ग्लोबल बैंक र नेपाल खुला विश्वविद्यालयबीच शुल्क सङ्कलनसम्बन्धी सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल खुला विश्वविद्यालयबीच शुल्क सङ्कलनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा विश्वविद्यालयको तर्फबाट कुल सचिब कमल ढकाल र बैंकको तर्फबाट बैंकका कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकमा खाता खोलिसकेपछि नेपाल खुला विश्वविद्यालयका विद्यार्थीहरुले बैंकको मोबाइल एप्लीकेशन तथा अनलाइन बैंकिङ्गमार्फत शुल्क तिर्न सक्नेछन् । हाल बैंकले आफ्ना १४५ शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १८८ शाखा रहित बैंकिङ्ग सेवा, १४८ एटीएम र ३ वटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय मार्फत ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
टरौली सामुदायिक पुस्तकालयलाई मुक्तिनाथको सहयोग
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं ५ स्थीत टरौली सामुदायिक पुस्तकालयलाई भवन निमार्णका लागि तीस हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त चेक टरौली सामुदायिक पुस्तकालय समितिका अध्यक्ष सागर मिश्रलाई मुक्तिनाथ विकास बैक पर्सा शाखाका शाखा प्रमुख विश्व क्षेत्री र प्रदेश नं. ३ का सांसद कृष्णप्रसाद खनालले संयुक्त रुपमा सो पुस्तकालयद्धारा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा हस्तान्तरण गरे । यता, मुक्तिनाथ विकास बैंकले भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स(विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुशीको वहार’ अभियान सञ्चालन गरेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।
निजी मेडिकल कलेजमा एमबीबीएस र बीडीएस तहको भर्ना अन्योलपूर्ण
काठमाडौं । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेसँगै निजी मेडिकल कलेजमा भर्ना अन्योल देखा परेको छ । एशोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालले यथास्थितिमा ती तहमा नयाँ भर्ना नलिने घोषणा गरेसँगै निजी मेडिकल कलेजमा भर्ना अन्योल देखिएको हो । निजी कलेजका सिट सङ्ख्या, शुल्क निर्धारण, विदेशी भर्नासम्बन्धी स्पष्ट नीति, छात्रवृत्तिको अनुदानलगायतका स्पष्ट व्यवस्था नगरी सरकारले भर्ना प्रक्रिया अगाडि बढाएकाले एशिोसिएशनले भर्ना नलिने घोषणा गरेको हो । सरकारीभन्दा निजी क्षेत्रका कलेजमा ती तहका अध्ययनमा सिट सङ्ख्या रहेको छ । चिकित्सा शिक्षातर्फ ती दुई तहका लागि ती दुई विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करीब १९ हजार विद्यार्थी सहभागी भएकामा आठ हजार ७५६ जना उत्तीर्ण भएका थिए । त्रिविवि चिकित्साशास्त्र अध्ययन संस्थानले यही असोज ३ गते र काठमाडौं विश्वविद्यालयले असोज ४ गते परीक्षा सञ्चालन गरेका थिए । त्रिविअन्तर्गतका कलेजमा चार हजार २६९ र काठमाडौं विश्व विद्यालयअन्तर्गत चार हजार ४८७ विद्यार्थी उत्तीर्ण भएका थिए । दुवै विश्वविद्यालयका न्यूनतम उत्तीर्णाङ्क प्रतिशत ५० रहेको थियो । ती दुवै विश्वविद्यालयका २२ कलेजमा एमबीबीएस तहको अध्ययन अध्यापन हुने गर्दछ । सरकारीतर्फ चिकित्साशास्त्र अध्ययन संस्थान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय चिकित्सा प्रतिष्ठान (न्याम्स) मा अध्ययन हुने गर्दछ । निजी मेडिकल एशोसिएशनका अध्यक्ष बसरुद्दीन अन्सारीले आज एक सूचना प्रकाशित गरी यथास्थितिमा निजी मेडिकल कलेजले नयाँ शैक्षिक सत्रमा भर्ना लिन नसक्ने जनाएका छन् । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले निर्दिष्ट गरेको प्रावधानअनुसार शिक्षण शुल्क निर्धारण नगरेको तथा विदेशी विद्यार्थीको भर्नाका सम्बन्धमा स्पष्ट प्रक्रिया नतोकी नयाँ भर्ना प्रक्रिया अगाडि बढाएको भन्दै एशोसिएशनले विरोध जनाएको हो । निजी कलेजका सिट सङ्ख्या, शुल्क निर्धारण र विदेशी भर्नासम्बन्धी स्पष्ट नीति बनाएर मात्र भर्ना प्रक्रिया अगाडि बढाउन पनि एशोसिएशनले माग गरेको छ । एशोसिएशनले कलेजका पूर्वाधार भई एमबीबीएस तहमा १५० र बीडीएसमा ७५ सिट अध्ययन अध्यापनका लागि तयार भइसकेको अवस्थामा ती सिट क्रमशः १०० र ५० मा झारिएकोमा आपत्ति जनाउँदै पूर्वनिर्धारित सिट सङ्ख्या कायम गर्न, विदेशी विद्यार्थीलाई नेपाल मेडिकल काउन्सिलले निर्धारण गरेको मापदण्डअनुसार कायम गर्न र छात्रवृत्तिबापतको रकम अनुदानको रूपमा प्रदान गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । एक महिनाभित्र बढी शुल्क लिएका भए फिर्ता गर्न निर्देशन सरकारले तोकिएको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई एक महिनाभित्र शुल्क फिर्ता गर्न निर्देशनसमेत दिइसकेको छ । सोमबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित दुई मन्त्रालय सम्बद्ध पदाधिकारीको बैठकले विभिन्न मेडिकल कलेजले तोकिएको भन्दा बढी शुल्क लिए शुल्क फिर्ता गर्नुपर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को २०७५ असोज २८ गतेको बैठकले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको शुल्क निर्धारण गरेको थियो । एमबीबीएसका लागि काठमाडौं उपत्यकामा रु ३८ लाख ५० हजार तथा उपत्यका बाहिर रु ४२ लाख ४५ हजार र बीडीएस कार्यक्रमका लागि रु १९ लाख ३२ हजार ६१२ शुल्क निर्धारण भएको छ । रासस