भदौ २२ गते ‘अल्फा बिटा यूएस क्यानडा एजुकेसन फेयर’ हुँदै
काठमाडौं। यस वर्षको ‘अल्फा बिटा युएस क्यानडा एजुकेसन फेयर’ २२ भदौमा हुने भएको छ। यूएस तथा क्यानडाका विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागितामा आगामी आइतबार अल्फाबिटा कम्प्लेक्स बानेश्वरमा फेयर हुने भएको हो। फेयर बिहान १० बजेदेखि सुरु हुनेछ । विद्यार्थी तथा अभिभावकले एउटै छाना मुनि यूएस र क्यानडाका प्रतिष्ठित विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुसंग अन्तरक्रिया तथा परामर्श गरी सहि सुचना प्रदान गर्ने उदेस्यले फेयर आयोजना गरेको कार्यकारी अध्यक्ष द्धिराज शर्माले बताए । युएस तथा क्यानडामा उच्च शिक्षा लिन चाहनेहरुले कोर्ष, शुल्क, बसाईलगाएतका विषयमा जानकारी प्राप्त गर्न सक्नेछन् । विदेश अध्ययानमा जान चाहने विद्यार्थीको संख्या प्रत्येक वर्ष बढिरहेको तथा यूएस र क्यानडामा समेत आकर्षण बढिरहेकाले ती देशमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि फेयरमा सहभागिता जनाएर सत्य, निष्पक्ष सुचना विश्वविद्यालयका आधिकारिक प्रतिनिधिबाट प्राप्त गर्ने अवसर रहेको उनले बताए । अल्फा बिटाले फेयरमा सहभागि हुने विद्यार्थीलाई बिभिन्न अफर समेत राखेको छ। मेलामा २० स्टल रहनेछन् । फेयरमा सहभागि विद्यार्थीलाई तयारी कक्षामा ५० प्रतिशत छुट आईतबारको मेलामा उपस्थित हुने विद्यार्थीलाई अल्फा बिटाले तयारी कक्षा लगाएतमा धेरै अफरको ब्यवस्था गरेको छ । फेयरमा सहभागि हुने विद्यार्थीले आईइएलटिएस, टोफल र पिटिईको तयारी कक्षामा ५० प्रतिशत छुट पाउने व्यवस्था गरेको छ । फेयरमा सहभागिले ‘प्रोसेसिङ’ शुल्कमा पनि भारी छुट पाउने व्यवस्था गरेको शर्माले बताए ।
चौथो युवा वैज्ञानिक सम्मेलन २०१९ सम्पन्न
काठमाडौं। नेपाल पोलिमर इन्स्टिच्युटको आयोजना र युनिग्लोब कलेजको संयोजकतामा चौथो युवा वैज्ञानिक सम्मेलन २०१९ सम्पन्न भएको छ । दुई दिनसम्म चलेको सम्मेलनमा नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट) र रिसर्च सेन्टर फर अप्लाइड साइन्स एन्ड टेक्नोलोजी (रिकास्ट)ले सहकार्य गरेका थिए । कक्षा ७ देखि कक्षा १२ सम्म अध्ययनरत विधार्थीलाई लक्षित गरी आयोजना गरिएको सो कार्यक्रममा देशभरका विभिन्न ३० वटा विद्यालयबाट विद्यार्थीहरुले सहभागिता जनाएका थिए । गतिशील आजको विश्वमा विज्ञान र प्रविधिको भूमिका सबैभन्दा महत्त्वपूर्ण रहन्छ र विज्ञान-प्रविधि बिना आज विश्व निरर्थक छ । विज्ञानको यिनै मूलभूत महत्त्व र आवश्यकतालाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको हो । पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पोलिमर इन्स्टिच्युटका चेयरपर्सन डा. राजेश पण्डित, नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेल, रिकास्टका तर्फबाट डा. रामेश्वर अधिकारी, यूनिग्लोब कलेजका प्रिन्सिपल डा. करण सिङ ठगुन्नालगायतका व्यक्तित्व साथै सहभागी विद्यालयको प्रतिनिधित्व गर्ने विद्यार्थी र शिक्षक शिक्षिकाको उल्लेख्य सहभागिता थियो । विद्यार्थीहरुले प्रतिस्पर्धा र प्रदर्शनिका लागि ल्याएका आ–आफ्ना विभिन्न खाले वैज्ञानिक सामाग्रीहरु सम्मेलनमा प्रदर्शन गरेका थिए । उनिहरुले समारोहका बीच आफ्नो प्रोजेक्टको प्रस्तुती पनि गरेका थिए। सम्मेलनको दोश्रो दिन विद्यार्थीहरुले देखाएको प्रस्तुतीहरुको मूल्यांकन आधारमा विभिन्न विधामा उत्कृष्ट ठहरिएका विद्यार्थीलाई मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रमको समापन सत्रमा नास्टका प्रवक्ता डा. सुरेश ढुंगेललगे यस्ता प्रयोगात्मक गतिविधि विद्यार्थीका लागि निकै आवश्यकीय रहेको र सबैले यसमा ध्यान दिनु जरुरी रहेको बताए।
तालाबन्दीका कारण विश्वविद्यालयको परीक्षा अन्योलमा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको चिकित्सा अध्ययन संस्थानमा तालाबन्दीका कारण चिकित्साशास्त्रअन्तर्गत स्नातक तहका प्रवेश परीक्षा अन्योलमा परेको छ । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानले यही भदौ २१ र २३ गतेका लागि एमबिबिएस तहको प्रवेश परीक्षा निर्धारण गरेकामा करिब १९ हजार छात्रछात्रा सहभागी हुने भएका थिए । ती दुबै विश्व विद्यालयका परीक्षा सञ्चालन शाखामा स्वतन्त्र विद्यार्थी युनियनसहितको सहभागितामा गठित सङ्घर्ष समितिले चिकित्सा शिक्षामा ७५ प्रतिशतसम्म छात्रवृत्ति माग गर्दै यही भदौ १५ गतेदेखि तालाबन्दी जारी राखेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विषयमा आज त्रिवि र केयुका पदाधिकारीसँग छलफल शुरु गरेको र वार्ताबाट समस्याको समाधान खोज्न पहल भइरहेको शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले जानकारी दिएका छन् । त्रिविको उक्त डीन कार्यालय र काठमाडौँ विश्वविद्यालयको विभिन्न शाखामा गरिएको तालाबन्दी खुलाउन मन्त्री पोखरेलले यस अघि पनि सम्बन्धित पदाधिकारीलाई निर्देशन दिएकोमा वार्ताले सकारात्मक रूप नलिएपछि उनले थप पहल गरेका हुन् । मन्त्री पोखरेलले विद्यार्थीका जायज माग पूरा गरेर समयमै प्रवेश परीक्षा सञ्चालनको वातावरण बनाउन निर्देशन दिएका थिए । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीहरुले सुविधा पाउनुपर्ने माग गरे पनि राष्ट्रिय चिकित्सा शिक्षा आयोग गठन नभइसकेकाले छात्रवृत्तिको कोटा निर्धारणमा समस्या परेको छ । उक्त ऐन २०७५ फागुन १० मा राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । ऐनले चिकित्सक डा. गोविन्द केसीसँग विगतमा भएका अधिकांश माग पनि सम्बोधन गरेको छ । शिक्षामन्त्री अध्यक्ष रहने उक्त आयोगमा उपाध्यक्ष नियुक्तिको प्रक्रिया शुरु भएको छ । मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले आयोगले पूर्णता पाएपछि छात्रवृत्तिको विधि र मापदण्ड बनाएर कार्यान्वयनमा ल्याइने बताएका छन् । उनले भने, “स्रोत (बजेट) का हिसाबले समस्या छैन । आयोगले पूर्णता पाएपछि व्यवस्थित गरिनेछ ।” मन्त्रिपरिषद्को २०७५ असोज २६ गतेको बैठकले शैक्षिक वर्ष २०७५÷०७६ मा एमबिबिएस र बिडिएसका लागि शुल्क वृद्धि नगर्ने निर्णय गरेकामा चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह एमबिबिएसका लागि उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार एवं बिडिएसतर्फ रु १९ लाख ३२ हजार ६१२ कायम गर्ने र शैक्षिक वर्ष २०७६÷०७७ का लागि मात्र राष्ट्र बैँकद्वारा प्रकाशित मुद्रास्फिति दरका आधारमा शुल्क समायोजन गरिने जनाएको थियो । सो निर्णय विपरीत कुनै पनि कलेजले विद्यार्थीसँग बढी शुल्क लिएमा विद्यार्थी वा अभिभावकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए सम्बन्धित विश्वविद्यालय र प्रतिष्ठानमा सोको जानकारी गराउनाका साथै प्रचलित कानुनबमोजिम छानबिन गरी कारबाही गर्ने निर्णयसमेत भइसकेको छ । त्रिवि डीन कार्यालयका प्रशासन प्रमुख वैकुण्ठप्रसाद थपलियाले स्ववियुसँग एक चरण वार्ता भएपनि मुख्य मागहरु नेपाल सरकार र बजेट विनियोजनसँग जोडिएकाले सहमति नभएको बताएका छन् । डीन कार्यालयका तर्फबाट डा. दिनेश काफ्लेले वार्ताको नेतृत्व गरेका थिए । सङ्घर्ष समितिले यही शैक्षिक सत्रदेखि ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था लागू हुनुपर्ने, छात्रवृत्तिका विद्यार्थीसँग कुनै पनि रकम लिन नपाइने, शैक्षिक सत्रको भर्ना शुल्क, शीर्षक र तथ्य स्पष्ट हुनुपर्ने, बढी शुल्क लिएका मेडिकल कलेजले एक महिनाभित्र शुल्क फिर्ता दिनुपर्ने, स्नातकोत्तर तहमा विद्यार्थीको सिट सङ्ख्या निर्धारण गर्नुपर्ने, अनलाइन काउन्सिलिङबाट पनि भर्नाको प्रबन्ध हुनुपर्नेलगायत आठ बुँदे माग अघि सारेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुका संयोजक ऐन महरले स्ववियु र सङ्घर्ष समितिले लगाएको ताला वार्ताका माध्यमबाट खुलाउन आफूहरुले पनि पहल गरिरहेको जानकारी दिएका छन् । त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले कुनै पनि समस्याको समाधान वार्ता, संवाद र छलफल हुने भएकाले डीन कार्यालयले तत्कालै वार्ता समिति गठन गरिसकेकोे र ताला खुलाइ प्रवेश परीक्षा सञ्चालन गर्ने वातावरण सिर्जनाका लागि पहल भइरहेको बताए । रासस