ज्योति विकास बैंकले अडियो लाइब्रेरीलाई दियाे ५ थान कम्प्युटर

काठमाडाैं । ज्योति विकास बैंकले दृष्टिविहीनहरुको शिक्षाको सहजताको हेतुले स्थापित अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपाललाई ५ थान कम्प्युटर प्रदान  गरेको छ। बैंकले अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालको श्रव्य पुस्तकालयको लागि बुधबार साे  कम्प्युटर प्रदान गरेको हो। ती कम्प्युटरहरू ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालका अध्यक्ष रमेश बावु तिवारीलाई  हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका नायब महाप्रबन्धक पारस राज कँडेल, सहायक महाप्रबन्धक रामहरि आचार्य तथा संस्थाका उपाध्यक्ष कोपिला गुरुङ र सल्लाहकार सदस्य डा. गोविन्द आचार्यको पनि उपस्थिति रहेको थियो। अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालले देशभरिका दृष्टिविहिन विद्यार्थीहरुको शिक्षाको हक सुनिश्चित गरी सहज जीवनयापनको लागि अन्य नागरिक सरह सक्षम बनाउन पुस्तकहरु डिजिटलाइज गराइ श्रव्य मैत्री बनाउँदै आएको छ। यस परियोजनाले बैंकबाट प्राप्त कम्प्युटरहरु पनि श्रव्य पुस्तक उत्पादन, वितरण तथा विद्यार्थीहरुको प्रयोगको लागि उपयोग गर्नेछ। हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५६ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।  

तनहुँमा ५१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित

तनहुँ । यही चैत ६ गतेदेखि हुने एसइई परीक्षामा यहाँका ५१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । विभिन्न विद्यालयका गरी छात्रा ३४ र छात्र १७ गरी ५१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । परीक्षा दिन फारम भरेर बीचैमा विद्यालय आउन छाडेका, कोही बिहे भई गएका र कोही रोजगारीको सिलसिलामा विदेशिएका कारण उनीहरु परीक्षा दिनबाट वञ्चित भएका शिक्षा विकास तथा समन्वय इकाइ परीक्षा शाखाका प्रमुख विश्वप्रकाश रेग्मीले जानकारी दिएका छन् । उनका अनुसार सामुदायिक विद्यालयतर्फका एक सय सोह्र विद्यालयबाट दुई हजार पाँच सय २१ छात्रा, दुई हजार दुई सय २५ छात्र गरी चार हजार सात सय ४६ र संस्थागत विद्यालयतर्फका ५८ विद्यालयबाट छ सय ११ छात्रा र आठ सय ७३ छात्र गरी एक हजार चार सय ८४ गरी कूल छ हजार दुई सय तीस विद्यार्थी यस परीक्षामा सामेल हुने भएका छन् । जसमा छात्रातर्फ तीन हजार एक सय ३२ र छात्रतर्फ तीन हजार ९८ रहेका छन् । गत वर्ष जिल्लामा छ हजार दुई सय ९१ विद्यार्थीले परीक्षा दिएका थिए । गत वर्षको तुलनामा यस वर्ष ६१ विद्यार्थी कम रहेका छन् । रासस

सुदूरपश्चिममा ५५ हजार विद्यार्थीले एसइई दिंदै

डोटी । बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा आवश्यक सबै तयारी पूरा भएको छ । सुदूरपश्चिम क्षेत्रीय शिक्षा विकास निर्देशनालय दिपायल राजपुरका अनुसार सबै परीक्षा केन्द्रमा प्रश्नपत्र, उत्तर पुस्तिकालगायत सामग्री पुगिसकेका छन् । प्रदेशबाट यस वर्षको एसइईमा छात्र २६ हजार १४२, छात्रा २८ हजार ३९५ गरी जम्मा ५४ हजार ५३७ विद्यार्थी सहभागी हुने भएका छन् । यस वर्षको नियमित एसइईतर्फ छात्र २४ हजार २५७ तथा छात्रा २६ हजार ३९१ गरी कूल ५० हजार ६४८ सहभागी हुने भएका छन् । प्राविधिक धारतर्फ छात्र ६६३ तथा छात्रा ३६४ गरी कूल एक हजार २७ विद्यार्थी सहभागी हुने भएका तथा ग्रेडवृद्धितर्फ छात्र एक हजार २२२ तथा छात्रा एक हजार ६४० गरी कूल दुई हजार ८६२ रहेका क्षेत्रीय शिक्षा विकास निर्देशनालयका निर्देशक दुर्गाराज विष्टले जानकारी दिएका छन् । उनका अनुसार सभ्य तथा मर्यादित एसइई सञ्चालनका लागि प्रदेशभरिमा कूल २११ परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति भइसकेका र उनीहरुलाई परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आवश्यक अभिमुखीकरण दिइसकिएको छ । त्यस्तै, परीक्षालाई व्यवस्थित, अनुसाशित, मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्न शिक्षा विकास तथा समन्वय एकाइलगायत एसइई परीक्षा जिल्ला समन्वय समितिका पदाधिकारीसहित शिक्षा विकास निर्देशनालयबाट यहाँका नौवटै जिल्लामा परीक्षामा सहजीकरण र अनुगमन गर्नका लागि अनुगमन टोली खटाइसकिएको निर्देशक विष्टले बताए । यस वर्ष एसइईका लागि तोकिएका परीक्षा केन्द्रमा कोरोनाविरुद्ध सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको छ । शिक्षा मन्त्रालयको अपिलअनुसार विद्यार्थीलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रमा परीक्षा अवधिभर सहायता कक्ष ‘हेल्थ डेस्क’ राख्ने प्रबन्धका लागि सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिसकिएको जनाइएको छ । क्षेत्रीय शिक्षा विकास निर्देशनालयले विद्यार्थीलाई परीक्षा दिन आउँदा र घर जाँदा साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरूसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान आग्रहसमेत गरेको छ । रासस