काठमाडाैंका नयाँ स्कूल खाेल्न प्रतिबन्द, पुराना सबै स्कूलमा नेवारी भाषा अनिवार्य
काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै महानगरपालिकाले नयाँ विद्यालय सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको हो । विद्यार्थी सङख्याका आधारमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको कामपा शिक्षा विभागले जनाएको छ । हाल कमपामा ९१ सार्वजनिक र ६४३ संस्थागत विद्यालय सञ्चालनमा छन् । ती विद्यालयमा एक लाख ६५ हजार विद्यार्थीले अध्ययन गर्दै आएका छन् । यसमध्ये एक लाख ५८ हजार ९७१ जना संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् । कानूनी रूपमा नै विद्यालय सञ्चालन र व्यवस्थापनको जिम्मा स्थानीय तहले पाएसँगै कामपाले यस किसिमको व्यवस्था गरेको हो । कामपा शिक्षा विभाग प्रमुख निर्मला केसीका अनुसार नयाँ विद्यालय सञ्चालन गर्नुभन्दा पनि भएकालाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेकाले यस किसिमको कार्य अघि बढाइएको हो । महानगरमा ९१ सामुदायिक विद्यालयमा एक हजार ८३० शिक्षक कार्यरत छन् । यस्तै कामपाले विद्यालयका शिक्षक, कर्मचारी तथा अभिभावकलाई कुनै वैदेशिक भ्रमण, तालीम, सभा, अवलोकन भ्रमण, खेलकूद, मैत्रीपूर्ण भ्रमण वा स्वदेशमै शैक्षिक भ्रमण वा यस्तै कुनै कार्यमा लैजाँदा कामपा शिक्षा विभागको पूर्वस्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था गर्न लागेको छ । यसैगरी आगामी शैक्षिकसत्रदेखि नेपाल भाषा (नेवारी), दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापनलाई स्थानीय पाठ्यक्रमकाे रुपमा लागू गर्न लागेकाे उनले बताइन् । रासस
‘खल्ती’ र ‘लर्ड बुद्ध’बीच विद्यार्थीहरुलाई इन्टर्नशिप र रोजगारी प्रदान गर्ने सम्झौता
काठमाडौं । ‘खल्ती डिजिटल वालेट’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ले ई-बिजनेस र आईटी पढेका विद्यार्थीहरुलाई इन्टर्नशिप र रोजगारीको अवसर प्रदानगर्ने सम्बन्धि एक रणनीतिक साझेदारीको घोषणा गरेका छन् । खल्तीका तर्फबाट प्रबन्ध निर्देशक मनीष मोदी र लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका तर्फबाट अध्यक्ष पंकज जलानले काठमाडौंमा आयोजित एक विशेष समारोहबीच सम्झौतामा हस्ताक्षर गरे । सम्झौताअनुसार लर्ड बुद्ध एजुकेशन फाउन्डेशनमा अन्तिम वर्षमाअध्ययनरत तथा कलेजबाट उत्तीर्ण विद्यार्थीहरूले खल्तीमा इन्टर्नशिपका लागि आवेदनदिन सक्नेछन् । छोटो अवधिको इन्टर्र्निशप पूरा गरिसकेपछि उनीहरुलाई ‘खल्ती’मा पूर्णकालीन रोजगारी प्रदान गरिनेछ । मुख्यतः खल्तीले विद्यार्थीहरुको कक्षाको पढाईमा बाधा नपुग्ने गरी इन्टर्नशिपका लागि अनुकुल समय प्रदान गर्नेछ । साथै, कलेजसँग परामर्श गरेर परीक्षा तथा महत्वपूर्ण शैक्षिक प्रोजेक्टहरुको समयमा बिदाको पनि व्यवस्था गर्नेछ । त्यस्तै, मास्टर डिग्री पढ्न चाहने खल्तीमा कार्यरत कर्मचारीहरुलाई लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले विशेष छात्रवृत्ति प्रदान गर्ने भएको जनाएको छ । ‘खल्ती’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’बीचको यस प्रकारको सहकार्यले नेपालमा उद्योग र शैक्षिक संस्थाहरुबीच हुनुपर्ने पार्टनरशिपको उदाहरण स्थापित गर्ने र अन्य संस्थाहरुलाई पनि यस प्रकारको सहकार्य गर्न प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको छ ।
लाेक सेवा आयोगद्वारा प्रशासनसहित दुई तहकाे प्रविधि परीक्षण मिति सार्वजनिक
काठमाडाैं । लाेक सेवा आयोगले प्रशासन, सामान्य प्रशासन र लेखाको सूचना प्रविधि परीक्षणको मिति सार्वजनिक गरेकाे छ । आयोगले बुधबार तीन तहकाे प्रविधि परिक्षण मिति सार्वजनिक गरेकाे गर्दै लिखित र माैखिक परिक्षाकाे नतिजा सार्वजनिक गरेकाे हाे । लाेक सेवा आयोगले प्रशासन, सामान्य प्रशासन र लेखा सम्बन्धि परीक्षाकाे सूचना प्रविधि सीप परीक्षण कार्यक्रम मंसिरमा हुने भएको छ, भने लिखित परीक्षा गत भदाै ६,७ र ८ गते परीक्षा लिएकाे थियाे । गत कार्तिक ६, ७, ८ गते चार वटा लोक सेवा कार्यालयबाट जम्मा १३ सय ६२ जनाले परीक्षा दिएका थिए । जसमा पद संख्या ३ सय १७ वटा रहेको थियो । प्रशासन, सामान्य प्रशासन र लेखा सम्बन्धि परीक्षामा लोक सेवा कार्यालय सुर्खेतबाट सबैभन्दा बढी ८ सय ७ जनाले परीक्षा दिएका थिए जस अन्तर्गत खुल्लामा ९४, महिलामा २८, आदीवासी जनजातिमा ३ पद संख्या रहेको छ । अन्तर्वार्ताको छनौट भएको संख्या खुल्लामा सबैभन्दा बढी १३५, महिलामा ५० र आदीवासी जनजातिमा १८ जना रहेका छन् । लोक सेवा आयोग, जुम्लाबाट सबैभन्दा कम संख्या खुला तर्फ २५ महिला १ जनाको माग रहेको उक्त क्षेत्रमा ६० जना लिखित परीक्षा अन्तरवार्ताका लागि ९ जना छनौट भएका छन् । लोक सेवा आयोग, दिपायलमा खुलामा ६३ महिलामा ४ जनाको माग रहेको सो पदमा एक सय ५१ जनाले परीक्षा दिएका थिए, अन्तर्वार्तामा खुला तर्फबाट ६४ र महिलाबाट ७ जना छनोट भएसँग लोक सेवा कार्यालय महेन्द्रनगरबाट दुई सय ६८ जनाले परीक्षा दिएका थिए जसमा ७४ जनाको माग रहको थियो । भने अन्तर्वातामा ५६ जना छानिएका छन् । जिल्ला कार्यालय खोटाङका दुई सय २७ जनाले परीक्षा दिएको सो पदमा खुला तर्फ ७६ र महिला तर्फ २२, आदीबासी जनजातिमा १ जना पद संख्या रहेको थियो भने अन्तर्वार्ता खुलामा ११०, महिला १७, आदीवासी २७ छनोट भएका छन् ।