दशैं तिहार मनाउन एक महिना विद्यालय बिदा, अभिभावकलाई टाउको दुखाई
काठमाडौं। धोबिघाटकी पुष्पा थापा मगर सहकारी संस्थामा काम गर्छिन् । बिहान साढे ९ बजे घरबाट हिँडेर बेलुकी साँढे ५ बजे घर आईपुग्ने उनको दैनिकी हो । छोराछोरीलाई विद्यालय पठाएर अफिस जान उनलाई ठिक्क हुन्छ, तर जब स्कुल बिदाको खबर आउँछ उनलाई तनाव शुरु हुन्छ । ६ र १० बर्षका दुइ छोराछोरी भएकी उनलाई विद्यालय बिदाको दिन अफिसमा रहँदा दिनभर उनीहरु कहाँ गए, के गरे भन्ने चिन्ताले सताउँछ । लैनचौरकी ३५ वर्षिय कमला रायमाझीलाई पनि दिउँसो अफिस जानु पर्ने भएकोले १२ वर्षिय छोरी रचनाको स्कुल बिदा हुँदा त्यस्तै तनाव हुन्छ । कमलाका श्रीमान् दुबईमा बस्छन् । यहाँ उनी एउटा फ्ल्याटमा छोरीसँग बस्दै आएकी छिन् । उनको सासुससुरा गाउँमै बस्छन् । छोरीलाई धन्न विद्यालयको गाडीले घर अगाडि नै छोडिदिन्छ र उनलाई ढुक्क छ । तर, दशैं तिहारमा लामो समय विद्यालयहरु छुट्टी हुँदा छोरीको बिजोग हुने तनाव उनलाई हरेक बर्ष हुन्छ । हजुरबुवा हजुरआमाकोमा छोड्ने अवस्था छैन, किनकी उहाँहरुलाई नै हेर्नपर्ने अवस्था छ । उनी हरेक बर्ष बिदामा छोरीलाई कहिले मामाकोमा छोड्छिन् त कहिले साथीकोमा । आफन्तकोमा छोड्दा उनी छोरीलाई दिनमा ५-६ पटक कल गर्छिन् । आफु नहुँदा अरुलाई दु:ख दिने चिन्ताले उनलाई दिनभर सताउँछ । यो पुष्पा र कमलाको मात्रै समस्या होइन, हजारौं जागिरे परिवारको प्रतिनिधि समस्या हुन्, जो स्कुल बिदा नै नहोस् भन्ने चाहन्छन् । पुष्पा भन्छिन्–‘कतै गएर हराउने हो कि, दुर्घटनामा पर्ने हो कि, कसैसँग झगडा गर्ने हो कि भन्ने चिन्ताले सताउँछ, बरु स्कुल गए आनन्द आउँछ।’ अहिले काठमाडौं महानगरपालिकामा मात्रै सामुदायिक र निजी विद्यालयमा गरी १ लाख ७५ हजार ४ सय विद्यार्थी अध्ययन गर्छन् । माध्यमिक तह भन्दा तल्ला कक्षामा पढ्ने विद्यार्थीहरुलाई अभिभावकको निरन्तर निगरानी आवश्यक हुन्छ । तर, बिदाको बेला दिनभर उनीहरुलाई हेर्ने कोही हुँदैन । दशैं तिहार मनाउन १ महिना बिदा दशैंको सुरुवातसँगै कलेज तथा विद्यालयहरुले एक महिना लामो छुट्टी दिएका छन् । तर, सरकारले दिएको सार्वजनिक बिदा ६ दिनको मात्र हो । यति लामो बिदाले कामकाजी अभिभावकको दैनिक कार्यमा समस्या थपिएको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागले गत फागुनमा नयाँ बर्ष २०७६ को क्यालेन्डर बनाउँदै गर्दा दशैं र तिहारमा १ महिना बिदा दिने निर्णय गरेको थियो । प्याब्सन, एनप्याब्सन, अभिभावक संगठन बीचको छलफलपछि बिदाबारे निर्णय गरिएको बताइएको छ । के भन्छन् विद्यालय सञ्चालकहरु ? धेरै विद्यार्थीहरु उपत्यका बाहिरका भएको र महानगरले पनि यही निर्णय गरेको कारण पनि धेरैजसो शैक्षिक संस्थाहरुले छठसम्म बिदा दिएका छन् । यधपी केही विद्यालय तथा कलेजहरुले भने पन्ध्र दिन मात्र बिदा दिएका छन् । कलंकी स्थित नेपालय विद्यालयका प्रधानाध्यापक मनोज थापा मगरले यस बर्ष विद्यालय एक महिना बिदा दिएको बताए । उनले भने-‘एक-एक महिना बिदा हुँदा विद्यार्थीहरुको पढाई बिग्रन्छ । यसले न त विद्यालयलाई कुनै फाईदा छ, न त बालबालिकाहरुलाई ।’ यसअघि आफुहरुले कहिले पनि एक महिना बिदा नदिएको, तर महानगरले यो बर्ष बिदा गर्नैपर्छ भन्ने नयाँ नियम ल्याएको कारण मात्र आफुहरुले १ महिना बिदा दिएको बताए । यता, मैत्रीनगर स्थित सौगात मन्टेश्वरीले भने दशैं लगत्तै विद्यालय खोल्ने निर्णय गरेको छ । कामकाजी अभिभावकहरुले लामो बिदामा बालबालिका हेरचाह गर्ने व्यक्ति घरमा नभएकोले विद्यालय खोल्न आग्रह गरेको कारण आफूहरुले छोटो समय मात्र बिदा दिएको प्रधानध्यापक राज्य लक्ष्मी बताउँछिन् । उनी भन्छिन्-‘२० प्रतिशत अभिभावकले मात्र बिदामा आफ्नो छोराछोरीलाई समय दिन पाउँछन् । ’ बालबालिका र हजुरबुवा/हजुरआमाबीच बढ्दै गएको दुरीहरु मेटाउन दशैँको लामो बिदा निकै उपयुक्त भएको उनी बताउँछिन् । यो समयमा विद्यार्थीहरुले खेलेर मात्र नभई अन्य नयाँ ठाउँ घुम्ने, नयाँ सामाग्रीको बारेमा ज्ञान बटुल्ने हो भने निकै फाईदाजनक हुने उनको तर्क छ । बिदा हुँदा रमाउँछन् विद्यार्थी धोबीघाटको हिमालय इन्टरनेशनल आइडल स्कूलमा कक्षा १० मा अध्ययनरत प्रवेश थापा मगर बिदा कहिले हुन्छ भनेर दिन गन्दै बस्ने गरेको बताउँछन् । बिदा हुँदा विद्यार्थी मात्र नभएर हरेक व्यक्तिको अनुहारमा छुट्टै चमक आउँछ । तर, के एक महिना बिदा विद्यार्थीको लागि राम्रो हो त ? के यसले उसको पढ्ने बानी बिगार्दैन ? यस सम्बन्धमा भने विभिन्न व्यक्तिहरुको धारणा फरक फरक पाइन्छ । नौ दिनमा नौलो र २० दिनमा बिर्स्यो भन्ने उखान नै छ । यही उखानलाई आधार मान्दा १ महिना बिदाले विद्यार्थीहरुको पढाईमा पक्कै नकारात्मक असर पर्छ । विद्यार्थीहरुलाई विद्यालय तथा अभिभावकले बिदाको सदुपयोग गर्ने उपायहरुको बारेमा नसिकाउँदा पनि विद्यार्थीहरु बिदाभर खेलेरै बिताउने गर्छन् ।
कान्तिपुर इञ्जिनियरिङ कलेजमा दोस्रो अन्तराष्ट्रिय सम्मेलन सम्पन्न
काठमाडौँ । कान्तिपुर इञ्जिनियरिङ कलेजले इन्जिनीयरिङ र प्रविधि विषयको दोस्रो अन्तराष्ट्रिय सम्मेलन असोज ९ गते कलेज परिसर धापाखेल ललितपुरमा सम्पन्न गरेको छ । सो सम्मेलनको उद्घाटन नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले गरेका थिए । कान्तिपुर इन्जिनीयरिङ कलेजका प्रिन्सिपल रामेश्वर रिजालले स्वागत भाषण गरे भने भने नेपाल इन्जिनीयरिङ परिषदका उप–सभापति अर्नराज सिलवाल र नेपाल इन्जिनीयस् एसोसिएसनका उप सभापति आसीस घिमिरेले केइसी सम्मेलनका बारेमा मन्तव्य राखे । सो उद्घाटन समारोहको अध्यक्षता कान्तिपुर इन्जिनीयरिङ कलेजका अध्यक्ष डा. ताराप्रसाद पोखरेलले गरेका थिए ।
अष्ट्रेलियामा अध्ययन: नेपाली विद्यार्थीलाई भिसामा कडाई
अष्ट्रेलिया । अष्ट्रेलियाले नेपाली विद्यार्थीहरुलाई भिसामा थप कडाई गर्ने भएको छ । अष्ट्रेलियाले नेपाली विद्यार्थी सहित भारत र बङ्लादेशका विद्यार्थीलाई भिसामा थप कडाई गर्ने लागेको हो । माइग्रेशन एजेन्ट नरिंदर कौरले भारत, पाकिस्तान र नेपालका विद्यार्थीहरूको लागि भिसा प्रणाली कडाई गर्दै अद्यावधिक गरिएको बताईन् । “यी देशहरूबाट आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरू अहिले उच्च जोखिममा छन् । यी देशबाट आएका भिसा आवेदनहरूको असेसमेन्ट लेभल २ बाट स्तर ३ मा पुगेको छ,” उनले भनिन् । परिवर्तन गरिएको मापदण्ड अनुसार विद्यार्थीले कम्तिमा पनि आईएल्टीसमा ५.५ भन्दा माथि र पिटिएमा उपयुक्त स्कोरको आवश्यक हुन्छ । यो अंक राम्रा विद्यार्थीहरुलाई ल्याउन भने त्यति गाह्रो छैन । अष्ट्रेलियामा विद्यार्थीको भिसा आवेदनहरू उनीहरुको व्यक्तिगत योग्यताको आधारमा मूल्याङ्कन गरिन्छ, जसमा शैक्षिक योग्यता, वित्तीय आवश्यकताहरु र अंग्रेजी भाषामा राम्रो दक्षता समावेश छ । विद्यार्थी भिसालाई मूल्याङ्कन गर्ने असेसमेन्ट लेभलले भिसा प्रणालीलाई सुव्यवस्थित गर्दछ, जसले भिसा आवेदनका लागि लागु गरिएका आवश्यकताहरूलाई आदेश दिने गर्दछ । यी भिसाको आवश्यकताहरू प्राय: अष्ट्रेलियामा शिक्षा प्रदायकहरूसँग अध्ययन गर्न चाहेको विशेष देशका आवेदकहरूद्वारा प्रस्तुत अध्यागमन जोखिमको आधारमा परिवर्तन हुन्छन् । असेस्मेन्ट लेभल १ भएका प्रख्यात विश्वविद्यालयका विद्यार्थीहरुलाई बाहेक अन्यलाई यो नयाँ भिसाको परिवर्तन लागु हुने बताईएको छ । माइग्रेसन विज्ञहरु भन्छन्-‘भिसा जारी गर्ने अधिकारीहरुले समय समयमा मूल्याङ्कन स्तर परिवर्तन गर्न सामान्य हो । उनीहरूको अनुसार यो परिवर्तनले पढ्छु नै भन्ने सोच भएका साथै अंग्रेजी भाषामा दक्ष र आर्थी अवस्था मजबुत भएका गैरआवसिय विद्यार्थीहरूलाई भने कुनै पनि समस्या नहुने बताउँछन् । गत मे महिनामा, एबीसीको फोर कर्नरले कसरी अस्ट्रेलियाको उच्च शिक्षा प्रणालीलाई विदेशी शुल्क तिर्ने विद्यार्थीहरूको बढ्दो निर्भरताले कसरी कमजोर पारिरहेको छ भन्ने अध्ययन गरेका थिए । अध्ययनले अष्ट्रेलियाको शिक्षा उद्योगले बौदिक चोरी, शैक्षिक दुराचार र फेल हुने विद्यार्थीको संख्या बढी भएको रिपोर्ट गरेको कारण विशेष रूपमा भारतीय उपमहादेशबाट आएका विद्यार्थीहरूको गुणस्तरमा नराम्रो असर पारिरहेको देखाएको छ । विद्यार्थी भिसामा भएको यस परिवर्तनले भिसाको नतिजा कुरिरहेका विद्यार्थीहरुलाई असर गर्ने बताईएको छ । त्यसैले भिसा आवेदकहरुले कुनै थप जानकारीको लागि अनुरोध पठाउनुभन्दा पहिले भिसाको आवश्यकताहरू पूरा गर्न प्रयास गर्दा निकै राम्रो हुन्छ । मार्च २०१९ सम्मको अष्ट्रेलियाको डाटा अनुसार हाल ६१ लाख १३ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययन गरिरहेका छन् जसमा सबैभन्दा बढी चीन, भारत र नेपालबाट आएका विद्यार्थी रहेका छन् । २०१८ मा मात्रै अष्ट्रेलियामा ५ लाख ४८ हजार अन्तराष्ट्रिय विद्यार्थीहरु भर्ना भएका थिए । उक्त सालको डाटा अनुसार अन्तराष्ट्रिय विद्यार्थीहरुले अष्ट्रेलियाको अर्थतन्त्रमा २४ खर्ब भन्दा बढी योगदान पुर्याएका छन् । यो रकमले पनि विद्यार्थीहरुको अष्ट्रेलिया प्रति भएको लगाव र विश्वास देख्न सकिन्छ । (एसबिएसबाट अनुवाद गरिएको )