चैत मसान्तभित्र स्ववियु निर्वाचन: मन्त्री पोखरेल
प्यूठान । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ प्यूठान जिल्ला शाखाले आज मङ्गलबार नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लागिएकाले यही शैक्षिक वर्षभित्रै स्ववियु निर्वाचन गरेर आगामी शैक्षिक वर्ष सुधारको वर्षको रुपमा अघि बढ्नुपर्ने बताएका हुन् । उक्त कार्यक्रममा ऐन, नीति, नियम निर्माणका साथैे समाजवादउन्मुख शिक्षा प्रणाली बनाइने उनको भनाइ थियो । केही नीति पारित भएको केही निर्माणको क्रममा रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रको विकासमा सङ्घ, प्रदेश र स्थानीय सरकारको पनि साझा जिम्मेवारी भएको बताए ।
स्ववियु निर्वाचनका लागि ‘अनुगमन तथा समन्वय’ समिति
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीको संयोजकत्वमा ‘स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय’ समिति गठन गरेको छ । आज बसेको त्रिवि पदाधिकारीको बैठकले स्ववियु निर्वाचनका लागि त्रिपाठीको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतिले जानकारी गराए । उनले समितिले चाँडै नै स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशित गर्ने र निर्वाचन हुने सबै क्याम्पसमा निर्वाचन गर्न समन्वय गर्ने बताए । उनका अनुसार उक्त समितिको काम कारवाही छिटो छरितोरुपले सञ्चालन गर्नका लागि शिक्षाध्यक्ष डा त्रिपाठीको संयोजत्वकमा सात सदस्यीय कार्यसमिति गठन गरिएको छ । समितिको सहसंयोजकमा रजिष्ट्रार उप्रेती, सदस्यमा विष्णुप्रसाद खनाल, नरेन्द्रप्रसाद शिवाकोटी, विष्णु केसी, वैकुण्ठ खनाल, नारायणप्रसाद खनाल र सदस्य सचिवमा गङ्गाबहादुर थापामगर रहेका छन् । त्रिविले प्रत्येक दुई÷दुई वर्षमा गर्ने निर्वाचनको कार्यकाल यही फागुन १८ गते सकिँदैछ । त्रिविले यसअघि सबै आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन तयारी गर्न निर्देशन दिइसकेको छ । विसं २०६५ यता त्रिविमा निर्वाचन पूर्णरुपमा हुन सकेको छैन । विसं २०७३ मा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमार्फत केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो । यसैगरी निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिवि उपकुलपति कार्यालय घेराउ गरेका छन् । आज बिहान ११ बजे स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै त्रिवि कार्यालय घेराउ गरिएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । घेराउ कार्यक्रममा क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले निर्वाचनका लागि समिति बन्नु सकारात्मक भएकाले निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने बताए । क्रान्तिकारीका उपाध्यक्ष बस्नेतले निर्वाचनको कार्यतालिका सार्वजनिक नहुँदासम्म आफ्ना आन्दोलनका कार्यक्रम यथावत् रहने जानकारी गराए । भोलि दुवै विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न दबाब दिन देशभरका स्ववियु निर्वाचन हुने क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा प्रदर्शन गर्ने कार्यतालिका रहेको छ । रासस
‘डिशहोम उज्वल भविष्य’ योजना सार्वजनिक, दुई विद्यालयमा शैक्षिक सामाग्री वितरण
काठमाडौँ । डिश मिडिया नेटवर्क लिमिटडले विद्यार्थीहरूको गुणस्तरीय शिक्षाका लागि सहयोग पुर्याउने उद्देश्यले “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको छ । मुलुकका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थी उचित प्रोत्साहन र शैक्षिक सामाग्रीको अभावमा शिक्षाबाट वञ्चित हुन नपरोस् भन्दै डिशहोमले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको हो । डिशहोमले यस योजना अन्तरगत बर्दिया जिल्लाको गुलरिया स्थित, त्रिशक्ति आधारभूत विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितको झोला वितरण गरेको छ । कार्यक्रममा गुलरिया नगरपालिका वडा नं. १ का वडा अध्यक्ष र सम्पुर्ण सदस्यहरुको सहभागितामा कक्षा १ देखि ५ सम्मका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरु लाई शैक्षिक सामाग्री सहितको झोला वितरण गरिएको हो । यस्तै बर्दिया जिल्लाकै राजापुर नगरपालिका वडा नं. ४ मा रहेको अमर सहिद दशरथ चन्द उच्च माध्यामिक विद्यालय मा पनि शैक्षिक सामाग्री सहितको झोला वितरण गरिएको छ । राजापुर नगरपालिका का उपप्रमुख मनकला थारु, ४ नं. वडा अध्यक्ष, प्रशासनिक निकाएका प्रमुखहरु तथा विभिन्न संचार संस्थामा कार्यरत संचारकर्मीहरुको उपस्थितिमा शैक्षिक सामाग्री सहितको झोला वितरण गरिएको छ । डिसहोमले यसअघि पनि स्वास्थ्य र शिक्षाका क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्य गर्दै आइरहहेको छ । डिशहोमले एसईई परिक्षा दिने विद्यार्थीहरुका लागि घरमै वसेर अंग्रेजी, विज्ञान तथा गणित विषयका टेलिभिजन कक्षाहरु संचालन गर्दै आइरहेको छ । यसका अलावा शिक्षामा सवैको समान पहुँच पुगोस भन्ने उद्देश्यले विभिन्न विद्यालयहरुसंगको सहकार्यमा विभिन्न योजनाहरु संचालन गर्ने गरेको कम्पनीले जनाएको छ । “डिशहोम उज्वल भविष्य” कार्यक्रमले गरिब तथा जेहन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन पुग्नुका साथै मुलुकभर गुणस्तरीय शिक्षा पुर्याउन निरन्तर लागि परेको सरकारलाई पनि टेवा पुग्ने डिशहोम मिडिया नेटवर्कका महाप्रवन्धक कल्याण अधिकारीले बताए ।