शिक्षक आन्दोलनः आस्था कि आक्रोश ?
शिक्षा केवल ज्ञान हस्तान्तरणको प्रक्रिया होइन, यो सामाजिक, सांस्कृतिक, राजनीतिक र शैक्षिक विकासको मेरुदण्ड हो । शिक्षा राष्ट्रको भविष्य निर्माणको आधार हो र शिक्षा प्रणालीको हृदयभूत अङ्ग शिक्षक हुन् । हालै नेपालमा भएको शिक्षक आन्दोलन यही बोधको गहिरो प्रतिफल हो । नेपाल शिक्षक महासङ्घको अगुवाइमा भएको आन्दोलन केवल तलब-सुविधाको मागमा मात्र सीमित थिएन, यसले शिक्षाको गुणस्तर, शिक्षकको गरिमा र राष्ट्र निर्माणमा शिक्षा नीतिको सही दिशा निर्देश खोजेको छ । शिक्षक महासङ्घ र आन्दोलनको स्वरूप शिक्षक महासङ्घ विगत लामो समयदेखि नेपालका शिक्षकहरूको साझा आवाजको रूपमा उभिँदै आएको संस्था हो । यसले शिक्षकमात्र हैन, समग्र शिक्षा प्रणालीको शुद्धीकरण र सुधारको पक्षमा राष्ट्रव्यापी भूमिका खेल्दै आएको छ । आन्दोलनको नेतृत्व गरिरहेका महासङ्घका पदाधिकारीहरूले अत्यन्त संयमित, संवादमुखी र विवेकशील ढङ्गले सरकारसँग सहकार्य गरे र अन्ततः सरकार र महासंघबीच नौ बुँदे सहमति पनि भयो । आन्दोलनको स्वरूप हेर्दा यो दाबी गर्न सकिन्छ कि यो सडक संघर्ष मात्र थिएन, यो सङ्घर्षमार्फत संवाद खोज्ने माध्यम हो । राजधानीमा भएको हजारौं शिक्षकहरूको सहभागिता, जिल्ला जिल्लाबाट गरिएको लामो यात्रा, रातदिनको धर्ना, जुलुस, नारा र प्रदर्शन- यी सबैले आन्दोलनको गम्भीरता र वैधता पुष्टि गर्छ । शिक्षा र दर्शनः एक सैद्धान्तिक आधार शिक्षा प्रणालीको मूल्यांकन केवल प्रशासनिक दृष्टिले होइन, दर्शन र समाजशास्त्रीय आधारमा गर्नुपर्छ । युनानी दार्शनिक प्लेटोले शिक्षा भनेको आत्माको निर्देशन हो भनेका थिए । अरस्तु, रूसो, पेस्तालोजी, जान डेवे, फ्रेरेजस्ता शिक्षाविद्हरूले शिक्षालाई मुक्तिको साधन, सामाजिक न्यायको औजार र चेतनाको आधारशीला मानेका छन् । नेपालको वर्तमान आन्दोलनमा यी विचारहरूको प्रतिबिम्ब देखिन्छ । जब नीति पश्चगामी बनाइन्छ, तब शिक्षा शासकीय नियन्त्रणको साधन बन्छ, न कि मुक्ति र विकासको आधार । आन्दोलनले यही चेतना फेरि पुनर्र्जीवित गर्न खोजेको हो । शिक्षा राज्यको आदेश होइन, समाजको बौद्धिक सम्पदा हो भन्ने दृष्टिकोण स्थापित गर्ने प्रयास । समाज, शिक्षा र राज्यबीचको सम्बन्ध शिक्षा कुनै पृथक संस्था होइन, यो राज्य, समाज र नागरिकबीचको त्रिकोणात्मक सम्बन्ध हो । शिक्षक समाजका नैतिक संरक्षक हुन्, जसले बालबालिकालाई केवल अकाडेमिक ज्ञान मात्र दिँदैनन, जीवन दर्शन, विवेक र मूल्य पनि सिकाउँछन् । तर जब शिक्षकहरू अस्थिर, अपमानित र बहिष्कृत महसुस गर्छन्, त्यो शिक्षा प्रणालीको गम्भीर क्षयको संकेत हो । शिक्षकहरूको निराशा भनेको समाजको सम्भाव्य गुमाउनु हो । आन्दोलनले यही गुमेको सम्बन्धलाई पुनःस्थापना गर्ने प्रयास गरिरहेको छ । सडक आन्दोलनको प्रभाव र जनसमर्थन पछिल्लो समयमा काठमाडौंका सडकहरू हजारौं हजार शिक्षकहरूको नाराले गुञ्जिएको थियो । शिक्षकको अनुहारमा थकान थिएन । यद्यपि केही आलोचना पनि आएका थिए– विद्यार्थीको पढाइमा असर, विद्यालय बन्द हुनु, परीक्षामा ढिलाइ । यी सबै चिन्ताहरू स्वाभाविक छन् तर दीर्घकालीन दृष्टिले हेर्दा यो आन्दोलन भविष्यको लागि गरिएको हो- जसले विद्यार्थीको शिक्षालाई गुणस्तरीय, न्यायोचित र प्रेरणादायी बनाउनेछ । अन्तर्राष्ट्रिय अभ्यास र सन्देश शिक्षकका मागहरू कुनै वर्गीय हितको लागि होइन, समग्र शिक्षाको विकास र संस्थागत स्थायीत्वको लागि हुन् । राज्यले शिक्षकलाई केवल कर्मचारीको रूपमा नहेरी, ज्ञान सर्जक, समाज निर्माता र मूल्य–संचारकको रूपमा बुझ्नुपर्ने सन्देश आन्दोलनले दिएको छ । फिनल्यान्डमा शिक्षक नीति निर्माणको मूल धुरी हुन् सिंगापुरले शिक्षकको योग्यता र आत्मसम्मानलाई पहिलो प्राथमिकता दिन्छ भारतमा राष्ट्रिय शिक्षा नीतिमा शिक्षक संघको राय समावेश गरिएको छ केन्या, ब्राजिल, चिलीमा पनि शिक्षकले सडकबाटै नीति परिवर्तन गराएका उदाहरण छन् । नेपालले पनि शिक्षकको आवाजलाई अन्यायको प्रतिवाद होइन, सुधारको प्रस्तावको रूपमा बुझ्नुपर्छ । यही चेतनाले मात्र शिक्षामा समावेशीता र स्थायीत्व ल्याउन सक्छ । निष्कर्ष शिक्षक आन्दोलन केवल पेशागत आन्दोलन होइन, यो शिक्षा, समाज र राष्ट्रको अन्तरात्माको पुनरावलोकन हो । शिक्षकहरूको चिच्याहट, केवल उनीहरूको अधिकारका लागि होइन, देशका लाखौं विद्यार्थीको भविष्यका लागि हो । शिक्षकको आत्मसम्मान र सहभागिताबिना शिक्षा प्रणाली केवल ढाँचा मात्र हुन्छ, आत्मारहित संरचना । राज्य, समाज र हामी सबैले यो आन्दोलनलाई एक अवसरका रूपमा लिनुपर्छ- शिक्षाको मुटु फिर्ता ल्याउने अवसर । शिक्षकको आवाज दबाउनु भनेको चेतनालाई दबाउनु हो । चेतना थला परे राष्ट्रको अस्तित्व पनि मक्किन्छ । अब चाहिएको छ- शिक्षकसँग संवाद गर्न, सहकार्य गर्न र शिक्षालाई राष्ट्रको सबैभन्दा बलियो आधार बनाउने दृढता । यही दृढताबाट उदाउँछ भविष्य, जहाँ शिक्षक केवल पढाउने होइन, देश बनाउने हो । (लेखक गोर्खाका शिक्षक हुन् )
प्रभावकारी विद्यालय व्यवस्थापनका लागि सक्षम नेतृत्व आवश्यक छ : गीता क्षेत्री राणा
काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालकी अध्यक्ष गीता क्षेत्री राणाले प्रभावकारी विद्यालय व्यवस्थापनका लागि सक्षम नेतृत्व अपरिहार्य रहेको बताएकी छन् । भक्तपुरमा नेशनल प्याब्सन काठमाडौंले आयोजना गरेको ‘प्रभावकारी विद्यालय व्यवस्थापनका लागि नेतृत्व’ सम्बन्धी एक दिने गोष्ठीमा बोल्दै अध्यक्ष क्षेत्रीले विद्यालयका प्रिन्सिपल, इन्चार्ज र शिक्षकहरूलाई समेटेर एकताबद्ध ढंगले अघि बढ्दा मात्र बालबालिकाको पठनपाठनमा सकारात्मक प्रभाव पर्ने धारणा राखिन् । उनले भनिन्, ‘हामी सबै मिलेर अघि बढ्यौँ भने मात्र सफलता सम्भव हुन्छ । नेतृत्व व्यवस्थापन भन्दा माथिको तह हो। कसरी विद्यालयलाई अगाडि बढाउने भन्नेमा फरक सोचसहित काम गर्न आवश्यक छ।’ उनले नेपालको संविधानले आधारभूत शिक्षालाई मौलिक हकको रूपमा सुनिश्चित गरे पनि व्यावहारिक रूपमा निजी विद्यालयहरूले त्यसभन्दा उन्नत शिक्षा उपलब्ध गराउँदै आएको उल्लेख गरिन्। ‘सरकारी विद्यालयहरूले आधारभूत शिक्षा दिइरहेका छन् तर नागरिकको चाहना अनुसार गुणस्तरीय शिक्षा निजी विद्यालयहरूले दिइरहेका छन्,’ उनले भनिन् । अध्यक्ष क्षेत्रीले हालको शिक्षा ऐनले निजी लगानीलाई निरुत्साहित गरिरहेको उल्लेख गर्दै नयाँ शिक्षा ऐनले सबैको अस्तित्वलाई स्वीकार गर्दै नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘संविधानले निजी शिक्षालाई आवश्यक भनेको छ तर ऐनले चाहिन्न भन्नेजस्तो देखिन्छ। अबको शिक्षा ऐनले यो विषयमा गम्भीर ध्यान दिनुपर्छ ।’ कार्यक्रममा निजी शिक्षाको योगदान, नेतृत्व विकास र विद्यालय व्यवस्थापनका विविध पक्षमा समेत छलफल भएको थियो ।
शिक्षकको आन्दोलन फिर्ता, भोलिदेखि पठनपाठन हुने
काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएसँगै जारी शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ । सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए । उनका अनुसार आन्दोलनका सबै कार्यक्रम स्थगित भएपछि भोलिबाट विद्यार्थी भर्ना सुरु हुने छ ।