टोखा नगरपालिकाद्वारा विद्यालयलाई १० लाख सहयोग
काठमाडौं । टोखा नगरपालिकाले गरिब, दुःखी र असहाय विद्यार्थीलाई निःशुल्क पढाउनका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ । नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका गरिब, दुःखी र असहाय विद्यार्थीको निःशुल्क पठनपाठनका लागि नेपाल स्कुलास्टिक एकेडेमी र निकेतन मेमोरियल स्कुललाई रु पाँच÷पाँच लाख आर्थिक सहयोग गरेको हो । टोखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखा नगरपालिकाभित्र रहेका कोही पनि बालबालिका पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले दुई विद्यालयलाई रु पाँच÷पाँच लाख रकम सहयोग गरेको जानकारी दिएका छन् । नगरपालिकाले सबै वडाका गरिब तथा असहाय विद्यार्थीलाई निःशुल्क कोचिङ कक्षासमेत सञ्चालन गर्ने जनाएको छ । रासस
जर्मनमा २१ औँ गैरसरकारी संस्थाको सम्मेलन हुँदै
काठमाडौं । नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धनका लागि जर्मनीको कोलोन नगरमा यसै साता २१ औँ गैरसरकारी संस्थाको सम्मेलनको आयोजना हुँदैछ । जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा हुन लागेको सो सम्मेलनमा नेपालको समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन गर्नु आवश्यक भएको भन्दै यसका लागि बाह्य लगानी, प्रविधि र ज्ञान भित्र्याउन सकिने सम्भावनाका बारेमा छलफल हुने सङ्घका अध्यक्ष रामप्रताप थापाले बताएका छन् । उक्त सम्मेलनमा नेपालका लागि जर्मनीका राजदूत रोलाल्ड सेफरले विशेष मन्तव्य दिनेछन् भने नेपालका लागि जर्मनीका महावाणिज्यदूत समेत रहेका अध्यक्ष थापा र गोटिङ्गेनका डा. वियाट्रिस क्लिरको पनि विशेष प्रस्तुति रहने सङ्घले आज जनाएको छ । सो अवसरमा नेपालमा प्राविधिक शिक्षा चुनौती र अवसर तथा गैरसरकारी संस्थाको वर्तमान अवस्थाका बारेमा पनि कार्यपत्र प्रस्तुत हुनेछ । हरेक वर्ष आयोजना हुने यस सम्मेलनमा नेपाललाई सहयोग गर्दै आएका जर्मनीका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहने आयोजकले जनाएको छ । रासस
नेपालको शिक्षामा व्यापक क्रान्ति र छलफल गर्न जरुरी: मन्त्री पोखरेल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको शैक्षिक क्षेत्र सुधारका लागि व्यापक क्रान्ति र छलफल गर्न जरुरी भएको बताएका छन् । मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा आज भएको ‘दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन’ मा उनले शताब्दीऔं अगाडि देखिको औद्योगिक कालको शिक्षालाई परिवर्तन गर्न आवश्यक भएकाले व्यापक क्रान्ति र छलफल गर्न जरुरी रहेको जानकारी दिए । “शिक्षाका माध्यमबाट समाजको नेतृत्व गर्ने राजनीतिज्ञ, औद्योगिक, शिक्षक, व्यापारी, चिकित्सक, चालकलगायतका विभिन्न जनशक्ति सिर्जना हुने गर्छन्”, शिक्षामन्त्री पोखरेलले भने, “यी सबै पद र प्रतिष्ठामा रहेका व्यक्ति सिर्जना गर्ने शिक्षाको सिकाइमा नयाँ ज्ञान, मूल्यमान्यता र व्यवहारको विकास हुनुपर्छ ।” विद्यालय तहको शिक्षालाई अपेच्छा अनुसार गुणस्तरमा सुधार गर्न नसकेको उनको भनाई छ । समाजमा शिक्षाको गुणस्तरप्रति आमचासो बढेको बताउँदै मन्त्री पोखरेलले भने, “शिक्षा तुरुन्तै रुपान्तरण र परिभाषित गर्न सक्ने विषय नभएकाले यसलाई सर्वसुलभ र गुणस्तरीय बनाउँदै जाँदा नयाँ ढङ्ग र अनुभव बढ्ने छ ।” हरेक मानिसमा सकारात्मक चिन्तन विकास गर्न सहयोग गर्ने माध्यमनै शिक्षा रहेको बताएका छन् । ‘सार्वजनिक विद्यालयको सवलीकरणमा आजको प्राथमिकता’ भन्ने उद्देश्य बोकेको सो सम्मेलनले शिक्षामा भित्रिएको प्रक्रिया, आयात र निर्यातलाई बुझ्न जरुरी रहेको उहाँले बताउनुभयो । सरकारले २०७६ देखि २०८५ साल सम्मलाई ‘सार्वजनिक विद्यालय सवलिकरण’ घोषणा गरिसकेको जानकारी दिए । सरकारले नेपालको जुनसुकै विद्यालयमा अध्ययनरत विद्यार्थी सङ्ख्या ५०० भन्दा बढी भएमा त्यसले १० प्रतिशत, विद्यार्थी सङ्ख्या ८०० भन्दा बढी भएमा १२ प्रतिशत र विद्यार्थी सङ्ख्या ८०० भन्दा बढी भएमा १५ प्रतिशत छात्रावृत्ति दिनुपर्ने घोषणा गरेको मन्त्री पोखरेलको भनाई छ । सरकारले ल्याएको ‘एक विद्यालय एक बिरुवा’ अभियानले पर्यावरण सन्तुलनमा जोड दिनुका साथै वातावरण सुधार गरी समय सापेक्ष ज्ञान निर्माण गर्न सहयोग गर्ने तथा राष्ट्रिय शिक्षा नीति २०७६ स्वीकृतको क्रममा अघि बढेको शिक्षा मन्त्रीले जानकारी गराए । फाउण्डेसनका अध्यक्ष शान्त्ता दीक्षितले गुणस्तरीय शिक्षामा निर्माणमा सिकाइ केन्द्रित छ वटा मूल विषय रहेका सम्मेलनमा उपस्थित शिक्षक सामु जानकारी दिँदै,, “सिकाइ केन्द्रित प्रारम्भिक बालविकास, गरेर सिक्ने शैली, नेतृत्वको भूमिका, शिक्षामा निजी क्षेत्र, शिक्षामा लगानी र दिगो विकासको लागि शिक्षाको योजनाले सहयोगी भूमिका निर्वाह गर्ने छ ।” तीन दिने सो सम्मेलनले नेपालमा गुणस्तरीय शिक्षा निर्माण गर्न सहयोग पुर्याउने बताईन । रासस