शैक्षिक प्रमाणपत्र लिएर ऋण माग्न कोही आएनन् : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण लिन कसैले पनि चाँसो नदिएको बताएका छन्। शैक्षिक प्रमाणपत्र राखेर सहुलियत ब्याजमा ऋण प्रभावकारी नभएको भन्ने सांसदहरुको प्रश्नको जवाफ दिदै अर्थमन्त्री खतिवडाले सरकार तयार भएको तर त्यसप्रति युवाहरुले चाँसो नदिएको बताएका हुन्। मन्त्री खतिवडाले अहिलेसम्म शैक्षिक ऋण पाईन भनेर कतैबाट पनि गुनासो नआएको पनि जनाए। सरकारले चालु आर्थिक बर्षको बजेटमा उच्च शिक्षा हाँसिल गरेका युवाहरुलाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्रको धितोमा ५ प्रतिशत ब्याज अनुदानमा सात लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको हो। तर बजेट कार्यान्वयनको नौ महिनामा जम्मा ६ जना युवाहरुले मात्रै यस्तो ऋण पाएका छन् ।

चीनको रु. ८३ करोडको लागतमा विद्यालय भवन निर्माण

लमजुङ । लमजुङको राइनास नगरपालिका–९ महोरियाकोटस्थित भैरव माध्यमिक विद्यालय भवनको निर्माण कार्य सम्पन्न भएको छ ।उक्त विद्यालयको सुविधासम्पन्न भवन चीन सरकारको ८३ करोड रुपैयाँको लागतमा सम्पन्न भएको हो । उक्त विद्यालय आठ रोपनी क्षेत्रफलमा चारतले विद्यालय भवनको निर्माणकार्य सम्पन्न भएको राइनास नगरपालिकाका प्रमुखसमेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहबहादुर थापाले बताएका छन् । निर्माण सम्पन्न भएको उक्त विद्यालयमा ३० कक्षाकोठा, २० छात्रावास कोठा, १० शिक्षक कर्मचारी कोठा, एउटा सेमिनार हल, तीन पुस्तकालय कोठा, एउटा बैठक कोठा, खाजा कोठा, शौचायलयलगायत गरी ६८ कोठा रहेको थापाले बताए ।त्यस्तै, एउटा बास्केटबलको खेलमैदान, सवारीसाधन पार्किङस्थल विद्यालयमा निर्माण गरिएको छ । विद्यालयको विभिन्न ठाउँमा १० सौर्यबत्ती जडान गरिएको छ । कामदारदेखि सबै आवश्यक सामग्री चीनबाटै ल्याई निर्माण भएको विद्यालयले जनाएको छ । तीन वर्षभित्र सक्ने लक्ष्यका साथ उक्त विद्यालय विसं २०७४ बाट निर्माणकार्य शुरु गरी २०७६ जेठ २१ गते सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । २०१४ सालमा स्थापना भएको सो विद्यालय विसं २०७२ को भूकम्पले क्षति पु¥याएपछि टहरामा पढ्न बाध्य हुँदै आएका विद्यार्थीले सुविधायुक्त नयाँ भवनमा पढ्न पाउने भएका छन् । देशकै नमूना भवनमा पढ्न पाउने भएपछि त्यहाँका विद्यार्थी खुशी भएका छन् । सो माविमा प्राविधिक तथा व्यावसायिक शिक्षा आगामी साउनबाटै कक्षा १२ सम्म सञ्चालन गर्ने समितिका अध्यक्ष थापाले बताएका हुन् ।यसरी छिमेकी राष्ट्र चीनले नेपालमा उत्कृष्ट १० नमूना विद्यालय बनाउने घोषणाको कार्यान्वयन गर्दै हिमाली भेगमा दुई विद्यालय निर्माण गर्ने क्रममा लमजुङको उक्त विद्यालय निर्माण गरेको समितिले जनाएको छ । रासस

पाँचथरका २ विद्यालयमा गुरुहरुको सम्मानमा ३ लाखको अक्षयकोष

काठमाडौँ । पाँचथर जिल्लाको २ विद्यालयका भूतपूर्व विधार्थीहरुले आफ्ना २ गुरुहरुको सम्मानमा अक्षयकोष स्थापना गरेका छन् । सिद्धदेवी मावि नवमीडाँडा र लुम्फाबुङ मावि पाँचथरका शिक्षक स्व. देवीप्रसाद खनाल र स्व. तेजमान आङदेम्बेको नाममा दुबै विद्यालयमा १ लाख ५० हजारको अक्षयकोष स्थापना गरिएको हो । अक्षयकोष स्थापनाका अभियन्ता, सिद्धदेवी माविका पूर्व विधार्थी तथा सोही विद्यालयका पूर्व शिक्षक प्रजापति खनालका अनुसार अक्षयकोषमा रहेको रकमको ब्याजबाट प्राप्त रकम प्रत्येक वर्ष विद्यालयमा उत्कृष्ठ नतिजा ल्याउने गरीधब तथा जेहेन्दार विधार्थीलाई छात्रबृत्ति प्रदान गरिने छ । सो कोषमा खनालले ५१ हजार जम्मा गरेका छन् भने अरु भूपू विधार्थीहरुको समेत गरी २ विद्यालयमा १ लाख ५० हजारका दरले ३ लाखको कोष स्थापना गरिएको हो । अक्षयकोषका अभियन्ता प्रजापति हाल काठमाडौँमा बस्दै आएका छन् भने अर्का अभियन्ता नेत्रप्रसाद खनाल अमेरिकाको ट्याम्पा युनिभर्सिटीमा सहायक प्रोफेसरका रुपमा कार्यरत छन् ।