महिला सुरक्षालाई ध्यान दिँदै सौगात मन्टेश्वरीले संचालन गर्यो आत्मारक्षा तालिम
काठमाडौं। कलंकीस्थित सौगात मन्टेश्वरीले आफ्नो विद्यार्थी र उनका अभिभावकलाई आत्मारक्षा सम्बन्धी एक दिने तालिम संचालन गरेको छ। ईनर व्हिल कल्ब किर्तिपुरको संयोजकतामा सौगात मोन्टेस्वोरीले तालिम संचालन गरेको हो। मन्टेश्वरीले ६५ भन्दा बढी अभिभावक र शिक्षकहरुको उपस्थितिमा शुक्रबार तालिम संचालन गरेको हो। सार्वजनिक सवारी साधन, कार्यालय, सार्वजनिक स्थल लगायतमा महिला हिंसा घट्ना बढ्न थालेपछि हिंसा रोक्न र आत्मरक्षा गर्न सक्ने बनाउन आफूहरुले तालिम संचालन गरेको मन्टेश्वरीकी संचालक तथा प्रिन्सिपल राज्य लक्ष्मी बैद्यवारले बताइन् ।तालिमामा महिलाहरुलाई कसैले आफूलाई जबर्जस्ती कतै लैजाँदै अथवा कसैले आफूलाई आफ्नो मर्जीबिना छुँदा कसरी आफुले प्रतिकार जनाउने र उक्त व्यक्तिलाई कसरी घाइते बनाउने सम्बन्धी तालिम दिईएको थियो। तालिमाका प्रशिक्षक गौरब भन्छन्, ‘कसैले आफूलाई आक्रमण गर्दै छ भने डर अवश्य लाग्छ तर यदी हामीले केही नसोची उक्त व्यक्तिको आँखा, नाक, कान जस्ता संवेदनशिल अंगहरुमा प्रहार गर्न सक्यौं भने हामी पक्कै पनि बच्न सक्छौं। आत्मारक्षाको समयमा हाम्रो जिन्दगी भन्दा ठूलो केही होइन त्यसैले जहाँ सक्नुहुन्छ त्यहीँ प्रहार गर्नुहोस् र बिशेष गरेर संवेदनशिल अंगमा प्रहार गर्ने कोसिस गर्नुहोस्।’ समाजमा पछिल्लो महिला हिंसाका घट्ना बढ्न थालेपछि विभिन्न स्थानहरुमा महिलाहरुलाई आत्मारक्षा तालिम दिन थालिएको छ।
आइओएम र पाटनको एमबिबिएस प्रवेश परीक्षा रोक्न सर्वोच्चको आदेश
काठमाडौं। सर्वोच्च अदालतले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबिबिएस प्रवेश परीक्षा तत्काल नगर्न अन्तरिम आदेश दिएको छ। सर्वोच्चले शनिबारका लागि तय भएको आइओएमको प्रवेश परीक्षा तत्कालै रोक्न र छलफलका लागि २५ गते अदालतमा उपस्थित हुन आदेश दिएको हो। आयुष ओझाले चिकित्सा शिक्षा ऐन विपरित परीक्षा लिन लागेको भन्दै आदलतमा रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले परीक्षा रोक्न आदेश दिएको हो।
विप्लवकाे कार्यकर्ताद्वारा सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट
इनरुवा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताएका छन्। सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहिरको भागमा बिष्फोट गराएको प्रहरीले जनाएको छ । बम बिष्फोट गराएर स्थानीयवासीमा डर, त्रासको अवस्था सिर्जना गर्ने र चन्दा आतङ्क मच्चाउने योजनाको साथ शैक्षिक संस्थामा बिष्फोट गराएको हुन सक्ने सुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताए । केही दिन अगाडि सुनसरीको इटहरीबाट विप्लव समूहका लागि चन्दा उठाउने नाइके पक्राउ परेपछि उनीहरुले नै बिष्फोट गराएको प्रहरी नायब उपरीक्षक शर्माको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भइरहेको र बम बिष्फोट गराउने विप्लव समूहका कार्यकर्ताको खोजी भइरहेको पनि उनले बताएका हुन् । बिष्फोटबाट समान्य क्षति भएको प्रहरीले जनाएको छ । रासस