त्रिविको कामु उपकुलपतिमा सुधा त्रिपाठी, अन्य ३ विश्वविद्यालयका पनि तोकिए
काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय विश्वविद्यालयको कायममुकायम उपकुलपति नियुक्त गरेको छ। त्रिभुवन विश्वविद्यालयसँगै सरकारले नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयमा कामु उपकुलपति नियुक्त गरेको हो। बिहीबार बसेको कुलपति एवम् प्रधानमन्त्री, सहकुलपति एवम् शिक्षामन्त्रीसहितको बैठकले सम्बन्धित विश्वविद्यालयको पदाधिकारीमध्येबाट कामु उपकुलपति नियुक्त गरेको हो। त्रिभुवन विश्वविद्यालयको कामु उपकुलपतिमा रेक्टर सुधा त्रिपाठी नियुक्त भएकी छिन्। यस्तै संस्कृत विश्वविद्यालयको कामु उपकुलपतिमा रेक्टर रमेश ढकाल, पूर्वाञ्चलको कामु उपकुलपतिमा सिनियर डिन विजुकुमार थपलिया र कृषि तथा वन विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा सिनियर डिन शारदा थपलिया नियुक्त भएका छन्।
वार्षिक दुई लाख कमाउने जिल्लाकै नमूना विद्यालय….
जुम्ला । जिल्लाको तिलागुफा नगरपालिका–३ फोइमहादेवको महादेव माध्यमिक विद्यालय जिल्लाको नमूना विद्यालयका रुपमा परिचित छ । विद्यालयको आफ्नै स्याउ बगैँचा, प्रशस्त जग्गा रहेको प्राविधिक शिक्षा पढाई हुने महादेव माध्यमिक विद्यालय जिल्लाकै नमूना विद्यालय हो । कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य तथा शिक्षा सङ्काय र सिटिइभिटीको १८ महिने कृषि जेटिए र तीनवर्षे प्लान्ट साइन्स अध्यापन गराउँदै आएको महादेव माध्यमिक विद्यालय जिल्लाको नमूना तथा आर्थिक हिसाबले पनि सवल विद्यालयका रुपमा परिचित रहेको छ । विद्यालयमा २० जनाका शिक्षक कर्मचारीको दरबन्दी भए पनि विद्यालयमा ३५ जना शिक्षक तथा कर्मचारी रहेको विद्यालयका प्रधानाध्यापक नरदीप शाहीले बताएका छन् । “विद्यालयमा ३५ जना शिक्षक तथा कर्मचारी रहेका छन्”, उनले भने, “१५ जना शिक्षक तथा कर्मचारीलाई निजी स्रोतबाट व्यवस्था गरेका छौँ ।” विद्यालय स्याउ, घाँस बेच्छ विद्यालयको करिब तीन हेक्टर जमिनमा स्याउको बगैँचा बनाइएको छ । स्याउ र घाँस बेचेर वार्षिक एक लाखसम्म आम्दानी विद्यालय गर्ने गरेको छ । विद्यालयमा स्याउ बगैँचा र स्याउबाट जाम बनाउने गरिएको र वर्षेनी घाँस बेचेर थप ४०÷४५ हजार आम्दानी गरेको शिक्षक नवीन हमालले बताए । “हामीले स्याउ तथा घाँस बेचेर पैसा कमाउने गरेको छ”, उनले भने, “ बगैँचाको हेरचाह विद्यालयका शिक्षक र विद्यार्थीबाट हुने गरेको छ ।” विद्यालयका नाममा रहेको खेतीयोग्य जमिन भाडा स्थानीयलाई दिएको र स्थानीयले त्यो जमिनमा आलु र खाद्यबाली उत्पादन गर्ने गरेको शिक्षक हमाल बताउँछन् । प्राविधिक क्षेत्रमा विद्यार्थीको आकर्षण महादेव माध्यमिक विद्यालयमा कृषि प्राविधिकतर्फको १८ महिने कार्यक्रममा दैलेख, कालिकोट, जुम्ला, हुम्ला, डोल्पाका विद्यार्थीले शिक्षा लिइरहेका र तीनवर्षे कृषि जेटिएमा जुम्ला र कालिकोटका विद्यार्थी बढी रहेको प्रधानाध्यापक नरदीप शाहीले जानकारी दिए । “हिमाली जिल्लाका विद्यार्थीको प्राविधिक शिक्षामा निकै आक्रर्षण रहेको छ”, उनले भने, “यी जिल्लाबाहेक केही विद्यार्थी हुम्ला र मुगुबाट प्राविधिक शिक्षामा पढ्न आएका छन् ।” यसरी, विद्यालयमा प्राविधिक शिक्षा पढ्न आउनेलाई विद्यालयको आफ्नै होस्टेलमा राख्ने गरिएको छ । विद्यालयमा पढ्न आउनका लागि होस्टेल निःशुल्क व्यवस्था गरिएको छात्रवृत्ति दिएर १८ महिने जेटिए पढिरहेकी जुम्ला तिला गाउँपालिका पोख्रीकी सरिताकुमारी रोकाया भन्छिन् । “होस्टेल घरजस्तो छ । शिक्षक अभिभावक जस्ता”, उनले भनिन्, “होस्टेलमा निःशुल्क बस्ने व्यवस्था छ ।” प्रधानाध्यापक नरदीप शाही विद्यार्थीसँगै विद्यालयमा होस्टेलमा बस्ने गरेका छन् । उनी विद्यालयमा २४ घण्टा भेटिने गर्छन् । काम विशेषले बाहिर गएमात्र नत्र भने हेडसर २४ घण्टा विद्यालयमा भेटिने गरेको तिलागुफा नगरपालिका–३ का वडाध्यक्ष सूर्यबहादुर शाहीले बताए । हेड सरकै मेहनतले विद्यालय राम्रो हुन सकेको वडाध्यक्ष शाही बताउँछन् । “विद्यालयमा यो अवस्था आउनुमा हेडसरको प्रमुख भूमिका छ”, उनले भने, “उनकै कारणले यो विद्यालयको मुहार फेरिएको छ ।” रासस
सिटिभिटीमा ५ बिषयको नयाँ शुल्क तोकियो, नर्सिङ पढ्न ४ लाख ७५ हजार
काठमाडौं प्राविधिक शिक्षा तथा तालिमा परिषद (सिटिभिटी) ले नर्सिङको डिप्लोमा/प्रमाणपत्र तहको शुल्क तोकेको छ। सिटिभिटिले नर्सिङको शुल्क ४ लाख ७५ हजर तोकेको हो। बुधबार सुचना निकाल्दै सिटिभिटीले डिप्लोमा/प्रमाणपत्र तह तथा प्राविधिक एसएलसी तहका अन्य ४ बिषयको शुल्क तोकेको हो। सिटिइभिटीले प्रवीणता प्रमाणपत्र तह अन्तर्गत सामान्य चिकित्सा तर्फ ४ लाख ४ हजार, डिप्लोमा इन फार्मेसीमा ३ लाख ३७ हजार ८ सय, सिएमएलाई एक लाख र अनमीलाई १ लाख २० हजार शुल्क तोकेको छ। उक्त शुल्कमा खाना र बस्ने शुल्क भने समावेश नभएको सिटिइभिटीले जनाएको छ। तोकिएको शुल्क विद्यार्थीले ३ किस्तामा तिरिसक्नु पर्नेछ। विद्यार्थीले पहिलो किस्तामा ४० प्रतिशत, दोस्रोमा ३० प्रतिशत र तेस्रोमा पनि ३० प्रतिशत गरेर शुल्क बुझाउनु पर्नेछ। यस्तै सिटिभिटिले तोकिएको शुल्कमा खान र बस्ने शुल्क भने समावेश नभएको बताएको छ। यस्तै विद्यार्थीहरुले आर्थिक कारोबार गर्दा अनिवार्य बैंक मार्फत गर्नुपर्ने सिटिभिटीले जनाएको छ।