पढाउन नसक्ने शिक्षकले पेशा छाड्नुस्, नयाँलाई ठाउँ दिनुस्– शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पढाउन नसक्ने शिक्षकलाई शिक्षण पेशा छाडेर ठाउँ खाली गरिदिन आग्रह गरेका छन् । चाँगुनारायण नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम सार्वजनिक कार्यक्रममा सोमबार मन्त्री पोखरेलले प्रभावकारी शिक्षण सिकाइ गर्न नसक्ने शिक्षकले ठाउँ ओगटेर बस्न नहुने बताए । मन्त्री पोखरेलले भने, “शिक्षा क्षेत्र जागिर खाएर बस्ने ठाउँ होइन, यो सक्षम नयाँ पुस्ता बनाउने र भोलिको देश बनाउने ठाउँ हो, अबको सार्वजनिक शिक्षा प्रभावकारी हुनुपर्छ, कक्षाकोठामा प्रभावकारी शिक्षण सिकाइ गर्नुस्, पढाउन सक्दिन भन्ने लाग्छ भने ठाउँ खाली गरिदिनुस्, नयाँ पुस्ता आउँछन्” । शिक्षामा क्रान्ति र सुधार गर्दै परिवर्तन गर्ने हो भने कक्षाकोठा सिकाइ केन्द्रित हुनुपर्नेमा जोड दिँदै उनले विद्यार्थीको क्षमताको पहिचान गरेर शिक्षकले पढाउनुपर्ने औँल्याएका छन् । गुणस्तरहीन भयो भनी सार्वजनिक शिक्षाको निकै आलोचना भएको भन्दै उनले कमजोर विद्यार्थीको जिम्मा अब शिक्षकले लिनुपर्नेमा जोड दिए । मन्त्री पोखरेलले देशभर अहिले पनि करिब सात लाख शिक्षण अध्यापन अनुमतिपत्र लिएर बसेका शैक्षिक बेरोजगार भएको बताउँदै उनले शिक्षकले अधिकार मात्रै खोज्ने नभई कक्षाकोठाको सिकाइ उपलब्धि वृद्धि गर्नुपर्ने बताएका हुन् । नेपालको शिक्षा प्रणाली अझैपनि घोकन्ते विद्यामै सीमिति रहेको गुनासो गर्दै मन्त्री पोखरेलले भने, “एउटा विद्यार्थीलाई कक्षा कोठामा वर्षभरि घोकाउने र तीन घण्टाको परीक्षामा सीमित गरेर मूल्याङ्कन गर्ने शिक्षा प्रणाली नै गलत छ ।” स्थानीय तहलाई खल्तीबाट शिक्षक भर्ना नगर्न आग्रह गर्दै उनले भने, “शिक्षक भर्ना गर्दा शिक्षक सेवाबाट उत्तीर्ण भएकालाई गर्नुस्, आफन्त, नातागोता र खल्तीबाट झिकेर शिक्षक भर्ना नगर्नुस् ।” देशभरका सार्वजनिक विद्यालयमा प्राविधिक शिक्षा पुर्याएर ८० प्रतिशत विद्यार्थीको हातमा सीप पुर्याउने, ३५ हजार विद्यालयमा बिरुवा रोपेर हरित विद्यालयको अभियान सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले चाँगुनारायण इञ्जिनियरिङ कलेज सरकारले लिन नसके चाँगुनारायण नगरपालिकालाई जिम्मा दिन मन्त्रीसँग माग गरेका छन् । उनले शिक्षा मन्त्रीले खुट्टा कमाउँदा यहाँका विद्यार्थी र यहाँका सम्पत्ति अलपत्र परेको भनाइ राख्दै चाँगुनारायणको सम्पत्ति नगरपालिकालाई सुम्पन आग्रह गरे । कार्यक्रममा नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले चाँगुनारायण नगरपालिकाले ‘हाम्रो चाँगुनारायण’ नामक एक सय पूर्णाङ्कको पाठ्यक्रम निर्माण गरी कक्षा–६, ७ र ८ मा एकै पटक लागू गरेको बताएका हुन् । चालु शैक्षिक सत्रबाट लागू गरिएको पाठ्यक्रम आगामी वर्षबाट थप परिस्कृत र परिमार्जनसहित अन्य कक्षामा समेत लागू गरिने उनले बताए । रासस

सप्तरीको बिद्यालयलाई कृषि विकास बैंकको ९ लाख सहयोग, राष्ट्रपति भण्डारीबाट सम्मानित

काठमाडौँ । सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा नं. ३ मा रहेको जनता माध्यमिक बिद्यालय तरहीको हिरक जयन्ती तथा अभिभावक दिवश २०७६ असार ७ गते सम्पन्न भएको छ । कार्यक्रमलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रमुख अतिथिको रुपमा सम्बोधन गरेकी थिइन् । उक्त अवसरमा कृषि बिकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त बिद्यालयको बिभिन्न कक्षा कोठाहरुलाई शैक्षिक बाताबरण अनुकुल हुने गरी मर्मत तथा निर्माण, ६० जोडा डेस्क बेञ्च, १० वटा कक्षा कोठाको सिलिङ्ग लगाउने, २ वटा बाल मैत्री कक्षा कोठामा कार्पेटिङ्ग गर्ने तथा २ वटा ४३ ईञ्चको एलईडि टेलिभिजन र ३० थान पङ्खा लगायतका बिद्युतीय सामाग्रीहरुका लागि नौ लाख ७५ हजार रुपैयाँ बरावरको आर्थिक सहयोग गरेको छ । सोही समारोहमा शैक्षिक बिकासमा महत्वपूर्ण सहयोग पुर्याए बापत बैंकलाई राष्ट्रपति भण्डारीले सम्मान तथा प्रमाणपत्र प्रदान गरिन् । कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उक्त सम्मान तथा प्रमाणपत्र ग्रहण गरेका हुन् । उक्त कार्यक्रमलाई बिशिष्ट अतिथिको रुपमा नेपाल सरकारका उप–प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र अतिथिको रुपमा प्रदेश नं. २ का मुख्यमन्त्रि मोहम्मद लालबाबु राउत, राजपा सांसद चन्द्रकान्त चौधरीले समेत कृषि विकास बैंकले उपलव्ध गराएको सहयोगको सराहना गर्दै शुभकामना व्यक्त गरेका थिए । सम्मान कार्यक्रमको समापनपछि कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकको क्षेत्रीय कार्यालय राजबिराज तथा अन्तर्गतको शाखा कार्यालय बोदेबर्साईनबाट आयमूलक कार्यक्रमका लागि नेपाल सरकारको सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत सञ्चालन भएको बिनाधितोको अनुदानमूलक कर्जा कार्यक्रमा सम्बद्ध बिभिन्न महिला समूहहरुसंग अन्तरकृया समेत गरेका थिए ।

जनता बैंक र लिडरशिप एकेडेमीबीच क्षमता अभिवृद्धि सम्बन्धि सम्झौता

काठमाडौं । जनता बैंक र लिडरशिप एकेडेमी नेपालबीच कर्मचारीको क्षमता अभिवृद्धि सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुंवर क्षेत्री र लिडरशिप एकेडेमी नेपालका फाउण्डर तथा सीटीओ अरुणराज जोशीले हस्ताक्षर गरेका हुन् ।  बैंकको विभिन्न तहका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि र नेतृत्व विकास सम्बन्धि अन्तराष्ट्रिय स्तरको शिक्षा तथा तालिम संचालन गर्न जनता बैंक र लिडरशिप एकेडेमी नेपाल ( एल्एएन )बीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । लिडरशिप एकेडेमी नेपालले राईस युनिभर्सिटी विजनेश स्कुल युएस्एको उच्च स्तरीय तथा अन्तर्राष्ट्रिय स्तरको सिप विकास, व्यवसायीक दक्षता तथा नेतृत्व विकास सम्बन्धि शिक्षा आवश्यकता अनुसार विभिन्न तहका कर्मचारीहरुलाई प्रदान गर्नेछ । यस्ता तालिम तथा सिपमुलक शिक्षा आनलाइन कोस, गोष्ठि तथा सेमिनारहरु मार्फत प्रदान गरिने छ । लिडरशिप एकेडेमी नेपालले बिशेष गरी एड्भान्स लिडरशिप प्रोग्राम, अनलाइन राइस डेलिभरि, जस्ता कार्यक्रममार्फत शिक्षा प्रदान गर्नेछ । यस किसिमको शैक्षिक तथा तालिमको माध्यमबाट बैंकका कर्मचरीहरुको कार्य दक्षता तथा व्यवसायीक कुशलता अभिवृद्धि हुनुको साथै उनीहरुको नेतृत्व क्षमता विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास बैंकको रहेको छ ।