तराई पढ्न गएका ३ सय विद्यार्थी फर्काउन ३० लाख विनियोजन

काठमाडौं। डोल्पाको एक गाउँपालिकाले तराईका जिल्लामा पढ्न गएका विद्यार्थी घर फर्काउनका लागि रु ३० लाख रकम छुट्याएको छ । काइके गाउँकार्यपालिकाको आपतकालीन बैठकबाट जिल्ला बाहिर पढ्न गएका करिब ३०० विद्यार्थी घर फर्काउनका लागि ३० लाख रकम छुट्याएको हो । देशव्यापीरूपमा कोरोनाको त्रासका कारण नेपालगञ्ज, काठमाडाँै, पोखरा, सुर्खेतलगायतका जिल्लामा पढ्न गएका विद्यार्थीहरु घर फर्कन चाहेकाले उनीहरुलाई फर्काउनका लागि बैठकबाट रु ३० लाख रकम छुट्याइएको गाउँपालिकाका अध्यक्ष अङ्गत रानाले जानकारी दिए । आफू बसेको ठाउँबाट हवाईजहाज वा गाडी जुनसुकै सवारी साधनबाट घर फर्कने विद्यार्थीको भाडा गाउँपालिकाले व्यहोर्ने उनले बताए । विद्यार्थीका लागि छुट्याइएको रु ३० लाख रकमबाट मास्क, स्यानिटाइजर र साबुन खरिद गर्ने बताइएको छ । रासस

महालक्ष्मी लाईफको चार दिने तालिममा १७ जना प्रशिक्षार्थीहरु सहभागी

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले उपत्यका भित्रका शाखाहरु तथा विभिन्न क्षेत्रिय कार्यालयको लागि व्यवस्थापन प्रशिक्षार्थीहरुको चार दिने तालिम सम्पन्न गरेको छ। प्रधान कार्यालय काठमाण्डौको तालिम हलमा संचालित तालिममा १७ जना प्रशिक्षार्थीहरु सहभागि भएका थिए। चैत ४ गते मंगलबारबाट संचालित उक्त तालिम ७ गते शुक्रबारसम्म भएको थियो। जीवन बीमाको आधारभूत विषयहरु लगायत एजेन्सी, मार्केटिङ, अण्डरराईटिङ, प्रोडक्ट र मानव संसाधन विषयमा तालिम प्रदान गरिएको थियो। प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई, नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र रामेश्वर श्रेष्ठ, नायव महाप्रबन्धक सपना देवकोटा खरेल र प्रशान्तराज धमला, एजेन्सी विभाग प्रमुख सिताराम धिमाल र अण्डरराईटिङ विभाग प्रमुख प्रभाकर न्यौपनेले तालिम प्रदान गरेका थिए ।

द ब्रिटिस कलेजले अनलाइनबाटै पढाउन थाल्याे

काठमाडौं । काठमाडौं थापाथलीस्थित द ब्रिटिस कलेजले अनलाईन कक्षा संचालनमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिइएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको कारण कलेजले आइतबारबाट अनलाईन कक्षाहरु संचालनमा ल्याएको हो । कलेजले विद्यार्थी तथा कर्मचारीहरुको सुरक्षालाई ध्यान दिँदै उक्त निर्णय गरि कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ । नेपाललाई विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेको राष्ट्रको रुपमा लिएको तथा नेशनल हेल्थ सर्भिस (यूके) र नेपाल सरकारले समेत सतर्कता अपनाउन निर्देशन दिएसँगै कलेजले अनलाइन कक्षा गर्ने निर्णय कार्यान्वयनमा ल्याएको हो । विद्यार्थी तथा शिक्षकहरु कक्षाकोठामा उपस्थित नभए पनि पठनपाठनमा कुनै प्रभाव नपर्ने कलेजले बताएको छ । यसको लागि प्रध्यापकहरुले विद्यार्थीहरुलाई अनलाईन प्लेटफर्ममार्फत कक्षा दिनेछन् । साथै विद्यार्थीहरुको सेवाको लागि कलेजका हरेक शाखाको हटलाइन नम्बरहरु संचालनमा रहेका छन् । उपलब्ध भएका हरेक शाखाका हटलाइन नम्बरसँगै इमेल, ह्वाट्स एप तथा भाइबरबाट समेत विद्यार्थीहरुले कलेजबाट पाउने सेवा पाउनेछन् । कलेजले हालको अवस्थाको बारेमा सम्बन्धन लिएका विश्वविद्यालयहरुलाई पनि यसबारेमा जानकारी गराई आगामी दिनमा पठनपाठनलाई सहज बनाउने र विद्यार्थीहरुको पढाइको गुणस्तरमा कुनै कमी हुन नदिने दृढता समेत व्यक्त गरेको छ । साथै कलेजले यस अवस्थालाई सबैले बुझ्न तथा अवस्था अनुकुल हुनेवित्तिकै नियमित पढाईमा फर्कने बताएको छ ।