अष्ट्रेलियामा पढेका विद्यार्थीले विश्वको जुनसुकै ठाउँमा गएरपनि काम गर्न सक्छन्: सालिकराम भण्डारी
उच्च शिक्षाको लागि विदेश जाने विद्यार्थीहरुका माझ लोकप्रिय नाम हो द नेक्सट कन्सल्न्टेन्सी । द नेक्सट कन्सल्टेन्सीले विगत १५ वर्षदेखि काठमाडौंसहित देशका प्रमुख शहरहरु बुटवल, चितवनको नारयणघाट, काउसती, पर्सा, पोखरा, बिर्तामोड, धरानमा रहेका शाखा कार्यलय मार्फत शैक्षिक परामर्श सेवा दिदै आएको छ । अष्ट्रेलियाको सिड्नी र पर्थमा सम्पर्क कार्यालय समेत रहेको द नेक्सट कन्सल्न्टेन्सीले अष्ट्रेलिया, न्युजल्याण्ड, क्यानडा र युके अध्ययनको लागि विद्यार्थीलाई परामर्श सेवा दिँदै आएको छ। विद्यार्थीको शैक्षिक योग्यता र आर्थिक स्थिति हेरेर उपयुक्त विश्वविद्यालय, कलेजको सही सूचना दिने, सही दिशानिर्देश गर्ने कार्य गर्दै आएको यस कम्पनीका प्रमुख कार्यकारी निर्देशक सालिकराम भण्डारीसँग सीमापारीको उच्च शिक्षाको विविध आयामबारे विकास न्युजकालागि डोमी शेर्पाले गरेको कुराकानी : नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जानुको फाईदा के के हुन् ? अंग्रेजी भाषा बोलिने देश जस्तै अष्ट्रेलिया, न्युजल्याण्ड, क्यानडा, युके लगायतको देशमा पढ्दा पश्चिमी देशहरुले कसरी अगाडि बढेका छन्, कसरी विकास गरेका छन् र कस्तो पढाइले त्यो लेभलको विकास गर्न सकिरहेका छन् भन्ने कुरा जान्न र बुझ्न सजिलो हुन्छ । विदेश अध्ययन गर्न जानुको सबैभन्दा ठूलो फाईदा हो । पश्चिमी राष्ट्रहरुले प्रगति गर्नुको मुख्य कारण त्यहाँको शिक्षा हो । त्यसकारण नेपाल तथा गरिब मुलुकमा पढ्ने विद्यार्थीहरु पश्चिमा देशमा पढ्न् विद्यार्थीहरु भन्दा धेरै नै पछाडि हुन्छन् । पश्चिमा देशमा धेरै प्रविधिहरु हुन्छन् जसको सहयोगले विद्यार्थीहरुलाई ज्ञान लिन सजिलो हुन्छ। उनीहरुको व्यावहारिक शिक्षाले भविष्यमा कार्यान्वयन गर्न पनि सजिलो हुन्छ । पढ्नको लागि विदेश जानु भन्दा अगाडि सबैले थाहा पाउनु पर्ने कुरा के के हुन् ? आफ्नो शैक्षिक पृष्ठभूमि, आफ्नो अंग्रेजी भाषा बोल्न र लेख्न सक्ने क्षमता, आफ्नो आर्थिक स्थिति आफैले ख्याल गर्नुपर्छ । कुन विश्वविद्यालय वा कलेजको कुन कोर्स रोज्ने त्यसमा ध्यान दिनुपर्छ । कोर्ष रोज्दा भविष्यमा आफू नेपालमा आउँदा वा संसारका कुनै ठाउँमा जाँदा सजिलो हुने कोर्ष रोज्नु पर्छ । तपाईको डिग्री यस्तो होस् जसले गएर तपाईलाई भोलि एउटा सबल र सक्षम मानिस बनाओस् । जिन्दगीभर त्यो डिग्रीको कारणले तपाईले पछुताउनु नपरोस् । त्यसैले कहिले पनि आफ्नो कोर्सको छनौट गर्दा सम्झौता गर्नुहुन्न । विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुले सबैभन्दा रुचाएका विषयहरु कुन कुन हुनु ? अष्ट्रेलियाको हकमा पिआरलाई विद्यार्थीहरुले कतिको प्राथमिकता दिईरहेको पाईन्छ ? पहिला भन्दा अहिलेको अवस्थामा नेपाली विद्यार्थीहरु मैले निकै नै फरक पाएको छु । उनीहरुले निकै नै राम्रा राम्रा कोर्सहरु छनौट गर्न थालेका छन् जुन कोर्सहरु नेपाल फर्केर आउन मात्र नभएर विश्वव्यापी रुपमा अवसर प्राप्त गर्न सजिलो छ । जस्तैः आईटी, अकाउन्टिङ, नर्सिङ, हस्पिटालिटी, ईन्जिनियरिङ्ग मात्र नभएर विद्यार्थीहरुले बायोटेक्नोलोजी, सस्टेनेबल डेभलपमेन्ट, ह्युमन रिसोर्स म्यानेजमेन्ट र अन्य विभिन्न प्राविधिक विषयहरु छनोट गर्न थालेका छन् । नेपाली विद्यार्थी मात्र नभएर अन्य गरिब मुलुकबाट गएका जति पनि विद्यार्थीहरु छन्, उनीहरु साईडमा पिआर पनि भईदियो हुन्थियो भन्ने गर्छन् । गएका धेरै विद्यार्थीहरुले पिआर पनि पाएका छन् र धेरै विद्यार्थीहरु देशमै केही गर्नका लागि पनि फर्किएका छन् । तर हामी एउटा परामर्शको रुपमा विद्यार्थीहरुलाई पिआरको लागि प्रोत्साहन गर्दैनौं । त्यो अष्ट्रेलिया गएपछिको कुरा हो । हामीले विद्यार्थीलाई शुद्ध रुपमा पढ्नको लागि नै पठाउँछौं। अष्ट्रेलिया जानको लागि न्युनतम योग्यताहरु के के हुन् ? अष्ट्रेलिया जान विद्यार्थीको आईएल्टिएसको अंक, शैक्षिक योग्यता र ग्याप छ कि छैन र अनुभव छ कि छैन भनेर हेरिन्छ । शैक्षिक योग्यताको कुरा गर्नुपर्दा कम्तिमा पनि ३ सिजिपिए वा ६० प्रतिशत ल्याएको हुनुपर्छ । आईएल्टिएसमा ६.५, प्रत्येक ब्याण्डमा ६ अंक, ग्याप छ भने काम गरेको छ कि छैन भन्ने हेरिन्छ । यति हेरेर प्रत्येक विश्वविद्यालय पिच्छे चाहिने आवश्यक डकुमेन्टमा केही फरक पर्न जान्छन् । कुनैलाई यही डकुमेन्टहरुले पुग्न सक्छ र कुनैलाई थप केही बढी माग्न सक्छन् । अष्ट्रेलिया किन नेपाली विद्यार्थीको लागि एउटा सहि गन्तव्य हो ? अष्ट्रेलिया नेपाली विद्यार्थीको लागि मात्र नभएर हरेक अन्तर्राष्ट्रिय विद्यार्थीको उच्च शिक्षाको लागि एउटा सहि गन्तव्य हो। अष्ट्रेलियामा यस्ता विश्वविद्यालयहरु छन् जुन विश्वव्यापी रुपमा टप १००, टप २०० मा पर्छन् । विद्यार्थीले अष्ट्रेलिया लिएर डिग्री लिईसकेपछि संसारको कुनै पनि ठाउँमा गएर काम पाउन सक्ने, गर्न सक्ने बन्छन् । हाल नेपाली विद्यार्थीहरुले काम नपाएका कुराहरु सुन्नमा आएको छ, खास कुरा के हो ? नेपाली विद्यार्थी वा अन्तराष्ट्रिय विद्यार्थीले अष्ट्रेलियामा हप्ताको २० घण्टा काम गर्न सक्छन् । त्यो भनेको पार्ट टाईम काम हो जुन जाँदा जाँदै सुरुमा नपाईन सक्छ तर बिस्तारै काम नपाईने भन्ने हुँदैन । विद्यार्थीहरु पनि केही सीपहरु जस्तै रेस्टुरेन्ट, होटलका ट्रेनिङ तथा कफी मेकिङका कोर्सहरु सिकेर जाँदा राम्रो हुन्छ । जाने बित्तिकै काम पाइने ठेगान नहुनाले विद्यार्थीहरुले आफ्नो धैर्यता र घरबाट नै आर्थिक तयारी गरेर जाँदा राम्रो हुन्छ। अष्ट्रेलिया एक्लै जानको लागि र डिपेन्डेन्टमा जानको लागि प्रकृयाहरु के के छन्? खर्च कति फरक पर्न जान्छ ? अष्ट्रेलियाका धेरै विश्वविद्यालयहरुले ब्याचलरमा डिपेन्डेन्ट भिषाको लागि अनुमति दिदैन । उनीहरुले एकल भिसाको लागि मात्र प्रोत्साहन गर्छन्। तर केही विश्वविद्यालयहरुले ब्याचलरमा पनि मान्छन् तर सामान्यता मास्टर्स तहको अध्ययनको लागि भने डिपेन्डेन्ट भिसालाई अनुमति दिईएको छ। त्यसैले यो चाँहि विश्वविद्यालयमै भरपर्छ। डिपेन्डेन्टलाई लाग्ने खर्च भनेको एकललाई हेरेर ईन्सुरेन्स डबल गर्नुपर्ने, हवाई खर्च र डिपेन्डेन्टको बसोबास खर्च मात्र बढी लाग्छ। त्यसबाहेक उसलाई केही रकम बढी लाग्दैन।
प्राथमिक तहमा ४४० शिक्षक दरबन्दी बढी
काठमाडौं । पाल्पाका प्राथमिक तहका विद्यालयमा शिक्षक संख्या पर्यात छन् । तर निम्न माध्यमिक तथा माध्यमिक तहमा भने विद्यार्थीका अनुपातमा शिक्षक छैनन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रमेशराज पौडेलले पाल्पाको प्राथमिक विद्यालय तहमा ४४० शिक्षकको दरबन्दी बढी भएको बताए । शिक्षक सेवा आयोगबाट पास गरी प्रावि तहका २६३ शिक्षक जिल्लामा आएपछि दरबन्दी बढी भएको हो । पाल्पामा दुई नगरपालिका र आठ गाउँपालिका छन् । जिल्लाभर २०० प्रावि सञ्चालनमा छन् । विद्यार्थीका अनुपातमा शिक्षक दरबन्दी बढी हुँदा उनीहरुको व्यवस्थापनमा चुनौती थपिएको प्रमुख पौडेलले बताए । शिक्षा नियमावलीअनुसार पहाडी जिल्लामा एक शिक्षक बरावर ४५ विद्यार्थी अनुपात हुनुपर्ने प्रावधान छ । त्यस्तै हिमाली जिल्लामा एक शिक्षक बरावर ३० विद्यार्थी र काठमाडौँ उपत्यकालगायत तराईका जिल्लामा एक शिक्षक बरावर ५५ विद्यार्थी अनुपात हुनुपर्ने प्रावधान छ । पाल्पाका निस्दी गाउँपालिकामा प्रावि तहमा ६० शिक्षकको दरबन्दी बढी रहेको छ । त्यस्तै माथागढी गाउँपालिकामा दरबन्दीभन्दा ४५, रैनादी छहरा गाउँपालिकामा ६४, बगनासकाली गाउँपालिकामा ५६ र रिब्दीकोट गाउँपालिकामा ४४ शिक्षक दरबन्दीभन्दा बढी रहेको बताइएको छ । यसैगरी पूर्वखोला गाउँपालिकामा १५, तिनाउ गाउँपालिकामा २१ र रम्भा गाउँपालिकामा ४९ प्राथमिक तहका शिक्षक दरबन्दीभन्दा बढी रहेका छन् । यसैगरी प्रावि तहका रामपुर नगरपालिकामा २१ र तानसेन नगरपालिकामा ६५ शिक्षक दरबन्दीभन्दा बढी देखिएको प्रमुख पौडेलले बताए । जिल्लाका समुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्यामा कमी आएको छ । मावि, निमाविभन्दा प्रावि तहका कक्षामा विद्यार्थीको आकर्षण हुन सकेको छैन । शिक्षक सेवा पास गरी आएका नयाँ शिक्षक तथा पुराना शिक्षकले विद्यार्थी आकर्षणका लागि शैक्षिक गतिविधि सञ्चालन नगर्दा प्रावि तहमा विद्यार्थी सङ्ख्या पातलो भएकाे छ । स्थानीय सरकारले शिक्षाको अनुगमनको जिम्मा पाएपनि कर्मचारीको अभावमा अनुगमनलगायतका काम प्रभावित हुँदै आएको छ । जिल्लाको निस्दी गाउँपालिकामा हाल प्रावि तहका दरबन्दीका १७३ र राहतका ५० शिक्षक गरी २२३ शिक्षक कार्यरत छन् । माथागढी गाउँपालिकामा १६३ दरबन्दी र १६ राहतका गरी जम्मा १७९ शिक्षकले अध्ययपन गराएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार पाल्पाको रैनादेवीमा २४१, बगनासकालीमा १३९, रिब्दीकोट गाउँपालिकामा १५५, पूर्वखोलमा १४४, रामपुर नगरपालिकामा २२०, तिनाउ गाउँपालिकामा १५०, रम्भा गाउँपालिकामा १४६, तानसेन नगरपालिकामा २०९ प्राविका शिक्षक कार्यरत छन् । पाल्पामा हाल प्रावि तहमा एक हजार ५९६ शिक्षक दरबन्दीमा छन् । २०९ जना प्रावि तहमा नै राहतमा कार्यरत रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । हाल जिल्लामा राहत र दरबन्दी गरी प्रावि तहका एक हजार ८०५ शिक्षक कार्यरत रहेको शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा २०० प्रावि सञ्चालनमा रहेका छन् । पाल्पामा ८८ निमावि र ११५ मावि सञ्चालनमा रहेका छन् । प्रावि तहमा शिक्षक प्रशस्त रहे पनि निमावि र मावि तहमा शिक्षकको अभाव खड्किएको छ । निमाविमा स्वीकृत दरबन्दी ३२३ र १५८ राहत गरी ४८१ शिक्षक छन् । निमावि तहमा २६८ शिक्षकको अभाव छ । मावि ९ देखि १० कक्षासम्म २४९ र मावि कक्षा ११ र १२ मा ६१ शिक्षक अझै आवश्यक छ । निमावि तहमा शिक्षक अभाव हुँदा गुणस्तरीय शिक्षा प्रदानमा चुनौती थपिएको छ । जिल्लामा मावि तथा निमावि तहमा शून्य दरबन्दीमा कक्षा सञ्चालन हुँदै आएको छ । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा कायम गर्न पूर्ण शिक्षक दरबन्दी हुन आवश्यक रहेको शिक्षाविज्ञहरुको भनाइ छ । रासस
एसईई दिने विद्यार्थीहरुका लागि डिशहोमले ल्यायाे ‘साैगात एसईई तयारी कक्षा’
काठमाडौं। मनोरन्जनको संसारमा आफ्नो विशिष्ट छवि कायम गरिसकेको डिशहोमले एसईई दिने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी यस वर्ष पनि एसईई तयारी कक्षा प्रसारण गर्ने भएको छ। यो तयारी कक्षाको प्रसारण डिशहोमको शोकेस २ च्यानलमार्फत् गरिनेछ । डिशहोम उज्वल भविष्य भन्ने नारालाई समर्थन गर्दै संचालन गरिएको यो कक्षामा विद्यार्थीहरुले अँग्रेजी, गणित र विज्ञान विषयको अध्ययन गर्न सक्नेछन्, त्यो पनि आफ्नै घरमा बसी बसी । नेपाल सरकारबाट मान्यता प्राप्त पाठ्यक्रममा आधारित रहेर दूर शिक्षा प्रविधिमार्फत् अध्यापन गराइने यी कक्षाहरुले विद्यार्थीहरुको पढाईमा थप सहयोग पुग्न जाने अपेक्षा गरिएको छ । डिशहोमको शोकेस २ च्यानलमामात्र प्रसारण गरिने यो तयारी कक्षा यही पुष १ गतेदेखि फागुन मसान्तसम्म संचालन हुनेछ । जस अनुसार अँग्रेजी विषयको कक्षा विहान ६ः३० बजे, गणित विषयको कक्षा विहान ७ः३० बजे र विज्ञान विषयको कक्षा विहान ८ः३० बजे प्रसारण गरिनेछ र ती नै कक्षाहरु दिउँसो क्रमशः १२ः३०, १ः३०,र २ः३० बजे र र साँझ ६ः३०, ७ः३० र ८ः३० बजे क्रमशः पुनः प्रसारण हुनेछन् । यसरी पुनः प्रसारणको व्यवस्था गर्नाले विद्यार्थीहरुले छुटेको विषयलाई पुनः अध्ययन गर्न सक्ने अथवा नबुझेको विषयलाई फेरि हेरेर मनन गर्न सक्नेछन् भन्ने विश्वास डिशहोमको रहेको छ । एसईईका विद्यार्थीहरु लक्षित विषयगत प्रसारण गरिन लागेको सम्बन्धमा डिशहोमका बिक्री प्रमुख रमेश सापकोटाले भने, “हामी केवल मनोरन्जनमा सीमित छैनौ । एक जिम्मेवार टिभी च्यानल प्रसारण संस्था भएको नाताले यो देश र देशका भविष्यहरु प्रति हाम्रो उत्तरदायित्व छ भन्ने राम्ररी बुझेका छौं । यसैले नै एसईइ दिने विद्यार्थी भाइबहिनीहरुलाई परीक्षाको तयारी गर्न सजिलो होस् भनेर यस वर्ष पनि एसईइ तयारी कक्षाको विशेष प्रसारण शुरु गरेका हौं।” डिशहोम नेपालमा टिभी च्यानल वितरण गर्ने सबैभन्दा ठूलो सञ्जाल र पहुँच भएको वितरक हो । यस मार्फत् वितरित च्यानलहरु साँच्चिकै एचडि प्रविधिको भएको अनुभव दर्शकहरुले गर्ने गरेका छन् । उत्कृष्ट गुणस्तरको प्रसारण सिग्नल भएको यो च्यानलबाट विद्यार्थीहरुका लागि प्रसारण गरिने एसईई तयारी कक्षाको सहयोगबाट भविष्य उज्वल बनाउने उद्देश्यमा अघि बढेका विद्यार्थीहरु लाभान्वीत हुनेछन् भन्ने विश्वास गरिएको छ ।