स्वास्थ्य र शैक्षिक पर्यटनको केन्द्र बन्दै तातोपानी कुण्ड

गलेश्वर । प्राकृतिक चिकित्सालय नामले संसारभरी चिनिएको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्ड पछिल्लो समय स्वास्थ्य र शैक्षिक पर्यटनको केन्द्रका रुपमा विकसित हुँदै जान थालेको छ । २०४२ सालमा पत्ता लगाइएको तातोपानीको मुहानलाई स्थानीयवासिन्दाले संरक्षण गरी कुण्डको रुप दिएर प्रचारप्रसार गरेपछि अहिले यो कुण्ड संसारभरी नै प्राकृतिक चिकित्सालयको रुपमा चिनिएको हो । मूलबाट नै ५७ डिग्री सेल्सियस तापक्रमको पानीमा विरेनुन र गन्धक मिश्रित वासना आउने यस कुण्डमा डुब्न र उपचार गराउनका लागि नेपालका साथै विदेशबाटसमेत पर्यटक र विरामीहरु आउने गरेका छन् । त्यसका साथै तातोपानी कुण्डप्रति शिक्षणसंस्था र विद्यार्थीहरुको पनि आकर्षण बढेको छ । यहाँ समय समयमा शैक्षिक भ्रमणका लागि टाढाटाढाबाट समेत विद्यार्थीहरु आउन थालेका छन् भने अनुसन्धान गर्न समेत विभिन्न शैक्षिक संस्थाहरुबाट विद्यार्थी आउने गरेका छन् । तातोपानी कुण्ड म्याग्दीको सदरमुकाम बेनीदेखि ९ किलोमिटर पश्चिममा पर्दछ । तातोपानी कुण्डमा सवारी साधनबाट सजिलै पुग्न सकिन्छ । जिल्लामा आउने उच्च सरकारी अधिकारी, केन्द्रीयस्तरका नेताहरु, स्वदेशी तथा विदेशी पर्यटक तातोपानी कुण्डमा नुहाउन र अवलोकन गर्न पुग्ने क्रम बढेसँगै तातोपानीको कुण्डमा स्वास्थ्य उपचारको महत्व बढेको हो । लाखौँ रकम खर्च गरी स्वदेश तथा विदेशका महङ्गा र ठूला अस्पतालमा पुगेर उपचार गर्दा पनि रोग निको नभएपछि यहाँ दीर्घरोगीहरु पनि तातोपानी कुण्डमा डुबेर बाफिई उपचार गरेपछि निको भएर फर्केका तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्डमा नेपालको अधिकांश जिल्लाका साथै स्नान गर्नका लागि भारत, जापान र बङ्गलादेशबाट समेत वर्षेनी सयौँ विदेशीहरु आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले जानकारी दिएका छन् । कुण्डमा एकपटक आएर डुबेका बिरामीहरु निको भएपछि फर्किएर पटकपटक आउने गरेका छन् । कुण्डमा वार्षिक झण्डै २० हजारको हाराहारीमा बिरामीहरु स्नान गर्न आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिको तथ्याङ्क रहेको छ । रासस

असार २० गते देखी काठमाडौं इन्जिनियरिङ क्याम्पसमा ‘दृष्टि २.०’ हुँदै

काठमाडौं। काठमाडौं ईन्जिनियरिङ्ग कलेजले ‘दृष्टि २.०’ तीन दिने प्रर्दशनी आयोजना गर्ने भएको छ। विद्यार्थीहरुमा लुकेर रहेका विभिन्न प्रयोगत्मक प्रतिभा र वैदिक ज्ञानहरु बाहिर प्रस्फुटन गराउन यही असार २० गते देखी २२ गते सम्म राष्ट्रिय स्तरको दृष्‍टि २.० को कार्यक्रम संचालन गर्न गईरहेको कलेजका स्वोतन्त्र विद्यार्थी परिषद्का सभापति पुर्णबहादुर खड्काले जानकारी दिए। ईन्जिनियरिङ्ग क्षेत्रमा निरन्तर पढाईको साथसाथै दृष्‍टि जस्ता विभिन्न कार्यक्रमहरु निस्चित समयको अन्तरालमा गर्नाले विद्यार्थीको शैक्षिक क्षेत्रका साथसाथै अन्य प्रयोगात्मक प्रतिभा पनि अभिव्रिद्दी हुने कुरा खड्काले बताए। उक्त प्रर्दशनीमा विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक रुपमा देखाउन लागिएको खड्काले जानकारी दिए । कार्यक्रममा भूकम्प प्रतिरोधी मोडलहरु, फोटोग्राफी, आर्किटेक्चर कम्पिटिसन, पेपर बृज कम्पिटिसन, रोबोड्रिफ्ट, इलेक्ट्रिकल र इलोक्ट्रोनिक्स सम्बन्धी इनोभेसन लगायत विभिन्न इन्जिनियरिङ विधाका प्रोजेक्टहरुको प्रर्दशनी हुनेछ । कलेजमा रहेका ६ वटा संकायगत क्लबहरुले आ–आफ्नो क्लबबाट नयाँ–नयाँ डिजाइन, नयाँ कन्सेप्टका प्रोजेक्टहरु प्रर्दशन गर्ने सभापति खड्काले जानकारी दिए। कार्यक्रमले ईन्जिनियरिङ्ग क्षेत्रका नयाँ आविश्कारहरुलाई ईन्जिनियरिङ्ग पढ्ने वर्ग र आम विद्यार्थीका सिदान्तका कुराहरुलाई प्रयोगात्मक रुपमा ल्याउन सहयोग पुग्ने कुरा कलेजका प्रधानाध्यापक प्रा. हिरेन्द्रमान प्रधानले बताए। कार्यक्रममा ५० लाखभन्दा बढी खर्च हुने गरी बृहत प्रर्दशनी आयोजना गर्न लागेको आयोजकले बताएको छ ।  

एसईईको ग्रेडवृद्धि परिक्षा साउनको अन्तिम साता

काठमाडौं। एसईईको ग्रेडवृद्धि परिक्षा साउनमा हुने भएको छ। राष्ट्रिय परिक्षा बोर्डले बुधबार कार्यतालिका सार्वजनिक गर्दै परिक्षा साउन २६ र २७ गते हुने जानकारी दिएको हो। एसईई परिक्षामा दुई विषयमा सी वा सी भन्दा कम ग्रेड आएका विद्यार्थीहरुले ग्रेडवृद्धिको परिक्षा दिन पाउने छन्। यस्तै तीन वा तीन भन्दा बढी बिषयमा ग्रेडवृद्धि परिक्षा दिने विद्यार्थीले आगामी सालको चैत महिना कुर्नुपर्नेछ। एउटा मात्र ग्रेडवृद्धि परिक्षामा सहभागी हुने विद्यार्थीले साउन २६ गते परिक्षा दिनुपर्ने र दुई वटामा ग्रेडवृद्धि परिक्षा दिने विद्यार्थीले साउन २७ मा परिक्षा दिनुपर्ने परिक्षा बोर्डले प्रकाशित सुचनामा जनाएको छ। परिक्षा बिहान ८ बजे देखी ११ बजेसम्म हुनेछ।