सेञ्चुरी कमर्सियल बैंकद्धारा धुलिखेलको विद्यायललाई कम्प्यूटर वितरण
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले विद्यालयलाई कम्प्यूटर वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काभ्रे जिल्ला, धुलिखेल नगरपालिका, वडा नं ७, सञ्जीवनी बजारमा रहेको नेपालको नमूना जिल्लाको ऐतिहासिक शैक्षिक गन्तब्य सञ्जीवनी माध्यमिक विद्यालयलाई सूचना प्रविधि र कम्प्यूटरको ब्यवहारिक ज्ञानमा सहयोग पुर्याउने उद्देश्यले २ थान डेक्स्टप कम्प्यूटर वितरण गरेको हो । धुलिखेल शाखाका प्रबन्धक दीपक ढुङ्गानाले एक समारोहका बीच विद्यालयका प्राचार्य लोकेन्द्र ढकाललाई कम्प्यूटर हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता ब्यवस्थापन समितिका अध्यक्ष बेलप्रसाद श्रेष्ठले गरेका थिए । कार्यक्रममा पूर्व प्राचार्य बेदप्रसाद कोजु, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, सहायक प्राचार्य पवन प्रधान लगायत सेञ्चुरी बैंकका काभ्रे जिल्लाका शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको ब्यवस्थापन धुलिखेल शाखाका बजार ब्यवस्थापक हरिकृष्ण दाहालले गरेका थिए ।
क्याम्पस प्रमुखको राजीनामा मागसहित अनिश्चितकालीन तालाबन्दी
मार्तडी । जिल्ला सदरमुकाम मार्तडीमा रहेको बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डितको राजीनामा मागसहित नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) बाजुराले अनिश्चितकालीन तालाबन्दी गरेको छ । नेविसङ्घ बाजुरा क्याम्पस एकाइ कार्य समितिले क्याम्पसप्रमुख पण्डितको राजीनामासँगै सातबुँदे मागको आवश्यक छानबिन गर्न क्याम्पस प्रशासनमा तालाबन्दी गरेको एकाइ सचिव धनबहादुर थापाले बताएका छन् । आर्थिक अनियमितताको आरोपसहित नेविसङ्घले बाजुरा क्याम्पसमा तालाबन्दी गरेको हो । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत आङ्गिक क्याम्पसको मान्यता पाएको बाजुरा क्याम्पस राजनीति गर्ने अखडा बनेको र क्याम्पस प्रशासनले सामान खरिदमा आर्थिक अमियमितता गरेको आरोपसहित नेविसङ्घले तालाबन्दी गरेको छ । बिहीबार सार्वजनिक विज्ञप्तिमार्फत नेविसङ्घले सातबुँदे मागसहित तालाबन्दी गरेको क्याम्पस एकाइ सचिव थापाले जानकारी दिएका छन् । बाजुरा क्याम्पसले आङ्गिक क्याम्पसको औपचारिक उद्घाटन कार्यक्रम राखेको अघिल्लो दिन नेविसङ्घले विरोधस्वरुप तालाबन्दी गरेको थियो । तालाबन्दीप्रति क्याम्पसप्रमुख पण्डितले कुनै चासो नदेखाउँदै एकलौटी ताला तोडेर कार्यक्रम गरेको आक्रोशमा पुनः अनिश्चितकालका लागि तालाबन्दी गरेको नेविसङ्घ एकाइ कार्य समितिले जनाएको छ । राजनीतिक आस्थाको प्रवद्र्धन गर्ने गरी क्याम्पस प्रशासनले उद्घाटन गरेकाले सर्वपक्षीय भेलाबाट मिति घोषणा नगरेको, छात्रवृत्ति वितरणमा समानता ल्याउनुपर्ने, क्याम्पसमा निर्माण भएका भवनको गुणस्तर छानबिन गरिनुपर्ने, लामो समयसम्म पनि क्याम्पसमा पठनपाठनमा संलग्न नहुने र बिदामा बस्ने प्राध्यापकको विषयमा आवश्यक छानबिन गरिनुपर्ने लगायतका मागहरु अघि सारेका छन् । यस्तै, तत्कालीन क्याम्पस सञ्चालक समितिका अध्यक्ष तुलाराम जैसी र स्वतन्त्र विद्यार्थी युनियनका सभापति चेतनदीप ऐडीले क्याम्पसको भवन निर्माण कार्य आफूखुशी नेकपाका कार्यकर्तालाई दिएको विषयमा निपष्क्ष छानबिनको माग रहेको छ । बाजुरा क्याम्पस प्रशासनले भने सबै पक्षसँगको सहकार्यमा मिति तय गरी आङ्गिक क्याम्पस उद्घाटन गरेको जिकिर गरेको छ । क्याम्पस प्रशासनको निर्णय अधिकार भएकाले उपलब्ध सबैसँगको छलफलपछि उद्घाटन गरिएकाले यसलाई नै राजनीतिक आस्थासँग जोड्नु गलत भएको क्याम्पसप्रमुख पण्डितले बताए । रासस
बिबिएस चौथो वर्षको परीक्षाफल प्रकाशित
काठमाडौं। बिबिएस चौथो वर्षको नतिजा सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय, परिक्षा नियन्त्रण कार्यालयले २०७५ साल चैत महिनामा संचालित व्यवस्थापन संकायतर्फ चार वर्षे बिबिएस चौथो वर्षको नतिजा सार्वजनिक गरेको हो। त्रिविले परिक्षा भएको ३ महिनाको अवधिमा नतिजा प्रकाशित गर्छौ भन्दै गर्दा बिबिएसको नतिजा करिब ८ महिना पछि प्रकाशित गरेको हो। नतिजा हेर्नको लागि विद्यार्थीले विश्वविद्यालयको वेभसाईट www.tuexam.edu.np र मोबाईलमा BBS (space) सिम्बोल नं ३३६२४ मा एसएमएस गरेर हेर्न सक्नेछन्।