शिक्षकहरूसँग वार्ता सकारात्मक छ, छिटो टुङ्गो लगाउछौं : शिक्षामन्त्री पन्त
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासङ्घसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् । शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि उनले मङ्गलबार रातिको वार्तापछि मन्त्रालयमै सञ्चारकर्मीलाई जानकारी दिए । वार्तामा शिक्षक पनि सकारात्मक रुपमा प्रस्तुत भएको जनाइएको छ । शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीचको वार्ता मङ्गलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो । वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए । साथै महासङ्घका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी भएको जनाइएको छ । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सोमबार भएको वार्ता सकारात्मक रुपमा अघि बढेकामा आज पुनः वार्ता भएको हो । शिक्षक सङ्घ सङ्गठनहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ ।
भीआईपी नेतासँगको छलफलले माग सम्बोधन हुने विश्वासमा शिक्षक, वार्ताले परिणाम दिने संकेत
काठमाडौं । सरकार पक्ष र शिक्षकहरूबीच फेरि वार्ता भएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवासमा भएको करिब ३ घण्टा छलफलले सरकार र शिक्षकबीचको वार्ता सहमति नजिक पुगेको हो । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनरत शिक्षकहरूसँगको वार्ता सकारात्मक भएको बताए । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग बालुवाटारमा बोल्दै मन्त्री गुरुङले शिक्षामन्त्रीले महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवसँग गरेको वार्ता सकारात्मक भएको जानकारी दिएका हुन् । उनका अनुसार दुई/तीन दिनभित्र शिक्षकहरूका मागबारे सहमति भई विद्यालय सञ्चालनको वातावरण बन्ने अपेक्षा गरिएको धारणा राखे । मन्त्रिपरिषदको बैठक बस्नुअघि सरकारका तीन मन्त्रीहरू अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्त वार्तामा बसेका थिए । यस्तै, एमाले महासचिव शंकर पोखरेलसँगै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेपाल शिक्षक महासंघका पदाधिकारीहरूसँग आन्दोलन र मागका बारेमा छलफल गरेको बुझिएको छ । शीर्ष नेताहरूसँगको वार्ताले माग पूरा हुने विश्वास शिक्षकहरूले गरेका छन् । तत्कालीन शिक्षामन्त्री भट्टराईको ७ बुँदे प्रस्ताव अनुसार सहमति हुने बुझिएको छ । शिक्षक महासंघले मन्त्रिपरिषदबाट पारित गर्ने विषय भनेर ९ बुँदे माग प्रस्ताव गरेको छ । उक्त ९ बुँदे प्रस्ताव वरिपरि मन्त्रिपरिषदबाट शिक्षकका आंशिक मागहरू सम्बोधन भए महासंघले आन्दोलनको स्वरूप फेर्न सकिने जनाउँदै आएको छ ।
खुल्न थाले विद्यालय, अभिभावकले सुरु गरे भर्ना अभियान र पठनपाठन
काठमाडौं । शिक्षक महासङ्घले घोषणा गरेको आन्दोलन अनिश्चित बन्दै गएपछि पर्वतका सामुदायिक विद्यालय खुल्न थालेका छन् । सामुदायिक विद्यालय सञ्चालनमा नआउँदा निजी विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढेको र यही अवस्थामा सामुदायिक विद्यालय थप प्रभावित हुने भएपछि विद्यालय व्यवस्थापन समिति र अभिभावकले भर्ना अभियान सञ्चालन र पठनपाठन सुरु गरेका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ पर्वतका अनुसार विभिन्न स्थानीय तहले विद्यालय खोलेर भर्ना अभियानका साथै पठनपाठन सुरु गरेका छन् । कुश्मा नगरपालिकाका केही विद्यालय, मोदी गाउँपालिका, फलेवास, महाशिला, जलजलाका विभिन्न विद्यालय खुलेर नियमित पठनपाठन हुन थालेको इकाई प्रमुख मतिलाल चपाईले जानकारी दिए । इकाईका अनुसार जिल्लामा २७५ सामुदायिक र २८ निजी विद्यालय छन् । आन्दोलनमा नगएका शिक्षकले अभिभावक र व्यवस्थापन समितिको दबाबमा विद्यालय सञ्चालन गर्न थालेका हुन् । यहाँका सामुदायिक विद्यालयमा करिब १९ हजार विद्यार्थी अध्ययनरत छन् ।