एरीको ४० लाख लगानीमा निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण
काठमाडाैं । थाइल्याण्डका एक नागरिकले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सावित्रा माविमा पक्की भवन निर्माण गरिदिएका छन् । थाइ नागरिक मास्टर वान्चाइ रौइ एरीको ४० लाख रूपैयाँ लगानीमा चार कोठे दुई तले पक्की भवन निर्माण गरिएको हो । एरीको लगानीमा निर्माण गरिएको विद्यालय भवन बुधबार नेपालका लागि थाइल्याण्डका राजदूत भाकवत टान्स्कुलले औपचारिक रूपमा उद्घाटन गरेका हुन् । नवनिर्मित भवनका लागि आवश्यक फलामे डेस्क, बेञ्चलगायतका आवश्यक सामग्री खरिद गर्न एरीले थप पाँच लाख रूपैयाँ प्रदान गरेकाे निर्माण उपभोक्ता समितिका अध्यक्ष एवं वडासदस्य राजेन्द्र राईले जानकारी दिएका छन् । विद्यालय भवन गत असोज १ गते लुम्बिनी थाइ बिहारका प्रमुख फ्रा श्री बोधी विदेशले शिलान्यास गरेका थिए । भवनको अभाव झेल्दै आएको सावित्रा माविका लागि पूर्वविद्यार्थी एवं लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईको पहलमा फ्रा श्री बोधी विदेशमार्फत एरीबाट आर्थिक सहयोग जुटाइएको हो । एरीको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त विद्यालय भवनको साँचो बुधबार नै राजदूत टान्स्कुलले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् । भवन अभाव झेलिरहेका विद्यालयलाई थाइल्याण्डका दाताको सहयोगले राहत मिलेको अभिभावक एवं वडा नं ३ बाम्राङका वडाध्यक्ष ललितकुमार राईले बताए । विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सहभागी भएका राजदूत टान्स्कुल, दाता एरीलगायत अतिथिलाई विद्यालय परिवारले पञ्चेबाजासहित स्वागत गरेको थियो । विभिन्न जातजातिको सांस्कृतिक झाँकी तथा साङ्गीतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको उद्घाटन कार्यक्रममा राजदूत टान्स्कुलले विद्यालयले गरेको स्वागतले आफू ऋणी भएको समेत बताएका छन् । रासस
१२ कक्षा पास नगरी विदेश पढ्न जान सरकारले अनुमति नदिने
काठमाडौं । सरकारले १२ कक्षा पास नगरी विदेश जान नदिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सूचना जारी गर्दै १२ पास नगरेका विद्यार्थीहरुलाई विदेश अध्ययनको लागि जान नो अब्जेक्सन लेटर नदिने बताएको हो । १२ कक्षासम्म माध्यमिक शिक्षा नै भएकोले विद्यालय शिक्षा सकेर उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई मात्रै अध्ययन स्वीकृति दिने मन्त्रालयको निर्देशनमा उल्लेख छ । यसअघि कक्षा १२ लाई उच्च शिक्षा भन्ने गरिएकोले नो अब्जेक्सन लेटर दिईएको शिक्षा मन्त्रालयका महेश्वर शर्माले बताए ।
शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिने ६ जना मात्रै, के भयो गडबडी ?
काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीको दुई तिहाईको सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम ल्यायो । तर, सुन्दा लोकप्रिय लाग्ने शिक्षित युवा स्वरोजगार कर्जा कार्यक्रम असफल भएको छ । यसरी शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिनेको संख्या अहिलेसम्म जम्मा ६ मात्रै छ । उनीहरुले यो कार्यक्रम मार्फत २५ लाख रुपैयाँ सहुलियत कर्जा लिएका छन् । जेठ २३ मा प्रतिनिधि सभामा आगामी आवको बजेट माथिको छलफल कार्यक्रममा सहभागी सांसदहरुले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने कुरा किन कार्यान्वयन भएन ? यसमा के गडबडी भयो भन्दै अर्थमन्त्री समक्ष प्रश्न तेस्र्याएका थिए । जवाफमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार ऋण दिन तयार हुँदाहुँदै पनि युवाहरुले यस कार्यक्रमप्रति चासो नदिएको तर्क गरे । तर, यसरी युवाहरु आकर्षित हुन नसक्नु पछाडीको कारणबारे भने उनले खुलाएनन् । यसरी ऋण लिेन प्रकृया झण्झटिलो छ, कत्ति युवाहरु त बैंकबाट रित्ता हातसमेत फर्किएको भन्दै सांसदहरुले आक्रोश पोखेका थिए । सरकारले सहुलियतापूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ कार्यान्वयनमा ल्याएसँगै नेपाल राष्ट्र बैंकले २०७५ असोज ११ गते नै सबै वाणिज्य बैँक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकले योग्य नागरिकलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न सक्ने बताएसँगै धेरै युवाहरु उत्साहित भएका थिए । तर, चालु आवको बजेट कार्यान्वयनको नौ महिनामा जम्मा ६ जना युवाहरुले मात्रै यस्तो ऋण पाएका हुन् । यस सम्बन्धमा अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले कार्यविधिमा प्रकृया नमिलेकोले शुरुमा शैक्षिक ऋण लिन समस्या आएको हो, तर अहिले भने यस्तो केही समस्या नभएको बताए । ६ जनाले मात्र कर्जा पाएको भन्ने तथ्याङ्क गत चैत महिना सम्मको मात्रै हो–उनले भने । बैशाख र जेठमा शैक्षिक कर्जा लिनेको संख्या बढ्दै गएको उनले बताए । कसरी लिने कर्जा ? अर्थ मन्त्रालयले उक्त कार्यविधि अनुसार शैक्षिक कर्जा वाणिज्य बैंक, विकास बैंक र अन्य वित्तीय संस्थाबाट पाइन्छ । तर, लघुवित्त संस्थाले भने त्यस्तो ऋण दिन पाउने छैनन् । सरकारको योजनानुसार कम्तिमा स्नातक तह उत्तीर्ण गरेको र ४० बर्ष ननाघेको नेपाली युवाले ७ लाख सम्मको शिक्षित युवा स्वरोजगार कर्जा र माध्यमिक वा सो सरह उत्तीर्ण गरी २५ वर्ष ननाघेका नेपाली युवाले ५ लाख सम्मको उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा लिन पाउने छन् । कर्जा नपाए के गर्ने ? सबै आवश्यक कागजात बैंकलाई बुझाईसकेपछी बैंकले २१ दिनभित्रमा ऋण लिन चाहने व्यक्तीलाई जवाफ दिईसक्नु पर्ने व्यवस्था रहेको छ । यदी बैंकहरु यसो नगरेको खण्डमा गुनासोको लागि सम्बन्धित व्यक्तीले टोल फ्री नं मार्फत आफ्नो गुनासो राख्न पाउनेछन् । गुनासो सुनुवाईको लागि डेपुटी गभर्नरको समूहमा अर्थमन्त्रालयको तर्फबाट एकजना सहसचिव पनि हुन्छन् । बैंकले सेवाग्राहीलाई ऋण नदिएको बारे जवाफ दिनुपर्नेछ । अर्थमन्त्रालयका प्रवक्ता खत्री भन्छन्–‘सेवाग्राहीले कार्यविधि पालना गरेको अवस्थामा बैंकले ऋण दिदैनौं भन्न मिल्दै मिल्दैन।’ कुन विधामा कति जनाले लिए सहुलियतपूर्ण कर्जा ? सरकारले प्रदान गर्दै आएको विभिन्न ७ विधाको सहुलियतापूर्ण कर्जामा गत चैत महिनासम्म १४,९२३ लाभान्वित भईसकेका छन् । चालु आवमा सहुलियतपूर्ण कर्जाका लागि ५ अर्ब बजेट छुट्याइएको थियो । कर्जा लिनेमा सबैभन्दा बढी कृषि तर्फबाट १४,६३९ जना, शिक्षित युवा स्वरोजगार कर्जा ६ जना, महिला उधमशील कर्जा १७० जना, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५५ जना, दलित समुदाय व्यवसाय विकास कर्जा १५ जना, विदेशबाट फर्किएका युवा परियोजना कर्जा ११ जना र भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा २७ जनाले लिएका छन् । कस्ता व्यक्तिले पाउँछन् सहुलियत कर्जा ? सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ मा यस्तो उल्लेख छ ।