स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्छः उपराष्ट्रपति पुन
चितवन । पराष्ट्रपति नन्दबहादुर पुन स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्ने बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २०औँ वार्षिकोत्सव तथा १५ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस २०७६ को आज यहाँ उद्घाटन गर्दैं उनले सेवामूलक स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापारीकरण हुनु दुःखद् भएको बताएका छन् । “नागरिकलाई स्वस्थ बनाउन राज्यले जनस्वास्थ्यका क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्दै जानुपर्छ”, उनले भने, “गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्नुपर्दछ ।” उपराष्ट्रपति पुनले नेपालको परम्परागत चिकित्सा पद्धतिका रूपमा रहेको आयुर्वेदिक, प्राकृतिक र होमियोपेथिक चिकित्सालगायत स्वास्थ्य पद्धतिको संरक्षण र प्रवद्र्धन गर्नुका साथै स्वास्थ्य क्षेत्रलाई सेवामूलक बनाउनुपर्नेमा जोड दिए । उनले भने, “सुविधा सम्पन्न निजी अस्पताल महङ्गा छन्, आधारभूत नागरिकले त्यहाँ पहुँच राख्न सकिरहेका छैनन् भन्ने गुनासा छन्, त्यसैले स्वास्थ्य सेवालाई सर्वसुलभ र सहज बनाउनुपर्दछ ।” उपराष्ट्रपति पुनले संविधानले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हकको व्यवस्था गरे पनि हाम्रा नागरिकले समान पहुँच पाउन नसकिरहेको उल्लेख गर्दै क्यान्सरलगायत सबै प्रकारका रोगको उपचार नेपालमै सम्भव भएको बताएका छन् । उनले भने, “हामीले अन्तिमसम्म आफ्नो देशमै उपचारको प्रयास गर्नुपर्दछ । त्यसका लागि स्रोत साधन, प्रविधि र आवश्यक दक्ष जनशक्तिको विकासमा ध्यान दिनुपर्दछ ।” आज क्यान्सरका हजारौँ बिरामी भारतका विभिन्न अस्पतालमा पुगिरहेको बताउँदै उनले यसबाट नेपाली रुपैयाँ बाहिरिरहेको छ भने । उपराष्ट्रपति पुनले आफ्ना दुवै मिर्गौला काम नलाग्ने अवस्थामा पुगेपछि उपचारका लागि विदेश लान तयारी गरिएको भए पनि मेरो उपचार देशमा नै हुन्छ भनेर यही उपचार सम्भव भएको बताउँछन । बिरामी निको हुनका लागि मनोबल उच्च हुनुपर्ने उनको भनाइ थियो । उपराष्ट्रपति पुनले भने, “छिटो निको हुन र स्वस्थ रहन बिरामीमा मनोबल उच्च चाहिन्छ ।” हाम्रो संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हकको व्यवस्था गरेको उनको भनाइ थियो । उनले अहिले पनि उपचारको अभावमा नागरिकको मृत्युवरण भएको बताउँदै भने, “आजका दिनसम्म पनि हाम्रा कतिपय नागरिक औषधि उपचार नपाएर अकाल मृत्युवरण गरिरहेका छन् । एकाइसौँ शताब्दीको आजको समाजमा उपचारको अभावमा नागरिकले मृत्युवरण गर्नु पाच्य विषय होइन ।” कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले देशभरका सरकारी अस्पतालमा श्यया बढाउन र गुणस्तरीय उपचार दिन सरकार लागिपरेको बताए । यहाँको क्यान्सर अस्पताल र भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानका रुपमा विकास गर्ने योजना रहेको पनि उनले बताएका छन् । राज्यमन्त्री डा. यादवले सबै बिरामी यही आउनेभन्दा प्रदेश प्रदेशमा सामान्य समस्या समाधान हुने व्यवस्था मिलाइने जानकारी दिए । सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले अस्पतालको प्रगति प्रतिवेदन र भावी कार्यक्रमका बारेमा जानकारी गराएका थिए । अस्पताल सञ्चालक समितिका सदस्य प्रा. डा. तारा मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, समाजवादी पार्टी चितवनका अध्यक्ष प्रेम भुजेल, अस्पतालका पूर्वअध्यक्ष डा प्रकाशराज न्यौपाने, चीनको हवे प्रोभिन्सका कुङ्ग संङ्ग विश्वविद्यालयका निर्देशक प्रा डा लिउ जि चुन, अस्पतालको चिनियाँ मेडिकल टिमका टोली नेता लिउलिउ, अस्पतालका उपनिर्देशक डा निर्मल लामिछाने लगायतले बोलेका थिए । सो अस्पताल चीन सरकारकाले २० वर्षअघि निर्माण गरिदिएको हो । यससँगै अस्पतालमा चीन सरकारले नियमित रुपमा चिकित्सकको समूह पठाउँदै आएको छ भने विभिन्न समयमा उपकरणसमेत प्रदान गर्दै आएको छ । रासस
प्रश्नपत्रमा उत्तर भेटिएपछि पुनःपरीक्षा गराइयो
गुल्मी । प्रश्नपत्रमा नै उत्तर भेटिएपछि जिल्लामा ४० मिनेट परीक्षा स्थगन गरिएको छ । नेपाल सरकार, शिक्षक सेवा आयोगले लिने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रश्नपत्रमा उत्तर भेटिएपछि ४० मिनेट परीक्षा स्थगन गरिएको हो । रेसुङ्गा बहुमुखी क्याम्पसको केन्द्र ‘क’मा अङ्ग्रेजी विषयको समूह ‘घ’को वस्तुगत प्रश्नपत्रका प्रश्नको वैकल्पिक सही उत्तर स्पष्ट देखिने गरी गाढा अक्षरमा आएपछि परीक्षा स्थगन गरी पुनःपरीक्षा गराइएको केन्द्राध्यक्ष रामबहादुर थापाले जानकारी दिएका छन् । प्रश्नपत्रमा समावेश हुने सबै ४० वटै प्रश्नको उत्तर प्रश्नपत्रमा नै छापिएको थियो । केन्द्राध्यक्ष थापाले आयोगले जाँच गर्दा आवश्यक पर्ने उत्तरकुञ्जिका आएपछि आयोगकै अनुमतिमा पुनःपरीक्षा गराइएको बताए । नेपालभरका ७७ जिल्लाका ५५ केन्द्रमा यही समस्या आएको उनले जानकारी दिएका छन् । सोही केन्द्रमा परेका अन्य प्रश्नपत्र ठीक भएकाले तोकिएकै समयमा नै परीक्षा सञ्चालन भएको छ । शिक्षक सेवा आयोगले गत असोज ९ गतेदेखि ११ गतेसम्म प्राथमिक तह, माध्यमिक तह र निम्न माध्यमिक तहको परीक्षा लिइरहेको छ ।
दश लाख युवा परिचालन गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले घोषणा गरेको ‘युवा परिचालन वर्ष’मा १० लाख युवा परिचालन गर्ने तयारी थालेको छ । युवा तथा खेलकूद मन्त्रालयले यस आर्थिक वर्षमा युवालाई विभिन्न क्षेत्रमा परिचालन गर्न कार्यक्रमको खाका माग गरेको छ । खाका माग गर्न मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा युवा परिचालन कार्यक्रम मस्यौदा समिति गठन गरिएको छ । उक्त समितिमा युवासम्बन्धी सरोकार रहेका अरु मन्त्रालयको समेत प्रतिनिधित्व रहनेछ । मन्त्रालयका युवा परिचालन तथा परामर्श शाखाका प्रमुख कृष्णप्रसाद बस्यालले समितिले युवा परिचालन वर्ष मनाउनका लागि के–कस्ता कार्यक्रम गर्ने भनेर युवासम्बन्धी काम गर्न खाका माग गरेको बताएका छन् । उनले युवा परिचालन वर्ष मनाउने भने पनि कुन विषयमा कार्यक्रम गर्ने भन्ने नीति उल्लेख नगरिएकाले विषयगत मन्त्रालयसँग खाका माग गरिएको जानकारी दिए । मन्त्रालयले युवाका क्षेत्रमा के गर्न सकिने र नसकिने सम्बन्धमा खाका माग गरेको हो । “साउनदेखि नै युवा परिचालनका कार्यक्रम सञ्चालन भइरहेका छन्”, उनले भने, “तर, युवाका क्षेत्रमा विशिष्टकृत कार्यक्रम सञ्चालनका लागि युवासम्बन्धी काम गर्ने मन्त्रालयसँग प्रस्ताव माग गरिएको छ ।” सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत युवा परिचालन वर्ष घोषणा गरेको थियो । सरकारले राष्ट्रिय युवा नीति–२०७२ र युथ भिजन–२०२५ सहित १० वर्षे रणनीतिक योजनामा समेटिएका युवाका कुरालाई लक्षित गरेर परिचालन वर्ष सञ्चालन गर्ने बस्यालले बताएका छन् । नीतिको सार्थक सहभागिता, क्षमता र नेतृत्व विकासका माध्यमबाट युवालाई राष्ट्रिय विकासको मूलधारमा समाहित गर्दै समृद्ध, आधुनिक र न्यायपूर्ण नेपाल निर्माण गर्ने युवाको भूमिका र उनीहरुमा रहेको अन्तर्निहित क्षमतालाई गुणात्मक बनाउनु रहेको छ । यस्तै युथ भिजनले युवाको शिक्षा, रोजगारी, स्वास्थ्य र सामाजिक सुरक्षा, सहभागिता र नेतृत्व विकास तथा खेलकूद र मनोरञ्जन क्षेत्रमा विकास गर्ने लक्ष्य लिइएको छ । राष्ट्रिय युवा परिषद्ले विभिन्न १० क्षेत्रमा युवालाई परिचालन गर्नेछ । परिषद्ले कृषि उत्पादनमा युवा, पर्यटन प्रवद्र्धनमा युवा, सार्वजनिक शिक्षा सबलीकरणमा युवा, वातावरण संरक्षणमा युवा, अन्धविश्वास लैङ्गिक हिंसा जातीय विभेद तथा छुवाछूतविरुद्ध युवा, उद्यमशीलतामा युवा र सुशासनमा युवालाई परिचालन गर्नेछ । यसैगरी, विपद् व्यवस्थापन तथा स्वयमसेवकीय कार्यमा युवा परिचालन, परम्परागत सीपको विकास तथा संरक्षणमा युवा र स्वस्थ्य तथा खेल सचेतनामा युवालाई परिचालन गर्नेछ । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले ती क्षेत्रमा १० लाख युवा परिचालन गरिने बताए । उनका अनुसार मङ्सिरभित्रमा कुन मन्त्रालयले के गर्ने भन्ने निक्र्योल गर्ने, पुसमा प्रदेश र माघको १५ गतेभित्र स्थानीय तहमा के कार्यक्रम गर्ने भन्ने स्पष्ट खाका प्रस्तुत गरिने छ । उनले माघदेखि असारसम्म नै सङ्घ, प्रदेश र स्थानीय तहमा युवा परिचालन गरिने जानकारी दिएका हुन् । उपसचिवसमेत रहेका बस्यालले युवा क्षमता विकास गर्ने, युवाका समस्या, सीप तथा तालीम दिनका लागि समेत परिचालन वर्ष गरिने जानकारी दिएका छन् । “यस वर्ष हामीले कुन–कुन क्षेत्रमा युवालाई परिचालन गर्न सक्दछौँँ, त्यो कार्यक्रमअनुसार थाहा हुन्छ”, उनले भने, “यस वर्ष परिचालनको प्रारम्भिक कार्य भए पनि आउँदो वर्षदेखि परिचालन वर्षलाई निरन्तरता दिने योजना रहेको छ ।” रासस