काभ्रे बहुमुखी क्याम्पसद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण
बनेपा । काभ्रे बहुमुखी क्याम्पस बनेपा बुडोलले धनेश्वर महादेव प्राथमिक विद्यालय पनौती नगरपालिका–५ धनेश्वरलाई बुधबार ६ थान कम्प्युटर हस्तान्तरण गरेको छ । आर्थिक अभावकाबीच सञ्चालन भइरहेको विद्यालयलाई शिक्षण सिकाइमा सहयोग पुर्याउने उद्देश्यले क्याम्पस प्रमुख केजी बैदारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिरुद्र थापालाई ६ थान कम्प्युटर हस्तान्तरण गरेका हुन् । सो विद्यालयले यसअघि कम्प्युटर अभावमा विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्रै दिँदै आइरहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले कम्प्युटर प्राप्त गरेपछि विद्यार्थीमा प्रयोगात्मक र व्यवहारिक ज्ञान वृद्धिमा सहयोग पुग्ने बताए । “हामीले कक्षा २ का विद्यार्थीहरुलाई आर्थिक अभावकै बीचमा कम्प्युटर नभएर सैद्धान्तिक ज्ञान मात्रै दिँदै आएका थियौँ”, थापाले भने, “काभ्रे बहुमुखी क्याम्पसले हाम्रो समस्यालाई अध्यनजर गरेर छ थान कम्प्युटर दिएको छ, अब यसले विद्यार्थीको सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान प्राप्त गर्नमा ठूलो सहयोग पुग्नेछ ।” विसं २०३८ मा स्थापना भएको सो विद्यालय २०७२ को भूकम्पपछि बन्द भएको र स्थानीयवासीको सक्रियतामा २०७६ वैशाखबाट पुनःसञ्चालनमा ल्याएर अहिले कक्षा नर्सरीदेखि २ कक्षासम्म सञ्चालन भइरहेको छ । आगामी शैक्षिक सत्रबाट कक्षा ५ सम्म सञ्चालन गर्ने योजनाका साथ व्यवस्थापन समितिले नयाँ भवन निर्माणका साथै नयाँ कक्षा कोठाको लागि काम शुरु गरेको व्यवस्थापन समितिका अध्यक्ष थापाले बताए । सो विद्यालयलाई अहिले नगरपालिकाबाट एकजना दरबन्दी व्यवस्था गरिदिएको छ भने तीन जना निजी स्रोतमा गरी चार जना शिक्षकले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्दै आइरहेको छ । विद्यालयमा ४० जना विद्यार्थी अध्ययन गरिरहेका छन् । रासस
त्रिवि स्नातक तहको व्यवस्थापन संकायतर्फ नवाेदित कलेजका राजु भण्डारीले पाए गाेल्ड मेडल
काठमाडौं। त्रिभुवन विश्वविद्यालय स्नातक तहको व्यवस्थापन संकायतर्फ नवाेदित कलेजका राजु भण्डारीले प्रथम स्थान (गोल्ड मेडल) हासिल गरेका छन् । नवोदित विद्या कुञ्ज सामाखुशीमा अध्यनरत भण्डारीले नेपालभरका विधार्थीलाई पछि पार्दै ७८.६५५ प्रतिशत अंकल ल्याई ‘टीयू नेपाल टपर’ बन्न सफल भएका हुन् । भण्डारीले चारवर्षे व्यवस्थापन संकाय (२०७३–२०७६) अन्तर्गत प्रथम, दोस्राे, तेस्राे र चौथो वर्षमा क्रमशः ७७.८०, ७६.४०, ७५.२० र ८५.२० प्रतिशत अंक प्राप्त गर्न सफल भएका कलेजले जानकारी दियो । आफू नेपालभरबाट प्रथम भएको थाहा पाउँदा खुशीको सीमा नरहेको र यसमा नवोदित कलेज परिवारको ठूलो योगदान रहेको भण्डारीले बताए । कलेजका प्रिन्सिपल राजेन्द्र अधिकारीले आफ्नो विद्यार्थीले गोल्ड मेडल प्राप्त गर्दा खुशी लागेको बताए ।
हेराल्ड कलेजले सम्पन्न गर्यो पहिलो दिक्षान्त कार्यक्रम
काठमाडौं । हेराल्ड कलेज काठमाडौंले बुधबार पहिलो दिक्षान्त कार्यक्रम सम्पन्न गरेको छ । उक्त दिक्षान्त समारोहमा बिएस्सी अनर्स कम्प्युटर साइन्स कोर्ष पुरा गरेका ६७ जना विद्यार्थीलाई बेलायत स्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति टिच स्टिलले दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका छन् । दिक्षान्त समारोहमा बोल्दै प्रमुख अतिथि सह उपकुलपति टिच स्टिलले नेपालमा सम्बन्धन प्राप्त कलेजले उत्कृष्ट शिक्षा दिएको बताए । साथै, हेराल्ड कलेजलाई दिएको सम्बन्धन र यहाँको शिक्षाले नेपालको शिक्षा क्षेत्रमा ठुलो योगदान पुग्नेछ । ‘विदेशका कुनैपनि कलेजलाई सम्बन्धन दिँदा कलेजको बारेमा अध्ययन गरेर मात्र दिने गरिन्छ ।’ उनले भने– ‘उभ्धरहेम्टन विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजबाट उतिर्ण विद्यार्थी मध्ये ९६ प्रतिशतले रोजगारी हासिल गरेका छन् ।’ सन् २०१६ को सेप्टेम्बरबाट कक्षा शुरु गरेको हेराल्ड कलेज काठमाडौं विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमध्ये उत्कृष्ठ मानिन्छ । कलेजले चारवर्षे ब्याचलर अफइन्टरनेशल विजनेश म्योजमेन्ट र तीन वर्षे बिएस्सी अनर्स कम्प्युटर साइन्स कक्षा संचालन गरिरहेको छ । आइएनजी ग्रुपले संचालन गरेको हेराल्ड कलेज काठमाडौको बारेमा जानकारी दिँदै ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले वेलायती शिक्षाले गर्दा नेपाली विद्यार्थीमा स्वअध्ययन बढेको छ । उनले आइएनजी ग्रुप अन्तर्गत संचालित पाच वटा कलेजले करिब ५०० युवालाई रोजगारी दिँदै आएको जानकारी गराउँदै सन् २०२५ भित्र करिब १० हजारलाई रोजगारी दिने घोषणा गरेका छन् । ती संस्थामा अध्ययनरत मध्ये करिब ४ हजारले ग्रयाजुएट हासिल गरेको र ४ हजारको संख्यामा पुर्व विद्यार्थीको एल्मुनाई संगठित रहेको कलेजले जानकारी दिएको छ ।