स्नातकोत्तर प्रथम बर्षको प्राईभेट परीक्षाको केन्द्र सार्वजनिक

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्नातककोत्तरको प्राईभेट तर्फको प्रथम बर्षको परिक्षा केन्द्र सार्वजनिक गरेको छ। त्रिविले असार ११ गते देखी हुने स्नातककोत्तर प्रथम बर्षको प्रथम बर्षको काठमाडौँ तथा काभ्रेपलाञ्चोक जिल्लाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो। यो साल प्राईभेट परिक्षा अन्तिम पटक संचालन हुँदै छ र आउँदो सत्र देखी प्राइभेट परीक्षा फारम भर्न बन्द गरिएको छ। विद्यार्थीहरुले प्राइभेट परीक्षा अन्तर्गत स्नातकोत्तर तहमा राजनीति शास्त्र र जनप्रशासन (मास्टर्स अफ पब्लिक एड्मिनिस्टेरेसन) विषयमा परिक्षा दिदै छन्। अन्य बिषयमा ‘प्राक्टिकल’ गर्नुपर्ने भएकोले प्राईभेट परिक्षाको व्यवस्था गर्न नपाएको परिक्षा नियन्त्रण कार्यलयले जनाएको छ। प्राइभेट परिक्षामा विद्यार्थीले क्याम्पस नगई स्वअध्ययन परिक्षामा मात्र सहभागी हुनसक्ने व्यवस्था रहेको छ। त्रिविले भने अहिले धेरै जसो स्नातकोत्तर तहका अधिकांश विषयमा सेमेस्टर प्रणाली लागू गरिसकेको छ।  सेमेस्टर प्रणाली अनुसार विद्यार्थीको ८० प्रतिसत हाजिर र सबै ‘प्र्याक्टिकल’ बिषयको टर्म पेपर तयार गर्नुपर्ने हुन्छ। परिक्षा केन्द्र तल दिइएको छ।

+२ पछि मात्र विदेश पढ्न जाने नियम कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । कक्षा १२ पछि मात्र वैदेशिक अनुमति पत्र दिने शिक्षा मन्त्रालयको नियमलाई सर्वोच्च अदालतले अन्तिम फैसला नहुँदासम्म लागु नगर्ने निर्देशन दिएको छ। सर्वोच्च अदालतले असार ८ गते सम्म उक्त निर्णय कार्यान्वयन नगरी सोही दिन छलफलका लागि उपस्थित हुन दुबै पक्षलाई आदेश दिएको हो। शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले २०७६ साल जेठ २९ गते विज्ञप्ती निकाल्दै कक्षा १२ नसकिने विद्यार्थीहरु वैदेशिक अध्ययन अनुमती पत्र नदिने भनेसँग बजार तातिएको थियो। यसले धेरै कन्सल्टेन्सी र विद्यार्थीहरुलाई झ्ट्का महसुस भएको थियो। विदेश पढ्न जाने विद्यार्थीलाई अध्ययन स्वीकृति तथा विदेशी मुद्रा सटही सुविधाका लागि पनि नो अब्जेक्सन लेटर चाहिन्छ। १२ कक्षाको अध्ययन पुरा नगरी विदेश जाने विद्यार्थीहरुलाई वैदेशिक अनुमती अनुगमन शाखाले नो अब्जेक्सन लेटर नदिने भएको थियो। विद्यार्थीहरु विद्यालय शिक्षा (१२ कक्षा) अध्ययन तथा ३ महिने ६ महिने तालिमको लागि जापान, बंगलादेश, कोरिया, चिन, अष्ट्रेलियालगायतका देशमा जान स्वीकृति (नो अब्जेक्सन लेटर) लिने गरेपछि शिक्षा मन्त्रालयले अनुमति दिन केही समयको लागि रोकिएको प्रवक्ता बैकुण्ठ अर्यालले बताएका थिए। विद्यार्थीहरु भाषा तालिमा सिक्छु भन्ने नाममा विदेशमा लुकेर बस्ने, विद्यालय शिक्षा पुरा नगरि जाँदा निर्णय लिनसक्ने क्षमता नहुने र के गर्न जान लागेको कुरामा स्पस्टता नहुने कारण दु:ख पाईरहेको हुनाले आफुहरुले यो कदम चालेको प्रवक्ता अर्याललेले केही दिनअघी बिकासन्युजसँग बताएका थिए। अष्ट्रेलियामा केही समय अगाडि हजारौं संख्यामा विद्यार्थीहरु अलपत्र परेका थिए। त्यस समयमा सरकारले किन कुनै चेकजाँच बिना नो बजेजेक्सन लेटर दिएको कुरामा ठुलो प्रश्न उठेको थियो।

नेशनल बैंकिङ इन्स्च्युट र अफ्लाटोन इन्टरनेशनलबीच वित्तीय शिक्षा सम्बन्धी सम्झौता

नेशनल बैंकिङ इन्स्च्युट (एनबीआई) र “अफ्लाटोन इन्टरनेशनल” बीच १९ जुन २०१९ मा दक्षिण अफ्रिका, जोहानेस्वर्गमा आयोजित एक समारोहका बीच सम्झौता भएको छ । नेशनल बैंकिङ इन्स्च्युट (एनबीआई) का प्रमुख कार्यकारी अधिकृत सन्जीब सुब्बा र अफ्लाटोन इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत रोयल्याण्ड मोनाशले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । “अफ्लाटोन इन्टरनेशनल” नेदरल्याण्डमा आधारित एक गैरसरकारी संस्था हो । नेशनल बैंकिङ इन्स्च्युट र अफ्लाटोन इन्टरनेशनलको साझेदारी तथा विभिन्न सम्बद्ध पक्षहरुको सहभागीता मार्फत युवा तथा बालबालिकाका लागि सामाजिक तथा वित्तीय शिक्षाको व्यवस्था गर्नका लागि योजना निर्माण गर्नु, बहस पैरवी गर्नु र सामाजिक तथा वित्तीय शिक्षाको विकास गर्नु यस सम्झौताको मुख्य उद्धेश्य रहेको छ । नेदरल्याण्ड आधारित अफ्लाटोन ईन्टरनेशनल सन् १९९१ मा मुम्बई, इन्डियामा स्थापना भए यता निरन्तर रुपमा वित्तीय साक्षरता सम्बन्धि पाठयक्रम विकासको क्षेत्रमा विश्वव्यापी रुपमा नेतृत्व गर्न सफल संस्था हो । विभिन्न ३५ मुलुकका सरकार एवं २ सय ७५ वटा साझेदारहरु सहितको मजबुत सञ्जालमार्फत यो संस्थाले वार्षिक १ सयभन्दा बढी राष्ट्रका ८६ लाख भन्दा बढी युवा तथा बालबालिकाहरुमा पहुँच पुर्याई उनीहरुलाई सामाजिक शिक्षा तथा वित्तीय साक्षरतामा शिक्षित बनाउँदै आईरहेको छ । सीवाईएफआईले युवाहरुमा वित्तीय पहुँच विकास गर्न एवं युवा तथा बालबालिकाहरुलाई वित्तीय साक्षरता तथा वित्तीय पहुँच सबन्धी सचेतना जगाउन १ सय ७० भन्दा बढी मुलुकका सरकार, बैंक तथा गैर सरकारी संस्थाहरु एवं हजारौं साझेदार संस्थाहरुसंगको सहकार्य गरेको छ ।