मेडिकल कलेजमा आर्थिक नाकाबन्दी लगाउने संघर्ष समितिको चेतावनी
काठमाडौं । चिकित्सा शिक्षा संघर्ष समितिले मेडिकल कलेजमा आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी समितिका संयोजक प्रकाश चन्दले कठोर आर्थिक नाकाबन्दीको शुरुवात चितवन मेडिकल कलेजबाट गरिने चेतावनी दिएका हुन् । ‘शुल्क फिर्ता नगरे कठोर आर्थिक नाकाबन्दी लगाउनेछौं,’ चन्दले भने, ‘विद्यार्थीसँग सबै आर्थिक कारोबार ठप्प पारिनेछ र शुरुपमा चितवन मेडिकल कलेजलाई कठोर आर्थिक नाकाबन्दी लगाइनेछ ।’ आउने दिनमा सरकारले तोकेको, निर्णय गरेको, केलेज प्रशासनसँग विद्यार्थीले मागेको अत्यावश्यक मागहरु लागू नगरेमा वा पूरा नगरेमा कठोर निर्णय लिन वाध्य हुने उनको चेतावनी थियो । कलेज प्रशासनले झुठो र फर्जी षड्यन्त्रपूर्ण समायोजनका विरुद्ध कठोर नाकाबन्दीमा जाने अवस्थामा पुग्न लागेको उनको भनाई थियो । चन्दले चिकित्सा शिक्षामा चरम लुट, भ्रष्टाचार र कालोबजारी र विकृतिपूर्ण व्यापारको अवस्था अन्तट गर्न आन्दोलनको स्वरुप परिवर्तन गर्दै नयाँ उचाईमा पुर्याइने बताए । आन्दोलन नरोकिएको स्पष्ट पार्दै उनले भने ‘हाम्रो आन्दोलन रोकेका छैनौ यसको रुप परिवर्तन हुनेछ ।’ अब हुने आन्दोलनले माफियाको पैसा नष्ट गर्ने उनको भनाई थियो । माफियासंग लड्न सडकबाट बलिदान समेत दिन तयार रहेको उनले बताए । उनले भने ‘न्याय नपाएसम्म हामीले गरेको आन्दोलन रोकिने छैन् ।’ नयाँ स्वरुपको आन्दोलनमा कठोर रुपमा प्रस्तुत हुने बताए । पहिलो र दास्रो वर्षका विद्यार्थीको पैसा फिर्ता नभए सम्म अब तिर्नु पर्ने पैसामा रोक लगाउने बताए । उनले भने,‘माफिया र माफियासंग मिलेका सम्बन्धित निकायसम्मलाई हामी नाङ्गेझार पारेरै छाड्छौं ।’ मेडिकल शिक्षा माफियामुक्त बनाउन सरकार गम्भीर नभएको उनको आरोप थियो । उनले भने,‘ सरकारले खुल्ला रुपमा भन्नुपर्यो कि हामी माफियालाई साथ दिन्छौं ।’ राज्य लगायत सम्पूर्ण सरोकारवाला लाचार रहेको उनले बताए । संघर्ष समितिकी मान्यता थापाले सरकार मेडिकल विद्यार्थीको जायज मागमा गम्भीर नरहेको आरोप लगाइन् । पाँच महिना अगाडि औपचारिक रुपमा संघर्षको शुरुवात गरेपनि सरकार यस विषयप्रति गम्भीर नरहेको बताइन् । उनले भनिन्,‘ मंसिर १० बाट मन्त्रीपरिषदबाट गरिएको निणर्यले पहिलो र दास्रो वर्षका विधार्थीहरुको शुल्क फिर्ता गर्ने निणर्य कार्यवान्यन भएको छैन् ।’ पहिलो र दास्रो वर्षका विद्यार्थीहरुको मात्र रकम समायोजन नगरी सम्पूर्ण पारा मेडिक्सको शुल्क समायोजन गर्न माग गरिन् । अतिरिक्त शुल्क फिर्ताको माग गर्दा लात र जुत्ता खानुपरेको उल्लेख गरिन् । मेडिकल कलेजका विद्यार्थी सुक्रान्त पौडेलले पाँच महिनादेखि जारी आन्दोलनले कुनै निष्कर्ष नआएकोले आन्दोलनको स्वरुप बदलेको बताए । सरकारले मेडिकल माफियाहरुलाई न्यायको कठघरामा ल्याउन नसकेको भन्दै आन्दोलनको स्वरुप बदल्न वाध्य भएको बताए । उनले भने,‘एमबिबिएस र बिडिएसलाई मात्र सरिकारले सम्वोधन गरेको उल्लेख गर्दै सरेकारवालाहरु माफियासंग टेबलमुनिबाट पैसा लिएको आरोप लगाए । उनले भने,‘सरकारलाई सबै कुरा थाहा हुँदापनि केही कदम चालेन ।’ कार्यक्रममा अभिभावक महेश अधिकारीले एतिहासिक आन्दोलनले सरकारले केही गर्न नसकेको गुनासो पोखे । अभिभावकलाई अतिरिक्त शुल्कको चापमा अझै राखिएको उनको भनाई थियो । सरकारले कारबाही गर्छु भन्दा पनि केही गर्न नसकेको बताए । शुल्क फिर्ता नभएसम्म अब तिर्नुपर्ने कुनैपनि शुल्क नतिर्ने उनको भनाई थियो । आफूहरुको माग सम्बोधन गर्ने गरी वार्ता राम्रोसंग भए कलेज खुलाउन तयार रहेको बताए ।
बनेपाका १० विद्यालय भवन पुनःनिर्माणले बल्ल लियाे गति, साढे ४० कराेडकाे ठेक्का
बनेपा । भारतीय दूतावासले जिम्मा लिएको विद्यालय भवनको पुनः निर्माण बल्ल अगाडि बढेको छ । यहाँका १० विद्यालयका भवन निर्माण चारवर्षपछि सुरु भएको छ । ठेक्का आह्वान भई मङ्गलबार निर्माण कम्पनी छनोटको भएपछि पुन निर्माणले गति लिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्यवन एकाइ (शिक्षा) काभ्रेपलाञ्चोकका इञ्जिनीयर सोभित श्रेष्ठका अनुसार आह्वान गरिएको ठेक्कामा खानी/ब्राइट जेभी पोखरीचौरी काभ्रेपलाञ्चोकलाई रु ४० करोड ७१ लाख ९२ हजार ३७६ को ठेक्का परेको छ । सात दिनभित्र उक्त निर्माण कम्पनीले केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)सँग सम्झौता गरेपछि निर्माण अगाडि बढ्नेछ । पाँचखाल नगरपालिकामा रहेको भगवती मावि, दुग्धेश्वर मावि र आजाद मावि, बनेपा नगरपालिकाको आजाद मावि, नमोबुद्ध नगरपालिकाको लक्ष्मीनारायण मावि र कानपुर मावि, चौरीदेउराली गाउँपालिकाको खाँडादेवी मावि, पनौती नगरपालिकाको शारदा मावि, महाभारत गाउँपालिकाको भैरव मावि र खानीखोला गाउँपालिकाको जनहित माविका भवन सो सहयोगले बन्नेछ । भवन निर्माण नहुँदा विद्यार्थी जीर्ण भवनमा नै बसेर अध्ययन गर्दै आइरहेका छन् । चौरीदेउराली गाउँपालिका– २ नार्गेगगर्चेस्थित खाँडादेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य राजीव लामाले समयमा विद्यालय भवन नबन्दा विद्यार्थी जीर्ण भवनमै जोखिममा अध्ययन गर्न बाध्य भएको बताउनुभयो । महाभारत गाउँपालिका–१ गोकुलेस्थित भैरव माध्यमिक विद्यालयका विद्यार्थीको अवस्था पनि उस्तै छ । प्रधानाध्यापक खुवनाथ दुलालले समयमा विद्यालयको भवन नबन्दा अझै दुई वर्षसम्म विद्यार्थीलाई टहरामै राख्नुपर्ने अवस्था रहेको बताउनुभयो । –––
नेपाल बंगलादेश बैंकद्वारा दृष्टिविहीन विद्यार्थीलाई अभिमुखीकरण गतिशीलता र नोट पहिचानको प्रशिक्षण
फिदिम । नेपाल बंगलादेश बैंकले पाँचथरस्थित श्री गढी माध्यमिक विद्यालयका ३० दृष्टिविहीन विद्यार्थीहरुलाई अभिमुखीकरण गतिशीलता र नोट पहिचानको १ हप्ते प्रशिक्षण सम्पन्न गरेको छ । सो प्रशिक्षणमा कुल १७ छात्र तथा १३ छात्राहरु भाग लिएका थिए । प्रशिक्षण मैत्री समाज नेपालकाे सहायतामा पुस ४ सम्पन्न भएकाे हाे । यस प्रशिक्षणले विद्यार्थीहरुलाई सामान्य मार्गनिदेशन, दिशा परिवर्तन, सागुँरो ठाउँमा हिँडडुल, भ¥याङ्ग, माथिल्लो तथा तल्लो शरीरको भागको सुरक्षा, विभिन्न ठाउँमा बस्ने तरिका, एक्लै हिँडडुल गर्ने तरिका सिकाई सेतो छडी लिएर हिँड्ने तथा सो छडीका भागहरु बारे पर्चा वितरण गरिएको थियो । यस प्रशिक्षणको अन्त्यमा सहभागी विद्यार्थीहरुलाई बैंकको फिदिम शाखाका शाखा प्रमुख राजकुमार थापाले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । यस्ता कार्यक्रमले समाजका अशक्त असहाय वालवालिकाहरुलाई अति आवश्यक प्रशिक्षण दिने र भविष्यमा यस्ता कार्यक्रम गरिरहनु पर्ने भनी शाखा प्रमुखले बताए ।