एपेक्स स्कुलका विद्यार्थीले खाजाकाे पैसा बचाएर गरे आविष्कार केन्द्रलाई सहयोग
काठमाडौं । चावहिलस्थित एपेक्स लाइफ स्कुलका विद्यार्थीले आफ्नो खाजाको पैसा बचाएर राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन् । विद्यार्थीले जम्मा गरको रकममा विद्यालयले पनि थपेर कुल १ लाख १ हजार ५ रुपैयाँ सहयोग गरिएको हो । कीर्तिपुरमा मंगलबार आयोजित कार्यक्रममा विद्यालयका कार्यकारी निर्देशक सुवास न्यौपाने तथा विद्यार्थीले आविष्कार केन्द्रका सञ्चालक महावीर पुनलाई सहयोग रकम प्रदान गरेका छन् । नेपाली माटो सुहाउँदो ज्ञान, विज्ञान र अनुसन्धान गर्न स्थापित केन्द्रलाई सरकारले उपेक्षा गरेको अवस्थामा विद्यार्थीले जोगाएको खाजावापतको रकममा विद्यालयले समेत थप गरी सो सहयोग प्रदान गरिएको निर्देशक न्यौपानेले बताए । ‘सरकारले सहयोग गर्नुपर्ने संस्थालाई रचनात्मक र सिजर्नात्मक काम भनेर सांकेतिक रुपमा हामीले सहयोग गरेका हौं,’ निर्देशक न्यौपानेले भने । ग्रामीण क्षेत्रमा सूचना प्रविधिको क्षेत्रमा क्रियाशील भएर देश विदेशमा विभिन्न पुरस्करबाट सम्मानित महावीर पुनले २८ वर्षदेखि आफु यो क्षेत्रमा निरन्तर क्रियाशील रहे पनि सरकारले चिन्न नसकेको बताउँदै अनुसन्धानका लागि सहयोगमात्र होइन न्यून ब्याजदरमा ऋण समेत उपलब्ध नगराएको गुनासो गरे । सो अवसरमा विद्यार्थीले महावीर पुनसँग उनका योजनाका बारेमा विविध छलफल गर्नुका साथै आविष्कार केन्द्रको अभिरुचिपूर्वक अवलोकन समेत गरेका थिए । राजधानीमा रहेर विद्यालय, शिक्षा र पठनपाठनमा लामो समयदेखि आफ्नो विशिष्ट पहिचान बनाउन सफल एपेक्स लाईफ स्कुलले अतिरिक्त क्रियाकलापका अतिरिक्त यस प्रकारका विभिन्न रचनात्मक काम पनि गर्दै आएको छ । २०४० सालमा स्थापना भएको सो विद्यालय शुरुमा शिशु निकेतन, त्यसपछि सेरेन भ्याली हुँदै एपेक्स लाइफ स्कुल नामाकरण भएको स्कूलका व्यवस्थापक विन्दु न्यौपानेले जानकारी दिइन् । १ कक्षादेखि १० कक्षासम्म अध्यापन गराउने एपेक्स स्कुलमा हाल करिब ४ सय ५० विद्यार्थी अध्ययनरत छन् ।
अन्तरिक्ष चित्रकला प्रतियोगितामा सुयेन भइन् प्रथम
प्रथम पुरस्कार विजेता सुयेन भट्टराईकाे तस्बिर काठमाडौं । अन्तरिक्ष चित्रकला प्रतियोगितामा सुयेन भट्टराई प्रथम भएकी छन् । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको तेस्रो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगितामा क्याम्पियन स्कुलकी सुयेन प्रथम भएकी हुन् । भट्टराई ललितपुर लगनखेलस्थित क्याम्पियन स्कुलमा कक्षा आठमा अध्यनरत छिन् । त्यस्तै कास्की पोखरास्थित गण्डकी बोर्डिङ स्कूलमा कक्षा सातमा अध्ययनरत छात्र आशिव गुरुङ दोस्रो, काठमाडौँको गोठाटारस्थित द सेलिब्रेसन को एड स्कूलमा कक्षा सातमा अध्ययनरत छात्र अमन बस्नेत तेस्रो र काठमाडौँकै छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत छात्रा सरिता रम्तेलले सान्त्वना पुरस्कार प्राप्त गरेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । विजयी छात्र छात्रालाई राजधानीमा सोसाइटीको १३ औं वार्षिकोत्सवको अवसरमा पुरस्कृत गरिनेछ । पहिलो हुनेलाई टेलिस्कोप, तक्मा तथा प्रमाणपत्र, दोस्रो, तेश्रो तथा सान्त्वना हुनेलाई तक्मा र प्रमाणपत्र प्रदान गरिनेछ । पहिलोलाई काठमाडौँस्थित मेक इञ्जिनियरिङ्ग कलेजले २०७५ सालदेखि प्रोत्साहन स्वरुप टेलिस्कोप पुरस्कार प्रायोजन गर्दै आएको छ । आधारभूत शिक्षा लिइरहेका विद्यार्थीका लागि वि.सं. २०७४ देखि हरेक वर्ष प्रतियोगिता आयोजना गरिँदै आएको छ । आधारभूत तहदेखि नै विद्यार्थीमा वैज्ञानिक खोज अनुसन्धानप्रति रुचि जागोस् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न थालिएको सोसाइटीले जनाएको छ । प्रतियोगितामा देशभरका १ सय ७ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीले भाग लिएका थिए । रासस
पाठ्यक्रममै आनुभविक शिक्षण प्रणाली जोड्ने तयारीमा डीएभी विद्यालय
काठमाडौं । ५–दीवसिय आनुभविक शिक्षण कार्यशालाको समापन भएसँगै डीएभी विद्यालयले आगामी शैक्षिक सत्र देखि पाठ्यक्रममै आनुभविक शिक्षण प्रणली भित्र्याउने निर्णय गरेको छ । विद्यालयका अध्यक्ष अनिल यस पद्धति कक्षा नर्सरी देखि कक्षा १२ सम्म अवलम्बन गरिने विद्यालयका अध्यक्ष अनिल केडियाले बताएका छन् । नेपालमा डी.ए.भी. विद्यालय आनुभविक शिक्षण प्रणाली अबलम्बन गर्ने पहिलो विद्यालय हुनेछ । ५–दिवसिय शिक्षण कार्यशाला नसकिदै डीएभी. विद्यालयले दी प्रोटेजी ग्रुपसँग तीन वर्ष सम्म आनुभविक पद्धतिको अवलम्बन, मुल्याङ्कन र शुदृढीकरणको लागि साझेदार गर्ने निर्णय समेत गरेको हो । दी प्रोटेजी ग्रुपका मुख्य प्रशिक्षक जोएल. एस. गोडि र सहायक प्रशिक्षक पराग गान्धी र मोहन वेनकाटेश पलानीले करिब १७ वर्षको अध्ययन र अनुसन्धान बाट थ्री डि इ ई फ्रेमवर्कको आनुभविक शिक्षण पद्धती र सीएफपि (क्लासरूम फेसिलिटेसन प्राक्टीसनर) कोर्ष समेत शिक्षकहरूलाई हस्तान्तरण गरेका छन् । मुख्य प्रशिक्षक गोडिले भने–‘अनुभव देखि ज्ञान बाड्ने प्रकृया पार गर्दा मानिसहरूको सिक्ने क्षमता ६० प्रतिशतदेखि ९९ प्रतिशत सम्म पुग्दछ’ । प्रशिक्षणको तेस्रो दिन किन्डरगार्टेन देखि कक्षा आठसम्मका अभिभावकहरूलाई समेत सहभागी गराईएको थियो । डीएभी विद्यालयकी प्राचार्य भुवनेश्वरी रावले नेपालमै यस प्रकारको शिक्षण पद्धति अवलम्बन गर्नु युगान्तकारी कदम रहेको जनाउँदै उनले डीएभी विद्यालय परिवर्तित समय र युगको आवश्यकतालाई सम्बोधन गर्न सदैव तयार रहेको बताएकी छन् ।