नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता
काठमाडौँ । नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच रणनीतिक साझेदारी तथा प्राज्ञिक सहयोग आदान–प्रदान सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा नर्भिक इन्स्टीच्युट अफ नर्सिङ एजुकेशनका तर्फबाट कार्यकारी निर्देशक पारस शाक्य र माहिडोल विश्वविद्यालयका तर्फबाट त्यहाँका प्रेसिडण्ट वाञ्चोङ्ग माहासायारियाले हस्ताक्षर गरेका छन् । दुई संस्थाबीच भाईचाराको अभिवृद्धि गर्ने, पाठ्यक्रम विकास, अनुसन्धान लगायतका अन्य शैक्षिक गतिविधिहरुमा सहयोग आदानप्रदान गर्ने, शैक्षिक ज्ञान तथा स्रोतसाधन आदान–प्रदान गर्ने, आपसी सहकार्यमा शैक्षिक कार्यक्रमहरुको विकास गर्ने, आपसी सहकार्यमा कार्यशाला गोष्ठी, सेमिनार, सभा सम्मेलनको आयोजना गर्ने तथाथप सहकार्यका अन्य सम्भावनाहरुको खोजी गर्ने समझदारी पत्रमा उल्लेख छ । समझदारी आगामी ५ बर्षसम्म कायम रहने जनाइएको छ ।
एमबिबिएस र बिडिएस तहमा छात्रवृत्तिका लागि दरखास्त आह्वान, कात्तिक २० सम्म आवेदन दिन पाइने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधान अनुसार पहिलो पटक चिकित्सा शिक्षा अन्तर्गतको एमबिबिएस र बिडिएस तहमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन२०७५ को छात्रवृत्ति सम्बन्धी प्रावधान कार्यान्वयनमा आएपछि मन्त्रालयको छात्रवृत्ति शाखाले ती तहका प्रवेश परीक्षामा प्राप्त योग्यताको आधारमा छात्रवृत्ति निर्धारण गर्ने जनाउँदै छात्रवृत्तिको दरखास्त आह्वान गरेको हो । सूचनामा “राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५’ अनुसार ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति सिट कायम गरिएका तथा काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्वदेशी लगानीका शिक्षण संस्थामा २० प्रतिशत एवं विदेशबाट प्राप्त हुने २० प्रतिशत छात्रवृत्तिमा मनोनयन गर्न योग्यताक्रम कायम गर्ने जनाइएको छ ।” न्यूनतम ५० प्रतिशत अङ्कलाई प्रवेश परीक्षा उत्तीर्ण भएकाले छात्रवृत्तिका लागि निवेदन दिन सकिने र निवेदन अनलाइनमार्फत् कात्तिक २० गतेसम्म कायम रहेको सूचनामा जनाइएको छ । अब एमबिबिएस र बिडिएस तहमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने छन् । साथै, यस्तै विदेशी लगानी भएका मणिपाल मेडिकल कलेज पोखरा र कलेज अफ मेडिकल साइन्सेज चितवन भरतपुरले कूल सिट सङ्ख्याको २० प्रतिशत छात्रवृत्ति दिनुपर्नेछ । बाँकी मेडिकल कलेजहरुले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने प्रावधान रहेको छ । हालै चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शुल्क तय गरेको थियो । नयाँ शैक्षिक सत्र २०७६/७७ का लागि चिकित्सा शिक्षाको स्नातक तह अन्तर्गत एमबिबिएस र बिडिएस कार्यक्रमका लागि उपत्यका भित्र एमबिबिएस अध्ययन गर्न रु ४० लाख २३ हजार २ सय ५० र उपत्यका बाहिर रु ४४ लाख ३६ हजार २५ शुल्क आयोगले निर्धारण गरेको थियो । त्यसैगरी, बिडिएसका लागि उपत्यकाभित्र र बाहिर रु २० लाख १९ हजार ५८० तोकिएको थियो । यसअघि उपत्यकाभित्र एमबिबिएस तहका लागि उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार तथा बिडिएसका लागि उपत्यकाभित्र रु १९ लाख ३२ हजार ६१२ शुल्क रहेको थियो । एमबिबिएस तह अध्ययन गर्न करिब रु दुई लाख र बिडिएस तहमा करिब एक लाख शुल्क वृद्धि भएको छ । रासस
नेपाल टेलिकमले पर्वतको विद्यालयलाई दियो चार थान कम्प्युटर
काठमाडौँ । नेपाल टेलिकमले पर्वतको फलेवास नगरपालिका वडा नम्बर ३ पोखराचौरस्थित श्रीराम माविलाई चार थान कम्प्युटर हस्तान्तरण गरेको छ । विद्यालयको ४० औं वार्षिकोत्सव तथा अभिवावक दिवसको अवसर पारेर कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्प्युटर प्रदान गरिएको हो । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माको समुपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम विश्वकर्मालाई दूरसञ्चार कार्यालय पर्वतका कार्यालय प्रमुख मोहन सुवेदीले कम्प्युटरहरु हस्तान्तरण गरे । सो अवसरमा नगरपालिका प्रमुख शर्माले कम्पनीले देशका सबै स्थानमा सेवा पु¥याउनुका साथै अन्य सामाजिक कार्यमा समेत संलग्न भएकोमा खुसी ब्यक्त गरे । कार्यालय प्रमुख मोहन सुवेदीले प्रविधिमैत्री शिक्षाका लागि थप टेवा पुगोस् भन्ने उद्देश्य अनुरुप विद्यालयलाई कम्प्युटर प्रदान गरिएको कुरा व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भुसालले कम्प्युटर प्रदान गरेकोमा नेपाल टेलिकमप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा गरे । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अन्तर्गत सूचना प्रविधि क्षेत्रमा समेत टेवा पुग्ने गरी पठनपाठनमा सहजताका लागि सामुदायिक विद्यालयहरुलाई कम्प्युटर प्रदान गर्दैै आएको छ । कम्पनीले यो वर्ष १५ थान कम्प्युटर वितरण गर्ने कार्यक्रम रहेकोमा डोटीको केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पसलाई ५ थान र दुर्गा माध्यमिक विद्यालयलाई २ थान तथा कपिलवस्तुको बाल माध्यमिक विद्यालयलाई ४ थान कम्प्युटर वितरण गरिसकेको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।