बर्दिवास र कटारीमा कृषि र वनको पढाइ शुरु गर्ने तयारी

काठमाडौं। कृृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले यस वर्ष महोत्तरीको बर्दिवास र उदयपुरको कटारीमा कृषि र वन विषयको पढाइ शुरु गर्ने तयारी गरेको छ । विश्वविद्यालयले आङ्गिक र निजी क्याम्पसमा नयाँ शैक्षिकसत्रका लागि भर्ना लिने तयारी शुरु गरेको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले बर्दिवासमा कृषि र कटारीमा वनको स्नातक पढाइ शुरु गर्ने तयारी भइरहेको बताए। डीनको कार्यालयले भर्ना प्रक्रिया अघि बढाउँदै छ । रोल्पाको माडीचौर, बाँकेको खजुरा, स्याङ्जाको चापाकोट, दैलेखको दुल्लु र गोरखाको च्याङ्लीमा पनि आङ्गिक क्याम्पसका लागि विश्वविद्यालयको सिनेटले अनुमोदन गरेको छ । ती ठाउँबाट आवश्यक कागजपत्र र जग्गा विश्वविद्यालयको नाउँमा हस्तान्तरण गर्ने प्रक्रिया भइरहेको उनले बताए। आङ्गिक क्याम्पस सञ्चालन पूर्वपहाडमा १०० रोपनी र तराईमा आठ बिगाहा जग्गा विश्वविद्यालयको नाउँमा आउनु पर्दछ । यसअघि विश्वविद्यालयको केन्द्रीय कार्यालय रामपुर, कास्कीको पुरनचौर, सिन्धुलीको कोपिलाकोट, धनकुटाको पाख्रिबास र कैलालीको टीकापुरमा कृषि स्नातकको पढाइ भइरहेको छ । विश्वविद्यालयले यसै शैक्षिकसत्रमा निजी सात क्याम्पसमा कृषि स्नातक र एउटामा वन स्नातकको पढाइ गर्ने तयारी गरिरहेको छ । गत वर्ष विश्वविद्यालयमा कृषि स्नातकमा २१५ जनाको कोटाका लागि चार हजार २०० जनाको दर्खास्त परेको थियो । विद्यार्थीको चाप बढ्दै गएका कारण आङ्गिक क्याम्पस खोल्नेक्रमलाई तीव्रता दिइएको विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिले बताए। रासस

हरियाली प्रवद्र्धन गर्न एक विद्यालय एक बगैँचा कार्यक्रम आवश्यक : गिरिराजमणि पोखरेल

काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बालबालिकालाई जलवायु परिवर्तनसम्बन्धी ज्ञान विद्यालयस्तरदेखि नै दिनुपर्नेमा जोड दिएका छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा उनले हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका–२०७५ सार्वजनिक गर्दै आम जनसमुदायमा वातावरणमैत्री व्यवहार विकास गर्न तथा दिगो विकासको लक्ष्य हासिल गर्नका लागि विद्यालय तथा शैक्षिक संस्थाको परिसरमा व्यापक हरियाली प्रवद्र्धन गर्न एक विद्यालय एक बगैँचा कार्यक्रम आवश्यक रहेको बताए। मन्त्री पोखरेलले व्यापक हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले एक विद्यालय एक बगैँचा निर्देशिकाको मुख्य उद्देश्य भएको भन्दै प्रत्येक विद्यालयमा कम्तीमा एउटा बगैँचा निर्माण र विद्यालय सेवा क्षेत्रका सार्वजनिक स्वामित्वमा रहेको खाली जमीनमा वृक्षरोपण गरी हरियालीयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिए। उनले सबै विद्यालयमा पर्याप्त जग्गा नभए पनि गमलामा रोपेर भए पनि विद्यार्थीलाई सो विषयमा ज्ञान दिनुपर्ने भनाइ व्यक्त गरेका छन्। केन्द्रका महानिर्देशक बाबुराम पौडेलले वातावरण स्वच्छ र हरियाली बनाउनका लागि ‘एक विद्यालय एक बगैँचा’ भन्ने सोचले उक्त निर्देशिका सार्वजनिक गरिएको बताए। निर्देशिकामा सबै विद्यालयले एक बगैँचा तथा बृहत् हरित क्षेत्र निर्माण कार्यक्रम अनिवार्यरुपमा सञ्चालन गर्नुपर्ने, प्रत्येक विद्यालयले विद्यालय परिसरभित्र कम्तीमा एक बगैँचा निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ । निर्देशिकामा आठ परिच्छेद र एक अनुसूची छन्। रासस

नेपाल बङ्गलादेश बैंकबाटै सुर्य लाईफको इन्स्योरेन्स सेवा पाइने

काठमाडौं । अब नेपाल बङ्गलादेश बैंक लिमिटेडबाटै सुर्य लाईफ इन्स्योरेन्सको बीमा सेवा पाइने भएको छ । सोमबार दुई संस्थाबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका थिए । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखाहरुबाट सजिलै जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।