कृषि विकास बैंकद्वारा त्रिवि व्यवस्थापन केन्द्रीय विभागलाई स्मार्ट डिजिटल बोर्ड सहयोग

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको व्यवस्थापन केन्द्रीय विभागलाई स्मार्ट डिजिटल बोर्ड सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा तथा दिगो विकास लक्ष्य क्षेत्रमार्फत शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराएको जनाएको छ । यस सहयोगले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई डिजिटल प्रविधियुक्त माध्यमबाट पठनपाठन गर्न सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ । स्मार्ट डिजिटल बोर्ड हस्तान्तरण कार्यक्रम बुधबार आयोजित एक कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा. भवानी शंकर आचार्यलाई डिजिटल बोर्ड हस्तान्तरण गरे । कार्यक्रममा बैंकका तर्फबाट उपमहाप्रबन्धक सुवेदीसहित विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्वय ध्रुव पौडेल र अञ्जु दाहाल, वरिष्ठ शाखा अधिकृत गीता नेपाल शर्मा, कीर्तिपुर शाखाका प्रबन्धक नारायणलाल श्रेष्ठ तथा बैंकका पूर्व उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठको उपस्थिति रहेको थियो । त्यसैगरी, व्यवस्थापन केन्द्रीय विभागका तर्फबाट विभाग प्रमुख प्रा. भवानी शंकर आचार्य, प्रा. डा. डिल्ली राज शर्मा लगायतका प्राध्यापकहरू, विश्वविद्यालयका कर्मचारीहरू तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सहायक प्रा. डा. सुनिता भण्डारी घिमिरेले गरेकी थिइन् ।

त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले परीक्षासम्बन्धी कामका लागि देशका जुनसुकै कुनाबाट पनि काठमाडौं नै आउनुपर्ने अवस्था अन्त्य गर्न माग गरेका छन् ।      विश्वविद्यालयका स्ववियु सभापति दीपकराज जोशीका अनुसार विश्वविद्यालयलले परीक्षा प्रणाली विकेन्द्रीकरण नगर्दा मौका परीक्षा तथा स–साना कामका लागि पनि काठमाडौं नै आउनुपर्ने विद्यार्थीको बाध्यता रहेको छ । 'खासगरी दुर्गमका र कमजोर शारीरिक अवस्थाका विद्यार्थी यसबाट बढी पीडित छन्', उनले भने ।       मागबारे ध्यानाकर्षण गराउन आजदेखि परीक्षा नियन्त्रण कार्यालयको प्रवेशद्वारमा धर्ना सुरु गरिएको सभापति जोशीले जानकारी दिए । यसको समाधानका लागि कम्तीमा आफ्ना प्रदेश भित्रै परीक्षा दिन पाउने व्यवस्था हुनुपर्ने विद्यार्थीको माग छ ।       'विश्वविद्यालय एप चलाउन पटक–पटक भन्यौँ, तर अहिलेसम्म भएको छैन । त्रिविको परीक्षा नियन्त्रण कार्यालय समयअनुरुप डिजिटल हुन नसक्नु र काठमाडौं केन्द्रित संरचनाका कारणले विद्यार्थीले अनावश्यक दुःख पाइरहेका छौँ', स्ववियु सदस्य प्रदीप कार्कीले भने । पहिलेभन्दा केही सुध्रिए पनि अधिकांश नतिजा ढिलो आउने गरेको उनको भनाइ छ ।      विद्यार्थीले हरेक प्रदेशमा मौका परीक्षा केन्द्र, परीक्षा प्रणालीको पुनःसंरचना, शोधपत्रको मूल्याङ्कन प्रदेशमै, समयमै परीक्षा र समयमै नतिजाको सुनिश्चितता, पूर्ण डिजिटल प्रणाली, प्रमाणपत्र वितरणको विकेन्द्रीकरण तथा पुनः योग र पुनःपरीक्षणको सुदृढीकरण जस्ता माग राखेका छन् ।   

त्रिविका विद्यार्थीले अबदेखि अतिरिक्त क्रियाकलापको पनि शैक्षिक अङ्कभार प्राप्त गर्ने

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले अब शैक्षिक प्रमाणपत्रमा पढाइसँगै उनीहरूले गरेका अतिरिक्त क्रियाकलापमा देखाएको प्रतिभा र योगदानको समेत अङ्क प्राप्त गर्ने भएका छन् । विश्वविद्यालयले देशमै पहिलोपटक अतिरिक्त क्रियाकलापलाई औपचारिक रूपमा शैक्षिक अङ्कभार (एकाडेमिक क्रेडिट)मा समावेश गर्ने नीति अघि सारेको छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा. दीपेन्द्र पराजुलीका अनुसार विद्यार्थीले सामाजिक सेवा, विपद् व्यवस्थापन, खेलकुद, ललितकला, विज्ञान–प्रविधि, नवप्रवर्तन, उद्यमशीलता तथा व्यवस्थापनजस्ता क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेमा त्यसको मूल्याङ्कन गरी शैक्षिक प्रमाणपत्रमै अङ्कका रूपमा समावेश गरिनेछ । उनले  भने, 'विद्यार्थीले विश्वविद्यालयभित्र वा बाहिर प्रतियोगिता, कार्यक्रम वा अवसरमा उत्कृष्ट प्रदर्शन गरेको प्रमाणपत्र पेस गरेकै भरमा अङ्क प्रदान गरिँदैन । त्यसअघि विद्यार्थीको सम्पूर्ण गतिविधि केन्द्रीय संयन्त्रमार्फत अनुगमन, अभिलेखीकरण र प्रमाणीकरण गरिनेछ ।' यस प्रयोजनका लागि प्रत्येक क्याम्पसस्तरमा राष्ट्रिय सेवा योजना, राष्ट्रिय सेवा दल, उपकुलपति कप खेलकुद, ललितकला तथा विज्ञान, नवप्रवर्तन, प्रविधि र उद्यमशीलता कार्यक्रमका संयोजकहरूले हरेक सेमेस्टरमा विद्यार्थीको सहभागिता, संलग्न समय (घण्टा) तथा कार्यसम्पादनसम्बन्धी आधिकारिक अभिलेख पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । ती विवरणहरू त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयबाट प्रमाणीकरण र स्वीकृत गरिनेछ । साथै, विद्यार्थीका सम्पूर्ण गतिविधि, सहभागिता घण्टा र प्राप्त क्रेडिट अङ्क अभिलेख गर्न केन्द्रय डिजिटल प्रणाली विकास गरिनेछ । गुगल फर्म/गुगल सिटमा आधारित एकीकृत ड्यासबोर्डमार्फत विद्यार्थीगत रूपमा आर्जित क्रेडिट, कार्यक्रमअनुसार आवश्यक घण्टा पूरा गरेका विद्यार्थी तथा क्याम्पसहरूबीचको तुलनात्मक अवस्था स्पष्ट रूपमा देखिनेछ । केन्द्रीय रूपमा अनुगमन र प्रमाणीकरण भइसकेपछि मात्र विद्यार्थीले पेस गरेको प्रमाणपत्रका आधारमा प्राप्त उपलब्धि उनीहरूको शैक्षिक प्रमाणपत्रमा अङ्कका रूपमा समावेश गरिनेछ । यस नीतिबाट विद्यार्थीको समग्र ग्रेड वृद्धि हुनेमात्र नभई विभिन्न क्षेत्रमा लुकेका प्रतिभाको पहिचान, विकास र संस्थागत प्रोत्साहनमा ठूलो सहयोग पुग्ने डा. पराजुलीले बताए । विश्वविद्यालयले शैक्षिक कार्यक्रममा समावेश गरिसकेको राष्ट्रिय सेवा योजना, राष्ट्रिय सेवा दल, उपकुलपति कप खेलकुद, ललितकला तथा आइटिएई कार्यक्रमअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू यस प्रणालीबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । त्यसैगरी, हरेक केन्द्रीय विभागमा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई शिक्षण सहायक वा अनुसन्धान सहायकका रूपमा नियुक्त गरी विश्वविद्यालयभित्रै सेवा गर्ने अवसर प्रदान गर्ने नीति पनि अघि सारिएको छ । साथै, विश्वविद्यालय बाहिर विभिन्न विधामा उत्कृष्टता प्रदर्शन गरेका विद्यार्थीलाई भर्ना प्रक्रियामा विशेष सुविधा प्रदान गर्ने व्यवस्थासमेत प्रस्ताव गरिएको छ । यस सम्बन्धमा अवधारणापत्र तयारीको चरणमा रहेको जानकारी दिँदै डा पराजुलीले उक्त नीति प्राज्ञिक परिषद्बाट पारित भएपछि औपचारिक रूपमा कार्यान्वयनमा आउने बताए । 'देशमै पहिलोपटक अतिरिक्त क्रियाकलापलाई शैक्षिक अङ्कभारमा समावेश गर्दैछौँ', उनले भने ।