नेपालका रोकाले प्राप्त गरे विद्यावारिधि
काठमाडौं । चीनको बेइजिङस्थित युनिभर्सिटी अफ इन्टरनेशनल बिजनेस एण्ड इकोनोमिक्स (युआइबिई) बाट नेपालका कल्याण रोकाले राजनीतिक अर्थशास्त्र विषयमा विद्यावारिधि प्राप्त गरेका छन् । सन् २००६ देखि २०१६ सम्मको समयावधिमा विश्वका १२० देशको तथ्याङ्क सङ्कलन तथा विश्लेषण गरेर ‘खुशी’ शीर्षकमा उनले विद्यावारिधिको सोध सम्पन्न गरेका हुन् । विश्वका साढे सात अर्ब मानिसको साझा विषय के हुन सक्दछ भनेर खोजी गर्ने सन्दर्भमा गरिब, धनी, बालक, वयस्क, वृद्ध, महिला, पुरुष तथा जुनसुकै देशको जुनसुकै धर्म सम्प्रदायको नागरिक भए पनि मानिसहरुको साझा खोजीको विषय ‘खुशी’ हो भन्ने उनको सोध कार्यको निष्कर्ष छ । आर्थिक वृद्धिदर, व्यक्तिगत आम्दानी, आर्थिक स्वतन्त्रता, मानव विकास सूचकाङ्क आदिलाई आधार बनाएर राष्ट्रिय खुशी कसरी प्राप्त गर्न सकिन्छ भन्ने उनको सोधकार्यमा आर्थिक वृद्धिदरले मात्र नागरिकको जीवनमा खुशी ल्याउन नसकिने उल्लेख छ । रासस
एसइईको नतिजा आजभोलि मै सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ
काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आजभोलि मैसार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको तर कुनै प्राविधिक त्रुटि आए बिहीबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिए । कार्यालयले मंगलबार सार्वजानिक सूचना जारी गर्दै परीक्षाको नतिजा विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।
सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा’
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले ‘सिद्घार्थ उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा’ ल्याएको छ । उक्त कर्जाको कार्यान्वयनको लागि सिद्धार्थ बैंक लिमिटेड र कलेज अफ अप्लाइड फूड एण्ड डेरी टेक्नोलोजि कलेजबीच बैंकिङ सम्झौता भएको छ । सम्झौता अनुसार काठमाडौं स्थित मिनभवनमा रहेको उक्त कलेजमा फूड तथा डेरी टेक्नोलोनीमा स्नातक तथा स्नातकोत्तर गर्न चाहने विद्यार्थीहरुलाई बैंकले कुनै अन्य शुल्क नलाग्ने गरी आधार दरमा २% मात्र प्रिमियम जोडी हुन आउने ब्याज दरमा शैक्षिक कर्जा प्रवाह गरिने छ । उक्त ब्याज दरमा नेपाल राष्ट्र बैंकद्वारा ५% सहुलियत प्रदान गरिनेछ । बैंकले उच्च शिक्षा हासिल गर्दै स्वदेश मै शिक्षा तथा रोजगारीमा प्रोत्साहन गर्न यस्तो प्रकारको कर्जा सुविधा सिद्घार्थ बैंक लिमिटेडका सम्पूर्ण शाखाहरु मार्फत उपलव्ध गराउने जनाएको छ ।