नगरभरीका विद्यालयमा एउटै रङ, १ करोड रकम बिनियोजन
लम्की । कैलालीको टीकापुर नगरपालिकाका सबै सामुदायिक विद्यालयको रङ एउटै खालको लगाइने भएको छ । नगरपालिकाले नगरभित्र रहेका ३४ सामुदायिक विद्यालयमा एउटै खालको रङ लगाउन रु एक करोड रकम विनियोजन गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षमै रङरोगनका लागि लागत अनुमान तयार गर्न थालेको छ । टीकापुर स्रोतकेन्द्रका स्रोतव्यक्ति धनबहादुर शाहले सामुदायिक विद्यालय एकै खालको देखाउन बजेट विनियोजन गरेको बताए । “पहेँला र कलेजी दुई प्रकारको रङ लगाउने सहमति भएको छ”, स्रोतव्यक्ति शाहले भने, ‘‘सामुदायिक विद्यालयको छुट्टै पहिचान स्थापित होस् भन्ने चाहना पनि हो ।’’ शाहीले अधिकांश सामुदायिक विद्यालय एक दशकभन्दा बढी समयदेखि रङरोगन नभएको अवस्था रहेकाले यो अभियानले राहत हुने बताए । सब इञ्जिनीयर गम्भीरसिंह साउदले प्राविधिकले लागत अनुमान तयार गरिरहेको बताउँदै रु १० लाखभन्दा कम लागत लाग्ने विद्यालयमा व्यवस्थापन समितिको सहयोगमा रङरोगन गरिने बताए । उनले भने, “१० लाख माथिका योजना भए ठेक्कामा दिने प्रचलन छ । जेठभित्र रङरोगन सक्ने गरी काम थालेका छौँ ।” नगरपालिकाले रङगरोगन गरिदिने भएपछि शिक्षक पनि खुशी भएका छन् । त्रिभुवन मावि बटनपुरका प्रअ रवीन्द्र कठायतले स्थानीय सरकारले सबै विद्यालयलाई समेट्ने गरी उदाहरणीय कार्य शुरु गरेको बताए । ‘‘सबै विद्यालय एउटै खालका देखिन्छन्, यसले विभेद अन्त्यमा समेत सहयोग पुगेको छ”, प्रअ कठायतले भने, “वर्षौंदेखि आर्थिक अभावमा रङरोगन गर्न नसकेका विद्यालयलाई राहतसमेत भएको छ ।” नगरपालिकाले शिक्षाको जिम्मेवारी स्थानीय तहमा आएपछि टीकापुरमा परीक्षा प्रणाली व्यवस्थित गरिएको जनाएको छ । नगरप्रमुख तपेन्द्रबहादुर रावलले शैक्षिक गुणस्तर वृद्धिका लागि विषयगत पाठ्ययक्रमसहितको योजना बनाएको शैक्षिक पात्रो हरेक विद्यालयमा उपलब्ध गराइएको बताए । “हरेक महीना प्रधानाध्यापक र व्यवस्थापन समितिसँग छलफल हुन्छ”, नगरप्रमुख रावलले भने, “विद्यालयमा राम्रा काम र समस्याबारे छलफल हुन्छ, बजेट आवश्यक भए कार्यपालिकाले निर्णय गर्छ ।” कक्षा ८ सम्मको परीक्षा स्थानीय तहले सञ्चालन गर्न थालेको छ । नगरप्रमुख रावलले शिक्षा नियमावली पनि अन्तिम चरणमा रहेको बताउँदै शिक्षा नियमावली स्वीकृत भएपछि अझ शैक्षिक विकासमा सहयोग पुग्ने बताए । रासस
प्रधानमन्त्रीले भने-‘सामुदायिक विद्यालयसँग प्रतिष्पर्धा गर्न निजीलाई हम्मेहम्मे’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक शिक्षाको गुणस्तर बृद्धिका लागि सरकार लागिपरेको बताएका छन् । हिसान र कान्तिपुरले संयुक्त रुपमा आयोजना गरेको एड्युफेयरको विहीबार राजधानीमा उदद्घाटन गर्दैै प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने– ‘केही समयपछि सामुदायिक विद्यालयको गुणस्तर यति माथि पुग्नेछ कि निजी विद्यालयलाई प्रतिष्पर्धा गर्न हम्मेहम्मे पर्नेछ ।’ तर, यसो भन्दैमा निजी क्षेत्रलाई सरकारले घाँटी निमोठ्ने काम गर्दैन–उनले भने । कार्यक्रममा बोल्दै ओलीले निजी क्षेत्रले विकासको अगुवाई गरेको र शिक्षा तथा स्वास्थ्य क्षेत्रको उन्नतीको लागि निजी र सार्वजनिक क्षेत्र संगसंगै हिड्नुपर्ने बताए । निजी क्षेत्रलाई प्रोत्साहन नमिल्दा विद्यार्थीहरु बाध्य भएर अध्ययनको लागि बाहिर जानु परेको पनि प्रधामन्त्री ओलीले उल्लेख गरे । नेपालमा गुणस्तरीय शिक्षा भन्ने मूल नाराको साथ विभिन्न विद्यालय तथा कलेजको सहभागितामा काठमाडौंको भृकुटी मण्डपमा कार्यक्रम आयोजना गरिएको हो । एड्युफेयरमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सिटिईभिटि)को सम्बन्धनमा संचालित १ सय ५० बढी शैक्षिक संस्थाहरुको सहभागिता रहेको आयोजकले बताएका छन् । एड्युफेयरमा ४ दिनसम्म सञ्चालन हुनेछ । विभिन्न तहमा अध्ययनरत विद्यार्थी, अभिभावक तथा शिक्षासंग सरोकार राख्नेहरु गरी २ लाख भन्दा बढीले मेला अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।
हाइ हिमालयन ट्रेकिङले १ करोडको लागतमा रसुवामा बनायो विद्यालय भवन
काठमाडौँ । रसुवामा भूकम्पले पूर्ण क्षति गरेको घोर्मु प्राविको भवन निर्माण गरिएको छ । भूकम्प गएको चार वर्षसम्म अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सञ्चालन हुँदै आएको थियो । नौकुण्ड गाउँपालिका–६ घोर्मुमा निर्माण गरिएको नवनिर्मित भवनको प्रतिनिधि सभाका सदस्य मोहन आचार्यले आइतबार उद्घाटन गरे । हाइ हिमालयन ट्रेकिङ एण्ड एक्सिडेसन प्रालिले ८ कोठे भवन निर्माण गरेको हो । १ करोडको लागतमा भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पौडेलले बताए । भवन निर्माण भएसँगै पठनपाठनमा सहज भएको प्रअ पौडेलले बताए । विद्यालयमा ६९ विद्यार्थी अध्ययनरत छन् ।