्न पाउनेछन् ।” १९१० मा स्थापना भएको दरबार स्कूलमा गत विसं २०७२ को भूकम्पका कारण क्षति पुगेको थियो । भूकम्पपछि विद्यार्थीलाई बाहिर अस्थायी टहरा बनाएर पढाउने गरिएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का प्रमुख इमनारायण श्रेष्ठले रु ८० करोड लगानीमा उक्त स्कूलको पुनःनिर्माण गर्न थालेको जानकारी गराए । उनका अनुसार आउँदो पुसमा चिनियाँ सरकारले हस्तान्तरण गर्नेछ । चिनियाँ कम्पनी सङ्घाइले चिनियाँ सामग्री ल्याएर नै स्कूल पुनःनिर्माण गरेको हो । कार्यान्वयन एकाइका आयोजना उपप्रमुख दिलीपशेखर श्रेष्ठले इँटाबाहेक सबै सामग्री चीनबाट नै ल्याएर बनाइएको जानकारी गराए । एकाइले स्कूलका लागि चाहिने सामग्रीको राजस्व छुट गराउनेदेखि कामदारको राहदानी आवेदन गर्ने काम गरेको थियो । पहिले तीन तला रहेको दरबार स्कूल अब चार तलाको ४५ वटा कोठा रहने आयोजना उपप्रमुख श्रेष्ठले बताए । उनका अनुसार पुनःनिर्माणको काम सकिएकाले अब रङरोगन, विद्युत्लगायत फिनिसिङको काम मात्र बाँकी रहेको छ । तीमध्ये २२ वटा कक्षाकोठा, १४ वटा कम्युुटर, दुई वटा पुस्तकालय, एक कोठा चित्रकला, एक कोठा श्रवणकक्ष, कार्यालयका लागि तीन कोठा, हलका लागि एक कोठा र खाजाका लागि एक कोठा रहनेछन् । दरबार स्कूलमा अहिले भानु माध्यामिक विद्यालय र संस्कृत माध्यामिक विद्यालय रहेका छन् । अहिले भानु विद्यालयमा १६५ र संस्कृत माविमा २५० जना विद्यार्थी अध्ययनरत रहेका छन् । रासस