शिक्षामन्त्री जाक्साको सम्मेलनमा
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल जापानी अन्तरीक्ष अन्वेषण संस्था (जाक्सा) ले आज जापानमा आयोजना गरेको नेपालको पहिलो भू उपग्रह नेपाली स्याट–१ ले गर्ने पृथ्वी परिक्रमाको प्रत्यक्ष ‘भिडियो कन्फरेन्स’मा सहभागी भएका छन्। शिक्षा मन्त्रीका साथमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा– प्रतिष्ठान (नाष्ट) का उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ पनि सो सम्मेलनमा सहभागी भएक नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिए । उनले भने, “नेपाली स्याट–१ बारे जानकारी लिन गत शनिबार उनीहरु जापान प्रस्थान गरेका थिए । सम्मेलन सकिएपछि आउँदो बुधबार उनीहरु नेपाल फर्कने भएका छन् । नेपालले पहिलोपटक प्रक्षेपण गरेको भू–उपग्रह नेपाली स्याट–१ ले पृथ्वी परिक्रमा गर्ने भएको छ । जापानस्थित क्युटेको विश्वविद्यालयले नेपालका लागि उक्त भू–उपग्रह गत वैशाख ४ गते प्रक्षेपण गरेको थियो । डेढ महिनाअघिबाट अन्तरराष्ट्रिय अन्तरीक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भू–उपग्रहले साेमबारदेखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो । नाष्टले आफ्नै कार्यालयको स्रोतागण कक्षबाट अपरान्ह साढे १२ बजेदेखि सो भू–उपग्रह प्रक्षेपणको प्रत्यक्ष प्रसारण देखाउने नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिएका छन् । उनले भने, “जापानबाट जाक्साका तीन विज्ञ भू–उपग्रहको प्रत्यक्ष प्रसारणका लागि सहयोग गर्न नेपाल आइसकेका छन् ।” साेमबार बेलुका ५ बजेसम्म नाष्टले प्रत्यक्ष प्रसारणको कार्यक्रम आयोजना गर्ने बताइएको छ । रासस
क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी
काठमाडौं । नेकपा (क्रान्तिकारी–माओवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) ले सोमबार त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेका छन् । आयोगले लिएको परीक्षाको नजिता खारेजीको माग गर्दै तालाबन्दी गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्र्घका दाहालले जानकारी दिएका छन् । ‘‘परीक्षामा अनियमितता गरी त्रिवि पदाधिकारीले आफन्तको नाम निकालेका छन्’’ उनले भने,‘‘हामीले पहिल्यैदेखि नै अनियमितता गरी प्रकाशित गरिएको नजिता स्थगित गर्न माग गरेका थियौँ तर परीक्षा स्थगित नगरी अन्तर्वाता लिइरहेकाले तालाबन्दी गरेका हौँ ।’’ यसअघि क्रान्तिकारीले जेठ ३० गते आयोगका अध्यक्षको कार्यकक्षमा समेत तालाबन्दी र जेठ ६ गतेदेखि परीक्षा खारेजीको माग गर्दै आयोग अगाडि रिले अनशन समेत बसिरहेको छ । रासस
गर्मी बढेपछि आजदेखि मकवानपुर र चितवनका विद्यालय बन्द, तराईको जनजीवन प्रभावित
काठमाडौँ । अत्याधिक गर्मी बढेपछि आजदेखि मकवानपुर र चितवनका सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरिएको छ । अत्यधिक गर्मीका कारण हेटौँडा उपमहानगरपालिकाले पाँच दिनका लागि सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरेको छ । गर्मी बढेपछि अभिभावकको अनुरोध गरेकाले असार २ गते देखि ६ गतेसम्म वर्षे बिदामा कट्टी हुनेगरी पाँच दिन सामुदायिक तथा संस्थागत विद्यालय बिदा दिने निर्णय भएको उपमहानगरको शिक्षा शाखाले जनाएको छ । हेटौँडामा अत्यधिक गर्मी बढेपछि कतिपय विद्यालयका कयौँ विद्यार्थी बेहोससमेत भएका थिए । देशैभरको तापक्रम उकालो लागि रहेको बेला भित्रि मधेस मध्येको सबैभन्दा चिसो शहर मानिने हेटौडाको समेत तापक्रम बढेको हो । अहिले हेटौँडाको तापक्रम ४० डिग्रि सेल्सियसको हाराहारीमा पुगेको छ भने अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण चहलपहल शुन्य भएको छ भने हेटौँडाका विभिन्न स्थानमा रहेका पौडी पोखरीहरुमा भिड बडेको छ । गर्मी छल्न भारत तथा नेपालका तराई क्षेत्रबाट आएकाले समेत पौडी पोखरीहरु भरिएका छन् । कतिपय व्यक्तिहरु गर्मी छल्न स्थानीय राप्ती, कुखुरेनी तथा सामारी खोलामा समेत पौडी खेल्न पुगेका छन् । यता, अत्याधिक गर्मी बढेसँगै भरतपुर महानगरपालिका क्षेत्रभित्र रहेका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । महानगरपालिकाभित्रका विद्यालय असार २ गतेदेखि तीन दिनका लागि बन्द गरिएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार महानगरभित्र रहेका सामुदायिक तथा निजी विद्यालय बन्द गरिएको हो । महानगरप्रमुख रेनु दाहालले बर्खे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गरिएको जानकारी दिनुभयो । चितवनमा ३८ डिग्रीभन्दा माथि तापक्रम पुगेको छ । तापक्रम बढेसँगै विद्यालय बन्द गर्नु परेको उनको भनाइ छ । सरोकारवालाको सुझाव र विद्यालयको वस्तुगत अवस्थाको मूल्याङ्कन गरी बिदाको निर्णय लिइएको दाहालले बताउनुभयो । गर्मी बढेसँगै साना बालबालिका बिरामीसमेत पर्न थालेका छन् । यसैबीच, तराईका जिल्लामा अत्याधिक गर्मी बढेपछि धमाधम विद्यालय बिदा दिन थालिएको छ । अचाक्ली बढेको गर्मी छल्न महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जेठ अन्तिम सातादेखि क्रमशः बढ्दै गएको प्रचण्ड गर्मी छल्न जिल्लाका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका हुन् । जिल्लाको सोनमा गाउँपालिकाले यही असार ६ गतेसम्म विद्यालय बन्द हुने सार्वजनिक सूचना नै जारी गरेको छ । “बढ्दै गएको घामको रापले स–साना बालबालिका विद्यालयमै आलसतालस पर्न थाले”, सोनमा गाउँपालिका अध्यक्ष राजकुमार यादवले भने, “यसले स्वास्थ्य समस्या बढाउन सक्ने हुनाले गाउँपालिकाभित्रका सबै विद्यालय छ दिन बन्द गर्ने निर्णय गर्यौँ ।” लगत्तै जिल्लाको मनराशिशवा र बलवा नगरपालिकाले पनि आजैदेखि छ दिन विद्यालय बन्द गरिने जनाएका छन् । बिहान सूर्य उदयदेखि साँझ अस्तसम्म एकटङ्कारको घामको राप बढेकाले विद्यालय बन्द लागिएको मनराशिशवा नगरपालिकाका प्रमुख सञ्जयकुमार सिंहले बताए । जिल्लाका अन्य स्थानीय तहले पनि आज नै विद्यालय बन्द गरिनेबारे छलफल गरिने जनाएका छन् । मौसममा सुधार नआए आज नै विद्यालय बन्द गरिने मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको भनाइ छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहले गर्मी छल्न केही दिन विद्यालय बन्द गर्ने तयारी गरेका छन् । जिल्लामा पछिल्ला तीन दिनयता यसअघि कहिल्यै नखेपिएको प्रचण्ड घामको राप बढेको छ । बर्दिवासको भोलावसन्तचोकमा जडित तापमापन सूचना केन्द्रले हिजो शनिबार दिउँसो ३ बजे ४३ डिग्री सेल्सियस तापक्रम देखाएको थियो । अहिले यस भेगमा प्रचण्ड गर्मीको रापले सामान्य हिँडडुल पनि सकस बनेको छ । गर्मीले गर्दा हाटबजार र कार्यालयमा पनि चहलपहल देखिँदैन । गर्मीका कारण महोत्तरीका हाटबजारमा सर्वसाधारणको आवागमन निकै घटेको छ । प्रचण्ड घामको रापले विद्यालय पढ्न जाने स-साना नानी, वृद्धवृद्धा र कडा शारीरिक श्रम गर्ने मजदुर मारमा परेका छन् ।