नौ महिनादेखि शिक्षकले पाएनन् तलब
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ हल्दुखालमा अवस्थित महाकाली जनसेवा माध्यमिक विद्यालयका कर्मचारी र निजी स्रोतका शिक्षकले तलब पाउन सकेका छैनन् । विद्यालयले आर्थिक स्रोत जुटाउन नसक्दा उनीहरुले नौ महिनादेखिको तलब पाउन नसकेका हुन् । चार जना कर्मचारी, कक्षा ११, १२ का दुई जना शिक्षकले तलब पाउन नसकेका हुन् । विद्यालयमा कार्यरत शिक्षक शेरसिंह धाँमीले नौ महिनादेखिको तलब पाउन बाँकी रहेको बताए। विद्यार्थीको सङ्ख्या थोरै हुँदा उठ्ने शुल्कले विद्युत् महशुल, फर्निचर मर्मत, मसलन्द खरिद गर्नकै लागि पुग्दैन विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीले भने, “त्यसैले कर्मचारी र शिक्षकको पूरै तलब भुक्तान गर्न सकेका छैनौँ ।” विद्यालयको घाटापूर्ति नहुँदा अन्यौलता बढेको छ उनले भने, “विद्यालय सञ्चालन गर्न निकै समस्या छ । पढाई प्रभावित नभए पनि तलब नपाउँदा शिक्षकको मानसिक रुपमा असर हुदा पढाइको गुणस्तरमा प्रभाव पर्नु स्वभाविक नै हो ।” विसं २०२९ मा विद्यालय स्थापना भएको थियो । रासस
काठमाडौँ विश्वविद्यालयमा पुनः ताला
बनेपा । काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले मङ्गलबारबाट पुनः तालाबन्दी गरेका छन् । काठमाडौँ विश्वविद्यालय कार्यकारी परिषद्ले गठन गरेको अधिकारसम्पन्न वार्ता टोलीबीच गत भदौ ३० गते विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, डिन, प्राध्यापक तथा कर्मचारीको उपस्थितिमा आफूहरूसँग भएको सम्झौता कार्यान्वयनका लागि पटक–पटक स्मरण गराउँदा पनि बेवास्ता गरेको भन्दै आन्दोलन थप चर्काउन बाध्य भएर तालाबन्दी गर्नुपरेको दुवै सङ्घले जनाएका छन् । दुवै सङ्घले पत्रकार सम्मेलन गरी सम्झौता कार्यान्वयनका लागि डिन, रजिष्ट्रार र उपकुलपतिसमेतलाई पटक–पटक ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरेका कारण आफूहरुले विश्वविद्यालयमा भएको बेथिति निस्तेज पार्न दबाबस्वरूप तालाबन्दीलगायतका आन्दोलन गर्नुपरेको बताएका छन् । काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घका सभापति डा. वेदमणि दाहालले मङ्गलबारदेखि नै काठमाडौँ विश्वविद्यालय केन्द्रीय हाताका डिन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय, टेक्निकल ट्रेनिङ सेन्टर (टिटीसी) प्रशासकीय भवनलगायत सम्पूर्ण कार्यालय बन्द गरिएको बताए । गत भदौ ३० गते भएको सम्झौताका बुँदा कार्यान्वयन गर्ने निर्णय भए पनि पुस ४ गते भएको दीक्षान्तसभामा प्रस्तावित मस्यौदा पेश हुन नदिएको, कार्यकारी परिषद्को निर्णयसहित विश्वविद्यालय आफैँले गरेको प्रस्तावको विरुद्धमा मन्तव्य तथा लबिङ विश्वविद्यालयका नेतृत्वबाट नै भएको, सभासदलाई बेलैमा प्रस्तावबारे जानकारी गराउनुपर्नेमा नगराएको र पटक–पटकको निर्णयपश्चात शिक्षक तथा कर्मचकारीका आमन्त्रित प्रतिनिधिलाई सभामा बोल्ने मौका नदिई अपमानित हुने वातावरण सिर्जना भएको भन्दै यसअघि भएको निर्णय कार्यान्वयन नभएसम्म काठमाडौँ विश्वविद्यालय केन्द्रीय कार्यालयका उपकुलपति, रजिष्ट्रार र डिन कार्यालय पूर्णरूपमा बन्द गरिएको सभापति दाहालले बताएका छन् । काठमाडौँ विश्वविद्यालय कुनै निजी संस्था नभई सार्वजनिक संस्था भएकाले सार्वजनिक ऐन, निमय र कानूनअनुसार चल्नुपर्छ भनेर आन्दोलन शुरु गरेको सभापति डा दाहाल बताउँछन् । सङ्घका महासचिव विकास अधिकारीले विश्वविद्यालय सीमित व्यक्ति, जाति, भूगोल र लिङ्गको नभई सबैको भएकाले अझ राम्रो गर्नका लागि बौद्धिक जगत्का प्राध्यापकले सुधारका लागि आन्दोलनको थालनी गरेको बताए । उनले विश्वविद्यालयको दीक्षान्तसभामै सहकुलपतिले विश्वविद्यालयका समस्या टुङ्ग्याएर अगाडि बढ्नुस् भने पनि उपकुलपति र रजिष्ट्रारले त्यो विषयलाई टुङ्ग्याउन नचाहेको उल्लेख गरे । रासस
एपेक्स स्कुलका विद्यार्थीले खाजाकाे पैसा बचाएर गरे आविष्कार केन्द्रलाई सहयोग
काठमाडौं । चावहिलस्थित एपेक्स लाइफ स्कुलका विद्यार्थीले आफ्नो खाजाको पैसा बचाएर राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन् । विद्यार्थीले जम्मा गरको रकममा विद्यालयले पनि थपेर कुल १ लाख १ हजार ५ रुपैयाँ सहयोग गरिएको हो । कीर्तिपुरमा मंगलबार आयोजित कार्यक्रममा विद्यालयका कार्यकारी निर्देशक सुवास न्यौपाने तथा विद्यार्थीले आविष्कार केन्द्रका सञ्चालक महावीर पुनलाई सहयोग रकम प्रदान गरेका छन् । नेपाली माटो सुहाउँदो ज्ञान, विज्ञान र अनुसन्धान गर्न स्थापित केन्द्रलाई सरकारले उपेक्षा गरेको अवस्थामा विद्यार्थीले जोगाएको खाजावापतको रकममा विद्यालयले समेत थप गरी सो सहयोग प्रदान गरिएको निर्देशक न्यौपानेले बताए । ‘सरकारले सहयोग गर्नुपर्ने संस्थालाई रचनात्मक र सिजर्नात्मक काम भनेर सांकेतिक रुपमा हामीले सहयोग गरेका हौं,’ निर्देशक न्यौपानेले भने । ग्रामीण क्षेत्रमा सूचना प्रविधिको क्षेत्रमा क्रियाशील भएर देश विदेशमा विभिन्न पुरस्करबाट सम्मानित महावीर पुनले २८ वर्षदेखि आफु यो क्षेत्रमा निरन्तर क्रियाशील रहे पनि सरकारले चिन्न नसकेको बताउँदै अनुसन्धानका लागि सहयोगमात्र होइन न्यून ब्याजदरमा ऋण समेत उपलब्ध नगराएको गुनासो गरे । सो अवसरमा विद्यार्थीले महावीर पुनसँग उनका योजनाका बारेमा विविध छलफल गर्नुका साथै आविष्कार केन्द्रको अभिरुचिपूर्वक अवलोकन समेत गरेका थिए । राजधानीमा रहेर विद्यालय, शिक्षा र पठनपाठनमा लामो समयदेखि आफ्नो विशिष्ट पहिचान बनाउन सफल एपेक्स लाईफ स्कुलले अतिरिक्त क्रियाकलापका अतिरिक्त यस प्रकारका विभिन्न रचनात्मक काम पनि गर्दै आएको छ । २०४० सालमा स्थापना भएको सो विद्यालय शुरुमा शिशु निकेतन, त्यसपछि सेरेन भ्याली हुँदै एपेक्स लाइफ स्कुल नामाकरण भएको स्कूलका व्यवस्थापक विन्दु न्यौपानेले जानकारी दिइन् । १ कक्षादेखि १० कक्षासम्म अध्यापन गराउने एपेक्स स्कुलमा हाल करिब ४ सय ५० विद्यार्थी अध्ययनरत छन् ।