नबिल बैंक र एडुकेशन कन्सलटेन्सीबीच बैंकिङ्ग सेवासम्बन्धी सम्झौता
काठमाडौं । नबिल बैंक तथा एडुकेशन कन्सलटेन्सी एसोशिएसन अफ नेपाल (इसिएएन) बीच विशिष्ट बैंकिङ्ग सेवा प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा यही २२ गते एक विशेष समारोह बीच हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले गरेका हुन् । यस सहमति पश्चात नबिल बैंकले इसिएएनसँग आवद्घ सदस्य संस्थाहरु, तीनका कर्मचारीहरु एवं विद्यार्थीहरुका लागि आधिकारीक बैंकको रुपमा सेवा प्रदान गर्नेछ । सम्झौता अन्तर्गत बैंकले इसिएएन सदस्य संस्थाहरु तथा विद्यार्थीहरुलाई प्राथमिकताका साथ न्यूनतम शुल्कमा शैक्षिक कर्जा लगायत विप्रेशणका सुविधा, कार्ड सुविधाहरु, कर्मचारी खाता, अनलाईन भुक्तानी सेवा लगायत सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गर्नेछ । इसिएएनको तर्फबाट अध्यक्ष विष्णु हरि पाण्डेले नबिल बैंक जस्तो प्रतिष्ठित बैंक आधिकारिक बैंकको रुपमा पाउनु र आफ्नो संस्था, सम्पूर्ण सदस्य संस्थाहरु, कर्मचारी लगायत विद्यार्थीहरुले सुलभ तरिकाले सम्पूर्ण बैंकिङ्ग सुविधा पाउनु गर्वको विषय भएको उल्लेख गरेका छन् ।
निर्माणाधीन गेटा मेडिकल कलेजको काम ८० प्रतिशत सम्पन्न
घोडाघोडी । सुदूरपश्चिम प्रदेशको कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज निर्धारित समयमै निर्माण सम्पन्न हुने भएको छ । गोदावरी नगरपालिका–५ गेटामा निर्माणाधीन उक्त कलेजको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको छ । भौतिक पूर्वाधार निर्माणको काम भइरहेको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले जानकारी दिएका छन् । आर्थिक वर्ष २०७३÷७४ देखि सात प्याकेजमा कलेज निर्माणको काम शुरु भएको हो । “भवनको भित्री सबै काम पूरा भइसकेको छ”, साउदले भने । छ सय श्यया रहने सो कलेज निर्मणको काम कुमार श्रेष्ठ निर्माण सेवाले गरिरहेको छ । दुई प्याकेजमा भवन निर्माण गरिरहेको साउदले बताएका छन्। कलेजमा हाल सानाठूला गरी २७ वटा भौतिक संरचना निर्माण भइरहेका छन् । कलेजको छात्रवास निर्माणको जिम्मा पाएको लुम्बिनी रमण केएस जेभीले ७० प्रतिशत काम सम्पन्न गरेको छ । “एक वर्षपछि चिकित्सा शिक्षाको पढाइ शुरु हुनेछ”, साउदले भने । सुदूरपश्चिम प्रदेशको समृद्धिसँग जोडिएको उक्त कलेज निर्माणको घोषणा आव २०६६ र ०६७ मा भएको हो । कलेज सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको छ । “आवश्यकताअनुसार थप पूर्वाधार निर्माण गर्दै जानेछौँ”, उनले भने । प्रदेशमा हालसम्म एउटा पनि मेडिकल कलेज छैन । रासस
मुक्तिनाथ विकास बैंकद्वारा छात्रवृत्तिका लागि तीन लाख सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले समावेशीताको आधारमा गरिब, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवाशीलाई सी पास भई काठमाडाैंमा अध्ययन गर्न इच्छुक ६ जना विद्यार्थीहरुलाई छात्रवृत्तिको लागी तीन लाख वित्तीय सहयोग स्वरुप चेक प्रदान गरेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल गुरुङ्गले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटका अध्यक्ष टेक राज शाहीलाई हस्तान्तरण गरेका हुन् । यस बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र, कालिकोटलाई कालिकोट सामुदायिक विद्यालयको विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधारका लागि उक्त छात्रवृत्ति दिएको हो । हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकले जनाएको छ ।