एसइईको परीक्षाफल असार दोस्रो साता, प्रदेश नं २ मा पुनः परीक्षा हुँदा केही दिन ढिलो
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिला हुने भएको बोर्डले जनाएको छ । देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न गरेर नम्बर इन्ट्रीको काम भइरहेको जानकारी दिँदै बोर्डका परीक्षा उपनियन्त्रक चेतनाथ शर्माले ढिलोमा असार दोस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने लक्ष्य लिइएको बताए । यस वर्ष गत चैत १० गतेबाट शुरु भएको एसइई परीक्षामा नियमिततर्फ चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । बोर्डले छिटोमा असार १० गते ढिलोमा असार १४ गतेसम्म नतिजा सार्वजनिक गर्नेगरी काम गरिरहेको बताइएको छ ।
शुक्रबार र शनिबार भारतीय शैक्षिक मेला, उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई उपयोगी
काठमाडौं । ‘भारतीय शैक्षिक मेला २०१९’ शुक्रबारदेखि राजधानीमा शुरु भएको छ । भारतका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौंथो तलामा शुक्रबारदेखि उक्त शैक्षिक मेला शुरु भएको हो । ‘स्टडी इन इण्डिया’ भन्ने स्लोगनका साथ शनिबारसम्म चल्ने शैक्षिक मेलामा भारतका प्रतिष्ठित विश्वविद्यालय र कलेजहरुको सहभागिता रहेको आयोजक पक्षले जानकारी दिएको छ । प्लस टु तथा स्नातक दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरिएको एक्स्पोमा भारतमा अध्ययन गर्न उपयुक्त विषय, त्यसको प्रभाव र अध्ययनका लागि आवश्यक तयारीका बारेमा जानकारी दिइएको आयोजक संस्था इन्ट्रोडक्सन ट्रेड शोका कार्यकारी निर्देशक सुमन महर्जनले जानकारी दिए । बिहान १०.३० देखि बेलुकी ५.३० बजेसम्म चल्ने भारतीय शैक्षिक मेलामा उच्च शिक्षा अध्ययनको लागि भारतको एनएएसि, एबिईटि, एनबिए लगायतबाट मान्यताप्राप्त उत्कृष्ट विश्वविद्यालय तथा कलेजको बारेमा नेपाली विद्यार्थीहरुलाई जानकारी दिइएको छ । इन्जिनियरिङ, म्यानेजमेन्ट, प्यारामेडिकल, फेसन डिजाईन, आईटी, पाईलट ट्रेनिङ र आयुर्वेदिक लगायतका संकायका बारेमा जानकारी दिइने उनले बताए । एक दशकभन्दा लामो समय व्यवसायिक ढंगले काम गरेका परामर्शदाताहरुले एउटै थलोमा बसेर सत्यतथ्य तथा भरपर्दो जानकारी उपलब्ध गराउने भएकाले मेला नेपाली विद्यार्थीको लागि विशेष रहने आयोजकको अपेक्षा रहेको छ । मेलामा विद्यार्थीले निःशुल्क रुपमा भारतबाट आउने ठूला र उत्कृष्ट विश्वविद्यालयबाट परामर्श, शुल्क संरचना, कलेजको वातावरण, छात्रबृत्ति, भारतीय शिक्षाका प्रावधान र व्यवस्था, भर्ना हुने तरिका, होस्टेल, खानालगायतको बारेमा प्रत्यक्ष र विस्तृत रुपमा जानकारी दिइने ट्रेड शोका कार्यकारी निर्देशक महर्जनले जानकारी दिए । एकै थलोमा चालिस भन्दा बढी भारतीय कलेज र विश्वविद्यालयको प्रतिनिधित्व रहने सो मेलामार्फत विद्यार्थीले भारतसम्म पुगेर सबै कलेज र विश्वविद्यालय घुमिरहने झन्झटबाट मुक्त गर्न मद्दत मिलेको आयोजक पक्षको भनाई छ ।
आइजीआई विधार्थी बीमालेख प्राप्त गर्ने पहिलो विद्यालय भयो सर्लाहीको प्रेमज्योति प्रावि
काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ६ मा रहेको प्रेमज्योति प्राथमिक विद्यालयबीच बिधार्थीहरुको दुर्घटना बीमा गर्ने सहमति भएको छ । लालबन्दी वडा नम्बर ६ को कार्यालयले सो विद्यालयमा अध्ययनरत ८१ जना विधार्थीहरुको लागि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले जारी गरेको आइजीआई विधार्थी बीमालेख र सोही विद्यालयमा नर्सरीमा अध्ययनरत ४५ जना विधार्थीका लागि दुर्घटना बीमा खरिद गरी निःशुल्क रुपमा विद्यालयलाई प्रदान गरेको छ । लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडाध्यक्ष उज्ज्वल कार्कीले विधार्थीहरुको निःशुल्क बीमा गरिएको र उक्त बीमा गर्दा लाग्ने रकम वडा कार्यालयले भुक्तान गरिदिएको जानकारी दिए । उक्त सामुदायिक विद्यालय आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले हालै जारी गरेको नेपालको पहिलो विधार्थी बीमालेख आइजीआई विधार्थी बीमालेख प्राप्त गर्ने पहिलो सामुदायिक विद्यालय भएको सो कार्यक्रममा जानकारी दिइयो ।