अक्सफोर्ड विश्वविद्यालयद्वारा नेतृत्व प्रशिक्षण कार्यक्रम आयोजना

काठमाडौँ । अक्सफोर्ड विश्वविद्यालय प्रेसले विद्यालयका प्रधानाध्यापकहरुको लागि अन्तरक्रियात्मक नेतृत्व प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । प्रशिक्षण कार्यक्रममा देशभर भएका विभिन्न अग्रणी विद्यालयहरुका ७० भन्दा बढी प्रधानाध्यापकको सहभागिता रहेको थियो । आइतबार काठमाडौँको अन्नपूर्ण होटलमा प्राध्यापकहरुको लागि पहिलो पल्ट यस्तो प्रकारको अन्तरक्रियात्मक नेतृत्व प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम डा. नीलकण्ठले संचालन गरेका थिए । अन्तरक्रिया कार्यक्रम मुख्यत ःशिक्षामा ‘नेतृत्व संगै भावनात्मक बौद्धिकता‘ विकासको लागि केन्द्रित थियो ।

बागलुङका ३८ विद्यालयको पुनःनिर्माण शुरु

गलकोट । भूकम्पले क्षतिग्रस्त बागलुङका विद्यालयको पुनःनिर्माण कार्यलाई तीव्रता दिइएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यस वर्ष जिल्लाका ३८ विद्यालय र २५ शौचालय निर्माण गर्न शुरु गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा पहिलो चरणमा ४० विद्यालय पुनःनिर्माण गरेको प्राधिकरणले दोस्रो चरणमा यस वर्ष ३८ विद्यालय पुनःनिर्माण गर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ शिक्षाका प्रमुख मतिलाल चपाईले बताएका छन् । “जिल्ला आयोजना कार्यान्वयन एकाइले जिल्लाका सबै क्षेत्रको पुनःनिर्माण र सबलीकरणको काम गर्दै आएको थियो”, कार्यालय प्रमुख चपाईले भने, “अहिले शिक्षा क्षेत्रको पुनःनिर्माण गर्न छुट्टै कार्यालय राखिएको छ, अब हामीले यसलाई थप गति दिनेछौँ ।” विद्यालय जस्तो संवेदनशील क्षेत्रको पुनःनिर्माणमा ढिलाइ भएका कारण छुट्टै कार्यालय नै सञ्चालन गरेर पुनःनिर्माण कार्य थालिएको उनको भनाइ थियो । बागलुङमा पहिलो चरणमा पुनःनिर्माण थालिएका ४० मध्ये ३४ विद्यालय बनिसकेको छ । त्यस्तै छ विद्यालय निर्माणको अन्तिम चरणमा रहेको कार्यान्वयन एकाइ शिक्षाका इञ्जिनीयर नवीनकुमार सिंहले जानकारी दिएका छन् । दोस्रो चरणमा निर्माण हुने विद्यालयमा दुई कोठे १८, तीन कोठे पाँच र चार कोठे १५ वटा भवन तथा २५ विद्यालयमा शौचालय निर्माण गरिनेछ । चार कोठे भवनका लागि रु ७० लाख, तीन कोठेलाई रु ३५ लाख र दुई कोठेलाई रु २३ लाखका दरले ३८ भवनका लागि प्राधिकरणबाट बजेट विनियोनजन भएको छ । त्यस्तै २५ शौचालय बनाउन प्रत्येकलाई रु १५ लाख विनियोजन भएको छ । विद्यालय तथा शौचालय अपाङ्गमैत्री हुने जनाइएको छ । एउटै भवनभित्र छात्रछात्राका लागि छुट्टाछुट्टै कोठाको व्यवस्थासहित २५ शौचालय निर्माण हुनेछन् । भूकम्पमा विद्यालय भवनसँगै शौचालयमा क्षति पुगेको भन्दै यस वर्षबाट त्यसको पुनःनिर्माण थालिएको कार्यालय प्रमुख चपाईले बताएका छन् । कार्यान्वयन एकाइ शिक्षाको नयाँ कार्यालयमा कार्यालय प्रमुखसहित १० जनाको दरबन्दी छ । बागलुङमा भूकम्पले क्षति पुर्याएको २१० मध्ये १८० विद्यालयमा प्राधिकरण जिल्ला कार्यान्वयन एकाइले पुनःनिर्माणमा सहयोग गरेको छ । रासस

गुहेश्वरी मर्चेण्डद्वारा विद्यालयलाई २ थान कम्प्युटर प्रदान

काठमाडौँ । संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको कार्यालयमा दिपावली सहित अतिरिक्त कार्यक्रम गरिएको छ । साथै, संस्थाको चाबहिल शाखा कार्यालयको समन्वयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा कामनपा वडा नं. ८, काठमाडौंमा रहेको सारदा आधारभूत विद्यालयलाई २ थान कम्प्युटर प्रदान गरिएको जनाइएको छ ।