अब काठमाडौँ महानगरभित्रका ९१ विद्यालयमा एकै रङ, महानगरले छुट्यायाे दश करोड
काठमाडौं । काठमाडौँ महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्ने जानकारी गराएका छन् । महानगरपालिकाभित्र पदस्थापन भएका माध्यमिक विद्यालय तहका स्थायी शिक्षकको शपथ ग्रहण कार्यक्रममा उनले नगरभित्रका विद्यालयको आफ्नै पहिचान बनाउन एकै किसिमको रङ प्रयोग गर्ने बताएका हुन् । “काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्यालयको शैक्षिक गुणस्तर मात्र होइन भौतिक संरचनामा पनि सकेसम्म एकरुपता ल्याउने प्रयासमा लागेका छौँ”, उनले भने, “त्यसका लागि महानगरपालिका क्षेत्रभित्र रहेका सबै विद्यालय भवनमा एकै खालको रङरोगन गर्ने तयारी थालेका छौँ ।” महानगरमा ९१ वटा सामुदायिक विद्यालय रहेका छन् । उनले त्यसको सम्पूर्ण खर्च महानगरपालिकाले ब्यहोर्नका लागि करिब रु १० करोड रकम विनियोजन गरिएकोसमेत जानकारी दिए । उनका अनुसार विद्यालयको रङरोगन गर्ने, खेल मैदान निर्माण गर्ने, वृक्षारोपण गर्ने, शौचालय र खानेपानीको व्यवस्था गर्नेलगायतका शीर्षकका लागि रु १० करोड रकम छुट्याइएको छ । प्रमुख शाक्यले सामुदायिक विद्यालयको गुणस्तर सुधार गरेर विद्यार्थीलाई सामुदायिकतिर आकर्षित गर्न सके निजीमा पढ्न जानेको सङ्ख्या स्वतः घटेर जाने बताएका छन् । उनले अहिलेको पुस्ता सूचना, प्रविधि, योजना र नयाँनयाँ ज्ञानमा निपुण भएको भन्दै पुरानाको अनुभवसँग सहकार्य गरेर अघि बढ्ने हो भने सामुदायिक विद्यालयको गुणस्तर स्वतः वृद्धि भएर जाने बताउँछन् । महानगरका निमित्त नगर शिक्षा अधिकारी तारापति खरेलले शिक्षकलाई शिक्षाको गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताए । शिक्षा विभागका अधिकृत मोती भट्टराईले पदस्थापन भएका शिक्षकलाई महानगरभित्रको समग्र शैक्षिक गुणस्तरलाई उकास्न र उच्चतम नतिजा प्राप्त गर्ने कुरामा भूमिका खेल्ने उल्लेख गरे । पदस्थापना भएर ३१ माध्यमिक तहका शिक्षक महानगरमा आएका छन् । रासस
एफवान सफ्ट शैक्षिक क्षेत्रमा पनि लगानी विस्तार गर्दै
काठमाडौं । सफ्टवेयरको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएको आइटी कम्पनी एफवान सफ्ट इन्टरनेशनलले शैक्षिक क्षेत्रमा समेत आफ्नो लगानी विस्तार गरेको छ । एफवान सफ्ट गु्रपले भक्तपुरको ठिमीमा रहेको स्वस्तिक कलेजमा साझेदारी गर्दै लगानी विस्तार गरेको हो । नेपालको आइटी क्षेत्रमा एकातिर दक्ष जनशक्तिको अभाव रहेको र अर्काेतिर आइटी क्षेत्रबाट उत्पादित विद्यार्थीहरूले उपयुक्त अवसर नपाइरहेको समस्यालाई समाधान गर्न एफवान सफ्टले कलेजमा लगानी विस्तार गरेको जनाएको छ । बिसिए र बिएससी सिएसआइटी अध्ययन हुने कलेजमा एफवान सफ्टले सबै सेमेष्टरमा प्रोफेसनल आइटी ट्रेनिङ दिनेछ । साथै हरेक सेमेष्टरमा विद्यार्थीलाई इन्ट्रनसिप गराएर दक्ष बनाइ एफवान सफ्ट गु्रपमा रोजगारी प्रदान गरिने स्वस्तिक कलेजका प्रिन्सिपल युवराज सिवाकोटीले बताए । आइटीसँग सम्बन्धित पढाई हुने स्वस्तिक कलेजबाट उत्पादन हुने विद्यार्थीले एफवान सफ्ट तथा इसेवालगायतका भगिनी संस्थामा रोजगारी प्राप्त गर्नेछन् । एफवान सफ्ट गु्रपका निर्देशक सुभास सापकोटाले स्वष्तिक कलेजसँगको सहकार्यले आफूहरूलाई आवश्यक पर्ने दक्ष जनशक्ति पनि उत्पादन हुने र विद्यार्थीलाई पनि रोजगारीको प्रत्याभुति हुने हुनाले कम्पनी, कलेज र विद्यार्थी सबैलाई फाइदा हुने बताए । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धतप्राप्त कलेजमा बिसिएमा ३६ र बिएससी सिएसआइटीमा ३६ गरी ७२ जनाको कोटा छ । कलेजमा अहिले भर्नाका लागि फर्म वितरण सुरू भएको जनाइएको छ ।
टाटा ट्रस्ट र सिप्रदीयन सहायता संस्थाद्वारा निर्मित विद्यायल हस्तान्तरण
काठमाडौँ । टाटा कम्युनिटी इनिसिएटिभ ट्रस्ट र टाटा ट्रस्ट (इन्डिया) तथा सिप्रदीयन सहायता संस्थाको साझेदारीमा संचालित “नेपाल अर्थक्वेक रिस्पोन्स प्रोगाम” अन्तर्गत पुनर्निर्माण गरिएको सिन्धुपालचोक जिल्लाको भोटेकोशी गाउँपालिकामा अवस्थित मार्मिङ माध्यमिक विद्यालय उद्घाटन गरिएको छ । नवनिर्मित भूकम्प प्रतिरोधी विद्यालय भवनको प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूण नेपालले उद्घाटन गरेका हुन् । उक्त कार्यक्रमका विशेष अतिथिमा टाटा केमिकल्सका प्रमुख अपरेटिङ अफिसर शहोब राइस, सिप्रदी कम्पनीजका निर्देशक शम्भुप्रसाद दाहाल तथा टाटा सस्टेनिलिटी ग्रुपका नायब महाप्रबन्धक श्रीरंग डाभ थिए । त्यसैगरी सिन्धुपालचोकको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पा, भोटेकोशी गाउँपालिककी उपाध्यक्ष दाबुटी शेर्पा, सिप्रदी ट्रेडिङका महाप्रबन्धक कृष्णप्रसाद बर्तौला तथा टाटा ट्रस्ट्स नेपालका क्षेत्रीय प्रबन्ध टमलाल पोखरेलको पनि उपस्थिति थियो । पुनर्निमार्ण गरिएको भूकम्पप्रतिरोधी विद्यालयमा १० वटा कक्षाकोठाहरू, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, मन्टेसोरी कक्षाकोठाहरू र अन्य भौतिक सुविधाहरू रहेका छन् । यो विद्यालय भवन २.७ करोड रूपैयाँभन्दा पनि बढीको लागतमा पुनर्निमार्ण गरिएको हो ।