सम्पत्ति विवरण नबुझाउने २१४ शिक्षक परे जरिवानामा
परासी । तोकिएको समयमा सम्पत्ति विवरण बुझाउन अटेरी गर्ने नवलपरासीका २१४ शिक्षक जरिवानामा परेका छन् । आर्थिक वर्ष २०७४/७५ को सम्पत्ति विवरण नबुझाउने २१४ शिक्षकलाई कारवाहीस्वरुप जरिवाना तिर्न आग्रह गरिएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । कार्यालयले ती शिक्षकहरुलाई प्रतिशिक्षक रु पाँच हजारका दरले अविलम्ब जरिवाना दाखिला गर्न आग्रह गरेको छ । नयाँ आव शुरु भएको ६० दिनभित्रमा सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान रहेको उल्लेख गर्दै शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख डोलराज पाण्डेले भन्नुभयो, “सम्पत्ति विवरण बुझाउन अटेरी गरेका शिक्षकको सूची मन्त्रालयबाट प्राप्त भएको छ, त्यो सूचीमा केही अवकाश पाएका, सरुवा भएर गएका, दोहोरिएका र सम्पत्ति विवरण बुझाइसकेका समेत नाम भेटिएको छ”, उनले थपे, “त्यो सूची छानबिन गरी नबुझाएका शिक्षकलाई अविलम्ब विवरण फारम भर्न र जरिवाना बुझाउन निर्देशन दिएका छौँ ।” यसरी, सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरुले विद्यालय किताबखानामा र अस्थायी शिक्षकहरुले सम्बन्धित स्थानीय तहमा सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान रहेको कार्यालयले जनाएको छ । रासस
संस्कृति ईन्टरनेसनल स्कुल बन्यो दक्षिण एसियामै आईपिसी मान्यता पाउने पहिलो विद्यालय
काठमाडौं। संस्कृति ईन्टरनेसनल स्कुलले नेपालको विद्यालय तहको प्राथमिक शिक्षामा नयाँ फड्को मार्न सफल बनेको छ। स्वयम्भुस्थित संस्कृति नेपालको विद्यालय शिक्षामा फड्को मार्दै अन्तरराष्ट्रिय प्राथमिक पाठ्यक्रम मान्यता प्राप्त गर्ने दक्षिण एसियाकै प्रथम विद्यालय हुन सफल बनेको हो। २०१४ देखी सकृय रुपमा शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएको विद्यालय २०१६ देखी बेलायतको प्राथमिक तहमा प्रयोग हुने निकै नै चर्चित पाठ्यक्रम आईपिसी लागु गरेको थियो । पाठ्यक्रम लागु भएको ३ बर्ष पछि विद्यालयले बेलायतको फिल्डवोर्क एजुकेसन अर्थात आईपिसी संचालकको तर्फबाट मान्यता प्राप्त गरेको हो । आईपिसीले ३ बर्ष लामो अध्ययन र गएको जेठ महिनामा आँफै आएर विद्यालयको अभिभावक, बालबालिकासँग आँफै कुरा गरेर, निरिक्षण गरेपछी मात्र विद्यालयलाई मान्यता दिएको विद्यालयका अध्यक्ष रन्जित आचार्यले बताए ।आचार्यले आफुहरु नामको मात्र ईन्टरनेशनल नभएर काममा पनि ईन्टरनेशनल बन्न सफल भएको बताए। नेपाल सरकारले चाहे आफुहरुले यस पाठ्यक्रम अन्य विद्यालयमा पनि लागु गर्न मद्त गर्ने जनाए । आईपिसी अन्तरराष्ट्रिय प्राथमिक तहको निकै नै चर्चित पाठ्यक्रम शैली हो । ९३ देशमा लागु भएको यो पाठ्यक्रम ३ देखी १२ बर्षको बालबालिकाको लागि बनाईएको एउटा विस्तृत, विषयगत, रचनात्मक पाठ्यक्रम हो । यस् पाठ्यक्रमले के पढाउने भन्दा पनि कसरी पढाउने बिषयलाई बढी जोड दिने गरेको छ । यसले २१ औं शताब्दिका सिकारु विद्यार्थीहरुलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा बढी केन्द्रित रहेको छ। पाठ्यक्रम चर्चित र फरक हुनुको कारण यस पाठ्यक्रले बालबालिकालाई शैक्षिक रुपमा मात्र कसरी बलियो बनाउने भन्दा पनि जीवनसँग जुध्न कसरी शक्षम बनाउने, उनिहरुलाई सफल कसरी बनाउने भन्ने कुरामा जोड दिन्छ ।यसलाई विद्यालयले नेपाल सरकारको राष्ट्रिय पाठ्यक्रमसँग जोडेर बनाएको छ । नेपाली पाठ्यक्रम एकदमै जटिल भएको र ज्ञानमा मात्र केन्द्रित भएको कारण आफुहरुले आईपिसीलाई त्यसैमा जोडेको स्कुलकी संचालिका दिप्ती आचार्यले बताईन् । यो पाठ्यक्रम विश्वोको ९३ देशमा लागु भएको पनि उनले जानकारी दिईन् । विद्यालयका अध्यक्ष रन्जित आचार्यले आफुहरु नामको मात्र ईन्टरनेशनल नभएर काममा पनि ईन्टरनेशनल बन्न सफल भएको बताए। नेपाल सरकारले चाहे आफुहरुले यस पाठ्यक्रम अन्य विद्यालयमा पनि लागु गर्न मद्त गर्ने जनाए । काठमाडौं महानगरपालिकाको वडा नं १५ का शिक्षा विभाग ईन्चार्ज आनन्द राम गौतमले बिहीवार एउटा कार्यक्रमको बिच विद्यालयलाई आईपिसी मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरेका थिए । गौतमले यो नेपालको लागि निकै नै गौरवको बिषय बताए र अन्य विद्यालयहरु पनि संस्कृति विद्यालयबाट केही सिक्नुपर्ने जोड दिए ।
नव आदर्श माविमा लक्ष्मी बैंक र लक्ष्मी केयर्सको सहयोग
काठमाडौँ । लक्ष्मी बैंकले काठमाडौं वसन्तपुरस्थित नव आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुको खानपानका २ लाख ४० हजार रुपैंयाको आर्थिक सहयोग गरेको छ । सामान्यतः आर्थिक रुपले विपन्न परिवारका करिब २०० जना विद्यार्थीहरु अध्ययनरत नव आदर्श माध्यमिक विद्यालय सरकारी सहयोगमा समुदायबाट सञ्चालित विद्यालय हो । न्युन पारिवारिक आयका कारण पोषणयुक्त आहारको कमी भई कतिपय बालबालिका कुपोषणको समेत शिकार हुन पुगेको कुरालाई मध्यनजर राख्दै बैंकले सो सहयोग प्रदान गरेको हो । साथै बैंकको कर्मचारीद्वारा सञ्चालित लक्ष्मी केयर्स नामक गैर सरकारी संस्थाको माध्यमबाट रु पचास हजार आर्थिक सहयोग पनि प्रदान गरियो । बैंकको न्युरोड बिजनेस सेन्टरको १२औं वार्षिकोत्सवका उपलक्ष्यमा बिजनेस सेन्टरमा कार्यरत कर्मचारीहरुबाट संकलित रु दस हजार रकम र विद्यार्थीका लागि २० थान विद्यालय पोशाक समेत सहयोगस्वरुप प्रदान गरिएको छ । विहीबार आयोजित एक कार्यक्रममा आर्थिक सहयोगको रकम र पोशाकहरु विद्यालय तथा विद्यार्थीलाई हस्तान्तरण गरिएको हो ।