कन्सल्टेन्सी खोली वैदेशिक रोजगारीमा पठाउनेतिर विभागको ध्यान

काठमाडौं । काठमाडौ जिल्ला सिनामंगल स्थित एलाइन्स इन्टरनेसनल एजुकेसन कन्सल्ट्यान्सीमा वैदेशिक रोजगार विभागले अनुगमन गरेको छ । पछिल्लो समय सामाजिक संजाल मार्फत युरोपका विभिन्न देशमा विभिन्न पदको लागी विज्ञापन गरी अन्तरवार्ता लिई अवैध वैदेशिक रोजगार सम्वन्धी कार्य गरिरहेको भन्ने उजुरीको आधारमा विभागवाट खटिगएको आकस्मिक टोलीले गौशला प्रहरीको सहयोगमा उक्त कन्सल्टेन्सीमा आकस्मिक अनुगमन गरेको थियो। अनुगमनको क्रममा उक्त कन्सल्टेन्सीवाट साइप्रस देशमा वैदेशिक रोजगारमा जानको लागि अवेदन दिएका व्यक्तिहरुको आवेदन फायल तथा व्यतिmहरुको राहदानीको स्क्यान कपी, कामदार भिषा र युरोपका विभिन्न मुलुकमा कामदार भिषामा पठाएका व्यक्तिहरुको विवरण समेत अनुगमन टोलीले फेला पारेको छ । टोलीले कन्सल्टेन्सीमा भेटिएका वैदेशिक रोजगार सम्वन्धी कागजात र कम्प्युटर सि.पि.यु जफत गरी ल्याएको छ भने संचालक सुजित कुमार श्रेष्ठलाई आवश्यक वयानको लागि विभागमा उपस्थित हुनको लागी पत्र थमौती गरेको छ । पछिल्ला दिनहरुमा शैक्षिक परामर्शदाताको रुपमा दर्ता भएर विभिन व्यक्तिहरसँग मोटो रकम लिई नियम विपरीत विभिन्न मुलुकमा वैदेशिक रोजगारको लागि पठाउने गरेको उजुरी विभागमा प्राप्त भैरहेको छ। यस सम्वन्धमा विभागले शिक्षा मन्त्रालयसँग आवश्यक समन्वय गरी अनुगमनको कार्यलाई तिव्रता दिने नीति लिएको जनाएको छ ।

एमबीएसको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जनालाई पक्राउ

जनकपुरधाम । एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जनालाई सोमबार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्रको उत्तर तयार गरिएको पानाको ‘फोटोकपी’ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका–१२ का २१ वर्षीय सोनुकुमार साह, वडा नं ४ का ३१ वर्षीय लीलाराज शिवमन्त्री, वडा नं १२ का २२ वर्षीय लालबाबु मण्डल, सोही वडाका २४ वर्षीय सुजीतकुमार मण्डल र सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका–७ का २० वर्षीय अविनाश महतो रहेका छन् । उनीहरूलाई लालबाबु मण्डलले सञ्चालन गरेको इमेज स्टुडियोमा प्रश्नपत्रको उत्तर तयार गरिएको पानाको फोटोकपी गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका विशेष प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ गरिएकाहरूमाथि सार्वजनिक शान्तिविरूद्धको मुद्दा शीर्षकमा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको बताइएको छ । रासस

कामना सेवाले विधार्थीलाई बाँड्यो स्कूल झोला

काठमाडौँ । कामना सेवा विकास बैंकले रुपन्देही जिल्ला वुटवल ६ स्थित तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कूल झोला बितरण गरेको छ । बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले स्कुल झोला वितरण गरेका हुन् । त्यस्तै सिद्धार्थनगर नगरपालिकामा सीसी क्यामेरा जडानका लागि उपभोक्ता समितिलाई भैरहवा शाखा कार्यालयका शाखा प्रवन्धक तुलसीप्रसाद आचार्यले रु. २५ हजारको चेक हस्तान्तरण गरे । यसैगरी बैंकले स्वर्णिम सुरक्षित बचत खाताका ग्राहकहरुलाई स्वास्थ्य बीमा गर्दै आएकोमा शाखा कार्यालय दमकका ग्राहक सारदा आङ्देम्बेलाई रु. ९,६०७/– र बेसिशहरका ग्राहक रन्जिता अधिकारीलाई रु. ६७,८१९/– स्वास्थ्य बीमा अन्तर्गतको रकम हस्तान्तरण गरेको जनाएको छ ।