अमेरिकाले नेपाली विद्यार्थीसँग लिने भिसा शुल्क घटायो, २ करोड ४० लाख रुपैयाँ बचत हुने

काठमाडौँ । अध्ययनका लागि अमेरिका जाने नेपाली विद्यार्थीसँग भिसा प्रोसेसिङका नाममा अमेरिकी दूतावासले लिँदै आएको २ सय डलर अब नलिने भएको छ । दुई देशबीच भिसा पारस्पारिकताको कार्यान्वयनका क्रममा नेपालले अतिरिक्त शुल्क नलिन गरेको आग्रहमा अमेरिकी दूतावास राजी भएको हो । ‘एक महिनाभित्र दूतावासले कार्यान्वयन गर्ने प्रतिबद्धता आज पनि दोहोर्‍याएको छ,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘यसबाट हाम्रो करोडौँ जोगिनेछ ।’ अब नेपाली विद्यार्थीले अमेरिकी भिसाका लागि एक सय ६० डलर मात्र तिरे पुग्छ । हरेक वर्ष करिब १२ हजार नेपाली विद्यार्थी अध्ययनका लागि अमेरिका जाने गर्छन् । जसअनुसार कम्तीमा नेपालीको २ करोड ४० लाख रुपैयाँ बचत हुनेछ । गत १ जनवरीदेखि लागू हुने गरी नेपाल र अमेरिकाबीच पर्यटक भिसामा पारस्पारिकता लागू गर्ने निर्णय भएको थियो । यद्यपि, औपचारिक उद्घाटन सोमबार भएको हो । विभागका महानिर्देशक ईश्वरराज पौडेलले सोमबार तीन अमेरिकी पर्यटकलाई पाँचवर्षे बहुप्रवेशी भिसा प्रदान गरेका हुन् । कार्यक्रममा सहभागी काठमाडौंस्थित अमेरिकी दूतावासका कन्सुलर माइकल मोसीले अतिरिक्त शुल्क नलिने प्रक्रिया अघि बढेको र छिटै कार्यान्वयन हुने बताए । नेपाल सरकारले भिसा नलागेको अवस्थामा पनि आवेदन शुल्क फिर्ता गर्नुपर्ने प्रस्ताव गरेको थियो । तर, त्यसलाई भने दूतावासले अस्वीकार गरेको छ । भिसाको आवेदन दिनेमध्ये करिब १५ प्रतिशत नेपालीले मात्र अमेरिकी भिसा पाउँछन् । भिसा नलागे पनि शुल्क भने तिर्नुपर्छ । जापानी दूतावासलगायतले भिसा नलागेको अवस्थामा शुल्क फिर्ता गर्छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रदेश २ मा प्रहरीबाटै बाहिरिएको थियो एसईई प्रश्नपत्र

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ । घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ । यसलाई ब्युरो र प्रहरी प्रधान कार्यालय दुवैले गोप्य राखेका छन् । प्रश्नपत्र बाहिरिएलगत्तै राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश २ सरकारले गठन गरेका समितिले छुट्टाछुट्टै छानबिन गरेका थिए । दुवै समितिले अनुसन्धान जारी रहेको बताइरहेका बेला सीआईबीले दुई प्रहरी जवानलाई नियन्त्रणमा लिएको हो । एक उच्च प्रहरी अधिकारीका अनुसार सोमबार बिहान काठमाडौं ल्याइएका दुवैलाई हतकडी लगाइएको छ । उनीहरू दुवैलाई दिनभर सीआईबी कार्यालयमा राखेर सोमबार साँझ प्रहरी प्रधान कार्यालयअन्तर्गतको एक नम्बर गणमा पुर्याइएको थियो । नियन्त्रणमा लिइएकामध्ये ब्रह्मदेवको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा दरबन्दी रही इलाका प्रहरी कार्यालय कल्याणपुरमा काजमा खटिएको खुलेको छ । सीआईबीले नियन्त्रणमा लिएका दुई प्रहरीमध्ये एक परीक्षार्थी पनि हुन् भने अर्का प्रश्नपत्रको तस्बिर खिच्न संलग्न थिए । नजिकका साथीसमेत रहेका उनीहरूबाटै प्रश्नपत्र बाहिरिएको पर्याप्त आधार भेटिएको एक प्रहरी अधिकारीले बताए । ती प्रहरी अधिकारीले केही तथ्यगत र उनीहरूबाट बाहिरिएको प्रश्नपत्र अन्य धेरै परीक्षार्थीमा पुर्‍याउने काममा क–कसको संलग्नता थियो भन्ने पुष्टि गर्न थप अनुसन्धान भइरहेको बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

सिप्रदीयन र टाटा ट्रस्टको सहकार्यमा विद्यालय भवन हस्तान्तरण

काठमाडौं । सिप्रदीयन सहायता संस्था र टाटा ट्रस्टको सहकार्यमा सिन्धुपाल्चोकमा नवनिर्मित विद्यालय हस्तान्तरण गरेको छ । सिन्धुपाल्चोक जिल्लाको वलेफी गाउपालिका ४ नवनिर्मित विद्यालय हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । जालपादेवी माध्यमिक विद्यालयको उक्त नवनिर्मित भवन अत्याधुनिक भुकम्प प्रतिरोधी तथा अपाङ्ग मैत्रि रहेको छ । १२ कोठे उक्त भवनमा पुस्तकालय, विज्ञान प्रयोगशाला, अपाङ्गमैत्री शौचालय र स्वच्छ खानेपानीको व्यवस्था समेत गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननिय गिरिराजमणि पोखरेलको उपस्थितिमा सिप्रदीयन सहायता संस्थाका उपाध्यक्ष शम्भुप्रसाद दाहाल, सिप्रदी कम्पनिजका सि.ई.ओ. राजनबाबु श्रेष्ठ, सि.ओ.ओ. राजेशप्रसाद गिरी, उपाध्यक्ष सौरभ थपलिया तथा टाटा मोर्टसका म्यानिफ्याक्चरिङ हेड ( कर्पोरेट भेइकल विजनेस युनिट ) अजयलाल र टाटा ट्रस्टका सि.ओ.ओ. हरिसकृष्ण स्वामीको उपस्थिमा उक्त विद्यालय भवन हस्तारण गरिएको छ । टाटा ट्रष्ट र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा नेपाल अर्थक्युयिक रिह्याविटेसन ईनिसिएटिभको समन्वयमा सातवटा विद्यालय र स्वास्थ्य चौकि पुनर्निमाणमा सहयोग गर्दै आइरहेको छ । शारदा उच्च माध्यमिक बिद्यालय र जालपादेवी माध्यमिक बिद्यालय निर्माण सम्पन्न भईसकेको छ भने अन्य विद्यालयहरु क्रमश कुपकन्या माध्यमिक विद्यालय, मार्मिङ आधारभुत बिद्यालय, तपी नारायण आधारभुत बिद्यालय, जनज्योति आधारभुत बिद्यालय, र पुल्पिङकट्टि स्वास्थ्यचौकिको पुनर्निमाण अन्तिम चरणमा पुगिसकेको छ ।