नेपाल इन्जिनियरिङ कलेजमा पढ्न ५०० विद्यार्थीले दिए प्रवेश परीक्षा
काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुरमा इन्जिनियरिंग पढन चाहने विद्यार्थीको राम्राे चाप देखिएकाे छ । शनिबारको प्रवेश परीक्षामा उलेख्य विद्यार्थी सहभागी भएका थिए । कुल चार सय ८० विद्यार्थीका लागि भएको प्रवेश परीक्षामा पाँंच सय भन्दा वढी विद्यार्थी परीक्षार्थी रहेका थिए । नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले नेपालकै उत्कृष्ट इन्जिनियरिंगको पढाई हुने कलेज भएकाले आफूहरुको कलेजमा विद्यार्थीको आकर्षण रहने गरेको सुनाए । नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरको स्थापनाकालदेखि प्राध्यापनरत श्रेष्ठको अनुभबमा यसपछि प्लस टुको रिजल्ट आएसँंगै अहिले स्नातक तहको इन्जिनियरिंगमा भर्ना हुन चाहने विद्यार्थी अत्याधिक छन् । साइन्स पढेर प्लस टु पास गरेपछि वा तीन वर्षे डिप्लोमा तह पूरा गरेपछि स्नातक तहको इन्जिनियरिङमा भर्ना हुन पाइन्छ । स्नातक तहका इन्जिनियरिङ पनि विविध विधामा छन् । स्नातक तहको इन्जिनियरिङमा सिभिल, सिभिल एण्ड रुरल, आर्किटेक्चर, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, कम्प्युटर, इलेक्टोनिक्स एण्ड कम्युनिकेशनलगायतका विधामा भर्ना हुन सकिन्छ । यी कोर्षहरुमध्ये अधिकांश चारवर्षे छन् । कलेजमा सिभिलमा एक सय ४४, सिभिल एण्ड रुरलमा ४८, आर्किटेक्चरमा ४८, इलेक्टिकल एण्ड इलेक्टोनिक्समा ४८, कम्प्युटरमा ९६, र इलेक्टोनिक्स एण्ड कम्युनिकेशनमा ९६ गरी कुल चार सय ८० कोटा रहेका छन् । नेपाल इन्जिनियरिंग काउन्सिलले राखेको तथ्यांक अनुसार त्रिभुबन विश्वविद्यालयदेखि देशका विभिन्न विश्वविद्यालयहरुले इन्जिनियरिंग विषयको पठनपाठन गराइरहेका छन् । तथ्यांक अनुसार देशभर त्रिभुवन विश्वविद्यालय अन्तर्गत १४, पोखरा विश्वविद्यालय अन्तगर्त १४, काठमाडौं विश्वविद्यालय अन्तर्गत दुई, पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत १६ कलेजहरुमा इन्जिनियरिंगका पढाईहरु भइरहेका छन् । यस हिवासले देशभरबाट वार्षिक नौ हजार इन्जिनियरहरु उत्पादन हुने तथ्यांक छ ।
स्थानीय पाठ्यक्रम बनाउँदै भरतपुर महानगर
चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । शैक्षिक सत्र २०७७ देखि लागू गर्ने योजनाका साथ पाठ्यक्रम बनाउन लागिएको महानगरपालिकाको शिक्षा महाशाखाले जनाएको हाे । महाशाखाप्रमुख सीताराम कोइरालाका अनुसार आउँदो शैक्षिक सत्रदेखि कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रममा पढाइ शुरु गर्न स्थानीय आवश्यकता, विषयवस्तु, स्थानीय विज्ञको सुझाव र सहयोगमा पाठ्यपुस्तक तयार गर्न लागिएको जानकारी दिएकाे हाे । महानगराप्रमुख रेनु दाहालका अनुसार यस क्षेत्रको परिचय, समाज, स्थानीय, संस्कृति र कला, स्थानीय पर्यटन तथा व्यवसाय, पेशा र प्रविधि, स्थानीय जडीबुटी तथा उपचार विधि, स्थानीय खेल, विपद् व्यवस्थापन, शहरी विकास, वातावरण संरक्षण, सभ्य र स्वास्थ्य जीवनका कथा पाठ्यक्रममा समेटिनेछ । पाठ्यपुस्तक निर्माणका लागि लेखनाथ खनालको संयोजकत्वमा गत मङ्सिर १७ गते आठ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलका सदस्यसचिव रुद्र शर्माका अनुसार कार्यदलले आफ्नो अन्तिम प्रतिवेदन तयार गरी यही भदौ पहिलो सातामा नगर शिक्षा समितिमा पेश गरिने र महानगर कार्यपालिकाको बैठकले अनुमोदन गरेपछि पाठ्यक्रम लागू गरिनेछ । एकसय पूर्णाङ्कको पुस्तकको नाम ‘हाम्रो गौरव भरतपुर महानगर’ प्रस्ताव गरिएको छ । यसको टुङ्गो कार्यपालिकाको बैठकले लगाउँदैछ । । महानगरभित्रका १२३ सामुदायिक विद्यालय र ९७ संस्थागत विद्यालयमा पाठ्यक्रम लागू हुनेछ । साथै सामाजिक, शारीरिक र सृजनात्मक कला विषयमा २० पूर्णाङ्कको परीक्षासमेत लिनुपर्ने र त्यसको व्यवस्थापन शिक्षकले नै गर्नुपर्ने प्रस्ताव गरिएको हो । अहिले यहाँका विद्यालयले स्थानीय पाठ्यक्रमका रुपमा अङ्ग्रेजी, गणित र विज्ञान विषयलाई प्राथमिकता दिइँदै आएको छ । रासस
अब कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन गरिने
काठमाडौं । आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । समय परिस्थितिअनुसार प्रत्येक पाँच÷पाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नियमानुसार पाठ्यक्रम परिमार्जन गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले जानकारी दिएका छन् । नयाँ पाठ्यक्रम अनुसार अब कक्षा ११ र १२ मा थप दुई विषय पढ्नु पर्ने हुन्छ । उनका अनुसार जीवन उपयोगी सीप र सामाजिक अध्ययन ५०–५० पूर्णाङ्कको पढ्नु पर्ने हुन्छ । जीवन उपयोगी सीपले विद्यार्थीलाई व्यवसाय गर्नका लागि सिकाउँछ भने सामाजिक अध्ययनले नेपालको बारेमा विद्यार्थीलाई बुझ्न सहयोग मिल्दछ । नयाँ पाठ्यक्रमअनुसार नेपाली ५० र अङ्ग्रेजी भने १०० पूर्णाङ्कको हुनेछ । सूचना अधिकारीसमेत रहेका भट्टराईले कक्षा ९ र १० का विषयसँग पनि मिल्ने गरी पाठ्यक्रम परिमार्जन गर्न थालिएको जानकारी गराए । यसअघि विसं २०६४ मा पाठ्यक्रम परिमार्जन भएको थियो । उनका अनुसार ४० वटा विषयका परिमार्जन गरिसकेका छन भने ३७ वटा विषयको परिमार्जनको क्रममा रहेका छन् । ‘‘हामीले पहिले सबैभन्दा बढी विद्यार्थी हुने विषयको पाठ्यक्रम परिमार्जन गरिरहेका छौँ’’ उनले भने , ‘‘पछि कम विषय पढाइ हुने विषय परिमार्जन गर्ने छौं ।’’ कक्षा ११ र १२ मा १५६ वटा विषय रहेका छन् । यसअघि कक्षा ११ र १२ को विषयको परिमार्जन उच्च माध्यमिक शिक्षा परिषद्ले परिमार्जन गरेपनि कक्षा १२ सम्म माध्यमिक तह मानेकाले केन्द्रले पहिलो पटक पाठ्यक्रम परिमार्जन गरेको हो । कक्षा ९ र १० को भने केन्द्रले ऐच्छिक विषयको मात्र पाठ्यक्रम परिमार्जन गर्न थालेको थियो । कक्षा ९ का इतिहास, भूगोल, नागरिक शासन, अर्थशास्त्र, समाजशास्त्र, जनसङ्ख्या, वातावरण विज्ञान, कृषि, शिक्षा, कम्प्युटर, लेखापरीक्षण, फोटोग्राफी, स्वास्थ्य शारीरिक, ग्रामीण विकास विषयको परिमार्जन गर्न थालिएको केन्द्रका निर्देशक भट्टराईले बताए । अतिरिक्त गणितको भने पाठ्यक्रम परिमार्जन गरिसकेको छ । नयाँ पाठ्यक्रममा २५ अथवा ५० पूर्णाङ्क प्रयोगात्मक राखिएको छ । स्थानीय तहले स्थानीय परिवेशअनुसार एक वटा विषय अतिरिक्त पढाउन सक्नेछन् । स्थानीय तहले तयार पारेको पाठ्यक्रम विकास केन्द्रसँगको सहकार्यमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग स्वीकृत गराउनुपर्ने हुन्छ । रासस