२० जना अपाङ्ग विधार्थीलाई नेपाल टेलिकमले दियो सिमकार्ड सहितको एण्ड्रोइड स्मार्टफोन

काठमाडौँ । नेपाल टेलिकमले सुनसरीमा दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई अध्ययन कार्यमा सहयोग पुर्याउने उद्देश्यले एण्ड्रोइड स्मार्टफोन सिमकार्डसहित वितरण गरेको छ । सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा दृष्टि सम्बन्धी अपांगता भएका बाह्र र स्नातक अध्ययनरत विद्यार्थीहरुलाई सामसुङ ग्यालेक्सी एम २० स्मार्टफोन उपलब्ध गराइएको हो । कम्पनीका तर्फबाट दूरसञ्चार कार्यालय इटहरीका प्रमुख उप–प्रबन्धक ज्ञानेश दंगालले मोबाइल सेट हस्तान्तरण गरे । सो अवसरमा दंगालले मोबाइल सेट र उपलब्ध सञ्चार सुविधाहरुले विद्यार्थीहरुको पढाईमा सहयोग पुर्याउनुका साथै सहज जीवन यापनमा भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे । उनले विद्यार्थीहरुले ब्रान्ड एम्बेसडरको रुपमा रहेर कम्पनीको सेवाको बारेमा जानकारी प्रवाह गर्ने विश्वास पनि व्यक्त गरे । कार्यक्रममा प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका वरिष्ठ प्रशासकीय अधिकृत घनश्याम पाण्डेले सरकारको लगानी र राष्ट्रियताले ओतप्रोत कम्पनीको तर्फबाट गरिएको सानो सहयोगले दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई सूचना प्रविधिमैत्री वातावरण प्रदान गर्न र थप योग्यता निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । सो कार्यक्रमका लागि सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्ने मैत्री समाज नेपालका अध्यक्ष प्रमेन्द्र ढकालले दृष्टि सम्बन्धी अपांगता भएका व्यक्तिहरुलाई नेपाल टेलिकमले सूचना प्रविधिमार्फत एउटा अवसरको सिर्जना गरिदिएको बताउँदै परीक्षणको रुपमा सहयोग प्रारम्भ गरेकोमा कम्पनीप्रति आभार प्रकट गरे । मोबाइल प्राप्त गर्ने पदम ठटालले विभिन्न सेवासहितको मोबाइल प्राप्त गरेपछि भने– एमपी थ्री बोक्नुपर्ने वाध्यता हटेको र अध्ययनका लागि प्रयोग गर्नुपर्ने विभिन्न एप्सहरु अब एउटै उच्च क्षमताको मोबाइलबाट प्रयोग गर्न सकिने भएकाले हामीलाई निकै हौसला मिलेको छ । पदम महेन्द्र बहूमुखी क्याम्पस धरानमा शिक्षा संकाय तर्फ स्नातक चौथो वर्षका विद्यार्थी हुन् । ‘आइसिटी फर द स्टुडेण्ट विथ भिजुअल डिसएबिलिटी’ कार्यक्रम मार्फत प्रदेश नम्बर १ मा सुनसरीको इटहरी र कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगरका विद्यार्थीहरुलाई सहयोग गर्ने कम्पनीको कार्यक्रम रहेको छ । यस अन्तर्गत आर्थिक एवं प्राविधिक रुपमा पछि परेका जम्मा २० जना दृष्टिविहीन विद्यार्थीहरुलाई कम्पनीको सिमकार्ड सहित एण्ड्रोइड स्मार्टफोन उपलब्ध गराएर अत्याधुनिक सूचना प्रविधिमा आधारित अध्ययनको अवसर प्रदान गर्न लागिएको हो । विद्यार्थीहरुले कम्पनीले उपलब्ध गराएको विद्यार्थी अफर अन्तर्गतको सुविधा उपयोग गरी ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनसको सुविधा उपयोग गर्न सक्नेछन् । अपांगता भएका व्यक्तिहरुका लागि कम्पनीले भ्वाइस सेवामा समेत विशेष सुविधा उपलब्ध गराइरहेको जनाएको छ ।

माछापुच्छ्रे बैंकद्वारा मोरङ्गको विद्यालयलाई १० थान पङ्खा हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले मोरङ्गको श्री खण्ड माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । मोरङ्ग जिल्लाकोे सुन्दरहरैचा वडा नं. ६ मा रहेको सो विद्यालयलाई १० थान सिलिङ्ग पङ्खा हस्तान्तरण गरेको छ । विराटचोकस्थित बैंकका शाखा कार्यालय प्रमुख रमेश अधिकारीले उक्त  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद आचार्यलाई उक्त १० थान सिलिङ्ग पङ्खाहरु हस्तान्तरण गरेका हुन् । तराईका जिल्लाहरुमा अत्याधिक गर्मीका कारण सरकारी विद्यालयहरुमा विद्याथीहरुको कम उपस्थिती देखिएने गरेकोले विद्यार्थीहरुको पढाईमा बाधा नपुगोस भन्ने उद्धेश्यले माछापुच्छ्रे बैंक लिमिटेडले उक्त पङ्खाहरु प्रदान गरेको हो । माछापुच्छ्रे बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १ सय १५वटा शाखाहरु र १ सय १२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २२७ स्थानवाट ६ लाख भन्दा बढि ग्राहकलाई बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १३७ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

रामपुरमा जन्मिने छोरीले पाउने भइन्, स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा

काठमाडौं । रामपुर नगरपालिकाले अब जन्मने छोरीलाई स्तातकोत्तर तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने भएको छ । पाँचौं नगरसभामा नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममार्फत आर्थिक वर्ष २०७६/७७ देखि जन्म हुने सबै छोरीलाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने बताइएको छ । नगरप्रमुख रमणबहादुर थापाले स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई बीमाको व्यवस्था गरिएको र छोरी जन्मिएमा पाँच सय रुपैयाँ थप प्रदान गर्ने बताएका छन् । लैङ्गिक समानता तथा समावेशीकरणका लागि उपभोक्ता समिति गठनमा ३३ प्रतिशत महिला अनिवार्य गर्नाका साथै प्रमुख पदमा कम्तीमा एक जना महिला हुनुपर्ने नीतिको कार्यान्वयन गरिने नगरप्रमुख थापाले बताए । त्यस्तै, एकल महिलाहरुको क्षमता अभिवृद्धि गर्न विपन्नलाई आय, पीडितलाई न्याय कार्यक्रम अघि बढाइने बताउँदै उनले भने, “नगरलाई स्मार्ट सिटीका रुपमा अघि बढाउन संरचनाहरु बालमैत्री, अपाङ्ग एवं ज्येष्ठ नागरिक मैत्री बनाइनेछ ।” प्रत्येक अवस्थामा स्थानीय सरकारको तीन फरक कार्यक्रमको व्यवस्थाअन्तर्गत बालबालिकालाई शिक्षा, स्वस्थ्य, पोषण, युवालाई सीप, उद्यमशीलता र रोजगारी र ज्येष्ठ नागरिकलाई सम्मान, संरक्षण र सुरक्षाको प्रत्याभूतिका लागि कार्यक्रम सञ्चालन गर्ने थापाले बताएका हुन् । त्यसैगरी, ज्येष्ठ नागरिकहरु जिउँदो इतिहास भएकाले नगरपालिकाले अनुभव आदानप्रदान गर्न विभिन्न स्थानमा ज्येष्ठ नागरिक मिलन केन्द्र, चौतारो निर्माण तथा लौरी वितरण कार्यक्रम गरिने र बाबुआमा नपाल्ने सन्तानलाई नगरपालिका तथा वडाको सेवासुविधाबाट वञ्चित गरिने नीति लिइने नगरपालिकाले जनाएको छ । आगामी तीन वर्षभित्र अपेक्षा गरिएको लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी नगर, वडा र टोलस्तरीय गौरवका योजना तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्न प्राथमिकताका साथ नगर, प्रदेश र सङ्घमा स्रोतको व्यवस्थाका लागि पहल गर्ने उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताएकी हुन् । यसरी, नगरपालिकाले खरको छानोरहित घरका लागि जस्तापाता वितरण, ग्रामीण क्षेत्रमा सडक ट्र्याक खोल्ने, कृषि आधुनिकीकरण, युवा स्वरोजगार, सडक स्तरोन्नतिका योजनासँगै सेवालाई प्रभावकारी बनाई गुणात्मक भौतिक तथा संस्थागत पूर्वाधार तयार गर्ने नीति समेत लिएको छ । रासस