नेपाली पत्रकारका लागि तीनमहिने चिनियाँ भाषा प्रशिक्षण आजबाट शुरु 

काठमाडाैं । नेपाल–चीन मिडिया फोरम र काठमाडौँ विश्वविद्यालयको कन्फ्युसिय इन्स्टिच्युटको आयोजनामा नेपाली पत्रकारका लागि चिनियाँ भाषा र संस्कृतिबारे ललितपुरमा तीनमहिने प्रशिक्षण शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रशिक्षणको आज उद्घाटन  गर्दै नेपाल र चीन समस्यारहित सम्बन्ध भएका मुलुकमा पर्ने भएकाले सम्बन्धलाई थप नयाँ आयामका साथ विकसित गर्नुपर्ने बताए । उनले चीनसँग सरकार, जनता र संस्कृतिका क्षेत्रमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै नेपाल भ्रमण वर्ष २०२० शुरु भएको र चिनियाँ पर्यटक बढ्ने अपेक्षा गरिएका बेला पत्रकारलाई भाषा सिकेर सद्भावनादूत बनी भूमिका खेल्न आग्रह गरेका छन् । मन्त्री पोखरेलले एकापसमा सिक्न र आफ्नो संस्कृति बुझ्न आवश्यक भन्दै आधुनिक कालमा आपसी सम्बन्धलाई नयाँ आयामका साथ विस्तार गर्न र नेपालको मौलिक संस्कृति चीनसमक्ष पुर्याउन पनि अनुरोध गरे । मिडिया फोरम तथा प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठले नेपालमा बढी बढीभन्दा चिनियाँ पर्यटक आउने सम्भावना बढेका बेला समाजका सबै क्षेत्रका मानिसले चिनियाँ भाषा सिकेमा मुलुकका लागि लाभदायक हुने बताए । कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक प्रा. डा. वाङ शेन्ग्लीले पत्रकारले चीनमा के हुँदैछ र नेपालप्रति चीनको दृष्टिकोण के हो भन्नेबारेमा जानकार हुने र चिनियाँ भाषामा समेत समाचार लेख्न सक्ने वातावरण सिर्जना हुने बताए । उनले राम्रा शिक्षक र पाठ्यसामग्री उपलब्ध गराएर चिनियाँ भाषा र संस्कृति सिकाइने तथा उत्कृष्ट प्रशिक्षार्थीलाई चीनमा अध्ययनका लागि छात्रवृत्तिसमेत उपलब्ध गराइने जानकारी दिएका छन् । काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार डा. सुबोध शर्माले सन् २०१२ मा स्थापित कन्फुसियस इन्ष्टिच्युटले हालसम्म १२ हजार जनालाई चिनियाँ भाषा प्रशिक्षण दिएको जानकारी दिए । प्रशिक्षणमा ५७ जना पत्रकार सहभागी छन् । रासस

विद्यालयमा दर्जनाैं कम्प्युटर प्रयोगविहीन, बालबालिका प्राविधिक शिक्षाबाट बञ्चित

महोत्तरी  । बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षक नहुँदा कम्प्युटर अलपत्र अवस्थामा पुगेका छन् । प्राविधिक शिक्षा पाउनबाट बालबालिका बञ्चित हुन पुगेका छन् । विद्यालयको भण्डारणमा १५ कम्प्युटर, १८ सिसीटिभी र एक थान एलसिडी थन्किएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत ती सामग्री प्रदान गरेका थिए । तर, शिक्षक नभएपछि ती सामग्री कोठामा त्यत्तिकै थन्किएका प्रधानाध्यापक सूर्यदेव महतो जानकारी दिए । “सामग्री भएर पनि हाम्रा विद्यार्थीले कम्प्युटर शिक्षा पढ्न पाएनन्”, उनले भने, “कम्प्युटर शिक्षकका लागि नगर कार्यपालिकाको कार्यालयमा हाम्रै विद्यालयका लागि विनियोजित रु पाँच लाख छ, तर नगर शिक्षा शाखाले शिक्षक पठाउने तत्परताचाहिँ देखाएन ।” नगर शिक्षा शाखाले नगरभित्रका सबै विद्यालयमा विषय शिक्षक मिलान गर्ने तयारी गरेको जनाएको छ । नगरका ५२ वटै सामुदायिक विद्यालयमा शिक्षक/विद्यार्थीको अनुपात र विषय मिलानका लागि गृहकार्य भइरहेको शिक्षा शाखाका निमित्त प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिए । भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय, सीतापुर, सिद्धपुरमा पनि शिक्षककै अभावमा कम्प्युटर शिक्षाको अध्यापन हुनसकेको छैन ।विद्यालयका १५ थान कम्प्युटर प्रयोगमा आउन नसकेको प्रधानाध्यापक श्रीराम यादवले बताए । रासस

नेपाल शैक्षिक परामर्श संघको अध्यक्षमा प्रकाश पाण्डे निर्वाचित

काठमाडाैं ।  नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे नियुक्त भएका छन् । संघको १४ औं वार्षिक साधारण सभाबाट पाण्डेलाई अध्यक्षमा नियुक्त गरिएको हो । सर्वसहमतिबाट पाण्डे अध्यक्षमा चयन भएकाे जनाइएकाे छ ।सहमति भए अनुसार प्रथम उपाध्यक्षमा राजेन्द्र रिजाल, द्वितिय उपाध्यक्षमा देवीदास भट्टराई, तृतिय उपाध्यक्षमा शेषराज भट्टराईको नाममा सहमति भएको हो । सचिवमा बासुदेव दाहाल र एन्ड्रयु पौडेल तथा कोषाध्यक्षमा भरत रेग्मी र बिके श्रेष्ठलाई बनाउने सहमति भएको जनाएको छ । यधपी, अहिले सम्म भइसकेको छैन । त्यस्तै सदस्यहरुमा  सुस्मा आचार्य, रत्न रेग्मी,  कर्ण गुरुङ, पुष्यराज भट्टराई र भवनाथ हुमागाइको नाममा सहमति जुटेको छ । इक्यान अन्तर्गत ३८८ वटा संस्था छन् ।  पछिल्लो दुई दशकदेखि नेपालमा शैक्षिक परामर्श केन्द्रको व्यवसाय निकै फस्टाएको छ । शुरुमा राजधानीकेन्द्रित शैक्षिक परामर्श केन्द्रहरू अहिले अन्य शहर हुँदै देशभर फैलिएका छन् । विदेशका कलेज/विश्वविद्यालयमा पढ्नका लागि परामर्श दिने यस्ता केन्द्रहरूले विद्यार्थीका लागि आवश्यक कागजात बनाउन सघाउनेदेखि आईईएलटीएस, टोफल, जिम्याट, जीआरई जस्ता विभिन्न योग्यता परीक्षाका तयारी कक्षा पनि सञ्चालन गरिरहेका छन् ।