डेढ घण्टाको यात्रापछि मात्र विद्यालय पुग्छन् काभ्रेपलाञ्चोकका विद्यार्थी

काभ्रे। काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिका बालबालिका पढ्नका लागि अहिले पनि भोकै हिँडेर घण्टौँको बाटो पार गर्नुपर्छ । भौगोलिक विकटता र यातायातका असुविधा भएका ती ठाउँका साना बालबालिकालाई खान र लगाउनको पर्वाहविना किताबकापी काखी च्यापेर एकदेखि दुई घण्टाको बाटो हिँडेर पढ्न जानुपर्ने बाध्यता छ । यस्तै बाध्यतामध्येको एउटा उदाहरण हो महाभारत गाउँपालिका–१ छोटेसाहनका चन्द्रोदय प्राथमिक विद्यालयका बालबालिकाको जहाँ छिमेकी जिल्ला सिन्धुलीदेखि प्राथमिक तहमा अध्ययन गर्न विद्यार्थी आउने गरेका छन् । कक्षा २ का प्रदीप हिन्दुङ एक घण्टा हिँडेर विद्यालय आउने गर्छन् । घरदेखि विद्यालयसम्म आउन बीचमा खोला पार गरेर आवतजावत गर्नुपर्ने उहाँको भनाइ छ । हिँड्न सहज हुने भए पनि किताबकापी काखी च्यापेर हिँड्नु पर्दा समस्या हुने गरेको उहाँले बताए । “झोला छैन, सधैँ यसरी नै किताबकापी काखी च्यापेर विद्यालय आउने जाने गर्छु ”, हिन्दुङले भने, “हाम्रो गाउँबाट पढ्न आउने सबै यसरी नै आउँछन् ।” अर्का कक्षा २ का सुरोत गोलेको पनि अवस्था उस्तै छ । उनलाई पनि घरबाट विद्यालयसम्म आउन एक घण्टा लाग्छ । “बिहान खाना खाएर आएदेखि बेलुका विद्यालय छुट्टी भएर गएपछि मात्रै खाजा खान पाइन्छ । विद्यालयमा आउँदा खाजा बोक्ने कहिल्यै गरेको छैन”, उनले भने, “गाउँका सबै साथीहरुको अवस्था यस्तै हो ।” सिन्धुली मात्रै होइन जिल्लाभित्रैका अन्य ठाउँबाट आउने बालबालिकालाई पनि त्यसभन्दा बढी हिँड्नुपर्ने बाध्यता छ । एउटै कोठामा दुईतिर राखेर पढाउने गर्दै आएको सो विद्यालयका कक्षा २ र ३ एउटा कोठा र कक्षा ४ र ५ अर्कामा सञ्चालन भइरहेको छ । एकातिर शिक्षकले पढाउने बेलामा यताउताको कुराकानीबाट होहल्ला हुने भए पनि उनीहरु बाध्यताले एकै कोठामा पढ्दै आएका छन् । भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ(शिक्षा)ले भवन निर्माण गर्न सहयोग गरिरहेको भए पनि विद्यालय प्रशासन र व्यवस्थापन समितिको कमजोरीका कारण ढिलाइ भइरहेको छ । सोही गाउँपालिका–७ मा रहेको जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीको अवस्था पनि उस्तै छ । भूकम्पबाट विद्यालय भवन भत्किएपछि टहरामा नै बसेर अध्ययन गर्दै आएका विद्यार्थी डेढदेखि दुई घण्टासम्म हिँडेर आउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक सञ्जनकुमार झाले बताए । त्यहाँ तामाङ समुदायका मात्रै विद्यार्थी मात्र छन् जुन खानेपानी र शौचालयविना नै सञ्चालन भइरहेको छ । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने सुविधाका नाममा नयाँ विद्यालय स्थापना गर्न नसकिने बताए । “हामी नयाँ थप्न सक्ने अवस्थामा छैनौँ, भएकोलाई व्यवस्थित गर्दै शिक्षामा पहुँच बढाउने काममा निरन्तर लागिरहेका छौँ”, उनले भने । भौगोलिक विकटताका कारण विद्यार्थीलाई पढ्नका लागि घण्टौँ हिँड्नुपर्ने र विद्यार्थी सङ्ख्या पर्याप्त नभएका कारण पनि यस्तो समस्या व्यहोर्न बाध्य भएको अध्यक्ष जिम्बाले बताए ।

विद्यालय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा र उच्च शिक्षा सम्बन्धि विधेयक यसै अधिवेशनमा

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसद्को चालू हिउँदे अधिवेशनमा शिक्षासम्बन्धी तीन विधेयक ल्याइने बताएका छन् । शिक्षा पत्रकार समूहले आज आयोजना गरेको कार्यक्रममा जारी भइसकेका नयाँ शिक्षा नीतिका आधारमा विद्यालय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा र उच्च शिक्षाका लागि तीन विधेयकको तयारी भएको जानकारी उनले दिए । उनले बाहिर टिप्पणी गरिएजस्तो सङ्घीय सरकार र स्थानीय तहबीच शिक्षाको प्रबन्ध र गुणस्तरीय शिक्षाका सन्दर्भमा कुनै टकराव नरहेको जनाउँदै भने, ‘हामी पहिला एकीकृत सङ्घीय शिक्षा ऐनको तयारीमा थियौँ, त्यसका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति भइसहेको थियो तर अहिले तीन अलग अलग विधेयकको आवश्यकता महसुस भएकाले त्यसको मस्यौदा निर्माणमा हामी लागेका छौँ ।’ मन्त्री पोखरेलले देशव्यापीरुपमा शिक्षक दरबन्दी पुनःवितरणको श्वेतपत्र जारी गरिएकाले सोबमोजिम शिक्षकहरु व्यवस्थित हुनुपर्नेमा जोेड दिँदै अपुग शिक्षकको पूर्तिका लागि विज्ञापन गरिने बताए । स्थानीय तहलाई विद्यालय शिक्षाका अधिकांश अधिकार हस्तान्तरण गरिसकिएको र ती तहले कतिपय असल अभ्याससमेत गरेको मन्त्री पोखरेलको भनाइ थियो । कार्यक्रममा समूहले विभिन्न १३ स्थानीय तहमा शिक्षाबारे भइरहेका नीतिगत र अन्य पहलका बारेमा गरेको अध्ययन प्रस्तुत गरिएको थियो ।

ब्याचलर सकेर विदेश गएका विद्यार्थी व्यवस्थित र सफल

काठमाडाैं ।  प्रत्येक वर्ष नेपालबाट अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीको संख्या उच्च छ। अमेरिका र बेलायतपछि अन्तरर्राष्ट्रिय विद्यार्थीद्दारा रुचाइएको तेस्रो लोकप्रिय गन्तव्य हो अष्ट्रेलिया। अमेरिका र बेलायतको दाँजोमा सजिलैसँग भिषा पाईने र पढाई पछि पनि लामो समयसँग बस्न मिल्ने प्रावधानको कारण यो विद्यार्थीहरु माझ लोकप्रिय रहेको छ। १३ वर्ष अगाडि स्थापना भएको ग्रेस ईन्टरनेसनल सुरुवाती दिन देखि नै विधार्थीको करियर काउन्सिलिङमा विशेष ध्यान दिदैँ आएको कन्सल्टेन्सी हाे ।विदेश पढ्न जाने विद्यार्थीहरूलाई  मध्येनजर गर्दै ग्रेस ईन्टरनेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्दशक एन्ड्रियु पाैडेलसँग  विकासन्युज का लागि डाेमी शेर्पाले गरेकाे कुराकानी ः अष्ट्रेलिया नेपाली विद्यार्थीको रोजाईमा पर्नुको कारण के हो ? अष्ट्रेलिया नेपाली विद्यार्थीका लागि अहिलेसम्मैको राम्रो गन्तव्य मध्येकाे एक हो। यो पहिला पनि बेस्ट थियो, अहिले पनि बेस्ट छ र सधैं बेस्ट रहनेछ। किनभने सर्वप्रथम वातावरणको कुरा गर्नुपर्दा नेपाल र अष्ट्रेलियाको तापक्रम, बस्ने ठाउँ सबै करिब एउटै एउटै जस्तो छ। त्यसले गर्दा बेग्लै ठाउँमा गएको जस्तो अनुभव नै हुँदैन। दोस्रो सुरक्षाको कुरा गर्नुपर्दा महिला र पुरुष दुवैको लागि अष्ट्रेलिया सुरक्षित स्थान हो। अमेरिकामा जस्तो सुपरमार्केटमा गोली चलेको जस्तो घटनाहरु अहिलेसम्म त्यहाँ घटेको छैन। यसले गर्दा अष्ट्रेलिया एउटा सुरक्षित स्थान हो। अर्काे कुरा नेपाली विद्यार्थीहरुको कोही न कोही आफन्त, साथीभाईहरु अष्टे«लियामा हुन्छन् जसले उनीहरुलाई धेरै तरिकाबाट सहयोग गर्दछ चाहे त्यो बस्नलाई होस् वा काम खोज्नलाई। म आफै पनि समय-समयमा अष्ट्रेलिया गइरहन्छु। त्यहाँ नेपालीहरुको बाहुल्यताको कारण पनि देशमै बसेको महसुस हुन्छन्। अहिले त हामी दशैं तिहार नेपालमा के मनाउँछौं त्यहाँ त्यति भव्यसँग मनाईन्छ।  सबैभन्दा महत्वपूर्ण कुरा भनेको हामी बाहिर जाने भनेको गुणस्तरीय शिक्षाको लागि हो र त्यस बाहेक केही राम्रो कमाई र बसाई पनि होस् भन्दा यो सबै अवसरहरु अष्टे«लियामा रहेकोले पनि नेपाली विद्यार्थीहरुको रोजाईमा अष्ट्रेलिया परेको हो। कुन स्तरका आए स्रोत भएका विद्यार्थीले अष्ट्रेलियाको ट्युसन शुल्कलाई सजिलै धान्न सक्छन् ? अहिले हाई लेभलका र मिडियम लेभलका आय स्रोत भएका नेपाली विद्यार्थीले अष्टे«लियाको ट्युसन शुल्कलाई सजिलै धान्न सक्छन। त्यहाँको ट्युसन शुल्क कम्तिमा पनि वार्षिक १५ देखि २० लाख रुपैंया रहेको छ जुन हाल सामान्यस्तर भएको व्यक्तिले पनि धान्न सक्ने अवस्था देखिएको छ। २००६ सालको अवस्था हेर्ने हो भने त्यसबेला उच्च आय स्रोत भएका विद्याथीहरु मात्र जान सक्थे तर हाल निम्न आय स्रोत भएकाहरु पनि सजिलै जान सक्ने अवस्था छ। विदेश अध्ययनको लागि प्लस टु पछि अथवा ब्याचलर पछि ? यसलाई मैले कसरी लिने गरेको छु भन्दा प्लस टु पछि अथवा ब्याचलर पछि जाने भन्दा पनि अभिभावकहरुले आफ्नो छोराछोरीलाई पठाउँदै हुनुहुन्छ भने आफ्नो छोराछोरी कत्तिको ईमान्दार छन् । कुन हदसम्म आफुलाई सम्हाल्न सक्छन् भन्ने कुरा बुझेर पठाउनुभयो भने मात्र प्लस टु पछि अथवा ब्याचलर पछि भन्ने कुराले फरक पार्दैन। हुनत ब्याचलर सकेका विद्यार्थीहरु प्लस टु सकेका विद्यार्थीको दाँजोमा आफ्नो पढाई प्रति गम्भिर हुने, बिच्चैमा पढाई छोड्ने समस्या नदेखिने र फोकस भएर काम गर्न सक्ने त्यसैले ब्याचलर सकेमा विद्यार्थीहरुको काम, बासस्थानको बन्दोबस्त राम्रो भएको देखिन्छ। प्लस टु पछि अध्यन गर्न चाहाने विद्यार्थीहरुको मुख्य समस्या आउनु भनेको उनीहरु आफ्नो लक्ष्य प्रति गम्भिर नहुनु हो। तर यस्तो नभएको अवस्थामा भने प्लस टु पछि पनि विद्यार्थी अध्ययन गर्न जान सक्छन् किनभने जति पछि गए पनि उनीहरुले लगभग उस्तै काम पाउँछन्। पढाई र काम दुवैलाई निरन्तरता दिन सक्ने हो भने जतिबेला गए पनि हुन्छ। एउटा विद्यार्थीले अष्ट्रेलियाका लागि कति समयको भिषा पाउँछन् ? यो कोर्षको अवधि हेरेर हुन्छ। कुन लेभलको कोर्षमा जाँदै हुनुहुन्छ भन्ने कुरामा भरपर्छ। यदि विद्यार्थी ब्याचलर डिग्रीको लागि जाँदै हुनुहुन्छ भने कम्तिमा पनि ३ देखि ४ वर्षको भिषा पाउनुभएको हुन्छ। अब मास्र्टसको लागि भने साढे २ वर्ष जतिको भिषा पाउनुहुन्छ। यसबाहेक २ वर्षको पोस्ट वर्क भिषा पनि अष्ट्रेलियन सरकारको प्रावधानमा छ। यद्यापी अष्ट्रेलियाको सबैभन्दा गज्जबको कुरा के छ भन्दा विद्यार्थीले दश वटा विषयमा डिग्री गर्छु भने पनि उनीहरुले सजिलै भिषा पाउन सक्छन्। त्यहाँको सरकारले तिमी लामो समयसम्म विद्यार्थी भिषामा बस्न पाउँदैनाैं भनेर भन्दैन। विभिन्न कारण अझै पनि कति नेपाली विद्यार्थीहरु ठगिन पुगेका छन्। यसबाट बच्न विद्यार्थी तथा अभिभावकले के कुरामा ध्यान दिनुपर्छ ? हाम्रो विद्यार्थी र अभिभावकमा त्यो स्तरको चेतना नभएकै कारण हो। जस्तै हामी अष्ट्रेलिया पढ्नको लागि जाँदा कुन विषय पढ्न जानको लागि जाँदैछु, त्यो डिग्री भोली नेपालमा काम गर्छ कि गर्दैन भन्ने कुराको ज्ञान नहुँदा यो अवस्था आएको हो। किनभने अष्ट्रेलियन कोर्षमा जसको आईएल्टीएसको स्कोर कम छ, शैक्षिक योग्यता कमजोर छ भने उनीहरुले त्यहाँ १ वा २ वर्षको डिप्लोमा कोर्ष गर्नुपर्न हुन्छ। त्यसपछि मात्र उनीहरुले ब्याचलर अध्यनमा सामेल हुन पाउँछन्। यसरी उनीहरुलाई ब्याचलर पुरा गर्न ४ वर्ष लाग्छ तर सिधै जाँदा त्यो ३ वर्षमा पुरा हुन्छ। यसरी जाँदा फेरी कलेज खोज्ने समस्या देखि अनेकौं समस्या आईपर्छ त्यसैले जो जति पनि विद्यार्थीहरु जाँदै हुनुहुन्छ उहाँहरुलाई सजिलैसँग बसोबास मिलाउन डिप्लोमा भन्दा पनि सिधैं ब्याचलर अध्यनको लागि जाँदा राम्रो हुन्छ। विद्यार्थीले अष्ट्रेलिया जाँदा कस्तो विषय रोज्ने ? हामीले करियर उन्मुख काउन्सिलिङ गर्ने हुनाले सबैलाई के सुझाव दिन चाहान्छौं भने विद्यार्थीहरु अध्यनको लागि जाँदा आफुलाई कुन विषयमा रुची छ भन्ने कुरामा स्पष्ट हुनुपर्छ। कति विद्यार्थीहरु अकाउन्टिंगमा पिआर छ भनेर बिएचएम सिद्दाएर एमएचएम गर्नु छोडेर एमपिए गर्न गईरहनुभएको छ। अकाउन्टिंगको बारेमा केही थाहन नभएका उनीहरुलाई त्यहाँ पढ्न जाँदा धेरै समस्या हुन्छ किनभने अष्ट्रेलियको अकाउन्टिंग भनेको सिए लेभलको हुन्छ। यसले गर्दा विद्यार्थीहरु पढाईमा झुण्डेर बस्ने, पिआर पाउने त परको कुरा उल्टै निराश हुने अवस्था छ। त्यसैले पिआरको कोर्षहरु गर्छु भन्दा पनि आफुलाई मनपर्न कोर्ष पढ्दा हामीले आफ्नो बेस्ट दिएर बेस्ट बन्छु भने जहिले अवसरहरु प्रशस्त छन्। अष्ट्रेलियामा राम्रो गर्न सबैलाई प्रशस्त अवसरहरु छन्। यदि कुनै कार्षले पिआरको लागि आवेदन दिन मिल्दैन भने उसले कहीँ कतै रोजगार पाउँछ भने उसले पिआरको लागि आवेदन दिन सक्छ। एक जना मेरो विद्यार्थी भिक्टोरिया युनिभर्सिटीमा स्पोर्टस साईन्स पढ्न जानुभयो। उनी नेपालको ए डिभिजनबाट फुटबल खेल्थिए। उनको एक दुई वर्ष ग्याप पनि थियो त्यसैले उनलाई स्पोर्टस साईन्स नै पढ्न सुझाए। पछि उनी त्यहाँ गएर यसले त पिआर नै पाउँदैन रहेछ भनेर तनाव लिए। मैले उनलाई धेरै सम्झाए र अहिले उनी मेलबर्नको लोकल कल्बमा कोच भएर जुनियरलाई ट्रेनिङ दिईरहेका छन्। आफ्नो ईच्छा विपरितको काम गर्न पर्दा कोही खुशी हुन सक्दैन। त्यसैले अहिलेको हरेक मानिसहरुले चाँही आफुलाई के गर्दा खुशी मिल्छ भन्ने कुरामा ध्यान दिए उसले आफ्नो करियरमा अगाडि बढेको पत्तै पाउँदैन। उदाहरणको लागि यदी रिपोर्टिर बन्न मनलागेको मान्छेलाई अकाउन्टिङमा लगेर राख्दियो भने उसले २ दिन मै काम छोडेर जाने अवस्था आउँछ। आफुलाई राम्रो लाग्ने कुरामा पो मन लागेर गर्न सकिन्छ। त्यसैले म हरेक विद्यार्थीहरुलाई के सुझाव दिन चाहन्छु भने, यस्तो काम छान्नुहोस् जसले तपाईलाई हरेक दिन काममा जामजाम बनाओस्। यस्तो नहोस् कि ह्या आज पनि बिदा लिम कि क्या हो, आज बिरामी भए भन्दिऔं कि क्या हो जस्तो नहोस्। अष्ट्रेलिया जानको लागि न्युनतम आवश्यकताहरु के के हुन् ? विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र न्युनतम ६० प्रतिशत, आईएल्टिएसमा लगभग ६ अंक भए ब्याचलर र मास्टर्स अध्ययनको लागि काफी हुन्छ। कति कुरा युनिभर्सिटी, कलेज हेरेर फरक पर्न जान्छ तर अंकमा खासै फरक भने पर्न जाँदैनन्। अष्ट्रेलियामा नेपाली विद्यार्थीहरु सरकारी कलेजमा जान्छन् कि प्राईभेट कलेजमा जान्छन् ? अष्ट्रेलियाका प्रायः विश्वविद्यालयहरु सरकारी मातहतमै चलेर आएका छन् र एकदम कम संख्यामा मात्र प्राईभेट कलेजहरु रहेका छन्। अर्को कुरा नेपालमा सरकारी विद्यालयहरुलाई नराम्रो भन्ने गरिन्छ भने त्यहाँका सरकारी शैक्षिक संस्थालाई बेस्ट भन्ने गरिन्छ। साथै प्राईभेट कलेजहरुलाई पनि सरकारी सरह बनाउने प्रयास गरिएको देखिन्छ। अष्ट्रेलियामा अन्तर्राष्टिय विद्यार्थीहरुले काम गर्ने प्रावधान कस्तो छ ? कति पे गरिन्छ अन्तर्राष्टिय विद्यार्थीहरुलाई ? अन्तरराष्ट्रिय विद्यार्थीहरुले अष्ट्रेलियामा कलेज लागेको अवस्थामा हप्ता मा २० घण्टा काम गर्न पाउने प्रावधान छ। जसमा उनिहरुको तलब दायरा १८ देखी २० अष्ट्रेलियन डलर रहेको छ। जसको अर्थ उनिहरुले हप्तामा कम्तिमा पनि ३० हजारको हाराहारिमा कमाउन सक्छन्। त्यसपची उनिहरुको कामको योग्यता अनुसार पे(स्कले बढ्दै जान्छ। साथै नयाँ सेमेस्टर हुन अगाडिको ब्रेकहरुमा विद्यार्थीहरुले फुल टाईमा काम गर्न पाउने प्रावधन छ। वर्षमा यस्तो ब्रेक २ पटक सम्म हुने गर्छ। सुरुवाती अवस्थामा जस्तो सुकै काम गरे पनि यदी पछी गएर काम बदल्न सकेन भने प्रगती हुन देखिदैन। हाम्रो नेपालीहरुमा चाँही लामो समय सम्म एउटै काम मै अड्किएर बसेको देख्छु। यहाँबाट आजभन्दा १० वर्ष अगाडि गएका नेपालीहरुले अहिले पनि के गर्नुहुन्छ भनेर सोध्दा म त क्लिनिङ गर्छु, हाउसकिपिङ गर्छु भन्छन्। उहाँहरु आफ्नो काम बदल्न नसक्दा जसले गर्दा उहाँहरु जहाँ को त्यहीँ हुनुहुन्छ। आज हामीले यसो हेर्यो भने २००६ तिर विदेशी विश्वविद्यालयहरुको प्रतिनिधि हेर्दा कोही अमेरिकिहरु आउँछन् भनेर हामी तयार हुन्थियौं तर अहिले हेर्ने हो भने प्रतिनिधिहरु कोही भारती कोही बंगाली कोही चाईनिज हुन्छन्। उनिहरुले आफ्नो कामलाई बिस्तारै बदल्दै लगेर त्यो स्थानमा पुग्न सफल भएका छन्। हामी नेपालीहरु पनि राम्रो गरिरहेका छौं तर त्यो गर्ने मात्र १० प्रतिशत मात्र छन् बाँकी ९० प्रतिशत चाँही जे छ त्यसमै रमाएर बस्ने गरेका छन्। उनिहरु अलग करियर तर्फ जान सकिरहेका छैनन्। एउटा पढ्छन् र अर्को काम गर्छन्। त्यसैले यदी केही गर्ने हो भने हरेक विद्यार्थीले सुरुवाती अवस्थामा जे जस्तो काम गरे पनि केही समय पछी आफ्नो पढाई अनुसारको काम र कारीयर तर्फ मोडिदै जानुपर्छ अथवा त्यसमा अलिक बढी प्रयास गर्ने, बरु २ ४ रुपैंया कम पैसामा काम गर्ने किनभने यसले तपाईलाई जीवनको लामो दौडमा निकै नै सहयोग पुर्याउँछ। अन्त्यमा तपाईलाई उच्च शिक्षाको लागि सिमापारिको देश छान्ने विद्यार्थीहरुलाई तपाईको के सुझाव छ ? नेपालको शिक्षा नै नराम्रो भएर बाहिर जाने भन्ने होईन। हाम्रो नेपालको शिक्षा पनि राम्रो छ नत्र हाम्रा यहाँ पढेर गएका विद्यार्थीहरु बाहिर गएर किन टप गरिरहेका छन् तर हाम्रो यहाँको शिक्षा नितीले अवसर र प्लेटफर्म बनाउँदैन। गएर ३ घण्टा परिक्षा दिएको भर्मा उसले टप गरेको भनेर विद्यार्थीको गुणस्तर निर्धारण गरिन्छ। तर बाहिर घोकन्ते शिक्षा भन्दा पनि जिन्दगीमा कसरी अगाडी बढ्ने, जिन्दगीलाई कसरी धान्न भन्ने सिकाउँछ। त्यस्तै अभिभावकहरुलाई आफ्नो छोरा छोरीलाई पढेको बेला कमाएर पठाईदियोस भन्ने आसाको साथ नपठाउनु। उनिहरुले केही समय पढाईमा ध्यान दिए लामो उनिहरुको जिन्दगी सधैंको लागि उज्ज्वल हुन्छ। गएको भोली पल्टबाट बाबु काम पाईस भन्नु भन्दा बाबु कलेज कस्तो हुँदै छ, पढाई कस्तो भईरहेको छ भनेर सोध्ने वातवरण बनाईदिनुहोला। पक्कै पनि हामी दुस्ख सुख गरेर हाम्रा छोराछोरीलै पढ्न पठाएका हुन्छौ तर अन्त्यमा बच्चाको कमाईको पछी मात्र लाग्ने उसले आफ्नो करियर बिगारए उसले कमाएको पैसाले तपाई हामीलाई केही नै पो सुख दिन्छ र। उसले राम्रो पढेर राम्रो करियर बनाउन सक्यो भने त्यही नै असली सुख हुनेछ।