८ महिना बितिसक्दा पनि त्रिविले गरेन बिबिएसको नतिजा प्रकाशन, अब ३ दिनमा हुने

काठमाडौं। परीक्षा सञ्चालन भएको ८ महिना बितिसक्दा पनि त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियनत्रण कार्यालयले २०७५ साल चैत्र महिनामा लिएको व्यवस्थापन संकाय तर्फ चार बर्ष बिबिएस चौथो वर्षको नतिजा ८ महिना बितिसक्दा पनि सार्वजनिक गर्न नसकेको हो । बिबिएस चौथो वर्षकाे परीक्षामा  यस वर्ष ३८ हजार विद्याार्थी सामेल भएका थिए । अघिल्लो वर्ष पनिकाले  बिबिएस चौथो वर्षको ५ महिनाको अन्तरालमा नतिजा प्रकाशित गरेको थियो । पनिकाले ३ महिनामा नतिजा प्रकाशन गराउँछौ भनेर बताउँदै आए पनि कार्यलयमै उत्तरपुस्तिका आउन मात्रै २ महिना लाग्ने सह-नियन्त्रक घनश्याम ठाकुरले बताए । परिक्षार्थी धेरै र कापी जाँच्ने शिक्षकहरु कम भएको कारणले नतिजा प्रकाशनमा ढिला भईरहेको ठाकुरले बताए । उनले भने-‘सेमेस्टरमा समयमा नै काम गर्नुपर्ने हुनाले ब्याचलरमा सेमेस्टर प्रणाली रहेको बिबिए, बिआईएम विषयको कापी जाँच्न शिक्षकहरु डिन कार्यलयमा व्यस्त छन् । सेमेस्टरको दाँजोमा उनिहरुले वार्षिक प्रणालीलाई खासै महत्व दिदैनन् ।’ व्यवस्थापन संकाय तर्फको सबै बिषयको परीक्षा नतिजा सँगै प्रकाशित गर्ने भएकोले पनि अन्य विषयको दाँजोमा व्यवस्थापन संकायतर्फको नतिजा प्रकाशनमा ढिला भईरहेको उनले बताए ।  पनिकाका अर्का सह- नियनत्रक पशुपती अधिकारीले  कार्यलयको बिचमा सफ्ट्वेयर बद्लिएको कारणले नतिजा प्रकाशनमा थप ढिला भएको, तर अब केही दिनमा नै नतिजा प्रकाशन हुने बताए। शंकरदेव कलेजबाट बिबिएस चौथो वर्षको दिएर बसेकी यशोदा पाैडेलले नतिजा ढिला आएको कारण रोजगारीको लागि दरखास्त दिन नपाएको गुनासो गरिन् । सबैले ब्याचलार पास भएको सर्टिफिकेट माग्छन्-उनले भनिन्। कैलाली बहुमखी क्याम्पसका राजेन्द्र बिष्ट भन्छन्-‘ नतिजा समयमा प्रकाशन नहुँदा एक वर्ष खेर गएको जस्तो लागिरहेको छ ।’

केन्द्रीय बहिरा क्याम्पसलाई जनता बैंकको रु. १० लाख सहयोग

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडले केन्द्रीय बहिरा क्याम्पस, नक्साललाई रु. १० लाख आर्थिक सहयोग गरेको छ । विहीबार एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले क्याम्पस व्यवस्थापन समिति अध्यक्ष प्राडा प्रभा हमाललाई उक्त रकमको चेक हस्तान्तरण गरे । बहिरा विद्यार्थीहरुलाई सांकेतिक भाषामा उच्च शिक्षा प्रदान गर्न सामुदायिक कलेजको रुपमा ६ बर्ष अगाडि स्थापना गरिएको केन्द्रीय बहिरा क्याम्पसलाई बैंकले विगत ४ बर्ष देखि आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ । क्याम्पसमा हाल छात्र/छात्रा गरी १०४ जना बहिरा बिद्यार्थीहरु स्नातक तहमा अध्ययनरत छन् । व्यवस्थापन समिति अध्यक्ष प्राडा हमालका अनुसार हाल नक्साल स्थित बालमन्दिरमा शिक्षा शास्त्र संकायको बीएड कक्षा संचालन गरिरहेको क्याम्पसले आफ्नै भवन निर्माण गरी ब्यबस्थापनको पढाई समेत सञ्चालन गर्ने योजना बनाएको छ ।

भूकम्पले क्षति पुर्याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न

गोरखा । गोरखा जिल्लामा भूकम्पले क्षति पुर्याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प गएको तीन वर्षको अवधिमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत जिल्लामा विद्यालय भवन पुनःनिर्माणको काम तीव्रगतिमा भइरहेको प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का इञ्जिनीयर बाबुराम देवकोटाले जानकारी दिएका छन् । “जिल्लामा भूकम्पले कूल ४१९ विद्यालयमा क्षति पुर्याएको हो”, उनले भने, “त्यसमध्ये प्राथामिकताका आधारमा विद्यालय भवनको पुनःनिर्माणको काम भइरहेको छ ।” इञ्जिनीयर देवकोटाले गत आर्थिक वर्षको कार्यक्रमअन्तर्गत जिल्लाको ७० विद्यालयमा शौचालय निर्माणसमेत सम्पन्न भइसकेको बताए । भवनका हिसाबले हेर्दा जिल्लामा अहिलेसम्म २९५ विद्यालयको भवन पुनःनिर्माण भएको उनले जानकारी दिएका छन् । “पुनःनिर्माण भएकामध्ये पनि १२० विद्यालयलाई अझै कक्षाकोठा अभाव भइरहेको भन्ने गुनासो छ”, इञ्जिनीयर देवकोटाले भने, “त्यसका लागि पनि अपुग विद्यालयमा थप कक्षाकोठा निर्माणको काम अघि बढाउने तयारी भइरहेको छ ।” जिल्लामा यस वर्ष विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिएको उनले जानकारी दिए । प्राधिकरणमार्फत जिल्लामा चालू आवमा ६५ विद्यालय भवन निर्माण हुने एकाइले जनाएको छ । “आवश्यकताका आधारमा दुईकोठे, तीनकोठे र चारकोठे गरी यो आवमा ६५ विद्यालय भवन निर्माण गर्ने योजना रहेको छ, त्यसका लागि काम शुरु भइसकेको छ”, उनले भने । उनले यो वर्षमा गोरखामा दुईकोठे विद्यालय भवन १०, तीनकोठे पाँच र चारकोठे ५० वटा निर्माण गर्ने लक्ष्य लिएको जानकारी दिए । भवन निर्माणका लागि स्थानीय तहहरुले आवश्यकता आधारमा प्रस्ताव पेश गर्ने र त्यसैका आधारमा एकाइले छनोट गरी पुनःनिर्माणको काम अघि बढाउने इञ्जिनीयर देवकोटाको भनाइ छ । जिल्लामा विद्यालय भवन र शौचालय निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट करिब रु ४० करोड बजेट विनियोजन भएको इञ्जिनीयर देवकोटाले जानकारी दिएका छन् । रासस