नियमित विद्यालय जानुहोस्, तेल उपहार पाउनुहोस्
नेपालगञ्ज उपमहानगरपालिकाले छात्राहरुलाई तेल उपहार प्रदान गरेको छ । नेपालगञ्ज–४ सल्यानीवागमा सञ्चालित आधारभूत छात्रा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई खाने तेल उपहार प्रदान गर्न थालेको हो । “विद्यालयमा विद्यार्थी टिकाउन अभिभावकलाई खाने तेल उपहार दिन थालिएको हो”, नगरप्रमुख डा धवलशमशेर राणाले भने, “अभिभावकले आफ्ना छोरीलाई नियमित विद्यालय पठाउन प्रेरित गर्ने उद्देश्यले तेल उपहार दिन थालिएको छ ।” विद्यालयमा मासिक ८५ प्रतिशतभन्दा बढी हाजिरी हुने छात्राका अभिभावकलाई तेल दिन शुरु गरेको हो । प्रति विद्यार्थी दुई लिटरका दर खाने तेल वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ । “अभिभावकलाई प्रोत्साहित गर्न खोजेका हौँ”, नगर उपप्रमुख उमा थापा मगरले भनिन्, “यसले छात्राहरुको कक्षामा उपस्थिति प्रतिशत बढ्ने विश्वास लिएको छ ।” विद्यालयमा हाल २४५ विद्यार्थी भर्ना भएका छन् । जसमध्ये ८५ प्रतिशत हाजिरी नाघ्ने विद्यार्थीको सङ्ख्या भने ८६ मात्रै रहेको छ । तिनै ८६ जना विद्यार्थीका अभिभावकलाई दुई लिटरका दरले तेल वितरण गरिएको हो । विद्यालयका परामर्शदाता किरण आचार्यले छात्राहरुको शिक्षामा अभिभावक गम्भीर हुनुपर्ने बताए । “शिक्षाको महत्व अभिभावकले नबुझ्दा विद्यार्थीको उपस्थिति न्यून हुन पुगेको हो”, उनले भने, “छोरी विद्यालय पठाऊ उपहार दिन्छु भन्ने अवस्था विडम्बनापूर्ण हो ।” नगरप्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा, वडाध्यक्ष सफिक बेहना, नगर शिक्षा अधिकारी गोरखबहादुर थापा, विद्यालयका शिक्षक, व्यवस्थापन समितिका सदस्य लगायतले सो विद्यालयको अनुगमन समेत गरेका छन् । रासस
श्रेष्ठद्वारा एक लाखको अक्षयकोष स्थापना
दमौली । तनहुँको व्यास नगरपालिका–३ देउराली नगरस्थित शिवपञ्चायन माविमा रु एक लाखको अक्षयकोष स्थापना भएको छ । सोही ठाउँका कृष्णकुमार श्रेष्ठले आफ्ना बाबु स्व. रेशमलाल श्रेष्ठ र आमा स्व. विष्णुमाया श्रेष्ठको स्मृतिमा रु एक लाख एक हजार एक सय एघारको अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमले विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्ने उद्देश्यबमोजिम अक्षयकोष स्थापना गरिएको श्रेष्ठले जानकारी दिएका छन् । “विद्यालयमा अध्ययन गर्ने आर्थिक रुपमा विपन्न बालबालिकाको शिक्षाका लागि केही गरौँ भन्ने भावनासहित बुबाआमाको स्मृतिमा अक्षयकोष स्थापना गरेको हुँ”, श्रेष्ठले भने, “मेरो सानो सहयोगले बालबालिकाको भविष्य निर्माणका लागि सहयोग पुग्ने विश्वास गरेको छु ।” बाबुआमाको स्मृतिमा फरक–फरक कार्यक्रम गर्ने गरिए पनि शिक्षामा लगानी गर्नुजस्तो पुण्य काम अरू नभएको श्रेष्ठले बताए । दाताले स्थापना गरेको अक्षयकोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक सरिता पौडेलले जानकारी दिएकी छिन् । विद्यालयमा हाल २६० छात्रछात्रा अध्ययनरत छन् । प्रधानाध्यापक पौडेलका अनुसार विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न दाताले सहयोग गरिरहेका छन् । विद्यालयमा हालै मात्र माध्यमिक तहको पढाइ सञ्चालन भएको हो । विद्यालयले गत असार १४ गते सरोकारवालासँग विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि छलफल गरेको थियो । उक्त छलफलपश्चात् विभिन्न सरोकारवालाले विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । माध्यमिक तह सञ्चालन समितिका संयोजक विष्णुभक्त न्यौपानेका अनुसार यस अवधिमा रु १३ लाख ९९ हजार १९३ सहयोग प्राप्त भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर विकले शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि स्थानीयवासी, अभिभावक एवं सरोकारवालाहरुको सहयोग आवश्यक पर्ने जानकारी समेत दिएका छन् । रासस
माइक्रोवायोलोजीस्ट विद्यार्थीलाई लाइसेन्स दिन परिषद्ले १५ दिनभित्रमा प्रक्रिया शुरु गर्ने
काठमाडौं। लाईसेन्स दर्ताबाट बन्चित माईक्रोबायोलोजिस्ट विद्यार्थीहरुको हकमा १५ दिन भित्र निर्णय हुने भएको छ। माइक्रोबायोलोजी अध्ययन गरेर हालसम्म नेपाल स्वास्थ व्यवसायी परिषद एनएचपिसीद्वारा स्वास्थ क्षेत्रमा योगदान गर्न प्रदान गरिने एनएचपिसीको लाइसेन्स प्राप्त गर्न वन्चित गरेको भन्दै विद्यार्थीहरु लामो समय देखी आन्दोलनमा थिए। आन्दोलनको क्रममा माईक्रोबायोलोजिस्ट विद्यार्थीहरुले सोमबार बाँसबारीमा रहेको नेपाल स्वास्थ्य व्यवसायी परिषद्मामा बिहान १० बजेबाट १ बजेसम्म घेराउ गरेका थिए। परिषद्का अध्यक्ष रामप्रसाद भण्डारीले माइक्रोवायोलोजीमा स्नातकोत्तर अध्ययन पूरा गरेका विद्यार्थीलाई लाइसेन्स दिने व्यवस्थाका लागि १५ दिनभित्र प्रक्रिया शुरु गर्ने आसश्वासन दिएको आन्दोलनमा रहेका माइक्रोबायोलोजिस्ट अनिश खतिवडाले बताए। विद्यार्थीलाई लाइसेन्स उपलब्ध गराउन पहल गर्ने सहमति भएसँगै विद्यार्थीहरुले आफ्ना आन्दोलन स्थगित गरेका छन् । त्रिवि अन्तगर्ततका १० वटा क्याम्पसहरुबाट वार्षिक १ सय ५० जना विद्यार्थीहरु माइक्रोवायोलोजी अध्ययन पूरा गर्छन् । तर उनीहरुले परिषदबाट लाइसेन्स पाएका छैनन् । हालसम्म २५ सय विद्यार्थीहरुले सो विषयमा अध्ययन पूरा गरिसकेको सुक्ष्म जीव विज्ञान विद्यार्थी संघले जनाएको छ । त्रिभुवन विश्वविद्यालयमा अन्तर्गत आईओएम् र आईओएस्टीमा पढाई हुने मेडिकल र पब्लिक माइक्रोबायोलोजीमा आईओएमले मात्र एनएचपिसीबाट दर्ता पाउने गरेका छन। टि.यु.एमएससी मेडिकल माइक्रोबायोलोजीसँग इकुभ्यालेन्ट लिएर भारत र अन्य मुलुकबाट अध्ययन गरेर आएकालाई भने लाइसेन्स दर्ता दिइएको विद्यार्थीहरुको रहेको थियो। एनएचपिसीले केहि माइक्रोबायोलोजिका विद्यार्थीका विद्यार्थीहरुले अस्थाई दर्ता जारी गरेको तर स्थाइ र सम्पुर्ण प्रक्रिया रोकेर राखेको अवस्था छ।