त्रिविको दीक्षान्त फाराम अनलाइनबाट, ई–सेवाबाटै शुल्क भुक्तानी

काठमाडौँ। त्रिभुवन विश्वविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरेको छ । योसँगै अब परीक्षा नियन्त्रण कार्यालयमा उपस्थित भएर फाराम भर्नुपर्ने र बुझाउनुपर्ने झन्झटिलो व्यवस्था हट्ने भएको छ । विगत वर्षमा विद्यार्थीले भदौ महीनामा फाराम भर्न आउनुपर्ने र पुनः दोस्रो पटक दीक्षान्त समारोहमा भाग लिन आउनुपर्ने बाध्यता थियो । भदौ महीनाभर फाराम भर्ने, शुल्क बुझाउने, रसिद काट्ने र फाराम सम्बन्धित फाँटमा बुझाउनेको भीड हुने गरेकामा अब यस्तो समस्या अन्त्य भएको उक्त कार्यालयले जनाएको छ । उपत्यका भित्र र उपत्यकाबाहिर रहने विद्यार्थीले समेत अनलाइनबाट सिधै फाराम भरेर नाम दर्ता गर्न सक्ने र दीक्षान्त समारोहमा भाग लिन एक पटक मात्र काठमाडौँ आउँदा हुने भएको छ । त्रिविद्वारा बुधबार प्रकाशित सूचनाअनुसार गत साउन ५ गतेको त्रिविसभा बैठकबाट पारित ५६औँ ग्रेस लिस्टमा समावेश गत शैक्षिकसत्रमा उत्तीर्ण ७३ हजार ९०१ विद्यार्थीका लागि आगामी पुस महीनामा हुने दीक्षान्त समारोहमा सहभागी हुन विद्यार्थीले अनलाइनबाट फर्म भर्न सक्ने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। दीक्षान्तका लागि छुट्टै पोर्टल कार्यालय स्रोतका अनुसार दीक्षित हुने विद्यार्थीलाई फाराम भर्ने प्रयोजनका लागि छुट्टै वेब पोर्टल निर्माण गरिएको छ । जुन मोबाइलबाट समेत खोल्न सकिने खालको छ । विद्यार्थीले आफ्नो मोबाइलबाट धधध।तग।नचबमगबतष्यललउ।अयm मा लग इन गरेर आफ्नो विवरणहरु छ चरणमा प्रविष्ट गर्नुपर्नेछ । ई–सेवाबाटै शुल्क भुक्तानी अनलाइन फाराम भर्ने विद्यार्थीले अब उक्त कार्यालयसंगै रहेको ग्लोबल आइएमई बैंकमा लाइनमा बसेर पैसा बुझाउनुपर्ने र लेखा शाखामा आएर नगदी रसिद लिनुपर्ने झन्झटबाट पनि छुटकारा पाउने भएका छन् । उनीहरुले अनलाइन फाराम भरिसकेपछि ई–सेवाको माध्यमबाट शुल्क पनि बुझाउन सक्नेछन् । ई–सेवाको खाता हुने विद्यार्थीहरुले सिधै भुक्तानी गर्न सक्नेछन् भने ई–सेवाअन्तर्गत खाता नहुने विद्यार्थीलाई त्रिविको पोर्टल सिस्टमले नै टोकन नं उपलब्ध गराउनेछ । विद्यार्थीले उक्त टोकन नं लिएर नजिकैको ई–सेवा प्रदान गर्ने पसलमा गएर तोकिएको दस्तुर तिर्नुपर्नेछ । दस्तुर तिरेको निस्सा विद्यार्थीले तुरुन्तै पाउनेछन् । त्यसपछि त्यहीँबाट विद्यार्थीलाई चार प्रकारका विवरण उपलब्ध हुन्छ । पहिलो, दस्तुर बुझाएको नगदी रसिद, जुन दीक्षान्त समारोहमा भाग लिन जानुअघि परीक्षा नियन्त्रण कार्यालयमा गई रुजु गराएर छाप लगाएपछि मूल प्रमाणपत्र प्राप्त गर्न आवश्यक हुन्छ र दोस्रो यो दीक्षान्त समारोहमा प्रवेश गर्ने निस्सा होे, जुन यसअघिका दीक्षान्त समारोहमा प्रवेशपत्रका रुपमा कार्यालयले उपलब्ध गराउँदै आएको थियो। भौगोलिक विकटताका कारण दुर्गम क्षेत्रमा रहेका र काठमाडाँै आएर दीक्षान्तको फाराम भर्न सम्भव नहुने विद्यार्थीले समेत यो प्रविधिको प्रयोगबाट अब फाराम भर्न सक्नेछन् । उनीहरुले अनलाइनबाट फाराम भरेर नाम दर्ता गरिसकेपछि सिधै दीक्षान्त समारोहमा भाग लिनका लागि मात्र काठमाडौँ आउँदा हुने कार्यालयले जनाएको छ। रासस

कक्षा १२ को मौका परीक्षाको नतिजा आज, हेर्ने कसरी ?

काठमाडौं। कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षाको नतिजा आज बुधबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सम्बन्धि सबै काम पूरा गरी १० बजे बोर्ड बैठक बोलाएको थियो। बोर्डले गत १६ भदौंमा ग्रेड वृद्धि मौका परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा डि प्लस वा सोभन्दा मुनी कुनै एक विषयमा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीलाई परीक्षामा सहभागी गराइएको थियो । नोट: ग्रेडवृद्धि परीक्षामा सामेल हुने बिद्यार्थीले पहिलो भन्दा कम ग्रेड ल्याएमा पहिलेकै ग्रेड राखिन्छ । नतिजा कसरी हेर्ने ?  नतिजा प्रकाशित भैसकेपछी आफ्नो मोबाईल को म्यासेज बक्समा गइ NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा एसएम्यस पठाएर आफ्नो नतिजा हेर्न सकिन्छ। उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर १२३४५६७८ हो भने NEB १२३४५६७८ लेखेर ३१००३ मा पठाउन आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ। श्रोत- मेरो स्टडी

याे वर्ष २१ अर्ब १० करोड खर्च गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौ । त्रिभुुवन विश्वविद्यालय सभाको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि २१ अर्ब १० करोड ८० लाख १३ हजार रुपैयाँको बजेट पारित गरेको छ ।मङ्गलबार बसेको त्रिविसभाको बैठकले ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार रुपैयाँ सरकारबाट अनुदानका रूपमा माग गर्ने र बाँकी ९ अर्ब ७९ करोड ६ लाख २८ हजार रुपैयाँ आन्तरिक स्रोतबाट व्यहोर्ने प्रस्ताव पारित गरिएको रजिस्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए। उहाँले उक्त बजेट पूर्वाधार निर्माण, सेमेस्टर प्रणालीको सुदृढीकरण, शिक्षण क्रियाकलापमा प्रविधि प्रयोगको विस्तार, अनुसन्धान, प्राविधिक शिक्षाको विस्तार र पाठ्यक्रम परिमार्जनमा खर्च गरिने बताए । सभामा प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीले बजेट जुन क्षेत्रमा पनि न्यून रहेको भन्दै त्रिविलाई आफ्नो स्रोत र साधन अनुकूल आफ्ना नीति कार्यक्रम निर्धारण गरी सञ्चालन गर्न सुझाव दिए। त्रिविका उपकुलपति प्रा.डा तीर्थराज खनियाँले विकासका लागि त्रिवि भिजन २०३० तयार गरी कार्यान्वयन गर्न लागिएको भन्दै सम्पूर्ण अध्ययन संस्थान, सङ्काय, केन्द्रीय विभाग तथा आङ्गिक क्याम्पसलाई उत्कृष्ट केन्द्रका रुपमा विकास गर्ने बताए । सभाले त्रिवि कार्यकारी परिषद्को सदस्यमा वनस्पतिशास्त्रका प्रा डा मोहनप्रसाद पन्थी र शिक्षाशास्त्र सङ्कायका डिन प्रा डा कृष्णप्रसाद गौतमको नामसमेत अनुमोदन गरेको छ । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) का कार्यकारी निर्देशक डा अरुण ठाकुर, सामुदायिक क्याम्पस सङ्घका सभापति भोलानाथ ओझा, जनप्रशासन क्याम्पसका स्ववियु सभापति पङ्कज क्षत्री, नेपाल प्राध्यापक सङ्घका सभापति रामेश्वर उपाध्याय, नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास) का कार्यकारी निर्देशक डा मिर्गेन्द्रबहादुर कार्की, पूर्व शिक्षाध्यक्ष प्रा डा राममान श्रेष्ठलगायतले त्रिविको बजेट बढाउनुपर्नेमा जोड दिएका थिए। रासस