बिबिएस चौथो वर्षको परीक्षाफल प्रकाशित
काठमाडौं। बिबिएस चौथो वर्षको नतिजा सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय, परिक्षा नियन्त्रण कार्यालयले २०७५ साल चैत महिनामा संचालित व्यवस्थापन संकायतर्फ चार वर्षे बिबिएस चौथो वर्षको नतिजा सार्वजनिक गरेको हो। त्रिविले परिक्षा भएको ३ महिनाको अवधिमा नतिजा प्रकाशित गर्छौ भन्दै गर्दा बिबिएसको नतिजा करिब ८ महिना पछि प्रकाशित गरेको हो। नतिजा हेर्नको लागि विद्यार्थीले विश्वविद्यालयको वेभसाईट www.tuexam.edu.np र मोबाईलमा BBS (space) सिम्बोल नं ३३६२४ मा एसएमएस गरेर हेर्न सक्नेछन्।
कुमारी बैंकद्वारा ज्ञान ज्योति आधारभूत विद्यालयलाई सहयोग
काठमाडौँ । कुमारी बैंकले लामाटार, ललितपुरस्थित ज्ञान ज्योति आधारभूत विद्यालयमा टिफिन बक्स तथा स्कुल ब्याग वितरण गरेको छ । विपन्न वर्गका विद्यार्थीहरूलाई गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्याउने उद्देश्यका साथ बैंकले विद्यालयलाई एक लाख बराबरका शैक्षिक सामाग्री, न्यानो ट्रयाक सुट, टिफिन बक्स तथा स्कुल ब्यागहरू हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीलाई एक लाख बराबरको चेक हस्तान्तरण गरे । हस्तान्तरण समारोहमा महालक्ष्मी नपा वडा–९ का अध्यक्ष वासुदेव गौतम, कुमारी बैंकका कर्मचारीहरु, विद्यालयका कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता थियो ।
नेपाली विद्यार्थीको रोजाईमा फ्रान्स: कस्तो छ पढाई, कति लाग्छ खर्च ?
काठमाडौं। यदि तपाई विविध साँस्कृतिक विविधता र उत्कृष्ट शैक्षिक प्रतिष्ठा भएको देशमा पढ्न चाहनुहुन्छ भने फ्रान्स तपाईको लागि उपयुक्त देश हुनसक्छ । कम शिक्षण शुल्क र अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय फ्रान्सको बिशेषता हो । यहि कारण पनि पछिल्लो समय फ्रान्स धेरै नेपाली विधार्थीको रोजाईमा पर्न गरेको छ । फ्रान्समा हाल २ लाख २५ हजार विदेशी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । यहाँका विश्वविद्यालयमा भर्ना हुने मध्ये १० प्रतिशत विदेशी विद्यार्थीहरु रहेका छन् । फ्रान्सेली उच्च शिक्षा प्रणाली संसारकै उत्कृष्ट शिक्षा प्रणालीमा पर्दछ । फ्रान्सका १० विश्वविद्यालय संसारको उत्कृष्ट ३०० विश्वविद्यालयमा पर्दछ । कम शिक्षण शुल्कमा उत्कृष्ट उच्च शिक्षाको साथ फ्रान्समा अध्ययन गर्ने विदेशी विद्यार्थीहरूको लागि फाईदाजनक हुन्छ। फ्रान्स विशेष गरी व्यवसाय सम्बन्धी विषयहरु पढ्न चाहनेहरूको लागि राम्रो विकल्प हो । यो अन्तर्राष्ट्रिय व्यापार र व्यवस्थापन शिक्षाको केन्द्र हो र यहाँका धेरै बिजनेस स्कूलहरू विश्वव्यापी रुपमा चर्चित छन् । फ्रान्समा ७१ सार्वजनिक विश्वविद्यालयहरु रहेका छन् र ती सबैलाई फ्रान्सेली सरकारले अनुदान दिंदै आएको छ, जसका कारण स्वदेशी र विदेशी सबै विद्यार्थीहरूलाई अत्यन्त सस्तो मूल्यमा उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको छ । यहाँको शैक्षिक सत्र सेप्टेम्बर वा अक्टुबरमा सुरु भएर मे वा जुनमा अन्त्य हुन्छ । शैक्षिक सत्रलाई दुई सेमेस्टरमा विभाजन गरिएको छ । यहाँ स्नातक तहलाई ६ सेमेस्टरमा विभाजन गरिएको छ अर्थात स्नातक तह ३ वर्षको रहेको छ भने स्नातकोत्तर तह ४ सेमेस्टरमा विभाजन गरिएको छ, स्नातकोत्तर तहको कोर्ष २ वर्षको हुन्छ । उच्च शिक्षाको लामो ईतिहास बोकेको फ्रान्स एक सुन्दर देश हो । पश्चिमी यूरोपमा अवस्थित यस देशले भौगोलिक रूपमा विविध क्षेत्रलाई ओगटेको छ । सांस्कृतिक रूपमा पनि एक लामो इतिहास बोकेको फ्रान्स संस्कृति, पाक कला र साहित्यको प्रमुख केन्द्रको रुपमा प्रख्यात छ । यी सबै कारणहरूले यसलाई विश्वभरि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि एक रोमाञ्चक गन्तव्य बनाउँदछ । पढाई खर्च फ्रान्समा युरो मुद्राको प्रयोग हुन्छ । एक युरो बराबर १२५ नेपाली रुपैंया हुन्छ । यहाँको सार्वजनिक शैक्षिक संस्थानहरूमा ट्यूशन दरहरू सरकारले निर्धारण गर्दछ र ती धेरै किफायती हुन्छन् । वास्तवमा फ्रान्सकोे सार्वजनिक संस्थानहरूमा उच्च शिक्षाका शिक्षण शुल्क घरेलु र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि समान छन् । यहाँ ट्युसन लागतहरू प्रत्येक वर्ष सेट गरिन्छ । २०१७ मा फ्रान्समा स्नातक तह अध्ययनको लागि औसत वार्षिक शिक्षण लागत २०० अमेरिकी डलर अर्थात २३ हजार भन्दा कम र मास्टरको अध्ययनका लागि लगभग २५९ युरो डलर अर्थात नेपाली ३३ हजार आसपास रहेको थियो । विद्यार्थीहरूले केही मात्रामा प्रशासन शुल्क तिर्न आवश्यक हुन्छ, जसले शिक्षण लागत थोरै बढाउँदछ । यधापी फ्रान्समा पढ्ने भनेको उच्च स्तरको शिक्षा खोज्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि सबैभन्दा सस्तो विकल्प हो । यी दरहरू सार्वजनिक संस्थानहरूमा मात्र लागू हुन्छन् । यदि तपाई निजी संस्थानमा अध्ययन गर्न चाहानुहुन्छ भने शुल्क धेरै बढी हुन्छन्, जुन प्रति वर्ष १० हजार अमेरिकी डलर सम्म पर्न जान्छ । बसाई खर्च शिक्षण शुल्कको दाँजोमा फ्रान्समा बसाई खर्च भने ठ्याक्कै उल्टो रहेको छ । यहाँको बसाई खर्च छिमेकी देशहरू भन्दा बढी छ । यधापी विद्यार्थीहरूले प्राय: रेस्टुरेन्ट र यातायातमा छुट पाउँछन्, जसले शुल्क केही कम भने गराईदिन्छ । यहाँका साना शहरहरूमा बस्दा लागत कम हुन्छ, त्यसैले कहाँ अध्ययन गर्ने भनेर निर्णय गर्दा यो कुरालाई ध्यान दिनुपर्छ । विदेशी विद्यार्थीहरूको फ्रान्समा आवासको लागि धेरै विकल्पहरू छन् । तपाई विश्वविद्यालयको आवासमा प्रति महिना युरो डलर १२० अर्थात नेपाली १६ हजारको आसपास तिरेर बस्न सक्नुहुन्छ । होमस्टे विदेशी विद्यार्थीहरूको लागि अर्को विकल्प हो । यसको शुल्क स्थानको आधारमा तोकिएको हुन्छ, जुन प्रति महिना २०० युरो अर्थात नेपाली २५ हजार आसपास पर्न जान्छ, जसमा कम्तिमा एक दिनको खाना समावेश हुन्छ । यहाँ विद्यार्थीहरुले स्थानीय तहबाट अनुदानको लागि आवेदन दिने विकल्प पनि रहेको छ । निवेदन जसले पनि दिन सक्छन् र यदि तपाई अनुदानको लागि योग्य हुनुहुन्छ भने तपाईले आफ्नो भाडाको मासिक ३५ प्रतिशत फिर्ता पाउन सक्नुहुन्छ । अन्य लागत बिजुली, ग्यास, इन्टरनेट : ६० युरो डलर प्रति महिना अध्ययन सामग्री : ५० युरो डलर प्रति महिना ट्राभल कार्ड वा यातायात : ७० युरो डलर प्रति महिना भान्साका सामाग्री : २५० युरो डलर प्रति महिना भाषा: फ्रान्सेलीहरु आफ्नै भाषालाई प्राथमिकता दिने गरेका छन्, यधपी तपाईले अंग्रेजी भाषाको माध्यमबाट पनि संचार गर्न सक्नुहुन्छ । तर तपाईले फ्रेन्च भाषा सिक्नुभयो भने त्यो तपाईको लागि निकै नै फाईदाजनक रहन्छ । विद्यार्थीले काम गर्ने प्रावधान हरेक विदेशी विद्यार्थीहरुलाई फ्रान्समा काम गर्न पाउने सुविधा रहेको छ । यदी तपाई युरोपियन युनियन भित्रको देशको विद्यार्थी पर्नु भएन भने तपाईले काम गर्नको लागि अनुमति लिनु पर्छ । फ्रान्सेली कानून अनुसार विदेशी विद्यार्थीहरूलाई हप्तामा २० घण्टा काम गर्न सक्छन् । जब तपाई फ्रान्समा काम गर्नुहुन्छ भने तपाईलाई प्रति घण्टा ९.७६ युरो डलर ज्याला दिईन्छ । यो कुनै पनि किसिमको कर नकटाइएको ज्याला दर हो ।