वार्षिकोत्सवको अवसरमा अजोडले वितरण गर्यो शैक्षिक सामाग्री
काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडले प्रथम वार्षिकोत्सवका अवसरमा असार २३ गते श्री मंगल माध्यमिक विद्यालय, नयाँ नैकाप, काठमाडौँलाई शैक्षिक सामाग्री वितरण गरेको छ । अजोड इन्स्योरेन्स लि.का नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले शैक्षिक सामाग्री वितरण गरेका हुन् । उक्त कार्यक्रममा विद्यायलय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण महर्जन, विद्यालयका प्रधानध्यापक, कृष्णहरि कार्की, अजोड इन्स्योरेन्सको तर्फबाट नायब प्रबन्धक गोविन्दप्रसाद ढकाल र बरिष्ठ सहायक उषा बस्नेत समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानध्यापक कार्कीले विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेकोमा अजोड इन्स्योरेन्स लि. परिवारलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा यस्तै सहयोगको अपेक्षा राखेको बताए ।
१३ औं ईक्यान एजुकेसन फेयरको तयारी पुरा, असार २६ गते देखी भृकुटीमण्डपमा हुँदै
काठमाडौं। ईक्यानको १३ औं एजुकेसन फेयरको तयारी पुरा भएको छ। नेपाल शैक्षिक परामर्श संघ ईक्यानले असार २६ गते गतेबाट काठमाडौंको भ्रिकुटीमण्डपमा आयोजना गर्ना लागेको १३ औं एजुकेसन फेयरको तयारी पुरा भएको हो। फेयर असार २६ देखी २९ गते सम्म संचालन हुँदैछ। मेलामा १ लाख भन्दा बढी मानिसहरुले अवलोकन गर्ने ईक्यानले बताएको छ। मेलामा विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगहरुको पनि उपस्थिती हुने जनाएको छ। मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वोदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चिन। बंगलादेश, श्रीलंका, जापान, फ्रान्स,अमेरिका, बेलायत, न्युजील्यान्ड, अष्ट्रेलिया, नर्वे लगायतका देशका कलेज तथा विश्वविद्यालयका अधिकारिक प्रतिनिधिहरुको सहभागीता रहनेछ। नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवंम विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको सम्भावना तथा अवसरहरु जस्ता बिषयमा पर्याप्त गरी स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु र त्यहाँ प्राप्त हुनसक्ने छात्रव्रिती, सुविधा एवंम गुणस्तरिय शिक्षामा नेपाली विद्यार्थीहरुलाई समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने मेलाको प्रमुख उदेश्य रहेको ईक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले बताए। यस्तै ईक्यानको संस्थागत सामाजिक उत्तरदायित्वो अन्तर्गत मेलामा रक्तदान कार्यक्रम गरिनुको साथै प्राथमिक उपचार तथा डेन्टल क्याम्पको पनि व्यवस्था गरिने ईक्यानले आफ्नो पत्रकार सम्मेलनमा बताएको छ। यस्तै मेलाका अवलोकनलाई लक्षित गरेर मुख्य रुटहरुमा निशुल्क बससेवा व्यवस्थापन गर्ने जनाएको छ।
परीक्षा नियन्त्रक कार्यालय गोप्य शाखाका कर्मचारीविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालय बल्खुका गोप्य शाखाका कर्मचारी रामबहादुर कर्माचार्यसमेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीको परीक्षाको प्राप्ताङ्क फेरबदल गरी नतिजामा अनियमितता गरेको भन्ने व्यहोराको उजुरीमाथि छानबिन हुँदा भक्तपुर बहुमुखी क्याम्पस दूधपाटीका शिक्षक सहायक पदमा कार्यरत शिक्षक सुरेन्द्रप्रसाद कोइरालाले रकम दिई नतिजा फेरबदल पारेको पाइएको छ । परीक्षा नियन्त्रक कार्यालय मानविकी सङ्कायतर्फको एमए गोप्य शाखा कार्यरत शाखा अधिकृत रामबहादुर कर्माचार्यलाई रु एक लाख ५० हजार लिई सुरेन्द्रप्रसाद कोइरालाको स्तातकोत्तर अर्थशास्त्रमा गोल्ड मेडल ल्याउने उद्देश्यले बढी प्राप्ताङ्क हुने गरी अनुचित ढङ्गले अङ्क थपेको पाइएको छ । यस्तै कर्माचार्यलाई नै सोही प्रक्रियाबाट ग्रामीण विकास र मानवशास्त्र विषयमा समेत परीक्षामा नै अनुपस्थित भए पनि उत्र्तीण गराएको पाइएको आयोगले जनाएको छ । आयोगका अनुसार पदको दुरुपयोग गरी १५ वटा विषयमा ३ देखि ५० नम्बरसम्म थप गरी कूल २२४ अङ्क थप गर्न सुरेन्द्रप्रसाद कोइरालाबाट रु एक लाख ५० हजार र केदार भट्टराईले हासिल गरेको अर्थशास्त्र विषयको स्नातकोत्तरतर्फको पाँच विषयमा १०÷१० नम्बरका दरले ५० अङ्क थप गर्न कोइरालामार्फत रु तीन लाख गरी जम्मा रु चार लाख ५० हजार भ्रष्टाचार गरेको पाइएको छ । आयोगले बानेश्वर बहुमुखी क्याम्पसमा कार्यरत कामु प्रशासनिक अधिकृत केदार भट्टराई, अङ्क थप गराउने रामबहादुर कर्माचार्य र सुरेन्द्रप्रसाद कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यस्तै आयोगले रुपन्देही जिल्ला अदालत बाल इजलास शाखामा कार्यरत शान्तिदेवी अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सवारी ज्यान मुद्दाको बाल मनोविज्ञान प्रतिवेदन सरल रुपमा तयार पारिदिने उद्देश्यले रु १० हजार घूस मागेको अभियोग लागेको छ । आयोगले अधिकारीविरुद्ध बिगोबमोजिम कैद सजायको समेत माग गरेको छ । त्यस्तै आयोगले भोजपुर हतुवागढी गाउँपालिकाका कार्यालयमा कार्यरत इञ्जिनीयर मिछुहाङ्ग किरातविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सडक निर्माण र स्तरोन्नति र पोखरी निर्माण कार्यको मूल्याङ्कनको बिल बनाइदिने प्रयोजनाका लागि सेवाग्राहीसँग रु ५० हजार घूस लिएको आरोप लागेको छ । आयोगले आरोपी इञ्जिनीयरविरुद्ध बिगोबमोजिमको माग दाबी र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।