राष्ट्रिय वाणिज्य बैंकले गण्डकी प्रदेशमा तालिम दिँदै, सहभागीलाई पेड इन्टर्नसीप दिइने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गण्डकी प्रदेशको लागि ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’ को दोश्रो चरणको कार्यक्रम शुरुवात गरेको छ । फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ लिन सक्नेछन् । यस एकेडेमीले वित्तीय क्षेत्रमा रोजगारी पाउन तीन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ्ग विषयगत तयारी कक्षा आगामी चैत १४ देखि चैत १६ गतेसम्म पोखरामा संचालन गर्दैछ । जसको लागि फागुन ३० गतेबाट चैत १० गतेसम्म निःशुल्क आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ । गण्डकी प्रदेश अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विद्यार्थीहरु (कुनै प्रकारको काममा आवद्ध नभएको) लाई मात्र लक्षित गरी आवेदन आव्हान गरिएको छ । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विद्यार्थीहरुले यसबाट भरपुर लाभ लिन सक्नेछन् । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने छ । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराजले युवा वर्गहरुको वृति विकाशका लागि र समाजलाई केही योगदान दिने उद्देश्यले यो तालिम संचालन गरिएको बताए । वित्तीय क्षेत्रमा आफ्नो करीयर बनाउन ठूलै शिक्षित जमातहरु लालायीत भइरहेको परिप्रेक्षमा, रोजगार उन्मुख यस्ता किसिमका तालिमहरुले युवकहरुको वृद्धि विकाशमा धेरै सहयोग गर्ने कुरामा उनले विश्वास गरेका छन् । आवेदकहरुमध्ये निश्चित क्राइटेरीयाको आधारमा ५० जनालाई छानेर बैंकले उक्त तालिममा सहभागी गराई पेड इन्टर्नसीपमा निश्चत अवधिको लागि राख्नेछ । सम्भवतः नेपालमै पहिलो पटक बैंकले निशुल्क रुपमा आयोजना गरेको युवा लक्षित यस्तो किसिमको रोजगारी उन्मुख तालिमहरु निकट भविश्यमै बाकी प्रदेशहरुमा पनि संचालन गरीनेछ । यो कार्यक्रम प्रदेश नं १ र ३ मा सम्पन्न भई तालीम लिएकाहरु हाल बैंकमा इन्टर्नको रुपमा आवद्ध रहेका बैंकले जानकारी गराएको छ ।
सिन्धुपाल्चोकका ८० प्रतिशत विद्यालय पुनःनिर्माण सम्पन्न
मेलम्ची । भूकम्पमा क्षतिग्रस्त सिन्धुपाल्चोकका ८० प्रतिशत विद्यालय पुनःनिर्माण सम्पन्न भएका छन् । भूकम्पपछि चार वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई) परीक्षा अस्थायी सिकाइ केन्द्रमै सञ्चालन भएको थियो । परीक्षा केन्द्र कायम भएका केही विद्यालय भारतीय राजदूतावासमार्फत निर्माण शुरु गरिए पनि टहरामै बसेर परीक्षा दिन भने नपर्ने जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का इञ्जिनीयर शेरबहादुर पुजाराले बताए । यस वर्ष जिल्लाबाट चार हजार १०४ परीक्षार्थी एसइइमा सहभागी हुँदैछन् । परीक्षार्थीमध्ये एक हजार ८३४ छात्र र दुई हजार २६७ छात्रा छन् । भूकम्पपछि अस्थायी सिकाइ केन्द्रमा नै एसइई परीक्षा सञ्चालन हुने गरेको भए पनि सबै विद्यालय पुनःनिर्माण सम्पन्न भएपछि यस वर्ष भने परीक्षार्थीले सुविधासम्पन्न विद्यालयमा बसेर परीक्षा दिन पाउने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइले एसइई परीक्षाका लागि २३ परीक्षा केन्द्र निर्धारण गरेको छ । सम्बन्धित परीक्षा केन्द्रका प्रधानध्यापकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिइएको समन्वय एकाइ सिन्धुपाल्चोकका प्रमुख कृष्ण सुवेदीले जानकारी दिए। जिल्लाका सामुदायिक र संस्थागत गरी यस वर्ष १४९ विद्यालयका विद्यार्थी एसइईमा सहभागी हुन लागेको प्रमुख सुवेदीले बताए । सामुदायिक १३६ र संस्थागत १३ विद्यालय छन् । एसइई परीक्षाका लागि सबै केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तिकासमेत लगिसकिएको छ । माध्यमिक परीक्षा सञ्चालक समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत अन्य सुरक्षा निकायसँग समन्वय गरेर परीक्षा केन्द्रमा सुरक्षाकर्मीसमेत खटाइएको प्रमुख सुवेदीले जानकारी दिए । प्राविधिकधारतर्फ एसइईमा सहभागी हुने सबै परीक्षार्थीका लागि सदरमुकाम चौतारास्थित कृष्णरत्न गङ्गा माविमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । प्राविधिकधारतर्फ यस वर्ष १३२ परीक्षार्थी सहभागी हुँदैछन् । सिन्धुपाल्चोकमा चार सामुदायिक विद्यालयमा बाली विज्ञान र सिभिल इञ्जिनीयरिङ विषयका पढाइ हुने गरेको छ । त्यस्तै, ग्रेडवृद्धि परीक्षामा पनि १६ परीक्षार्थी सहभागी हुन लागेको समन्वय एकाइका प्रमुख सुवेदीले जानकारी दिए । तेइस परीक्षा केन्द्रमध्ये शारदा मावि बाह्रबीसेमा सबैभन्दा बढी ३६३ तथा सबैभन्दा कम महेन्द्रकान्ति मावि कालिकामा ८१ परीक्षार्थी मात्रै छन् । परीक्षाकेन्द्र रहेका सबै विद्यालय सुविधासम्पन्न रुपमा निर्माण भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख यमबहादुर खड्काले जानकारी दिएका छन् । परीक्षा केन्द्र कायम भएका सबै विद्यालय निर्माण सम्पन्न भएका छन् । यस वर्ष परीक्षार्थीलाई कुनै असहज नहुने प्रमुख खड्काले जिकिर गरे ।
सिटिजन्स बैंकद्वारा महेन्द्र माध्यामिक विद्यालयलाई ५ लाख सहयोग
काठमाडौं । सिटिजन्स बैंकले ज्ञानेश्वरस्थित महेन्द्र भवन माध्यामिक आवासीय विद्यालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उतर दायित्वअन्तर्गत बैंकले शौचालय निर्माणकोे लागि बैंकमा आयोजित एक कार्यक्रमका बीच उक्त रकम हस्तान्तरण गरेको हो । ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि बैंकले उपलब्ध गराउँदै आएको छ । बैंकले आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यस सिटिजन्स बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरिद गर्दा २०% सम्म क्यास ब्याक(नगदफिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।