क्याम्पियन कलेजले गर्यो स्नातक उपाधि समारोह

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत रहेको सिजि एजुकेशनद्घारा सञ्चालित क्याम्पियन कलेजले आफ्ना स्नातक उपाधि कार्यक्रम होटल हिमालयमा सम्पन्न गरेको छ । करिब १५० जना विद्यार्थीहरु उक्त कार्यक्रममा आफ्नो स्नातक उपाधि लिएका थिए । उक्त कार्यक्रम कलेज व्यवस्थापन समितिका अध्यक्ष दामोदरप्रसाद लामिछानेको अध्यक्षतामा र नविल बैँकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो । उक्त कार्यक्रममा कलेजका प्राचार्य मनिता ओलीले स्वागत मन्तव्य राखेका थिए । साथै त्रिभुवन विश्व विद्यालयका व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले आजको सूचना र प्रविधिको युगमा विद्यार्थीहरु आफूलाई अब्बल सावित गर्नका लागि आफूलाई अध्यावधिक गर्नु पर्ने र बजारका लागि तम्तयार रहनु पर्ने कुरामा जोड दिँदै सम्पूर्ण उपाधि प्राप्त विद्यार्थीहरुलाई शुभकामना व्यक्त गरे । सिजिकर्प ग्लोबलका कार्यकारी निर्देशक निर्वाणकुमार चौधरीले सम्पूर्ण विद्यार्थीहरुलाई सफल जीवनका लागि शुभकामना व्यक्त गर्दै विद्यार्थीहरुमा उद्यमशिलताको विकास गर्नु पर्ने बताए ।

प्रोफेसनलले अष्ट्रेलियन शैक्षिक मेला गर्दै, श्रावन १ गते देखी ३ गतेसम्म

काठमाडौं। उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श दिदैं आएको अग्रणी परामर्श दातृ संस्था प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीले शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई मात्र परामर्श दिने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो । यस संस्थाले काठमाडौं, चितवन र पोखरामा मेलाको आयोजना गर्दैछ । संस्थाका अनुसार काठमाडौंमा आगामी बुधबार मेला आयोजना गरिनेछ । त्यस्तै चितवनमा विहिबार तथा पोखरामा शुक्रबार मेलाको आयोजना गर्न लागिएको छ । मेलामा अष्ट्रेलियाका १८ विश्वविद्यालयका प्रतिनिधीको सहभागिता रहने आयोजकले जनाएको छ । काठमाडौंको मेला लाजिम्पाटस्थित रेडिसन होटलमा आयोजना गर्न लागिएको संस्थाका कार्यकारी निर्देशक एसके श्रेष्ठले जानकारी दिए । उनका अनुसार पछिल्लो समय नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया उच्च शिक्षाको मुख्य आकर्षक गन्तव्य रहेका कारण मेलाको आयोजना गरेर परामर्श दिन लागिएको हो । तीनै ठाउँको मेलामा अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनधीहरु उपस्थित भएर विद्यार्थीलाई परामर्श दिनेछन् । ‘विश्वविद्यालयकै प्रतिनीधीबाट जानकारी लिने अवसर पाउनु विद्यार्थीका लागि खुशीको कुरा हो’ संस्थाका कार्यकारी निर्देशक श्रेष्ठले भने । मेलामार्फत विद्यार्थीले विश्वविद्यालय अनुसार पढाइ हुने विषय, त्यस्ता विषय पढाईका लागि लाग्ने खर्च, विश्वविद्यालय तथा कलेजहरुले दिने छात्रवृत्ति तथा छुट तथा विषय अनुसार पढाई सम्पन्न गरिसकेपछि बजारमा रोजगारीको सम्भावना लगायतका विषयमा जानकारी पाउनेछन् । आफ्नो शैक्षिक प्रमाणपत्र लिएर आउने विद्यार्थीलाई छात्रवृत्ति, छुट लगायतमा सिधै छनोट गर्न सकिने पनि आयोजकले जनाएको छ । मेलामा विशेषगरि कक्षा १२ उत्तीर्ण विद्यार्थीको विशेष आकर्षण रहने आयोजकको विश्वास छ । ‘अष्ट्रेलिया जान इच्छुक सबै विद्यार्थीले एक पटक यस मेलामा भाग लिँदा उनीहरूलाई निकै फाईदा हुन्छ’ श्रेष्ठले भने । प्रोफेसनलले हरेक वर्ष विद्यार्थी र अभिभावकको हितलाई ध्यानमा राखेर यस्तो मेलाको आयोजना गर्दै आएको छ । प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी उच्च शिक्षामा विदेश जान चाहनेलाई परामर्स दिनेमध्य भरपर्दो संस्था मानिन्छ ।

स्पर्स लघुवित्त तेस्रो बर्षमा, विपन्न परिवारका ८४ जना छोरीहरुलाई छात्रवृत्ति वितरण

काठमाडौँ । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड स्थापनाको दोस्रो बर्ष पूरा गरी तेस्रो बर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवको अवसरमा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाल सञ्चालनमा रहेका विभिन्न २० वटा शाखा कार्यालयहरु मार्फत वित्तीय संस्थामा आवद्ध ग्राहक सदस्यहरुका ८४ जना विपन्न परिवारका छोरीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । यसका साथै शाखा कार्यालयहरु आसपासका विभिन्न सामुदायिक विद्यालयहरुका छात्रछात्राहरुलाई शैक्षिक सामाग्री वितरण, नगर-टोल सरसफाई कार्यक्रम, वृद्धवृद्धाहरुलाई फलफुल वितरण तथा फरक रुपमा सवल व्यक्तिहरुलाई खाद्यान्न वितरण गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।