भक्तपुरको वढी कर तिर्ने करदातामा नेपाल इन्जिनियरिङ कलेज

काठमाडौं । भक्तपुर कर कार्यालयले पेश गरेको विवरण अनुसार भक्तपुरबाट सबै भन्दा बढी कर तिर्ने संस्था नेपाल इन्जिनियरिङ कलेज (नेक) रहेको छ । आर्थिक वर्ष २०७४।०७५ मा सवैभन्दा वढी कर तिरेबापत नेकलाई शुक्रबार सम्मान गरिएको छ । जिल्ला प्रसाशन कार्यालय भक्तपुरमा भाद्र ४, २०६० मा संस्था दर्ता ऐन २०३४ बमोजिम सामाजिक संस्थाको रुपमा दर्ता नं. ५५२ कायम गरि दर्ता भएको यस नेपाल इन्जिनियरिङ कलेजले भक्तपुरका प्राईभेट कम्पनीहरु भन्दा पनि बढी कर तिरेको छ । उक्त वर्षमा उसले जिल्लामै सवैभन्दा वढी चार करोड दुई लाख भन्दा वढी कर तिरेको जनाएको छ । आन्तरिक राजश्व कार्यालय जगाती भक्तपुर प्रमुख कर अधिकृत सूर्यप्रसाद पोखरेलले कलेजका वोर्ड सदस्य शशिल भटराईलाई सम्मान गरे । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति, सम्मानित कलेजका वोर्ड सदस्य भटराईलगायतले बोलेका थिए । निस्वार्थ भावनाले २०५१ देखि सबै नेपालिलाई सर्वोकृष्ट उच्च शिक्षा प्रदान गर्ने मनसायबाट स्थापित यस कलेजमा २०७४ को श्रावण देखि सञ्चालकहरु बिच सामाजिक संस्थालाई निजिकरण गर्ने कि नगर्ने भन्ने बारे भिन्न अवधारणा श्रृजना भई कलेज समस्यामा परेको छ । स्वर्गिय संस्थापक अध्यक्ष प्रा. डा. श्री दीपक प्रसाद भट्टराई ज्यूको सामाजिक संस्थानै भएतापनि देशलाई शिक्षाबाट मात्र नभई करबाट समेत नेपाल र नेपालीलाई ठुलो योगदान दिन सकिन्छ । परोपकारी भावनाको कदर अनुरुप बिगत २५ वर्ष देखि सामाजिक संस्थाको रुपमा सञ्चालित यस नेपाल इन्जिनियरिङ कलेजले समाज कल्याण परिषद्बाट कर मिनाहको स्विकृतीको लागि पहल गरेको छैन ।निजिकरण गर्न ईच्छुक सञ्चालकहरुले सञ्चालन गर्दा यस कलेजले आ.व. २०७२/७३ मा कुल आय २४ करोड ५२ लाख रूपैयाँमात्र देखाएको छ भने कुल बचत १४ लाख रूपैयाँमात्र देखाएई भक्तपुर कर कार्यालयलाई कुल १९ लाख रूपैयाँमात्र कर तिरेको छ । निजिकरणबिरुद्ध लागेको नयाँ सञ्चालक समितिले २०७४ देखि कलेज सञ्चालन गरि आर्थिक २०७३/७४ मा कुल आय ६० करोड ८१ लाख रुपैयाँ(जसमा आर्थिक २०७२/७३ सम्म पुरानो व्यवस्थापनले कर छली गर्ने मनसायबाट थप २० करोड रुपैयाँ विभिन्न शिर्षकमा लुकाईएको समेत आयमा जोडिएको) र बचत ३४ करोड ७८ लाख रुपैयाँ तथा आर्थिक २०७४/७५ मा कुल आय ४० करोड ५४ लाख रुपैयाँ र बचत ११ करोड ३४ लाख रुपैयाँ भनि कर कार्यालयमा पेश गरेको छ । आर्थिक वर्ष २०७४/७५ को लेखा परिक्षको प्रतिवेदन अनुसारनै यस सामाजिक संस्थाले ४ करोड रुपैयाँ भन्दा बढी कर तिरी भक्तपुरकै सबै भन्दा ठुलो करदाता हुन पुगेको छ ।

धमाधम गाभिँदै सामुदायिक र संस्थागत विद्यालय

बेझाड । पाल्पा जिल्लाका सामुदायिक र संस्थागत विद्यालय धमाधम गाभिन थालेका छन् । विद्यार्थी सङ्ख्या न्यून भएका तथा संस्थागत र सामुदायिक विद्यालयबीच हुने विभेद् हटाउनका लागि विद्यालय गाभिएका हुन् । अहिलेसम्म २० वटा विद्यालय गाभिएको शिक्षा समन्वय तथा कार्यान्वयन एकाइले जनाएको छ । एकाइ प्रमुख रमेशराज पौडेलका अनुसार शैक्षिक सत्र २०७५ मा एक र २०७६ मा आठ गरी नौ विद्यालय गाभिएका थिए । विसं २०७५ भन्दा अगाडि पनि ११ विद्यालय गाभिएको पौडेलले बताए । उनका अनुसार जिल्लाको पूर्वखोला गाउँपालिकामा पाँच संस्थागत, बगनासकाली गाउँपालिकामा एक/एक सामुदायिक र संस्थागत, तिनाउ गाउँपालिकामा एक सामुदायिक, रम्भा गाउँपालिकामा एक सामुदायिक विद्यालय गाभिएका छन् । तिनाउ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालयलाई यसैवर्ष असोजमा कल्याणी आधारभूत विद्यालयमा गाभिएको छ । यहाँ एक शिक्षकको भरमा विद्यालय सञ्चालन भइरहेको थियो । यस आर्थिक वर्षमा भर्ना भएका विद्यार्थी सङ्ख्या जम्मा छ जना थिए ।उनीहरुलाई एउटै कोठामा राखेर शिक्षण गरिन्थ्यो । यिनीहरु पनि महिना भरीमा बढीमा १० दिन मात्र विद्यालय आउने जाने गरेको पाइएपछि विद्यालय गाभिएको हो । यस शैक्षिक सत्रमा छ जना भर्ना भएका विद्यार्थीमध्ये चार जना एकै परिवारका र बाँकी दुई जना अन्य दुई परिवारका छन् । यिनीहरु सबैलाई बस्ती तल रहेको कल्याणी आधारभूत विद्यालयमा आउन जानको लागि गाउँपालिकाले यातायात खर्चको व्यवस्था गरेको छ । यसै शैक्षिक सत्रको जेठमा बगनासकाली गाउँपालिकामा रहेको नवदुर्गा प्रावि गुडुवाखोला भवानी प्राविमा गाभियो । जीवन ज्योति बोर्डिङ स्कुल चिर्तुङ्गधारा विष्णु मावि पोखराथोकमा गाभिएर पठनपाठन हुँदै आएको छ । जीवन ज्योति बोर्डिङमा १५ विद्यार्थी अध्ययनरत थिए । विद्यार्थी सङ्ख्या कम हुन थालेपछि सामुदायिक विद्यालयमा गाभिएको हो । रम्भा गाउँपालिका–२ फोक्सिङ्गकोटमा रहेको सिद्ध प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या एक जना मात्र रहेपछि भवानी प्राविमा गाभियो । यो विद्यालय अघिल्लो शैक्षिक सत्र २०७५ को असारमा गाभिएको हो । पूर्वखोला गाउँपालिकामा सञ्चालित पाँच संस्थागत विद्यालय सामुदायिकमा गाभिन पुगेका छन् । गाउँपालिकामा सञ्चालन हुँदै आएका पाँच संस्थागत विद्यालय यसै शैक्षिक सत्रदेखि गाउँपालिकाका सामुदायिक विद्यालयमा गाभिएका हुन् । पूर्वखोला बोर्डिङ स्कुल उद्बुद्ध मावि रिङ्नेरह, जोनन इङ्गलिस बोर्डिङ स्कुल गणपति मावि बीरकोट, सरस्वती बोर्डिङ स्कुल सरस्वती मावि जल्पा, माउन्ट भ्यू बोर्डिङ स्कुल शम्भु मावि जल्पा र चिराग बोर्डिङ स्कुल मातृभूमि मावि देविनगरमा गाभिएको छ । गाउँपालिकाले गतवर्ष गाउँ शिक्षा सुधार कार्यदल र प्राविधिक कार्यदल बनाएर सरकारी र संस्थागत विद्यालयको अनुगमन गरी प्रतिवेदन तयार पारेर विद्यालय गाभेको हो । गाउँपालिकाभित्र एकै प्रकारको शिक्षा प्रदान गर्ने उद्देश्यले संस्थागतलाई सामुदायिकमा गाभेपछि यहाँका अभिभावक र विद्यार्थीलाई पनि नयाँ शैक्षिक सत्र शुरु भएपछि कुन विद्यालयमा भर्ना हुने भन्नेमा अन्योलता हटेको छ । संस्थागत र सामुदायिक विद्यालयको सहमतिमा विद्यालय गाभेर सबै समुदायका बालबालिकालाई एकै प्रकारको शिक्षा दिलाउन समायोजन गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए । यहाँ शैक्षिक एकरुपता र गुणस्तरीयताको वृद्धिका लागि सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन शुरु गरिएको छ । गाउँपालिकामा ३७ सामुदायिक र पाँच संस्थागत विद्यालय अघिल्लो शैक्षिक सत्रमा सञ्चालनमा थिए । यस शैक्षिक सत्रमा पाँच सामुदायिकमा गाभिएपछि यहाँ विद्यालयको सङ्ख्या ३७ पुगेको छ । पाल्पा जिल्लामा हाल सामुदायिक र संस्थागत गरी ४९१ विद्यालय सञ्चालनमा आएका छन् । यीमध्ये विद्यार्थी सङ्ख्या अत्यन्त न्यून भएका १०० विद्यालय गाभिने अवस्थामा छन् । रासस

काभ्रे बहुमुखी क्याम्पसद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

बनेपा । काभ्रे बहुमुखी क्याम्पस बनेपा बुडोलले धनेश्वर महादेव प्राथमिक विद्यालय पनौती नगरपालिका–५ धनेश्वरलाई बुधबार ६ थान कम्प्युटर हस्तान्तरण गरेको छ । आर्थिक अभावकाबीच सञ्चालन भइरहेको विद्यालयलाई शिक्षण सिकाइमा सहयोग पुर्याउने उद्देश्यले क्याम्पस प्रमुख केजी बैदारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिरुद्र थापालाई ६ थान कम्प्युटर हस्तान्तरण गरेका हुन् । सो विद्यालयले यसअघि कम्प्युटर अभावमा विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्रै दिँदै आइरहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले कम्प्युटर प्राप्त गरेपछि विद्यार्थीमा प्रयोगात्मक र व्यवहारिक ज्ञान वृद्धिमा सहयोग पुग्ने बताए । “हामीले कक्षा २ का विद्यार्थीहरुलाई आर्थिक अभावकै बीचमा कम्प्युटर नभएर सैद्धान्तिक ज्ञान मात्रै दिँदै आएका थियौँ”, थापाले भने, “काभ्रे बहुमुखी क्याम्पसले हाम्रो समस्यालाई अध्यनजर गरेर छ थान कम्प्युटर दिएको छ, अब यसले विद्यार्थीको सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान प्राप्त गर्नमा ठूलो सहयोग पुग्नेछ ।” विसं २०३८ मा स्थापना भएको सो विद्यालय २०७२ को भूकम्पपछि बन्द भएको र स्थानीयवासीको सक्रियतामा २०७६ वैशाखबाट पुनःसञ्चालनमा ल्याएर अहिले कक्षा नर्सरीदेखि २ कक्षासम्म सञ्चालन भइरहेको छ । आगामी शैक्षिक सत्रबाट कक्षा ५ सम्म सञ्चालन गर्ने योजनाका साथ व्यवस्थापन समितिले नयाँ भवन निर्माणका साथै नयाँ कक्षा कोठाको लागि काम शुरु गरेको व्यवस्थापन समितिका अध्यक्ष थापाले बताए । सो विद्यालयलाई अहिले नगरपालिकाबाट एकजना दरबन्दी व्यवस्था गरिदिएको छ भने तीन जना निजी स्रोतमा गरी चार जना शिक्षकले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्दै आइरहेको छ । विद्यालयमा ४० जना विद्यार्थी अध्ययन गरिरहेका छन् । रासस