अब त्रिविकाे सर्टिफिकेटमा सेक्युरिटी फिचर, नक्कली र सक्कली सजिलै छुटिने

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अब विद्यार्थीलाई ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ । नक्कली रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट त्रिविले उपलब्ध गराउने भएको हो । ट्रान्सक्रिप्ट लिन विद्यार्थीले अब ५ गुणासम्म बढी शुल्क तिर्नु पर्ने भएको छ। प्रवीणता प्रमाणपत्र तहको लागि २ हजार, स्नातकका लागि २ हजार २ सय, स्नातकोत्तर तह र एमफिलका लागि २ हजार ५ सय र विद्यावारिधिका लागि ३ हजार तोकिएको जानकारी परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। अहिले त्रिविले स्नातक तहलाई ४ सय ५० र स्नातकोत्तर तहका लागि ५ सय शुल्क लिँइदै आएको छ। बाक्लो गाता (फोल्डर)मा प्रोभिजनल सटिर्फिकेटसहित दिइने नयाँ ट्रान्सक्रिप्ट अहिलेको भन्दा पाँच गुणा बढी शुल्क लाग्ने परीक्षा नियन्त्रक जोशीले बताए। नक्कली ट्रानस्क्रिप्ट लिने क्रम बढेकाले त्यसलाई रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट त्रिविले उपलब्ध गराउने जानकारी दिएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)का नियन्त्रक जोशीले त्रिवि प्राज्ञिक परिषद्बाट निर्णय गरी सोसम्बन्धी प्रक्रिया सुरु गरिएको जानकारी दिए। उनका अनुसार उक्त ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर जाँच गर्न पनि सकिने छ। त्यसको  बीचमा छापसहितको सात प्रकारका विभिन्न फिचरको ढाँचा रहनेछ जसलाई ‘गुलुची’ भनिन्छ। त्यसैको आधारमा नै ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर पत्ता लगाइन्छ। ‘अहिले बजारमा त्रिविकै नक्कली ट्रान्सक्रिप्ट बनाउने गरिएको छ,’ परीक्षा नियन्त्रक जोशीले भने, ‘त्यसलाई रोक्न सेक्युरिटी फिचर भएको ल्याउन लागिएको हो।’ पानीमा नभिज्ने र नच्यातिने विशेषता नयाँ ट्रान्सक्रिप्टमा हुने जनाइएको छ। सबैलाई एउटै किसिमको दिइने ती ट्रान्सक्रिप्टको बाहिरी गाता भने पाँच किसिमका हुनेछन्। अहिले वितरण हुने ट्रान्सक्रिप्ट समान छैनन्। अन्य सङ्कायभन्दा चिकित्सा र इञ्जिनियरिङ विषयका भने फरक–फरक ट्रान्सक्रिप्ट छन्। सबैलाई समान खालको दिन सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट दिन लागिएको हो। नियन्त्रक जोशीले विसं २०७७ बाट परीक्षा दिने विद्यार्थीलाई उक्त ट्रान्सक्रिप्ट वितरण गरिने जानकारी दिए। ‘त्यसको ढाँचा तयारी गरिएको छ,’उनले भने, ‘अब केही दिनमा बोलपत्र आह्वान गर्ने तयारीमा छौं।’ ट्रान्सक्रिप्टमा सम्बन्धित विद्यार्थीको फोटोसमेत राखिनेछ। विसं २०१६ मा स्थापित त्रिविले विसं २०५४ बाट मात्र छापेर ट्रान्सक्रिप्ट दिन थालेको हो। पनिकाले तह अनुसारका रातो, हरियो, निलो, खैरो र बैजनी रङ्गका पाँच प्रकारका फोल्डरभित्र ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट राखेर दिनेछ। यसैगरी त्रिविले चैत १५ गतेदेखि अब सबै सङ्कायका ट्रान्सक्रिप्ट २४ घण्टाभित्र उपलब्ध गराउने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले अब सबै सङ्कायको फाराम भरेको २४ घण्टाभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको परीक्षा नियन्त्रक जोशीको भनाइ छ। त्रिविले विसं २०७५ बाट त्रिवि परीक्षा व्यवस्थापन सूचना प्रणाली लागू गरेर मानविकी र शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट दिँदै आएको छ।

त्रिभुवन विश्वविद्यालयकाे परीक्षा यथावत

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत रुपमा सञ्चालन गर्ने भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका छन् । आगामी चैत ७ गतेदेखि शुरु हुने विभिन्न विभिन्न सङ्कायका परीक्षाको तयारी परीक्षा नियन्त्रण कार्यालयले पूरा गरेको छ । “कोरोना भाइरसको अहिल्यैकै अवस्थामा परीक्षा रोकिहाल्नुपर्ने अवस्था छैन”, नियन्त्रक जोशीले भने, “भाइरसका कारणले मुलुकमा नै सङ्कट घोषणा गर्नुपर्ने अवस्था आयो भने सोच्नुपर्ने हुन्छ ।” त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले पनि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसँग त्रिविले परीक्षा सञ्चालन गर्नेबारे छलफल गरेका थिए । स्वास्थ्यमन्त्री ढकालले अहिल्यैकै अवस्थामा परीक्षा रोक्नुपर्ने अवस्था नरहेकोले त्रिविलाई यथावत रूपमा सञ्चालन गर्न आग्रह गरेका थिए । त्रिविअन्तर्गतको स्नातकोत्तर प्रथम वर्षको आङ्शिक परीक्षा आगामी चैत ७ गतेबाट, स्नातकोत्तर तह चौथो सेमेष्टरको चैत ८ गतेदेखि, स्नातकोत्तर दोस्रो सेमेष्टरको चैत २२ गतेदेखि, शिक्षा शास्त्रको एकवर्षे विएड चैत ९ गतेदेखि, स्नातक तहको कानून सङ्कायको दोस्रो तहको परीक्षा चैत १४ गतेदेखि शुरु हुँदैछ । परीक्षा नियन्त्रक जोशीका अनुसार त्रिविले परीक्षाका लागि बिहीबारदेखि उपत्यका बाहिर प्रश्नपत्र पठाउने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसका कारणले विद्यालय तहको परीक्षा आगामी चैत ५ गतेभित्र सक्न नर्देशन दिइसकेको छ । रासस

रोल्पामा स्मार्टबोर्डबाट पठन पाठन शुरु

रोल्पा । रोल्पा जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालयले स्मार्टबोर्डबाट पठनपाठन शुरुआत गरेको छ । शैक्षिक उन्नयन गर्न भन्दै विद्यालयले रु २२ लाख लगानीमा सो बोर्ड जडान गरी पठनपाठन शुरु गरेको हो । स्मार्टबोर्डबाट पठनपाठन हुन थालेपछि छात्रछात्रा औधी खुशी भएका छन् । किताब पढ्दा नबुझेका कतिपय कुरा स्मार्टबोर्डबाट अध्ययन गर्दा सहजै बुझिने गरेको कक्षा ९ का छात्र पुष्पराज शर्माल शर्माले बताए । “श्रव्यदृश्यका माध्यमबाट पठनपाठन हुँदा छात्रछात्रले पनि रमाइलो मानेर ध्यानपूर्व सुन्ने गर्दछन् । चक, डस्टर तथा मार्करको प्रयोग कम हुँदा हामीलाई समेत सहजता भएको छ । ” शिक्षक टेकनाथ आचार्यले भने । हाल विद्यालयको कक्षा ९ का पाँच र कक्षा १० का चार गरी नौ सेक्सनमा स्मार्टबोर्ड जडान गरिएको सहायक प्रधानाध्यपक लेखमणि खड्काले जानकारी दिए । प्रयोगको प्रभावकारिता हेरेर आगामी वर्ष थप कक्षामा विस्तार गर्दै लगिने विद्यालयले जनाएको छ । “प्राविधिक ज्ञान तथा अभ्यस्तताको अभावका कारण सबै शिक्षकले स्मार्टबोर्ड प्रयोग गर्न नजान्दा विद्यालयको सबै कक्षामा जडान गर्न सकिएको छैन”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले भने । गणित शिक्षणका लािग स्मार्टबोर्ड निकै सहयोग भएको छ, सो विद्यालयका गणित शिक्षक एलएम आचार्यले भने, “ग्राफ, रेखा र चित्र बनाउन निकै सहज हुन्छ ।” छात्रछात्राको अत्यधिक चाप रहेको सो विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्म दुई हजार ६ सय विद्यार्थीले अध्ययन गर्दछन् । रासस