माछापुच्छ्रे क्यापिटलको २ वटा विद्यालयमा सहयोग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले छैठौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूका लागि न्यानो लुगा तथा खाद्यान्न सामग्री वितरण गरेको छ । क्यापिटलले माघ ६ गते लायन्स क्लब अफ काठमाडौं नमस्तेसँगको सहकार्यमा नुवाकोटको तादी गाउँपालिका–५, अत्मारास्थित श्री हेमवतेश्वर वेद विद्याश्रम (गुरुकुल) मा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो लुगा तथा खाद्यान्न सामग्री प्रदान गरेको हो । त्यसैगरी, माघ ७ गते काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४, पासीकोटस्थित श्री श्रीराम आधारभूत विद्यालयलाई तीन थान कम्प्युटर सेट सहयोग गरिएको छ । यसका साथै, दुवै विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूका लागि वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम समेत सञ्चालन गरिएको क्यापिटलले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको यस सहयोगले विद्यार्थीहरूको पठन–पाठनमा सहजता ल्याउनुका साथै दैनिक आवश्यकताको परिपूर्तिमा सहयोग पुग्ने र विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा दीर्घकालीन योगदान पुग्ने क्यापिटलको विश्वास छ । साथै, कम्प्युटर वितरणले विद्यार्थीहरूको सूचना प्रविधिसम्बन्धी ज्ञान, डिजिटल सिप र व्यवहारिक क्षमता विकासमा उल्लेखनीय सहयोग पुग्ने अपेक्षा गरिएको छ । माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । सार्वजनिक लिमिटेड कम्पनीका रूपमा स्थापित मर्चेन्ट बैंकर माछापुच्छ्रे क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, निक्षेप सदस्य तथा सामूहिक लगानी कोषसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।
पूर्वस्वास्थ्य र शिक्षामन्त्रीहरू चुनावी मैदानमा, क-कसले दिए उम्मेदवारी ?
काठमाडौं । आज प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मनोनयन दर्ताको अन्तिम दिन । उम्मेदवारहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मनोनयन दर्ता गराइरहेका छन् । फागुन २१ गते हुने निर्वाचनमा पूर्व स्वास्थ्यमन्त्रीहरू पनि दौडधुपमा लागेका छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका विभिन्न दलका नेताहरू यसपटक पनि चुनावी मैदानमा अग्रपङ्क्तिमा छन् । गगनकुमार थापा पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका सभापति गगनकुमार थापा यसपटक तराई झरेका छन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव जित्दै आएका उनले यसपटक निर्वाचन क्षेत्र बदलेका हुन् । पुख्र्यौली घर तराई मधेश भएका थापाले यसपटक सर्लाही ४ रोजेका छन् । थापा आज सर्लाही पुगेर मनोनयन दर्ता गर्दैछन् । विशेष महाधिवेशनबाट सभापति बनेका थापालाई आगामी प्रधानमन्त्रीका रूपमा चर्चा गरिँदै आएको छ । उपेन्द्र यादव जसपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव सप्तरी ३ बाट चुनाव लड्ने भएका छन् । यादवले आफ्नो पकड क्षेत्र मानिएका उम्मेदवारी दिने भएका हुन्। प्रदीप यादव पूर्वस्वास्थ्यमन्त्री प्रदीप यादव यो पटक पर्सा १ बाट चुनाव लड्ने भएका छन् । जसपाबाट स्वास्थ्यमन्त्री बनेका यादव अहिले भने जसपा छाडेर नेकपा एमालेमा प्रवेश गरेका छन् । फागुन २१ गतेको निर्वाचनमा उनी एमालेबाट चुनावी मैदानमा उत्रिँदै छन् । प्रदीप पौडेल नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेल काठमाडौं क्षेत्र नं ५ बाट लड्ने भएका छन् । यसअघि यही क्षेत्रबाट जितेका यादवले यो निवार्चनमा पनि यहीँ क्षेत्र रोजेका हुन् । पदम गिरी एमालेका नेता एवं पूर्वस्वास्थ्यमन्त्री पदम गिरी पर्वत १ बाट लड्ने भएका छन् । एमालेले टिकट दिएपछि उनले फागुन २१ गतेका लागि पुरानै क्षेत्र रोजेका छन् । शेरबहादुर तामाङ एमालेबाटै चुनाव जितेर स्वास्थ्यमन्त्री बनेका शेरबहादुर तामाङ सिन्धुपाल्चोक २ बाट लड्ने भएका छन् । भानुभक्त ढकाल पूर्वस्वास्थ्यमन्त्री एवं एमाले नेता भानुभक्त ढकाल तेह्रथुमबाट लड्ने भएका छन् । कोरानाकालमा स्वास्थ्यमन्त्री बनेका ढकाल अघिल्लो चुनावमा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्दा पराजित भएका थिए । मोरङ नफापेपछि ढकाल यो पटक आफ्नो गृहजिल्ला तेह्रथुमबाट चुनाव लड्ने भएका हुन् । पूर्वस्वास्थ्यमन्त्रीहरू धमाधम प्रतिस्पर्धामा गइरहेको बेला पूर्वशिक्षामन्त्रीको नाम भने खासै देखिँदैन । केही मन्त्रीको नाम चर्चामा आएपनि सुमना श्रेष्ठ, विद्या भट्टराई र रघुजी पन्त यो पटक चुनाव नलड्ने भएका हुन् । पूर्व शिक्षामन्त्रीहरूमा आजमात्रै राजीनामा दिएका शिक्षामन्त्री महावीर पुनको नाममा मात्र चुनावी प्रतिस्पर्धामा देखिएको हो । महावीर पुन मन्त्री पुन आजै राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्ने भएका हुन् । पुनले आजै आफ्नो नाम मनोनयन गराइसकेका छन् । देवेन्द्र पौडेल पूर्वशिक्षामन्त्री एवं नेपाल कम्युनिष्ट पाटीका नेता देवेन्द्र पौडेल पश्चिम नवलपरासीबाट निर्वाचन लड्ने भएका छन् । यसअघि बाग्लुङ २ बाट निर्वाचित भएका पौडेलले फागुन २१ गतेको निर्वाचनका लागि ठाउँ परिवर्तन गरेका हुन्। शिशिर खनाल पूर्व शिक्षामन्त्री एवं रास्वपाका नेता शिशिर काठमाडौं क्षेत्र नम्बर ६ बाट चुनाव लड्ने भएका छन् । योभन्दा अगाडिको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका उनी फागुन २१ गतेको निर्वाचनका लागि पनि यही क्षेत्रबाट लड्ने भएका हुन् । यस अगाडिका शिक्षामन्त्री अशोक राई, सुमना श्रेष्ठ, विद्या भट्टराई, रघुजी पन्तले यो पटक चुनाव नलड्ने भएका हुन् ।
शिक्षकलाई स्थानीय भत्ता वितरण
भोजपुर । रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ । दुर्गम तथा भौगोलिक रूपमा कठिन मानिने ‘ग’ वर्गमा पर्ने यस गाउँपालिकाले यहाँ कार्यरत शिक्षकलाई सेवा सुविधामा थप सहजीकरण गर्दै स्थानीय भत्ता वितरण सुरु गरेको हो । गाउँपालिकाका अनुसार सङ्घीय सरकारद्वारा जारी गरिएको ‘कार्यक्रम कार्यान्वयन कार्यविधि’ अनुरूप स्थानीय भत्ता वितरण गरिएको हो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आङगलाक्पा तामाङले दुर्गम क्षेत्रमा कार्यरत स्थायी शिक्षकहरुलाई प्रोत्साहन प्रदान गर्न यो व्यवस्था गरिएको बताए । हाल गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकले आफ्नो तह र श्रेणीअनुसार नियमित रूपमा स्थानीय भत्ता पाउँदै आएका छन् । प्राथमिक तह प्रथम श्रेणीका शिक्षकले मासिक पाँच हजार ५१०, द्वितीय श्रेणीका शिक्षकले चार हजार ६०० तथा तृतीय श्रेणीका शिक्षकले चार हजार २५० स्थानीय भत्ता प्राप्त गर्दै आएका छन् । त्यसैगरी निम्न माध्यमिक तह तृतीय श्रेणीका शिक्षकलाई मासिक पाँच हजार ५१० र माध्यमिक तहका शिक्षकलाई मासिक आठ हजार ८०० स्थानीय भत्ता प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष थामबहादुर राईले शिक्षकको मनोबल उच्च राख्दै शैक्षिक उपलब्धि सुधार र विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पुग्ने विश्वासका साथ भत्ता प्रदान गरिएको बताए । रासस